कैलालीमा १ लाख ७२ हजार बराबरका गुणस्तरहीन खाद्यवस्तु नष्ट
यशोदा शर्मा, कैलाली।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले आर्थिक वर्ष २०८२/८३ को पौष मसान्तसम्म १ लाख ७२ हजार रुपैयाँ बराबरका गुणस्तरहीन खाद्यवस्तु जफत गरी नष्ट गरेको जनाएको छ। कार्यालयले अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गर्दै म्याद सकिएका, मिसावट भएका, दूषित तथा न्यून गुणस्तरका खाद्य सामग्री बजारबाट नियन्त्रणमा लिएर नष्ट गरिएको जानकारी दिएको हो।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पौष मसान्तसम्म १० वटा खाद्य उद्योगलाई अनुमतिपत्र जारी गरिएको छ। यस अवधिमा २८ वटा उद्योगको अनुमतिपत्र नवीकरण गरिएको छ भने १४ वटा नयाँ उद्योग स्थापना गर्न सिफारिस गरिएको विवरणमा उल्लेख छ।
खाद्य गुणस्तर परीक्षणतर्फ पनि कार्यालयले उल्लेखनीय काम गरेको जनाएको छ। सो अवधिमा कुल ९७६ वटा खाद्य तथा दाना नमुना विश्लेषण गरिएको छ। विषादी परीक्षणअन्तर्गत २०० वटा नमुना परीक्षण गर्दा प्रतिकूल नदेखिएको तथा ९७९ वटा खाद्य नमुना परीक्षणमध्ये करिब ४.२ प्रतिशत नमुना प्रतिकूल भेटिएको विवरणले देखाएको छ।
यस्तै, बजार अनुगमनलाई पनि तीव्र बनाइएको कार्यालयले जनाएको छ। यस अवधिमा ३९ पटक बजार अनुगमन गरिएको छ। अनुगमनका क्रममा २६ वटा होटल तथा रेस्टुरेन्ट, ७४ वटा खाद्य उद्योग, एक वटा दाना उद्योग तथा एक पटक दाना बजार अनुगमन गरिएको जनाइएको छ।
राजस्व संकलनतर्फ भने ७ लाख ३० हजार ७११ रुपैयाँ राजस्व संकलन भएको छ। साथै चालु तथा पुँजीगत खर्चसमेत गरी १६।१८ प्रतिशत वित्तीय प्रगति हासिल भएको कार्यालयले जनाएको छ।
