बानेश्वरमा प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौं– राजधानीको बानेश्वरमा जेनजी आन्दोलनकारीहरुले प्रहरीमाथि ढुंगामुढा गरेका छन्। सरकारविरोधी चर्को नाराबाजीसहित प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामुढा गरेका हुन्।

कर्फ्यु आदेशका बिच बानेश्वरमा भेला भएका उनीहरुले प्रदर्शन गरिरहेका हुन्।

यस्तै स्थितिलाई नियन्त्रणमा लिने प्रयास स्वरुप प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

रास्वपाका सबै सांसदले सामूहिक राजीनामा दिने

संसदकाे चाैथाे ठूलाे शक्तिकाे रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । युवा पुस्ताको आन्दोलन चर्किएको र त्यसमा सरकारले बर्बर दमन गरेपछि रास्वपा सांसदहरूले सामूहिक राजीनामा दिन लागेका हुन् ।

स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिँदै

२४ भदौ, काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने भएका छन् ।

देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिने बताएका हुन् ।

स्वास्थ्यमन्त्री पौडेलले भने, ‘यस्तो परिस्थितिमा सरकारमा बस्ने सकिएन । राजीनामा दिँदैछु ।’

यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् ।

कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् ।

बानेश्वरमा जेनजी प्रदर्शनकारीले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं। बानेश्वरस्थित सिभिल अस्पताल अगाडि भेला भएका जेनजी प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।

आफ्ना साथीहरुको मृत्यु भएको घोषणा भएको अस्पतालको गेट अगाडि मंगलबार भेला भएका उनीहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन्।

उनीहरुले नालायक प्रधानमन्त्री राजीनामा दे, विद्यार्थी मार्न पाइँदैन जस्ता नारा लगाइरहेका छन्।

उनीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामाले मात्र नपुग्ने समेत बताएका छन् । उनीहरुले प्रहरी प्रशासनविरुद्ध समेत नारा लगाइरहेका छन् ।

मंगलबार बिहानैदेखि प्रशासनले कर्फ्यू लगाएको छ । तर, कडा सुरक्षाका बीच जनेजी प्रदर्शनकारी सडकमा निस्किएका छन् ।

नयाँ बानेश्वरबाट शंखमुल जाने बाटोमा भेला भएका प्रदर्शनकारीले समेत प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन्। उनीहरुले विद्यार्थीको रगतको जिम्मा प्रधानमन्त्री ओलीले लिनुपर्ने बताएका छन्।

सोमबार भएको जेनजी प्रदर्शनमा भएको प्रहरी दमनमा कम्तिमा १९ जना युवाको मृत्यु भएको छ । २ सय बढी घाइते छन् ।

मानव अधिकार आयोगका पदाधिकारीहरू आकस्मिक बैठकमा

​​​​​​​काठमाडौं । युवा प्रदर्शनकारीमाथि प्रहरीको चर्को बल प्रयोगमा मौन रहेको भनी चौतर्फी आलोचना खेपेपछि राष्ट्रिय मानव अधिकार आयोगले आकस्मिक रुपमा पदाधिकारीहरूको बैठक डाकेको छ ।

आयोग सम्वद्ध स्रोतका अनुसार, गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनामा आयोग मौन रहेको भनी चौतर्फी आलोचना आएपछि कर्मचारीहरूले समेत आयोगका पदाधिकारीहरूलाई दबाव दिएका थिए ।

त्यसपछि आयोगका अध्यक्ष तपबहादुर मगरले बिहान १० बजे आकस्मिक रुपमा बैठक डाकेका हुन् ।

सोमबारको प्रदर्शनपछि राष्ट्रिय मानव अधिकार आयोगले विज्ञप्ति निकालेको थियो । तर प्रदर्शनमा भएको चर्को दमनमा मौन रहेको आयोगले प्रदर्शनलाई संयमित बनाउन आन्दोलनकारीहरूलाई आग्रह गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त मानव अधिकार आयोगका पदाधिकारीहरू मानव अधिकार उल्लंघनसम्बन्धी सरकारका कामकारबाहीमा मौन हुने गरेको आरोप लाग्नेगरेको छ ।

प्रचण्ड निवासमा तोडफोड, नजिकको प्रहरी बिटमा आगजनी

काठमाडौं । प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड गरेका छन् । नजिक रहेको प्रहरी बिटमा आगजनी गरेर अघि बढेको समूहले प्रचण्डको निवास पुगेर ढुंगामुढा गरेका हुन् ।

उनीहरु गेट अगाडि उभिएर ढुंगामुढा गरिरहेका छन् ।

आज बिहानैदेखि ललितपुरका विभिन्न ठाउँमा प्रहरी बिटमा आगो लगाउने र प्रदर्शन गर्ने क्रम जारी छ ।

एक समूहले ललितपुर सुनाकोठीको ढोलाहिटीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा समेत आगजनी गरेको छ ।

प्रहरी दमनविरुद्ध अमेरिकामा नेपालीहरूको विशाल प्रदर्शन

२४ भदौ, काठमाडौं। भ्रष्टाचार र सामाजिक सञ्जालमा प्रतिबन्धविरुद्ध सडकमा उत्रेका युवा–विद्यार्थीको हत्याको विरोधमा अमेरिकाका विभिन्न शहरहरुमा विशाल प्रदर्शन भएका छन्।

हत्या गरिएका १९ जना विद्यार्थीको श्रद्धाञ्जलीका लागि अमेरिकाको टेक्सास राज्यको डालसमा करिब ५ हजार नेपाली जम्मा भएको पत्रकार विकासराज न्यौपानेले अनलाइनखबरलाई जानकारी दिए ।

डालसको पशुपतिनाथ मन्दिर तथा बौद्धविहारमा सोमबार दिउँसोदेखि रातीसम्म नेपालीहरु जम्मा भएर सरकारी दमनको विरोध तथा हत्या गरिएका विद्यार्थीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

उनीहरुले मैनबत्ती बालेर श्रद्धाञ्जली व्यक्ति गरेका थिए । त्यहाँ उनीहरुले भ्रष्टाचार रोक (स्टप करप्सन), मानव अधिकार हनन भयो (ह्युमन राइट्स भायोलेटेड), जनता मार्न पाइँदैन, नेपालका युवाको आवाज सुनिनुपर्छ, ‘कालो दिन, अस्ताएका सपनाहरु’, रेमिट्यान्स पठाउन बन्द गर, जस्ता नारा लेखेका प्लेकार्ड बोकेर सरकारको विरोधमा नाराबाजीसमेत गरेका थिए ।

त्यस्तै, न्यूयोर्कस्थित ज्याक्सन हाइटमा हजारौंको संख्यामा नेपालीहरु जम्मा भएर हत्या गरिएका विद्यार्थीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । त्यहाँ जम्मा भएकमा नेपालीहरुले पनि ‘युवाहरुसँग नडराऊ, उनीहरुका कुरा सन’ , ‘जेनजी, वी स्ट्यान्ड विथ यु’ भन्ने लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । उनीहरुले पनि नेपाल सरकारको दमनको तीव्र विरोध गरेका थिए।

त्यस्तै, अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा पनि हजारौं नेपालीहरु स्वस्फूर्त रुपमा जम्मा भएर प्रदर्शन गरेका छन् । उनीहरुले ‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ,’ भन्ने गीत गाएर तथा भ्रष्टाचार र सरकारको विरोधमा नाराबाजी गरेका थिए । त्यहाँ उनीहरुले नेपालको झन्डाको आकारमा दिप प्रज्वलन गरेका सरकारले हत्या गरेका विद्यार्थीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

त्यस्तै, बोस्टनस्थित हार्वर्ड विश्वविद्यालयको प्राङ्गणमा पनि नेपालीहरु उपस्थित भएर सरकारले हत्या गरेका युवा विद्यार्थीहरुलाई श्रद्धाञ्जलि व्यक्त गरेको पत्रकार न्यौपानेले जानकारी दिए । अमेरिका अन्य स्थानहरुमा पनि नेपालीहरु स्वस्फूर्त रुपमा उपस्थित भएर मृतकप्रति श्रद्धाञ्जली र सरकारको विरोधमा प्रदर्शन गरेका छन्।

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

२४ भदौ, काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ ।

केहीबेरअघि मन्त्री गुरुङको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् ।

सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए । आक्रोशित उक्त भिडले मन्त्री गुरुङको घरमा आगजनी गरेको एक सुरक्षा अधिकृतले जानकारी दिए ।

हरिसिद्धी प्रहरी प्रभागमा आगजनी

२४ भदौ, काठमाडौं । ललितपुरको हरिसिद्धीस्थित प्रहरी प्रभागमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

सोमबार १९ जनाको ज्यान गएपछि जेनजी युवाहरूको समूह मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका छन् ।

आक्रोशित प्रदर्शनकारीको समूह प्रहरीको घेरा तोड्दै कार्यालयमा आगजनी गरेका जिल्ला प्रहरी कार्यालय ललितपुरले एक प्रहरी अधिकारीले जानकारी दिए ।

ओली मन्त्रिपरिषदका अर्का नेताले पनि राजीनामा दिए

काठमाडौं । केपी शर्मा ओलीको मन्त्रिपरिषदका सदस्यले धमाधम राजीनामा दिन थालेका छन् । सोमबार गृहमन्त्री रमेश लेखकले राजीनाम दिएका छन् भने आज कृषि मन्त्री रामनाथ अधिकारीले पनि राजीनाम दिने बताएका छन् ।

त्यस्तै , नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह गरेका छन् । चीन भ्रमणमा रहेका डा कोइराला भ्रमण छोट्याएर आज बेलुका नेपाल फर्कन लागेका छन् । कोइरालाले वर्तमान सरकारको औचित्य समाप्त भएको बताएका छन् ।

विपक्षी दलहरूको बैठकले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक सकिएको छ।  बैठक माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा बसेको थियो।

बैठकले जेनजी प्रदर्शनमा दमन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ। बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गणतन्त्रकै कलंकको रुपमा घटना भएको भन्दै सरकारको रवैया स्वीकार्य नहुने भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग्ने धारणा बनाएको बताए।

सामाजिक सञ्जाल प्रतिबन्द र भ्रष्टाचारविरुद्ध सोमबार भएको जेनजी पुस्ताको प्रदर्शनमा १९ जना होनहार युवाले ज्यान गुमाएका छन् भने सयौं घाइतेहरुको उपचार भइरहेको छ।

नयाँ बानेश्वरमा प्रदर्शनमा उत्रिएका युवाहरूलाई धमाधम पक्राउ गर्दै प्रहरी

नयाँ बानेश्वरमा प्रदर्शनमा उत्रिएका युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रशासनले बिहान साढे ८ बजे देखि कर्फ्यु जारी आदेश गरेको थियो । तर, नवयुवा

कर्फ्युको प्रवाह नगरी प्रदर्शनमा उत्रिएका थिए । उनीहरूले सरकार विरुद्ध चर्का नाराबाजी लगाइरहेका थिए । वानेश्वरकाे मुख्य चााेकमा प्रदर्शन गरिरहेका प्रदर्शनकारी संसिद भवनको मुख्य गेट नजिकै पुग्न खोजेपछि प्रहरीले हटाउन धमाधम पक्राउ गरिरहेको छ । पक्राउ परेका युवालाई संसद् भव भित्र प्रहरीको नियन्त्रणमा राखिएको छ । शंखमुल, तीनकुने, थापा गाउँ, विजुलीबजार आसपासको क्षेत्रमा प्रहरीको उपस्थिति बाक्लो छ ।

नेपाली सेनाले समेत गस्ती बढाइरहेको देखिन्छ । तीनकुने माइतीघर तर्फको सडक पूर्ण रूपमा बन्द छ छ। दमकल, एम्बुलेन्स, प्रेस र अत्यावश्यकीय सवारी साधन बाहेक अरूलाइ आवतजावत गर्न प्रतिबन्ध लगाइएको छ ।

कांग्रेसका मन्त्रीहरु छलफलमा जुटे, शेखर पक्षका मन्त्रीहरु राजीनामाको तयारीमा

काठमाडौं । जेनजीको आन्दोलनमा हिजो १९ जनाको मृत्यु भएपछि सरकार छोड्न पर्ने भनेर दबाब बढेको बेला कांग्रेसका मन्त्रीहरु बेग्लै छलफलमा जुटेका छन् । कांग्रेसबाट स्वास्थ तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले कांग्रेसका मन्त्रीहरुले सयुक्त राजीनामा दिने वा के गर्ने भन्ने विषयमा अहिले छलफल भैरहेको बताए ।

कांग्रेसबाट प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरू सरकार छन् । सिंह उपप्रधान तथा सहरी विकास मन्त्री हुन् । भने, परराष्ट्र मन्त्री आरजु राणाा देउवा , खेलकुद मन्त्री तेजुलाल चौधरी, कानुन मन्त्री अजय चौरसिया, उर्जा मन्त्री दीपक खड्का, वन मन्त्री ऐनबहादुर शाही, स्वास्थ मन्त्री प्रदीप पौडेल, कृषि मन्त्री रामनाथ अधिकारी र पर्यटन मन्त्री बद्री पाण्डे सरकारमा सहभागी छन् ।

१९ जनाको मृत्यु भएपछि हिजो नै गृहमन्त्रीमा रमेश लेखक राजीनामा दिएका थिए ।

यसैबीच सरकारमा सहभागी नेपाली कांग्रेसका नेता डा।शेखर कोइराला पक्षका मन्त्रीहरुलाई राजीनामाको निर्देशन दिइएको छ । सरकारबाट फिर्ता हुन सभापति देउवा नमानेपछि कोइरालाले आफूनिकट मन्त्रीहरुलाई राजीनामा गर्न भनेका हुन् ।

अमेरिका सहित सात दूतावासद्धारा सोमवारको घट्नामा दुःख व्यक्त

काठमाण्डौं, २४ भदौ ।
१९ जनाको ज्यान गएको जेन–जी प्रदर्शनको घटनालाई लिएर अमेरिकासहित सात देशका दूतावासले दुःख व्यक्त गरेका छन् ।

सात वटा देशका दूतावासका तर्फबाट सोमवार साँझ जारी गरिएको संयुक्त विज्ञप्तिमा शान्तिपूर्ण तरिकाले समाधान खोज्न आग्रह गरिएको छ ।

हामी शान्तिपूर्ण सभा र अभिव्यक्ति स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्छौं,अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जापान, कोरिया, बेलायत र अमेरिकी दूतावासका तर्फबाट जारी गरिएको बिज्ञप्तिमा भनिएको छ, हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थिति थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्छौं ।

हामी काठमाडौं तथा नेपालका अन्य स्थानमा आज देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्छौं,बिज्ञप्तिमा भनिएको छ, यी घटनाका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको र कयौं घाइते भएकामा हामी संवेदनशील भएका छौं ।

दूतावासहरूले पीडित परिवारजन र प्रभावित व्यक्तिहरूप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइते सबैलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

जेन जीको आँधी

जेन जीको आन्दोलनमाथि भएको प्रहरी दमनले यतिबेला त्यो संसद, जहाँ सार्वभौम जनताले आफ्ना प्रतिनिधि चुनेर पठाएका थिए, त्यसको प्रांगण रक्ताम्य भएको छ । रगतको आहाल बनेको बानेश्वर र त्यस वरपरका दृष्यहरु हेर्दा यस्तो लाग्छ, यो देशको नागरिक अझै नागरिक भईसकेको रहेनछ, उ रैतीको स्तरभन्दा माथि उठ्नै नसकेको रहेछ । प्रहरीको बर्बर दमनले राज्यको बिद्रुप रुप देखाएको छ । गोलीले क्षत विक्षत युवाहरुका शरिर, अस्पतालका शैयामा छटपटाईरहेका उनीहरुको आर्तदान सुन्दा यस्तो लाग्छ, यो मुलुकमा अझै लोकतन्त्र आईसकेको रहेनछ ।

सरकारले सामाजिक सञ्जालका प्लेटफर्ममाथि लगाएको बन्देज र भ्रष्टाचारको विरोधमा जेन जीले छेडेको आन्दोलनमा राज्य यति क्रुर हुने कल्पना,कम्तिमा लोकतान्त्रिक व्यवस्थामा गरिदैन ।

राज्यलाई खवरदारी गर्नु के जेन जीको अपराध हो ? के लोकतन्त्रमा सरकारका गलत निर्णयको विरोध गर्न पाउने अधिकार नागरिकलाई छैन ? जेन जीको आन्दोलनमा घुसपैठ भयो भनेर के सरकार यति सजिलै उम्किन पाउछ ?

जेन जीमाथिको दमन शासकको हताश मनस्थितिको उपज हो । सडकमा जेन जीको उपस्थितिले सत्ता अत्तालियो । उसले बिबेक गुमायो । र, नागरिकमाथि उ दमनमा उत्रियो ।

गृहमन्त्रीको राजिनामा वा छानबिन समिति गठन गर्दैमा जेन जीको आन्दोलन थामिनेवाला छैन् । यसको भर्पाई शासकहरुलाई भारी पर्ने निश्चित छ । अव भाग्ने होईन, भोग्न तयार हुनुपर्छ, शासकहरु ।

जेन–जी के हो ?

सन १९९१ मा प्रकाशित क्यानडाली लेखक डग्लस कोपल्याण्डको उपन्यास, जेनरेसन एक्स ः टेल्स फर एक्सलरेटेड कल्चरमा १९६५ देखि १९८० को बीचमा जन्मिएको पुस्ता, जसलाई जेनरेशन एक्सका रुपमा परिभाषित गरिएको छ, त्यसमा त्यही पुस्ताका तीन वटा साथीको मनोविज्ञान, बैकिल्पक जीवनशैली, असन्तुष्टि र परिवर्तकारी सोचको चर्चा छ । त्यही उपन्यासपछि विभिन्न समयमा जन्मिएका पुस्तालाई एक्स, वाई र जेड बर्गमा राख्न थालिएको हो ।

सन् १९४६ देखि १९६४ सम्मको पुस्तालाई बेबी वुमर्स भनिन्थ्यो । १९६५ देखि ८० को पुस्तालाई जेनरेसन एक्स भनिन थालियो । १९८१ देखि १९९६ सम्मको पुस्तालाई मिलिनियल्स तथा जेनरेशन वाई भनियो । र, १९९७ देखि २०१३ सम्मको पुस्तालाई जेनरेशन जेड । जसलाई छोटकरीमा जेएन–जी भनिन्छ । १९९७ मा जन्मिएको शिशु अहिले २८ वर्षको भयो । २०१३ भन्दा पहिले तर १९९७ पछि जन्मिएको पुस्तालाई जेन जी भनिएकोले यो समूहमा १६ देखि २८ वर्षका युवाहरु पर्छन् । नेपालमा जेन–जीको संख्या कुल जनसंख्याको ३३ प्रतिशत रहेको छ ।

अल्फावेटका आधारमा एकपछि अर्को पुस्तालाई क्रमश ः एक्स, वाई र जेड भनिएको हो । यद्यपि जेड पछिको पुस्तालाई अंग्रेजी वर्णमालाको पहिलो अल्फावेट ए ले सम्बोधन गरेर जेनरेशन अल्फा भनिएको छ । जुन २०१३ पछि जन्मिएका बच्चाहरूलाई जनाउँछ ।

सानो उमेरदेखि नै इन्टरनेट, स्मार्टफोन, र सामाजिक सञ्जालमा हुर्किएको जेन–जी डिजिटल पुस्ता हो । जो प्रविधिमा पोख्त छ ।

ग्याजेटसंगै हुर्किएको यो पुस्ताको राजनीतिमा त्यतिबिधि चासो थिएन । बस्, उसलाई कसैले डिष्टर्व नगरोस, उ यत्ति चाहन्थ्यो । एन्ड्रोईड हुदै आईफोन मोवाईलसम्म जेन–जीको सहज पहूँच भयो । यस कारण यो पुस्ता कही मोवाईल र ग्याजेटको अम्मलले कामै नलाग्ने त हुदैन, यस्तो आशंका र चिन्ता नगरिएको होईन ।

पछिल्लो दुई दशकमा विश्वमा दु्रततर गतिमा सूचना प्रविधिको विकास भयो । जेन–जीको हुर्काई र विकास नोकियादेखि आईफोन जस्तै दु्रत गतिमा भयो ।

पुरानो पुस्ताको भन्दा उसको सोच त्यस कारण पनि फरक छ । र, सोच्ने शैली आईफोनको सिरिज जस्तै । त्रिभुवन विमानस्थलमा हरेक दिन विदेशिनेको भीड । भ्रष्ट व्यवस्था । कामचोर कर्मचारी । मैमत्त शासक । अदालत र अख्तियार । तिनका निर्णय । यी सबै जेन–जीले चनाखो भएर हेरिरहेको थियो । भ्रष्टाचार, विभेद, असमानताले उसलाई घोचिरहेको थियो । तर उ चुप थियो । यतिबेला उ जागेको छ ।

दमन अति भयो भने बन्द ओठ बोल्न थाल्छन् । सामाजिक सञ्जालका प्लेटफर्ममाथि बन्देज लगाउने सरकारको निर्णयले उसलाई आहत बनायो । उ जाग्यो । उठ्यो । अव कुर्लिनेछ, शासकका विरुद्ध ।

जेन–जी पुस्ता अधैर्य छ । यो पुस्ता परिवर्तन होस वा उपलब्धी, त्यसका लागि पर्खिने पक्षमा छैन् । न त यो पुस्ता बिगतबाट जे जे हुदै आयो, त्यसलाई चुपचाप सहने पक्षमा त झन छदै छैनन् । यो पुस्ताभित्र असिमित जिज्ञासा छन् । त्यतिकै कौतुहलता पनि । र छ, सरकारप्रति आक्रोश ।

भई हाल्ला । ठिकै त छ नि । विस्तारै हुने कुरा हो । एकै पटक सबै कुरा कहाँ सम्भव छ ? के को हतार ? सुधार हुदै गएको त छ नि । जेन–जी पुस्ता यस्ता तर्कमा चुप लाग्ने पक्षमा छैन् ।

सत्तामा बसेकाहरु भन्छन्, राजाको पालामा भन्दा गणतन्त्रमा कति धेरै विकास भएको छ । जेन–जीलाई परिवर्तन तत्काल चाहिएको छ । सुधार तत्काल चाहिएको छ ।
जेन–जीले राजतन्त्र भोगेन् । त्यसैले उसलाई राजतन्त्र कस्तो थियो, थाह छैन् । तर उसलाई यो गणतन्त्र र सरकारको कार्यशैली पटक्कै मन परेको छैन् ।
उसले घरमै बसेर ग्याजेटमा अमेरिका देखेको छ । दुबई र सांघाईको विकास हेरेको छ । र, संसारभरी भएका आन्दोलनहरु, जसले शासक र व्यवस्था दुबै फाले, त्यो सबै देखेको छ ।

श्रीलंका, बंगलादेश देखेको उसले ईण्डोनेशिया देख्दैछ । जेन–जी जागेका देशमा शासकहरुले भाग्ने मौकासम्म पाएका छैनन्, विरासत र बैभव जोगाउने त परको कुरा हो ।

के चाहन्छ, जेन–जी ?

शासनमा सुधार चाहन्छ । त्यो भोलि होईन आजै । भ्रष्टाचारको अन्त्य चाहन्छ, आजै । भ्रष्टाचार निवारणका लागि गठन भएको त्यो संयन्त्र, जो सत्ताको निर्देशनमा चल्छ, त्यो संयन्त्र, जो आफ्नालाई छुदैन्, त्यस्ता संयन्त्रमा उलटपुलट चाहन्छ । त्यो पनि आजै । हो, उ भोलिवादमा विश्वास गर्दैन् ।

के के हतार ? जातीय छुवाछुत विस्तारै अन्त्य हुदैछ । भ्रष्टाचार पनि ढिलोचाँडो अन्त्य होला । विकास पनि भईरहेकै छ । यस्ता तर्कहरुसंग उसलाई घृणा छ ।

सधै आलोपालो सत्तामा रहेका ७० नाघेका ओलीको उमेर समूहले ३० मुन्तिरका युवाहरुको अपेक्षा, आकांक्षा, सपना र रहरहरु बुझ्न सकेन् । आज जेन जीले जे भोगिरहेको छ, उसमाथि शासकबाट भएको उपेक्षा र दमन त्यसैको परिणाम हो ।

जेन जीले केपी शर्मा ओलीलाई भोगीसक्यो । शेर बहादुर देउवालाई देखिसक्यो । पुष्पकमल दाहाललाई बेहोरिसक्यो । यी पुराना अनुहारको विदाई चाहन्छ, जेन जी । ओलीपछि सत्तामा देउवा आउने कुराले जेन जी आत्तिएको छ । उनीहरुको बुझाई छ, यी कुनै पनि नेताबाट मुलुक पार लाग्दैन् । युवाको अपेक्षा पुरा हुन सक्दैन् । जेन जीको आन्दोलनबाट यी नेताहरुको बहिगर्मन होस वा नहोस, यिनले सत्ता छोडुन वा नछोडुन, २०८४ मा यी कुनै पनि अनुहार फेरि सत्तामा आउने छैनन्, यो चाही निश्चित छ ।

नेताका छोराछोरीको भडकिलो जीवन । विलासी दिनचर्या । त्यसलाई सुदूर गाउँको अभावमा बाँचेको युवाको जीवन दाँज्न थालिसक्यो, जेन–जी । सडकबाट सत्तामा पुगेका नेताहरुको जीवनमा तीन दशकयता भएको कायापलट र त्यसको स्रोतको खोजी गरिरहेको छ, जेन–जी । र त, शासकहरुको मात्र होईन, तिनका सन्तानहरुको पनि लवाईखवाई र जीवन शैली यतिबेला जेन–जीको निशानामा परेको छ ।

जनतालाई रेलका सपना देखाएर बयलगाडाको गतिमा विकास गरिरहेका नेताहरुलाई अव उ छुट दिने पक्षमा छैन । र, आलोपालो सत्ता चलाएर राज्यको ढुकुटीको दोहन गर्न पल्केका नेताहरुलाई जेन–जी छुट दिने पक्षमा छैन् ।

सच्चिने कि सक्किने, त्यो शासकको हातमा छ । आगे शासकको मर्जी । जेन–जीको आँधीले कसलाई कहाँ पु¥याउने हो, थाह छैन् ।

सोमवार रातिदेखि सामाजिक सञ्जालमाथिको बन्देज फुकुवा

काठमाडौँ, २४ भदौ ।
१९ जनाको मृत्यु र पाँच सय भन्दा बढि जेन जी प्रदर्शनकारीको मृत्युपछि सरकारले सामाजिक सञ्जालमाथिको बन्देज फुकुवा गरेको छ ।

बिहीवारदेखि सामाजिक सञ्जालका प्लेटफर्ममा बन्देज लगाएको सरकार सोमवार राति आफ्नो निर्णयबाट पछि हटेको हो ।

सामाजिक सञ्जालमाथि बन्देज लगाउने सरकारको कदमको बिरोधमा उत्रिएका जेन जीको प्रदर्शनमा प्रहरीले गोली चलाउदा सोमवार काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको थियो ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जेन जीको मागअनुसार सामाजिक सञ्जाल खुल्ने बताएका थिए । यद्यपि उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भने राजिनामा नदिने बताए ।

जेन जीमाथिको दमनको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्र संघीय मानव अधिकार आयोगको माग

काठमाण्डौं, २४ भदौ ।
काठमाडौं । संयुक्त राष्ट्र संघीय मानव अधिकार आयोगले सरकारद्धारा जेन जीको आन्दोलनमाथि भएको दमन र मृत्युको घट्नामा तत्काल निष्पक्ष छानबिनको माग गरेको छ ।

प्रवक्ता रविना समदसानीले जेनजी आन्दोलनमा भएको दमन र मृत्युको घट्नाले आफू स्तब्ध भएको बताउदै त्यसको तुरुन्त निष्पक्ष छानबिनको माग गरेकी हुन् ।

उनले भिडिओ सन्देशमा आधारभूत सिद्धान्तका आधारमा समस्याको समाधान गनुपर्नेमा जोड दिदै युवाहरुको मागलाई संवादमार्फत सम्बोधन गर्न आग्रह गरेकी छन् ।

युवा समूहहरूले भ्रष्टाचार र हालै सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा आयोजित प्रदर्शनहरूमा सुरक्षा बलहरूले अनावश्यक वा असमानुपातिक बल प्रयोग गरेको भनी गम्भीर चिन्ताजनक आरोपहरू प्राप्त गरेको उनले भिडिओ सन्देशमा खुलाएकी छन् ।

सरकारलाई शान्तिपूर्ण भेला हुने स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अधिकारको सम्मान र सुनिश्चितता गर्न उनले आह्वान गरेकी छन् ।

सबै सुरक्षा बलहरूले कानून प्रवर्तन अधिकारीहरूद्वारा बल र हतियारको प्रयोगसम्बन्धी आधारभूत सिद्धान्तहरूको पालना गर्नु पर्ने संयुक्त राष्ट्र संघीय मानव अधिकार आयोगकी प्रवक्ता रविना समदसानीले बताएकी छन् ।

यस्ताे छ उनकाे सम्बाेधन:

नेपालमा भएको प्रदर्शनकारीमाथिको दमन र मृत्यले हामी स्तब्ध छौँ र तुरुन्तै निष्पक्ष छानबिनको माग गर्दछौँ । हामीले युवा समूहहरूले भ्रष्टाचार र हालै सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा आयोजित प्रदर्शनहरूमा सुरक्षा बलहरूले अनावश्यक वा असमानुपातिक बल प्रयोग गरेको भनी गम्भीर चिन्ताजनक आरोपहरू प्राप्त गरेका छौँ ।

हामी सरकारलाई शान्तिपूर्ण भेला हुने स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अधिकारको सम्मान र सुनिश्चितता गर्न आह्वान गर्दछौँ । सबै सुरक्षा बलहरूले कानून प्रवर्तन अधिकारीहरूद्वारा बल र हतियारको प्रयोगसम्बन्धी आधारभूत सिद्धान्तहरूको पालना गर्नुपर्छ ।

नेपालले जीवन्त लोकतन्त्रको अभ्यासमा छ जसमा संवाद नै युवाहरूको चिन्तालाई सम्बोधन गर्ने उत्तम माध्यम हो । हामी सामाजिक सञ्जाललाई नियमन गर्ने उपायहरूको पुनर्विचार गर्न आग्रह गर्दछौँ ताकि नेपालको मानव अधिकार बचिरहोस् ।

ग्लोबल कलेजमा १२ कक्षा अध्ययनरत श्रीयमको जेन-जी आन्दोलनमा मृत्यु

काठमाडौं, २३ भदौ ।
जेन जी आन्दोलनमा प्रहरीको गोली लागेर ग्लोबल कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी श्रीयम चौंलागाईंको निधन भएको छ ।

प्रहरीको गोली लागेर घाईते भएका उनको ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको जानकारी प्राप्त भएको कलेजका प्रिन्सीपल अम्बादत्त जोशीले बताए ।

ग्लोबल कलेजमा ११ बजेसम्म बिहानीको कक्षा पढिसकेर पेप्सीकोलास्थित घर फर्किने क्रममा श्रीयम आन्दोलनमा मिसिएको बताईएको छ ।

साथीसंगै कलेजबाट बस चढेर आएका उनी वानेश्वरमा ओर्लिएर आन्दोलनमा सहभागी भएका थिए । प्रहरीको गोली लागेर घाईते भएका उनको विद्यालयको पोशाकमा उनको मृत्यु भएको हो ।

 

जेन जी आन्दोलनमा प्रहरीको गोलीले बझाङका बोहराको मृत्यु

काठमाण्डौं, २३ भदौ ।
जेन -जीको प्रदर्शनमा सहभागी बझाङका एक युवकको प्रहरीको गोली लागेर मृत्यु भएको छ ।

बानेश्वरमा भएको जेन-जी पुस्ताको आन्दोलनको क्रममा प्रहरीले गोली लागेर घाइते भएका बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ गोर्खालीका सुवाश बोहराको मृत्य भएको छ ।

सामाजिक सञ्जालमा सरकारले लगाएको बन्देज र भ्रष्टाचारको विरोधको प्रदर्शनमा उत्रिएका जेन जीमाथि प्रहरीले गोली चलाउदा काठमाण्डौंमा १७ र ईटहरीमा दुई जनाको मृत्यु भएको छ । जेन-जीको प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ।

गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं,२३ भदौ। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा लेखकले गृहमन्त्रीको पदबाट राजिनामा दिएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएका हुन् ।

सोमबार भएको जेनजीको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएपछि लेखकले नैतिकता आधारमा गृहमन्त्रीको पदबाट राजिनामा दिएका हुन् ।

त्यसअघि उनले पार्टीको पदाधिकारी बैठकमा नैतिकताका आधारमा पदमा नबस्ने जानकारी गराएका थिए ।

काठमाण्डौंमा जेन जीमाथि प्रहरीले चलाएको गोली लागेर मृत्यु तथा घाईते भएकाहरुको नामावली

जेन- जी प्रदर्शनमा प्रहरीले गोली चलाउदा १९ जनाको मृत्यु

काठमाडौँ, २३ भदौ । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा काठमाण्डौं र ईटहरीमा प्रदर्शनमा उत्रिएका जेन- जीहरुमाथि प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या १९ पुगेको छ भने २ सय ५६ घाइते भएका छन् । काठमाण्डौंमा १७ र ईटहरीमा एक प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको छ ।

अहिलेसम्म ट्रमा सेन्टरमा ८, एभरेस्टमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षणमा १ र केएमसीमा २ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।
विभिन्न अस्पतालमा ३४७ जना घाइतेको उपचार भइरहेको छ ।

सिभिलमा १००, ट्रमामा ५९, एभरेस्टमा १०२, केएमसीमा ३७, वीरमा ६ र पाटन अस्पतालमा ४, त्रिवि शिक्षणमा १८ जना, नर्भिकमा ३, बीपी प्रतिष्ठानमा २, गण्डकी मेडिकल कलेजमा १ जना, विराट मेडिकल कलेजमा ४ र दमक अस्पताल ७ जना उपचार भइरहेको छ । यस्तै, इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएसँगै प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएको हो ।

एभरेस्ट अस्पतालका अधिकारी अनिल अधिकारीका अनुसार त्यहाँ ४ जना गम्भीर अवस्थाका छन् । ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले ट्रमामा १० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको र छातीमा गोली लागेको छ ।

प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको थियो । घाइतेको ट्रमा, सिभिल, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रदर्शनकारीले लगाए ईटहरी नगरपालिकामा आगो

विराटनगर,२३ भदौै । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा उत्रिएका जेन जीले सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगो लगाएका छन् ।

सोमबार दिउँसो पालिका परिसर भित्र प्रदर्शनकारी प्रवेश गरेकाका प्रदर्शनकारीमाथि प्रहरीले हवाइफायर गरेपछि उनीहरुले इटहरी उपमहानगरपालिकामा आगो लगाएका हुन् ।

प्रदर्शनकारीहरुले मेयरको कार्यकक्ष, राजस्व शाखा र स्टोर शाखामा आगो लगाइदिएका हुन् ।

आगो नियन्त्रणमा आउन नसकेको उपमहानगरपालिकाले जनाएको छ । इटहरीको प्रदर्शन अनियन्त्रित बनेपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि कर्फ्यु लगाएको छ ।

सरकार छोड्न कांग्रेसका नेता कार्यकर्ताको माग, गृहमन्त्रीको राजीनामा माग्दै बढाए दबाब

काठमाडौं । नेपाली कांग्रेसका नेता कार्यकर्ताले गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

जेनजीले गरेको विरोध प्रदर्शनमा गरिएको प्रहरी दमनबाट १७ जनाको मृत्यु र दर्जनौं घाइते भएका छन् । प्रहरी दमनको विरोध गर्दै गृहमन्त्री लेखकको राजीनामा नेता कार्यकर्ताले मागेका हुन् ।

केन्द्रीय सदस्य एवं योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेलले गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन् । ‘गृहमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्‍यो । यदि नदिए पार्टीले तुरुन्तै फिर्ता बोलाउनु पर्‍यो,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘युवाहरुको मृत्युप्रति गृहमन्त्री लेखक उत्तरदायी हुनुपर्छ ।’

गृहमन्त्रीको उत्तरदायित्वप्रति प्रश्न उठाउँदै कांग्रेसका कार्यकर्ताहरुले राजीनामा माग गरेका छन् । नेविसंघकी पूर्व नेता एलिजा ढकालले गृहमन्त्री लेखक प्रधानमन्त्री केपी शर्मा ओलीको सहयोगी भएको बताएकी छन्।

ढकालले प्रधानमन्त्री ओलीलाई तानाशाहीको संज्ञा दिँदै कांग्रेस सरकारबाट बाहिरिनुपर्ने विचार राखिन्। ‘कुनै भवनको पर्खालको सुरक्षा कयौं मानिसहरुको ज्यान भन्दा महत्त्वपूर्ण होइन,’ ढकालले भनिन्, ‘तिमीहरुको निकम्मापनले आज कालो इतिहास लेखिएको छ। गृहमन्त्री ओली सरकारको तानाशाहीको सहयोगी बनेका छन्। नालायक गृहमन्त्रीले राजीनामा दिनुपर्छ र रगतको धब्बा लागेको सरकारबाट कांग्रेस तुरुन्त बाहिरिनुपर्छ।’

अर्का नेता व्रितान्त खनालले सरकारबाट बाहिरिन माग राखे। प्रदर्शनमा भएको दमनप्रति आक्रोशित खनालले सरकारबाट कांग्रेस तुरुन्त फिर्ता हुन माग राखे। पार्टीलाई खनालले भने, ‘अझै हेरेर बस्ने भए,  हामी कांग्रेसमा आन्दोलन घोषणा गर्छौं ।’

नेविसंघका नेता धर्मराज शाहीले वर्तमान सरकारलाई अपराधीको संज्ञा दिएका छन्। शाही भन्छन्, ‘यो अपराधी सरकारको साक्षी बस्नेहरु अपराधीबाहेक केही हुन सक्दैनन्। हाम्रा बच्चालाई यसरी मार्ने अपराधीहरुलाई कुनै पनि हालतमा माफी दिन सकिँदैन। यो आन्दोलन अब हाम्रा बच्चाहरुको मात्र होइन हाम्रो पनि हो। पूर्ण ऐक्यबद्धतासहित हामी आन्दोलनको मैदानमा हुनेछौं।’

काठमाण्डौं सहित चार जिल्लामा कर्फ्यु

काठमाडौँ,२३ भदौ ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचार विरोधी जेन–जी’ को सोमबारको प्रदर्शन नियन्त्रण बाहिर गएपछि काठमाडौंसहित चार जिल्लामा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ ।

जिल्ला प्रशासन काठमाडौंले दिउँसो साढे १२ बजेदेखि नै माइतीघर, बानेश्वर, तीनकुने र शंखमूल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यु लगाइएको हो ।

त्यस्तै सुनसरीको इटहरीमा कर्फ्यु लगाइएको छ । सोमबार दिउँसो प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीमा दिउँसो साढे ३ बजेदेखि अर्को सूचना नभएसम्म इटहरीको मुख्य चोक आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए ।

यसैगरी कास्कीको पोखरामा पनि अनिश्चितकालीन कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले जेन–जीहरूको प्रदर्शनका क्रममा झडप भएपछि स्थिति नियन्त्रणमा लिन दिउँसो २ बजेदेखि चार किल्लाभित्र पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी जुलुस, धर्ना र प्रदर्शन निषेध गरिएको छ ।

बुटवल र भैरहवामा समेत जेन जीको प्रदर्शन नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कर्फ्यु जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सोमबार अपराह्न ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरेको छ ।

जेनजी प्रदर्शन : ट्रमामा थप दुईको मृत्यु, मृतकको संख्या १७ पुग्यो

काठमाडौं । हिंसात्मक बनेको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

यो सँगै उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १७ पुगेको हो । ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएकाहरूको अहिले विभिन्न अस्पतालमा मृत्यु भएको हो ।

यसैगरी सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

अहिलेसम्म कुल १७ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।

एकीकृत समाजवादीको कार्यालय तोडफोड

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तोडफोड भएको छ । काठमाडौँ को आलोकनगरमा रहेको पार्टी कार्यालयमा तोडफोड भएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।

नेता ज्वालाका अनुसार ढुंगामुढाबाट कार्यालयका र झ्यालका सिसाहरू फुटेका छन् । त्यस्तै गेट समेत तोडफोड गरिएको छ । आन्दोलनकारीले आगो समेत लगाउने प्रयास गरेका थिए । तोडफोडपछि प्रहरीले सुरक्षा दिएको ज्वालाले जानकारी दिए ।

यसअघि चैत १५ गते भएको राजावादी पक्षधरको आन्दोलनका क्रममा पनि सो पार्टीको कार्यालय तोडफोड र आगजनीको प्रयास भएको थियो ।

खोज्नुहोस