जम्मू–कश्मीरमा ‘क्लाउडबर्स्ट’, चार जनाको मृत्यु

काठमाडौं । भारत प्रशासित जम्मू–कश्मीरमा ‘क्लाउडबर्स्ट’का कारण जनजीवन अस्तव्यस्त बनेको छ । लगातारको भारी वर्षाका कारण डोडा जिल्लामा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । यस्तै, थुप्रै घाइते भएका छन् ।
मृतकमध्ये दुई जनाको घर भत्किएर र दुई जनाको बाढीका कारण मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बाढीले थुप्रै घरमा क्षति पुर्याएको छ । जिल्ला प्रशासनले नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
तीन दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण जम्मू–कश्मीरका कैयौँ सडक र रेल सेवा अवरुद्ध भएका छन् । जम्मू–श्रीनगर र बटोटे–किश्तवारलगायत राजमार्ग बन्द छन् ।
सामान्यतया क्लाउडबर्स्ट भनेको अचानक छोटो समयमा अत्यधिक धेरै वर्षा हुनु हो ।