साउदीसँग नेपाली श्रमिकको सीप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न अनुरोध
नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रिया तत्काल स्थगन गर्न साउदी सरकारसँग औपचारिक आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित नहोस् र वैदेशिक रोजगारीमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले सरकारले यस्तो आग्रह गरेको हो।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए म्निखर तथा प्रथम सचिव अब्दुल रहमान के घोषोमसँग शनिबार भएको शिष्टाचार भेटका क्रममा उक्त विषयमा विशेष ध्यानाकर्षण गराएका हुन्।
भेटमा मन्त्री यादवले साउदी अरब जान तयारी अवस्थामा रहेका नेपाली श्रमिकहरू सीप प्रमाणीकरण प्रक्रियासम्बन्धी अन्योलका कारण समस्यामा परेको उल्लेख गर्दै उक्त प्रक्रिया तत्काल स्थगन गरी भिसा प्रक्रिया यथावत् सञ्चालन गर्न आग्रह गरे। उनले श्रमिकहरूको रोजगारीमा कुनै अवरोध नआउने वातावरण सुनिश्चित गर्न पनि अनुरोध गरे।
मन्त्री यादवले सीप प्रमाणीकरणसँग सम्बन्धित सबै विषय द्विपक्षीय परामर्श, आपसी सहमति र स्थापित संयन्त्रमार्फत समाधान गरिनुपर्नेमा जोड दिँदै कुनै पनि नयाँ व्यवस्था लागू गर्नुअघि दुवै देशबीच पर्याप्त समन्वय आवश्यक रहेको बताए।
जवाफमा साउदी राजदूत म्निखरले यस विषयमा साउदी सरकारसँग आवश्यक परामर्श गरी थप जानकारी उपलब्ध गराइने जानकारी दिएका छन्।
