सुदूरपश्चिम प्रदेश प्रमुख मियाँलाई कर्णालीको पनि जिम्मेवारी

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई कर्णाली प्रदेश प्रमुखको पनि जिम्मेवारी दिइएको छ । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी अमेरिकाको निजी भ्रमणमा जाने भएपछि कर्णाली प्रदेशको पनि जिम्मेवारी सुदूरपश्चिम प्रदेश प्रमुखले नै पाएका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गर्दै मन्त्रीपरिषद्को निर्णय अनुसार कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी पनि सुदूरपश्चिम प्रदेश प्रमुखलाई दिइएको जनाएका छन् । उक्त विज्ञप्तिमा सोमबारदेखि १३ गतेसम्म कर्णाली प्रदेश प्रमुख जोशी अमेरिका जाने उल्लेख गरिएको छ । यो बिचमा कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आए प्रदेश प्रमुख मियाँले नै प्रस्तुत गर्ने छन् ।
केही दिनमा प्रदेश प्रमुख मियाँ कर्णाली प्रदेश प्रस्थान गर्ने उनका प्रमुख स्वकीय सचिव साविर अलीले जानकारी दिए ।