यूएईमा नेपालीको पिडा : कोहीको सडकमा बास,कोही अलपत्र

काठमाडौँ । आकर्षक रोजगारीको प्रलोभनमा परेर संयुक्त अरब इमिरेट्स पुगेर अलपत्र परेका ८ नेपालीको उद्धार गरिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी यूएईको पहलमा ८ जना नेपाली श्रमिकलाई उद्धार गरी नेपाल पठाइएको हो।
एनआरएनएका अनुसार उद्धार गरिएकाहरुमा कृष्णप्रसाद मराइज, लिला बहादुर तामाङ, अमन तामाङ, राजन बस्नेत, सबिन विक, हेमबहादुर सुनार र राज विक रहेका छन्। उनीहरुले सम्झौता अनुसारको सेवा सुविधा नपाएको गुनासो गर्दै एनआरएनए एनसीसी यूएई अध्यक्ष विकास शाहीलाई निवेदन दिएका थिए।
नेपालबाट म्यानपावर मार्फत यूएई पुगेका उनीहरू सुरुमै सम्झौता अनुसारको काम तथा सुविधा नपाएर पछि काम र तलब समेत नपाउने, साथै बस्न र खानसमेत नपाएर सडकमा दिन बिताउन बाध्य भएको यथार्थ बुझिएपछि बुझेपछि एनआरएनले उद्धारका लागि पहल गरेको थियो।
एनआरएनए अध्यक्ष शाही, उपाध्यक्ष तथा राहत उद्धार समिति संयोजक भीम मल्ल ठकुरीको समन्वयमा पिडित भनिएकाहरुको अबस्था र बास्तबिकता बुझि संस्थाले सहयोग गर्ने निर्णय गरेअनुसार उद्धार गरेको एनआरएन यूएईका प्रवक्ता रुद्र थापाले जानकारी दिए। उद्धार अन्तर्गत ४ जनाको हवाई टिकट एनआरएनएले नै व्यवस्था गरेको थियो भने बाँकी ३ जनाको टिकट समाजसेवी सबिन तामाङको सहयोगमा जुटाइएको थियो।
यस्तै, एक वर्षअघि युएई पुगेका झापाका डम्बर बहादुर कार्कीलाई पनि उद्धार गरी एनआरएनएले स्वदेश फर्काएको छ। कार्की चार महिनाअघि कम्पनी बन्द भएपछि मालिक सम्पर्कविहीन भएपछि अलपत्र परेका थिए । बसोबास र खाद्यान्नको समस्या भोगिरहेका उनलाई नेपाल फर्किने टिकटको अभावले थप कठिनाइ भएपछि एनआरएनएमा निवेदन दिएका थिए।
निवेदन अनुसार उनको अवस्थाको जानकारी लिएपछि एनआरएनए सह-कोषाध्यक्ष नवराज ढुङ्गानाज्यूले आफ्नो जन्मदिनको अवसरमा नेपाल फर्किनको लागि आवश्यक हवाई टिकट उपलब्ध गराएका थिए।
त्यसपछि उनलाई पनि नेपाल फर्काईएको प्रवक्ता थापाले बताए। एनआरएनएले पछिल्लो समय दलालको प्रलोभनमा परेर युएई पुगेर अलपत्र तथा भोकभोकै परेका नेपालीहरुको पिडामा मलम लगाउदै आइरहेको छ।