गभर्नर नियुक्ति प्रकृया अघि बढ्यो, आजै भट्टको राजिनामा स्वीकृत हुने

काठमाण्डौं, १५ बैशाख ।
सत्ता साझेदार दल नेपाली काँग्रेस र एमालेबीच गभर्नर नियुक्तिका विषयमा सहमती भएको डेढ सातासम्म अघि नबढेको गभर्नर नियुक्तको प्रकृया अघि बढेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाबीच भएको पछिल्लो भेटवार्तापछि गभर्नर नियुक्ति प्रकृया अघि बढेको हो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने देउवाको प्रस्तावमा प्रधानमन्त्री ओलीले सहमती जनाएपछि पदबाट राजिनामा दिएका भट्टको राजिनामा कामु गभर्नर निलम ढुंगानाले स्वीकृत नगरेर पेन्डिङमा राखेकी थिईन् ।
देउवासंगको भेटमा प्रधानमन्त्री ओलीले भट्टलाई गभर्नर बनाउनप्रतिबद्धता गरेसंगै अर्थमन्त्री विष्णु पौडेलले आईतवार काम गभर्नर ढुंगानालाई भट्टको राजिनामा स्वीकृत गर्न निर्देशन दिएका थिए ।
संभवत आज काम गभर्नर ढुंगानाले भट्टको राजिनामा स्वीकृत गर्नेपछन् । काम गभर्नर ढुंगानाले फेरि पनि भट्टको राजिनामा स्वीकृत गर्न आलटाल गरे उनलाई कामुबाट हटाएर अरुलाई उक्त जिम्मेवारी दिन काँग्रेस नेतृत्वले ओलीलाई दवाव दिएको बताइएको छ ।
त्यस्तै बिजयनाथ भट्टराईले राजिनामा दिएपछि रिक्त रहेको गभर्नर सिफारिस समितिको सदस्यमा मंगलवार(भोलि)सम्म एक जना नियुक्ति गर्ने गरी समेत शीर्ष नेतृत्वबीच छलफल भएको स्रोतले बतायो । यद्दपि कुनै नाममा सहमती भने भईसकेको छैन् ।
स्रोतका अनुसार गभर्नर नियुक्तिमा भएको ढिलाइका कारण यो प्रकृयालाई गिजोल्ने प्रयास भएको तर्फ सचेत हुदै शीर्ष नेतृत्वबीच यसै साताभित्र भट्टलाई गभर्नर बनाउने समझदारी भएको छ ।