सैनिक ब्यारेकबाट निस्किए ओली

काठमाडौं ३ असोज । जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा नेताका निवासदेखि राज्यका सार्वजनिक संरचनामा आक्रमण हुन थालेपछि सेनाले बालुवाटारबाट उद्धार गरेर शिवपुरी ब्यारेक राखेका निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली १० दिनपछि बाहिरिएका छन् । सेनाले ब्यारेकबाट बाहिर निस्किन अनुमति दिएपछि ओली भक्तपुरको सूर्यविनायक नगरपालिका– ७, गुन्डुस्थित डेरामा बस्न थालेका छन् ।
उनलाई एमाले पोलिटब्युरो सदस्य तथा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतको निवासनजिकै वडा कार्यालयछेउमा स्थानीय कार्यकर्ताको निवासमा राखिएको छ । बस्नेत बस्दै आएको घरमै ओलीलाई राखिएको हो । आफ्नो घर पनि आन्दोलनकारीले आगजनी र तोडफोड गरेर ध्वस्त बनाएपछि बस्नेत त्यहाँ सरेका थिए ।
अस्थायी निवाससँगै ओलीको बाहिरी घेराको सुरक्षा व्यवस्थापन बस्नेतले नै हेर्नेछन् । सवा ५ बजे गुन्डु पुग्दा उनलाई बस्नेत, भक्तपुर अध्यक्ष बचन देउजासहित नेता–कार्यकर्ताको टोलीले स्वागत गरेको थियो ।
ओलीको बालकोटस्थित निजी निवास आगजनी र तोडफोडबाट ध्वस्त छ । सशस्त्र प्रहरी र स्थानीय क्लबमा आबद्ध युवाहरूले उनको निजी निवासको बाहिरी सुरक्षा हेरिरहेका छन् भने एउटा टोलीले सफाइ सुरु गरेको छ । ओलीसहित एमाले नेताहरूको ध्वस्त निजी निवासको स्थलगत अध्ययन गरी पुनर्निर्माणका लागि पार्टीसम्बद्ध प्रगतिशील इन्जिनियर्स एसोसिएसनले अगुवाइ गरिरहेको छ । केही व्यावसायिक इन्जिनियर्सहरूसहितको टोलीले दिएको प्रतिवेदनका आधारमा अध्यक्षसहित एमाले नेताहरूले निजी निवास पुनर्निर्माण थाल्ने केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए । तर, पुनर्निर्माण एक महिनामा पनि नसकिने भएकाले कम्तीमा तिहारसम्मै बस्ने गरी ओली गुन्डु सरेका हुन् ।
जेन–जी आन्दोलन चर्किँदै जाँदा उग्र बन्दै गएका प्रदर्शनकारीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारलाई पनि लक्षित गरेर आगजनी गर्न खोजेपछि २४ भदौमा दिउँसो करिब २ बजे ओलीले राजीनामा दिएका थिए । त्यसपछि पत्नी राधिका शाक्यसहित उनलाई सैनिक हेलिकोप्टरमा शिवपुरी ब्यारेक पुर्याइएको थियो ।
जेन–जी आन्दोलनबाट सत्ताच्युत भएका ओली अहिलेसम्म मौन छन् । उनलाई राखिएको र छाडिएको स्थानबारे अहिलेसम्म नेपाली सेनाले पनि औपचारिक रूपमा केही बताएको छैन ।