एसईईको परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं, १३ असार ।
२०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) को नतिजा शुक्रवार सार्वजनिक भएको छ ।
शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा सार्वजनिक गरेको हो । यस वर्ष एसईईको परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्ष एसईईमा ग्रेडेड हुनेको प्रतिशत ६१.८१ रहेको बताएका हुन् । गत वर्षको तुलनामा यस वर्षको नतिजामा उल्लेख्य सुधार देखिएको छ । गत वर्ष ग्रेडेड हुनेको संख्या ४८ प्रतिशत थियो ।
बोर्डका अनुसार नियमिततर्फ जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ ।
वेबसाइटमा पूरै नतिजा अपलोड हुन भने केहीबेर लाग्ने बोर्डले जनाएको छ । गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।