गणतन्त्र विकल्पहीन व्यवस्था हो: चित्र बहादुर केसी

कैलाली । पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले राजावादीले सकेको भए काठमाडौँ नै जलाउने बताएका छन् । धनगढीमा वर्तमान राजनीतिक परिस्थिति र गणतन्त्र रक्षाको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राजतन्त्र पुनर्स्थापनाको प्रयत्नप्रति केसीले कडा आपत्ति जनाए ।
‘मैले प्रत्यक्ष निरंकुश राजतन्त्रको अनुभव गरेको मान्छे हु’ । गणतन्त्र, यद्यपि त्रुटिपूर्ण छ, तर राजतन्त्रभन्दा कयौँ गुना राम्रो व्यवस्था हो,” उनले स्पष्ट पारे । नेतृत्वको असफलता र राजनीतिक भ्रष्टाचारले जनतामा मोहभंग भएको स्वीकार गर्दै गणतन्त्र जनताको व्यवस्था भएको र सधैँ जनता स“गै हुनु पर्ने उनको भनाइ छ ।
वर्तमान देशको राजनीतिक अवस्था नेतृत्वको नैतिक कमजोरपनको परिणाम भएको उनको ठहर छ । “नेतृत्व गर्नेहरू राष्ट्र प्रतिबद्ध, इमानदार र निष्कलङ्क हुनुपर्ने हो। तर अहिलेको नेतृत्वले त्यो स्तर कायम राख्न सकेन,” केसीले भने ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले चैत १५ गते तीनकुनेमा भएको घटनालाई प्रति चिन्ता व्यक्त गर्दै गणतन्त्र विरोधी शक्तिहरू मौलाउदै गएको बताए । ‘गणतन्त्रवादीहरूको कमजोरी र छिमेकी राष्ट्रबाट पाइरहेको समर्थनले राजावादीहरू पुनः सक्रिय भएका छन्,’ भट्टले भने ।
राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कार्यालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका प्रदेश उपाध्यक्ष हरिकृष्ण पाण्डे, नेकपा एमाले सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैसी, वामपन्थी नेता रामचन्द्र भट्ट, नेकपा केन्द्रीय सदस्य भरत बम लगाएको उपस्थिति रहेको थियो ।