१६ दिनकी सुत्केरी भाउजूको देवरबाटै हत्या, सुनको लोभले लियो ज्यान

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुक्रवार बिहान मृत भेटिएकी १९ वर्षीय सुत्केरी तुलसी नाथको आफ्नै देवरले हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।
विगतदेखिको सामान्य विवाद र सुनका गहनाका कारण आफूले भाउजूको हत्या गरेको पक्राउ परेका नवीन नाथले प्रहरीलाई बयान दिएका छन् ।
‘भाउजू सुतेको बेला सिरानीले मुख च्यापेर हत्या गरे, उहाँले कानमा लगाएको गहना निकाले र शव बाहिर लगेर नालीमा फालिदिए’ प्रहरीसमक्ष उनले बयान दिएका छन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी) रणबहादुर चन्दले पनि सहोदर देवरले तुलसी नाथको हत्या गरेको अनुसन्धानबाट खुलेको बताए ।
‘शवको पोस्टमार्टम हुन बाकी छ । तर, घटनाको प्रकृति र पक्राउ परेका युवकको बयानका आधारमा उनैले हत्या गरेको प्रारम्भिक ठहर छ ’ उनले भने ।
नवीनले सुनका गहनाका लागि आफूले हत्या गरेको स्वीकार गरिसकेको उनले बताए ।
भाउजूको हत्यापछि कानमा लगाएका सुनका गहना निकालेर घर नजिकै ढुङ्गामुनि लुकाएको भन्दै आफ्नो बुवालाई दिएको सूचनाको आधारमा प्रहरीले घटनामा उनको संलग्नता भएको पुष्टि गरेको थियो ।
सामान्य विवाद र सुन मोहले हत्या
शुक्रवार घर नजिकै १६ दिने सुत्केरीको मृत्यु भएको र शिशु सकुशल रहेको खबर फैलियो । इलाका प्रहरी कार्यालय मसुरियाले पनि मालाखेतीलाई सोही जानकारी गरायो ।
मालाखेतीबाट प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) रणबहादुर चन्द घटनास्थल तर्फ लागे । शवमा कुनै घाउ चोट नदेखिएपछि विष सेवनबाट वा सर्पको टोकाइबाट मृत्यु भएको आकलन गरियो । तर, प्रहरी प्रमुखलाई भने घटना सुरुबाटै शङ्कास्पद लागिरहेको थियो ।
मृततकको घरमा उनका देवर, देउरानी र एउटा ९ कक्षमा पढ्ने नन्द थिइन् । घटना भएको रातमा पनि सुत्केरी भाउजूलाई आफूले खाना पकाएर खुवाएको बयान दिएका देवरबाटै घटना भएको पुष्टि गर्न प्रहरीले एक दिन कुर्नु प¥यो ।
मृतकले केही दिन अघिसम्म लगाइरहेका कानका सुनका रिङहरू शवमा नदेखिएपछि घटना थप शङ्कास्पद बन्यो । ‘आठ ओटा रिङहरू कानमा थिएनन् त्यसपछि घटना त्यसैको लागि हो भन्ने बुझ्न सकस भएन ’ प्रहरी नायव उपरीक्षक चन्दले भने ‘घटनामा संलग्न देवर नै हुन् भन्ने पुष्टि हुन अझै केही समय अनुसन्धान जारी रह्यो । ’
नवीन नाथले सुरुमा प्रहरीलाई दिएको बयान र पछि अनुसन्धान अघि बढ्दै जान भन्न थालेको विषय केही फरक पर्न थालेपछि उनी शङ्काको घेरामा परेका थिए । शनिवार मृतकका सासू ससुरा तथा पक्राउ परेका युवकका बुवा आमा आएपछि घटनाको तथ्य पत्ता लगाउन प्रहरीले उनीहरूको पनि मद्दत मागेको थियो ।
‘देवरबाटै घटना भएको करिब ठहर हुँदा पनि प्रमाण नपाउँदासम्म केही भन्न सकिने अवस्था थिएन बुवा आमालाई उनले सुनका रिङहरू लुकाएको ठाउँ भनेपछि उनको पुष्टि भएको ठहर भयो ’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने ।
बुवा आमालाई त्यस विषयमा छोरालाई सोध्न पनि प्रहरीले आग्रह गरेको थियो । सुनका गहना भेटेपछि प्रहरीलाई उनले आफूले घटना घटाएको बयान दिएका थिए ।
‘सुरुबाटै मलाई हेप्ने गरेको हुँदा रिस उठेको थियो । त्यही रिसमा मैले सिरानीले मुख थुनेर मारेको हुँ ’ अन्तिममा शनिवार उनले प्रहरीलाई आफै भने ।
करिब २ वर्षपछि नवीनको दाजुसँग तुलसी नाथको विवाह भएको थियो । विवाह पहिले अभिभावक जस्तै रहेकी उनी दाजुसँग विवाह भएपछि भाउजू भएकी थिइन् । आफूलाई पटक पटक काम नगर्ने ,काम नभएको जस्ता कुराले हेप्नेगरेपछि मारेको उनले प्रहरीलाई भने ।
हत्या पछि हसियाले सुनका रिङ निकालेर शवलाई केहीबेरपछि घर नजिकैको नालामा फालेको नवीनले प्रहरीलाई बयान दिए । सुनका रिङ पानीका बगेको हुनसक्ने घटना बनाउन उनले भाउजूको हत्या पछि गलामा लगाएको माला पनि आफै फुकालेर पानीमा फालेका थिए ।
१६ दिनको सुत्केरी भाउजूको बीभत्स हत्या गर्ने युवकलाई कानुन अनुसार कडा कारबाही हुने प्रहरीले जनाएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नर सिंह रानाले जटिल अवस्थामा पुगेको घटनालाई सूक्ष्म अनुसन्धान गरेर सफलता प्राप्त भएको बताए ।
‘घटनाको अवस्था जटिल थियो । सूक्ष्म अनुसन्धान र छानबिन पछि सत्य तथ्य पत्ता लागेको छ ’ उनले भने ‘जिल्ला र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको विशेष टोलीले घटनाको तथ्य उजागर गरेको हो ।’