अमेरिकी धुनमा गुञ्जिए नेपाली कवि

पत्रकार नारायण श्रेष्ठले माइक टेस्ट गर्दा दर्शकले ठानेका थिए,- यिनी कार्यक्रम संचालक रहेछन् । नवोदित कवि नदीश त अझै खुसी भए परिचित सञ्चारकर्मीले आफूलाई मञ्चमा आमन्त्रण गर्ने भए भनेर ।
तर, त्यहाँ श्रेष्ठ कवि अवतारमा प्रस्तुत हुन अमेरिकी संगीत संयोजकको ईशारामा अभ्यास गर्दै थिए । दुई दशकअघि नै कविको छवि बनाएका उनले लामो अन्तरालमा कविता वाचन गरे ।
अमेरिकाको न्युयोर्कस्थित बफेलो शहरमा शनिबार साँझ आयोजित कार्यक्रममा श्रेष्ठले पाँचवटा कविता सुनाएर संगीतमय साँझ बनाए । जीसीआर स्टुडियोमा नारायणसँगै नदीशले पनि आफ्ना पाँचवटा कविता वाचन गरे ।
नारायणले नेपालमा पत्रकारिता गर्दाताका कोरेका तत्कालीन राजनीतिक अवस्थासम्बन्धी चार कविता वाचन गरे । उनको पाँचौँ कविताले कोरोना महामारीको त्रासद्धपूर्ण चित्रण उतारेको थियो ।
यस्तै कवि नदीशले प्रकृति र अमेरिकन जीव दर्शाउने कविता वाचन गरे ।
दुवै कविका कवितामा डा. जेन मेरिटले संगीत संयोजन गरेका हुन् । संगीतमा मेरिटसँगै एन्ड्रयु, जेसिका र प्रज्वल लामाले संगीतमा साथ दिए । लामाले पियानो, जेसिकाले भायोलिन, एन्ड्रयूले चेलो र जेन आफैँले गितार बजाएर संगीतमय साँझ बनाए ।
आयोजक कोकोमेन्दो अन्सेम्बलका लामिन तामाङले संगीत र कविता एकसाथ प्रस्तुत हुने यस्तो कार्यक्रम बिरलै हुने हुनाले आफूले यसमो चासो लिएको बताए । उनले दुई वर्षदेखिको यो सपना पूरा भएको सुनाए ।