फिफा विश्वकपमा अधिक कार्बन उत्सर्जनको चिन्ता
काठमाडौं । यस वर्षको फिफा विश्वकप फुटबल हालसम्मकै धेरै कार्बन उत्सर्जन गर्ने प्रतियोगिता हुनसक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।
म्यानचेस्टर विश्वविद्यालय, लाफबोरो विश्वविद्यालय र ब्रिस्टल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले सन् २०२६ को फिफा विश्वकप हालसम्मकै अधिक कार्बन उत्सर्जन गर्ने प्रतियोगिता हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
‘फुटबल र जलवायु परिवर्तन’ शीर्षकको अध्ययन प्रतिवेदनमा उनीहरूले प्रदूषण रंगशाला सञ्चालन वा दर्शकहरूको आवागमनबाट मात्र नबढ्ने, बरु प्रतियोगिताको समग्र संरचनासँग सम्बन्धित हुने उल्लेख गरेका छन् ।
यसको मुख्य कारण प्रतियोगिताको अभूतपूर्व विस्तार, खेल हुने शहरहरूको व्यापक भौगोलिक दूरी तथा त्यसबाट बढ्ने हवाई यात्रालाई ठानिएको छ । किनभने फुटबल अब खेलमा मात्र सीमित नरही विशाल व्यावसायिक तथा आर्थिक हितसँग जोडिएको क्षेत्र बनेको छ ।
सन् २०२६ को पुरुष विश्वकप फुटबल संयुक्त रूपमा अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गरेका छन् । पहिलो पटक प्रतियोगितामा ४८ टोली सहभागी छन् र कुल १०४ खेल खेलाइनेछन् । यी खेलहरू उत्तर अमेरिकाभर फैलिएका १६ फरक–फरक शहरमा आयोजना हुँदैछ ।
यसअघि २०२२ मा कतारमा सम्पन्न विश्वकपमा ३२ टोली सहभागी थिए र ६४ खेल मात्र खेलाइएका थिए । त्यसको तुलनामा २०२६ को संस्करण निकै ठूलो भएकाले यात्रा, ऊर्जा खपत तथा अन्य स्रोतको प्रयोग पनि उल्लेखनीय रूपमा बढ्ने निश्चित छ । खेलहरू विशाल भौगोलिक क्षेत्रफलमा फैलिएका शहरहरूमा आयोजना गरिएकाले खेलाडी, अधिकारी, सञ्चारकर्मी तथा लाखौं दर्शकले लामो दूरीको यात्रा गर्नुपर्नेछ ।
विशेष गरी हवाई यात्राको मात्रा उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ, जुन कार्बन उत्सर्जनको सबैभन्दा ठूलो स्रोतहरूमध्ये एक मानिन्छ ।
प्रतिवेदनले फुटबलको बढ्दो विश्वव्यापीकरण र अन्तर्राष्ट्रिय प्रतियोगिताको विस्तार वातावरणीय दृष्टिले चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरेको छ ।
