इनिसा मृत्यु प्रकरण : न्याय माग्दै सुर्खेत र काठमाडौंमा प्रदर्शन

द एभरेष्ट पोष्ट
३० फागुन २०८२ ७:२७
इनिसा मृत्यु प्रकरण : न्याय माग्दै सुर्खेत र काठमाडौंमा प्रदर्शन

काठमाडौं । १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरिएको भन्दै विरोधमा विद्यार्थीले शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् । इनिसा अध्ययनरत विद्यालय उषा बालवाटिकाका विद्यार्थी, शिक्षक र कर्मचारीले विद्यालय पोसाकमै जिल्ला प्रहरी कार्यालयको गेटमा नाराबाजी पनि गरे । ‘इनिसालाई न्याय दे’, ‘हत्यारालाई फाँसी दे’ ‘छोरी मार्न पाइँदैन’लगायत नारा लेखिएका प्लेकार्डसहित उनीहरूले प्रदर्शन गरेका छन् ।

इनिसा २३ फागुनमा सुर्खेतको सामुदायिक जंगलमा बेहोस फेला परेकी थिइन् । प्रादेशिक अस्पताल सुर्खेत पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली सुर्खेत पुगेर घटनाको अनुसन्धान थालेको छ ।

घटना अनुसन्धान गर्न प्रहरी निरीक्षकको नेतृत्वमा सिआइबीको विज्ञ टोली वीरेन्द्रनगर आएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धानको काम सकेको र घटनामा प्राप्त प्रमाणको वैज्ञानिक र प्राविधिक विश्लेषणका लागि सिआइबीको सहयोग लिनुपरेको शाहीले बताए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार किशोरलाई पक्राउ गरिसकेको छ ।

एक सातादेखि शव अस्पतालमै
इनिसाको शव आफन्तले बुझ्न नमान्दा एक सातादेखि कर्णाली प्रादेशिक अस्पतालको शवगृहमा छ । सामूहिक बलात्कारपछि हत्या गरिएको र घटनामा संलग्नलाई कारबाही हुने विश्वस्त वातावरण नभएसम्म शव नबुझ्ने अडान आफन्तले राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस