१० शीर्ष इरानी अधिकारीबारे सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने
अमेरिकाले इरानका नवनियुक्त सर्बोच्च नेता मोजतबा खामेनीसहित १० शीर्ष इरानी अधिकारीबारे सुराकी दिनेलाई एक करोड डलर इनाम दिने घोषणा गरेको छ । अमेरिकाको विदेश मन्त्रालयले मोजतबा खामेनीसहित १० जनाको बारेमा सूचना दिने व्यक्तिलाई एक करोड डलरसम्मको इनाम दिने घोषणा गरेको हो ।
उसले निकालेको सूचीमा इरानको सर्बोच्च राष्ट्रिय सुरक्षा परिषद्का सेक्रेटरी अली लारीजानी, मेजर जनरल रहिम सफावी, अलि अस्गर हेजाजीलगायत छन् । यसअघि अमेरिका र इजरायलको संयुक्त आक्रमणबाट सर्बोच्च नेता आयातुल्लाह खामेनीको ज्यान गएको थियो ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको खार्ग द्वीपमा अवस्थित हरेक सैन्य ठेगानालाई नष्ट गरेको दाबी गरेका छन् । सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’मा उहाँले अमेरिकाको सेन्ट्रल कमान्डले मध्यपूर्वको इतिहासकै शक्तिशाली मध्येको कारबाही पूरा गरेको र खार्ग द्वीपमा रहेका हरेक सैन्य ठेगानालाई पूरै नष्ट गरिएको उल्लेख गरेका छन् ।
बीबीसीका अनुसार खार्ग द्वीप इरानको झण्डै ९० प्रतिशत तेल निर्यातको केन्द्र हो र तेहरानको अर्थव्यवस्थाका लागि यसलाई जीवनरेखा नै मानिन्छ । गएको फेब्रुअरी २८ तारिखमा अमेरिका–इजरायलको संयुक्त आक्रमण इरानमा शुरु भएयता युद्धको असर मध्यपूर्व क्षेत्रभर फैलिएको छ । मध्यपूर्वमा तनाव कायमै छ ।
इरान र हिज्बुल्लाहले पनि इजरायलमा संयुक्त आक्रमण गरेको विवरण आएको बीबीसीले उल्लेख गरेको छ । जवाफमा इजरायलबाट लेबनान र इरानका कतिपय क्षेत्रमा हवाई आक्रमण गरेको छ ।
यसैबीच यूएईले आफ्नो देशको हवाई सुरक्षा, विस्फोटन र आक्रमणबारेका झुटा भिडिओ क्लिपहरू प्रकाशित वा सार्वजनिक गर्ने १० जनालाई पक्राउ गर्न आदेश दिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । -एनेन्सी
