ईरान र ईजरायल युद्ध विरामका लागि सहमत

वाशिङ्टन, २३ जुन ।
१२ दिनदेखि जारी युद्ध समाप्त गर्न इजरायल र इरान सहमत भएका छन् । दुबैदेश युद्धविरामका लागि सहमत भएका छन् । कतारस्थित अमेरिकी सेनाको बेसक्याम्पमा आक्रमण गरेपछि ईरान र ईजरायलबीच युद्ध विरामका लागि सहमती भएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ईजरायल र ईरान युद्धविरामका लागि सहमती भएको पुष्टि गरेका छन् ।
सोमबार साँझ ट्रम्पले सामाजिक सञ्जालमार्फत दुबै मुलुकले एकअर्कासँग पूर्ण र सम्पूर्ण युद्धविराममा सहमति जनाएको जानकारी दिएका हुन्।
उनका अनुसार ६ घण्टाभित्र दुवै देशले आफ्नो हालको अन्तिम सैन्य गतिविधि सम्पन्न गरेपछि १२ घण्टे युद्धविराम सुरु हुनेछ। प्रारम्भमा इरानले युद्धविराम सुरु गर्नेछ र त्यसको १२ घण्टापछि इजरायल पनि पूर्ण रूपमा युद्धविराममा प्रवेश गर्नेछ। त्यसपछि २४ घण्टापछि युद्धको औपचारिक अन्त्य विश्वभरबाट स्वागत गरिनेछ।
“यो युद्ध दशकौंसम्म तन्किन सक्थ्यो र सम्पूर्ण मध्यपूर्वलाई विनाशमा धकेल्न सक्थ्यो, तर अब त्यसको अन्त्य हुँदैछ – र अब कहिल्यै सुरु हुनेछैन,” ट्रम्पले भने।
उनले इरान र इजरायल दुबैलाई साहस, धैर्य र बौद्धिक क्षमता देखाएर शान्तिपूर्ण निर्णय लिन सफल भएकोमा बधाई दिएका छन्।
अन्त्यमा ट्रम्पले लेखे, “ईश्वरले इजरायल, इरान, मध्यपूर्व, अमेरिका र सम्पूर्ण संसारलाई आशिर्वाद दिऊन्।”