ट्रम्पले इलोन मस्क, विवेक रामास्वामी र फक्स न्यूज प्रस्तोता हेग्सेथलाई दिए विशेष जिम्मेदारी

द एभरेष्ट पोष्ट
३० कार्तिक २०८१ १७:२२
ट्रम्पले इलोन मस्क, विवेक रामास्वामी र फक्स न्यूज प्रस्तोता हेग्सेथलाई दिए विशेष जिम्मेदारी

अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले प्रविधि अर्बपति इलोन मस्क र रिपब्लिकन पार्टी नेता विवेक रामास्वामीलाई सरकारको बजेट कटौती गर्ने र प्रभावकारिता हेर्ने नयाँ निकायको जिम्मा दिएका छन्।

उनीहरूलाई संयुक्त राज्य अमेरिकाको स्थापनाको २५०औँ वार्षिक समारोहअघि नियमहरू कटौती गर्ने र सरकारी खर्च घटाउने जिम्मेवारी दिइएको छ। जुलाई २०२६ सम्मको समयसीमा पाएका उनीहरूको कार्यकाल त्यसपछि के हुन्छ प्रष्ट छैन।

ट्रम्पले फक्स न्यूजका प्रस्तोता पिट हेग्सेथलाई आफ्नो प्रशासनको भावी रक्षा मन्त्रीमा मनोनयन गरेका छन्। विगतमा अमेरिकी न्याश्नल गार्डमा सेवा गरेका उनी अफगानिस्तान र इराकमा पनि खटिएका थिए। उनले अरू पद पाउन सक्ने विवरणहरू आएका थिए।

ट्रम्पले अमेरिकी गुप्तचर निकाय सीआईएको प्रमुखमा जन र्‍याट्क्लिफ र चीनका कटु आलोचक रहेका फ्लोरिडाका सांसद माइक वाल्सलाई राष्ट्रिय सुरक्षा सल्लाहकार मनोनयन गरेका छन्।

उनले क्रिस्टी नोमलाई आन्तरिक सुरक्षा हेर्ने डिपार्टमन्ट अफ होमल्यान्ड सेक्युरिटी प्रमुख नियुक्त गर्ने निर्णय पनि गरेका छन्।

ट्रम्पले आर्कान्सा राज्यका पूर्वगभर्नर माइक हकबीलाई इजरेलका लागि अमेरिकी राजदूत र व्यापारी स्टीभन विट्कोफलाई मध्यपूर्वका लागि विशेष दूत बनाउने निर्णय गरेका छन्। यसअघि उनले न्यूयोर्कबाट सांसद निर्वाचित एलिज स्टिफ्यानिकलाई संयुक्त राष्ट्रसङ्घमा अमेरिकी दूत छानेका थिए।

मस्क र रामास्वामी के भन्छन्

सरकारको खर्च र नियमहरू कटौती गर्न नयाँ निकाय गठन गर्न लागिएको पुष्टि गर्दै सार्वजनिक भएको ट्रम्पको विज्ञप्तिमा मस्कलाई उद्धृत गरिएको छ। “यसले सरकारलाई घाटा पुर्‍याउन संलग्न हुने जो कोही जसमा धेरै मानिसहरू पर्छन्, तिनलाई प्रणालीबाट झट्का दिने छ।”

रामास्वामीले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्, “हामी नरम रूपमा अघि बढ्दैनौँ।”

ट्रम्पले मस्क र रामास्वामीको प्रशंसा गर्दै ती दुई जनाले मिलेर ‘सेभ अमेरिका’ आन्दोलनका लागि अनिवार्य रहेको “सरकारी कर्मचारीतन्त्रलाई भङ्ग गर्ने, अत्यधिक नियम र अनुत्पादक खर्च कम गर्ने अनि सङ्घीय निकायहरूको पुनर्संरचना गर्ने” बाटो खोल्ने उल्लेख गरेका छन्।

“सम्भवत: यो हाम्रो समयको ‘म्यान्हटन प्रोजेक्ट’ हुने छ,” आफ्नो विज्ञप्तिमा पहिलो अणुबम बनाउने अमेरिकी परियोजनाबारे उल्लेख गर्दै उनले भने।

रामास्वामी र ट्रम्प

तस्बिर स्रोत,Reuters

तस्बिरको क्याप्शन,रामास्वामीले रिपब्लिकन प्राइमरीमा ट्रम्पसँग प्रतिस्पर्धा गरेका थिए

अहिले नै यो नयाँ निकायले कस्तो स्वरूप ग्रहण गर्छ स्पष्ट भइसकेको छैन तर यो सरकारको औपचारिक संरचनाभन्दा बाहिर हुने देखिन्छ।

“डिपार्टमन्ट अफ गभर्न्मन्ट इफिशन्सीले सरकारबाहिर रहेर सुझाव र मार्गनिर्देशन दिने छ,” उनले भनेका छन्। यसले सरकारले कहिल्यै नदेखेको उद्यमशील अवधारणालाई स्थापना गर्ने उनको भनाइ छ।

मस्कले ट्रम्पको अभियानमा २० करोड अमेरिकी डलर चन्दा दिएका विवरण आएको छ। उनी ट्रम्पको चुनावी अभियानका एक मुख्य सहयोगी थिए।

रामास्वामी रिपब्लिकन प्राइमरीमा ट्रम्पसँग पराजित भएका थिए। तर त्यसपछि उनले ट्रम्पलाई समर्थन गरे।

भारतीय मूलका यी अर्बपतिले अमेरिकी सङ्घीय जाँच ब्यूरो एफबीआई खारेज गर्नेसहित कतिपय क्रान्तिकारी ‍परिवर्तन गर्नुपर्ने बताउँदै आएका छन्।

ट्रम्पले गरिरहेका मनोनयनमा मस्कको प्रभाव कस्तो

बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जर्करका अनुसार विश्वका सर्वाधिक धनी व्यक्ति मस्क ट्रम्पको मार-आ-लागोमा अवस्थित संक्रमणकालीन मुख्यालयमा सक्रिय छन्।

उनले ट्रम्पलाई क्याबिनेटमा मनोनयन गर्नुपर्ने व्यक्तिहरूको नामबारे सुझाव दिइरहेका छन्। गत साता ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सीसँग टेलिफोन संवाद गर्द पनि मस्क ट्रम्पसँगै थिए।

मङ्गलवार राति ट्रम्पले प्रविधि उद्यमी मस्क र भूतपूर्व रिपब्लिकन उम्मेदवार रामास्वमीलाई नयाँ बजेट कटौतीका क्षेत्रहरू पहिचान गर्ने विभागको जिम्मा दिने घोषणा गरेका थिए।

मस्कले ट्रम्पका अजेन्डा अघि बढाउन आफूले लगानी गर्ने र आगामी कङ्ग्रेस निर्वाचनमा रिपब्लिकन उम्मेदवारहरूलाई सहयोग गर्ने वाचा गर्दै आएका छन्।

मस्क र ट्रम्प सधैँ साझेदार थिएनन्। सन् २०२२ मा मस्कले ट्रम्पले “जीवनको नयाँ अध्याय थाल्नुपर्ने” बताएका थिए। ट्रम्पले भने आफ्नो पहिलो कार्यकालमा अनुदानका लागि “घुँडा टेकेर याचना गर्न” मस्क तयार रहेको दाबी गरेका थिए।

तर राष्ट्रपति निर्वाचन र यसको परिणामसम्म आइपुग्दा मस्क ट्रम्पको निकटतम सहयोगीमध्ये एक बन्न पुगेका छन्।

फक्स न्यूजका प्रस्तोता पिट हेग्सेथ

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,फक्स न्यूजका प्रस्तोता पिट हेग्सेथलाई आफ्नो सरकारमा रक्षामन्त्री मनोनयन गरेका छन्

जुलाईमा हत्या गर्ने उद्देश्यले ट्रम्पमाथि गोली प्रहार भएको थियो। त्यसमा उनी जोगिए। उक्त घटनालगत्तै मस्कले ट्रम्पलाई समर्थन गरेका थिए र कम्तीमा १० करोड डलर चन्दा दिए।

उनले रिपब्लिकन पार्टीका र्‍यालीहरूमा भाग लिएका थिए र मतदानको अन्तिम समय नजिकिँदा प्रतिस्पर्धात्मक ठानिएका राज्यहरूमा प्रत्येक दिन एक मतदातालाई १० लाख डलर दिने कार्यक्रम ल्याए। मतदातालाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोप लगाउँदै उक्त कदमलाई अदालतमा चुनौती दिइएको थियो।

मस्कले सन् २०२२ मा ट्विटर खरिद गरेपछि ट्रम्पलाई उक्त सञ्जालमा पुन: स्वागत गरेका थिए। यसअघि सन् २०२० को निर्वाचनमा ट्रम्प पराजित भएपछि ज्यानुअरी ६ मा अमेरिकी संसद्‌मा दङ्गा भएको थियो। त्यसमा ट्रम्पको भूमिकालाई ध्यान दिँदै “थप हिंसा फैलिने जोखिम” भएको तर्क गरेर उनीमाथि प्रतिबन्ध लगाइएको थियो।

ट्रम्प र मस्कबीच सबै कुरामा सहमति छैन तर मतदान सकिएको रात उनी ट्रम्प र उनको परिवारसँगै थिए।

निर्वाचनमा जित हासिल गरेपछि ट्रम्पले केही मिनेट मस्कको प्रशंसा गर्ने क्रममा उनलाई “नयाँ नायक” र “निकै प्रतिभाशाली” भनेका थिए।

बीबीसीबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस