महेन्द्रनगरमा दुई अर्ब ४१ करोड ७९ लाख राजस्व सङ्कलन

द एभरेष्ट पोष्ट
५ साउन २०८२ १५:०४
महेन्द्रनगरमा दुई अर्ब ४१ करोड ७९ लाख राजस्व सङ्कलन

कञ्चनपुर : आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको राजस्व सङ्कलन वृद्धि भएको छ । कार्यालयका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीका अनुसार  कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा दुई अर्ब ४१ करोड ७९ लाख ५८ हजार राजस्व सङ्कलन गरेको छ ।

अघिल्लो आवमा कार्यालयले दुई अर्ब ३९ करोड चार लाख २२ हजार राजस्व सङ्कलन गरेको थियो । यसपटक आयकरमा १३ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको छ । प्रमुख कर अधिकृत पराजुलीका अनुसार आव २०८१/८२ मा ८५ करोड आठ लाख ६५ हजार आयकर सङ्कलन भएको छ ।

अघिल्लो आवमा ७५ करोड एक लाख ७२ हजार आयकर सङ्कलन भएको थियो । त्यसैगरी, ब्याजकरमा पनि २२ प्रतिशतले वृद्धि भएको छ । कार्यालयले आव २०८१/८२ मा दुई करोड ८९ लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा दुई करोड ५२ लाख ५० हजार सङ्कलन गरेको थियो ।

घरबहाल कर १२ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । कार्यालयले आव २०८१/८२ मा एक करोड ३७ लाख ८० हजार घरबहाल कर सङ्कलन गरेको छ । अघिल्लो आवमा एक करोड २२ लाख ७७ हजार घरबहाल कर सङ्कलन गरेकामा कार्यालयले भ्याटमा रु ६० करोड ८८ लाख ६१ हजार र अन्तःशुल्कमा रु ९० करोड ९१ लख ७१ हजार राजस्व सङ्कलन गरेको छ ।

‘यो आवमा आयकर बढेको छ, भ्याटमा कम छ,’ प्रमुख कर अधिकृत पराजुलीले भने, ‘अन्तशुल्क कर बराबरी छ समग्रमा गत आवको तुलनामा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।’ कार्यालयको १३ करोड राजस्व बक्यौता रहेको छ । ‘भ्याटमा नौ करोड र आयकरमा चार करोड बक्यौता बाँकी छ,’ उनले भने, ‘बक्यौता रकमका लागि करदातालाई पसलमै गएर, फोनबाट जानकारी गराउने गरेका छौँ ।’

बक्यौता रकम नतिर्ने करदातालाई पटकपटक बक्यौता तिर्न प्रेरित गर्ने र नतिर्ने करदाताको पत्रपत्रिकामा सूचना निकाल्ने गरेको प्रमुख कर अधिकृत पराजुलीले बताए। ‘पटकपटक ताकेता गर्दा पनि अटेरी गर्ने करदातालाई पत्रपत्रिकामा सूचना निकाल्ने र समयमै बक्यौता नतिर्नेको बैंक खाता रोक्कासमेत हुनसक्छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस