
‘कुप्रथा’का रूपमा रहेको छाउ बार्ने चलन बन्द होस् भन्नै अझै चाहँदैनन् स्थानीय । गोठ पनि सर्प खोज्नलाई भत्काइएको बताउँछन् उनीहरू । तर सर्प भने भेटिएन । छाउँ हुँदा घर बसे कुलदेउता रिसाउने सीताको भनाइ छ । ‘हामी त मान्दैन थियौँ । तर देउता रिसाउँदा छन् । मान्छे काम्छन् । घरमा नराम्रो हुन्छ । आखिर मान्छेभन्दा ठूला त देउता हुन्, के गर्नू,’ छाउमै बस्दा देउरानी गुमाएकी उनी यस्तो ‘विश्वास’ राख्छिन् ।
सीताको घरनजिकै अछामबाटै बसाइँ सरेकी चम्फा बुढाको घर छ । उनको छाउगोठ झन डरलाग्दो झाडीमा छ । त्यो गोठमा महिनावारी हुँदा उनकी नन्द र उनी बस्छन् । जाहाँ बत्तीसमेत छैन । उनको सोच पनि सीताको भन्दा फरक छैन । ‘ज्यानको माया त सबैलाई हुन्छ नि । तर पनि देउताका लागि बस्नुपर्छ । छाउमा घरभित्र पसे त सबै परिवार कामिहाल्छन् नि,’ उनी भन्छिन् । अछामबाट मान्छे मात्र बसाइँ सरेका छैनन्, छाउगोठ पनि सँगै ल्याएका छन् ।
गत वर्ष मात्रै कृष्णपुर नगरपालिकाले चारवटा छाउगोठ भत्काएको थियो । तर स्थानीयले फेरि बनाए । कृष्णपुरका मेयर हेमराज ओझा भन्छन्, ‘जति भत्काए पनि उनीहरू पुन: बनाइहाल्छन् । यो कुप्रथाले समाजमा जरा गाडेर बसेको छ । यसलाई उखेल्नैपर्छ ।’
अहिले पनि कृष्णपुर नगरपालिकामा सयभन्दा बढी छाउगोठ छन् । जसमा सबैभन्दा बढी अछामबाट बसाइँ सरेर आएकाहरूको संख्या छ । नगरले छाउगोठ भत्काइरहन्छ, स्थानीयले बनाइरहन्छन्, श्रृंखला यस्तै जारी छ ।
छाउगोठ भत्काउन नगरपालिकाको अल्टिमेटम
कमलाको मृत्युपछि कृष्णपुरले नगरपालिका क्षेत्रभित्र अझै पनि कायम रहेका छाउपडी गोठ भत्काउन सूचना निकाल्दै १५ दिनको ‘अल्टिमेटम’ दिएको छ । छाउगोठ नहटाउनेलाई १० हजार जरिवाना तिराउने नगरपालिकाको चेतावनी छ ।
सूचनामा छाउपडी गोठ भत्काउने कामको निगरानी सम्बन्धित वडा कार्यालयमार्फत गरिने भनिएको छ । साथै, निर्देशनको पालना नगर्ने व्यक्तिहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ ।
पत्रमा भनिएको छ, ‘कृष्णपुर नगरपालिकामा अझै पनि केही स्थानमा अवैध छाउपडी प्रथा कायमै रहेको पाइएकाले, सबै वडामा रहेका यस्ता गोठहरू १५ दिनभित्र भत्काइदिनुहुन अनुरोध छ । आदेशको अवज्ञा गरेमा जनही १० हजार जरिवाना लागु गरिने छ।’
मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १६८ उपदफा (३) ले छाउपडी प्रथालाई भेदभाव तथा अपमानजन्य व्यवहारसम्बन्धी कसुरका रूपमा लिएको छ । साथै महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु, गराउन नहुने प्रावधान रहेको छ । तर पनि सुदूरपश्चिमका धेरै ग्रामीण क्षेत्रमा आज पनि महिनावारी भएका महिलालाई गोठमा राख्ने कुप्रथा कायमै छ ।
२०६३ सालयता मात्रै छाउगोठमा घटेका घटनामा अछाममा १४ जना महिला तथा किशोरी , डोटीमा २ जना र बाजुरामा ३ जना गरी र हालै कञ्चनपुरमा १ जना गरी सुदूरपश्चिममा २० जनाको मृत्यु भएको देखिन्छ ।