युद्धपोत पठाउन ट्रम्पले दिएको दबाबमा चीनले दियो यस्तो कूटनीतिक जवाफ

द एभरेष्ट पोष्ट
२ चैत २०८२ १४:०८
युद्धपोत पठाउन ट्रम्पले दिएको दबाबमा चीनले दियो यस्तो कूटनीतिक जवाफ

बेइजिङ  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेटको सुरक्षाका लागि युद्धपोत पठाउन गरेको आग्रहलाई चीनले कूटनीतिक रूपमा पन्छाएको छ। ट्रम्पले सार्वजनिक रूपमै सैन्य सहयोग मागेको केही घण्टाभित्रै प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्रालयले मध्यपूर्वको तनावप्रति चिन्ता व्यक्त गरेको छ, तर युद्धपोत पठाउने विषयमा भने कुनै ठोस प्रतिवद्धता जनाएको छैन।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले वर्तमान स्थितिलाई ‘अत्यन्तै तनावपूर्णू भन्दै यसले विश्वव्यापी स्थिरतामा खलल पुर्‍याएको बताए।  उनले भने,’ ‘चीन सबै पक्षलाई सैन्य कारबाही तुरुन्त रोक्न, तनाव बढ्न नदिन र क्षेत्रीय अस्थिरताबाट विश्व अर्थतन्त्रमा पर्न सक्ने असर रोक्न आग्रह गर्दछ।’

यसअघि आइतबार ‘फाइनान्सियल टाइम्स’ सँगको अन्तर्वार्तामा ट्रम्पले चीनले आफ्नो ९० प्रतिशत तेल होर्मुज स्ट्रेटबाटै प्राप्त गर्ने भएकाले सुरक्षामा सहयोग गर्नुपर्ने बताएका थिए । उनले सहयोग नगरे चिनियाँ राष्ट्रपति सी चिनपिङसँगको प्रस्तावित शिखर वार्ता समेत स्थगित हुन सक्ने संकेत दिएका थिए । यसबारे सोधिएको प्रश्नमा प्रवक्ता लिनले चिनियाँ र अमेरिकी नेतृत्वबीच सञ्चार भइरहेको बताउँदै सीधा जवाफ दिन इन्कार गरे।

होर्मुज स्ट्रेट युद्धका कारण प्रभावकारी रूपमा बन्द भएपछि ट्रम्पले चीनसहित फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतलाई पनि नौसैनिक सहयोग पठाउन दबाब दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस