‘कुलिङ अफ पिरियड’ छेडखानीमा जिम्मेवार देखिएका खतिवडा पुगे संसदीय सुनुवाइ समिति

काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिबाट राजीनामा दिएका रामहरि खतिवडा संसदीय सुनुवाइ समिति (संयुक्त) मा पुगेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उपसभामुख इन्दिरा रानामगरले खतिवडालाई संसदीय सुनुवाइ समितिमा पठाउन गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

संसदीय सुनुवाइ समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले पदबाट राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा निर्वाचित भएपछि रिक्त रहेको सदस्यमा खतिवडालाई ल्याउने सिफारिस कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले गरेका थिए ।

बिहीबार सभामुख देवराज घिमिरेको आह्वानमा बसेको प्रतिनिधित्व गर्ने पाँच ठुला राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठकमा घिमिरेले उक्त प्रस्ताव गरेका थिए ।

खतिवडाले गत साउन २८ गते सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा व्यवस्था गरिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा छेडखानी भएको घटनामा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले नैतिक जिम्मेवार ठहर्‍याएपछि राजीनामा दिएका थिए ।

रास्वपा नेता अरनिको पाँडेलाई २० हजार धरौटीमा छाड्न आदेश

काठ्माण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अरनिको पाँडेलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई २० हजार धरौटीमा छाड्न आदेश दिएको साइबर ब्युरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले जानकारी दिए।

विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कसुर गरेको आरोप लागेपछि पाँडे बुधबार साइबर ब्युरो पुगेका थिए।

उनको त्यसदिन बयान लिएर बिहीबार सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो। शुक्रबार बिहान सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेसँगै सुनुवाइका लागि पेसी चढेको हो।

उनीविरूद्ध एक महिलाले आफूलाई जिमेलमार्फत अपशब्द बोलेर गाली गरेको भन्दै जाहेरी दिएकी थिइन्। उनीविरूद्ध साउन १२ गते साइबर ब्युरोमा निवेदन परेको थियो।

भदौ ५ गते पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनको खोजी थालेको थियो।

दसैँमा अनलाइनबाटै खसीबोका बुकिङ गर्न मिल्ने !

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँमा खसीबोका तथा च्यांग्रा अनलाइनबाटै बुकिङ गर्न सकिने व्यवस्था गर्न लागेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी खरिद विभाग प्रमुख अनन्तराज पौडेलले यसै दसैँलाई लक्षित गरेर बुकिङ प्रणाली बनाइरहेको जानकारी दिए ।

प्रणाली बनेपछि दसैँमा अनलाइनबाटै खसीबोका तथा च्यांग्रा बुकिङ गर्न सकिनेछ । “हामीले दसैँमा खसीबोका र च्यांग्रा अनलाइनबाट नै अर्डर गर्न सकिने व्यवस्था गर्न लागेका छौँ । हेरौँ कति सम्भव हुन्छ,” उनले भने ।

तर, केही प्रतिशत रकम बुकिङकै क्रममा बुझाउनुपर्नेछ । “अनलाइनबाट बुकिङ गर्दा उपभोक्ताले केही प्रतिशत रकम बुझाउनुपर्नेछ । तर, यो प्रणाली पूर्णरूपमा सञ्चालनमा भने आएको छैन,” उनले भने ।

खाद्यले दसैँलक्षित सहुलियत पसल भदौ ३० गतेदेखि सञ्चालन गर्ने तयारी गरेको छ ।

एएफसी यू–२३ एशियन कप छनोटका लागि नेपालको खेल तालिका सार्वजनिक

काठमाण्डाै – ताजकिस्तानमा हुने एएफसी २३ वर्षमुनिको एशियन कप छनोटका लागि नेपालको खेल तालिका सार्वजनिक भएको छ ।

प्रतियोगितामा नेपाल समूह ‘के’ मा छ । नेपालले यही भदौ १८ गते घरेलु टोली ताजकिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा भदौ २१ गते सिरिया र समूह चरणको तेस्रो तथा अन्तिम खेलमा भदौ २४ गते फिलिपिन्ससँग खेल्नेछ ।

नेपालको सबै खेल ताजकिस्तानको राजधानी दुशान्बेमा रहेको पामिर रङ्गशालामा हुनेछ ।

एएफसी २३ वर्षमुनिको एशियन कप छनोटका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यसअघि नै टोली घोषणा गरिसकेको छ ।

हैजा रोकथाम गर्न चिकित्सक र उपकरण परिचालन र्छाैँ : प्रधानमन्त्री ओली

काठ्माण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्साको वीरगञ्जमा महामारी भएको हैजा रोगको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा नेपाली सेनासहित चारवटै सुरक्षा निकायका चिकित्सक र उपकरणको परिचालन तथा प्रयोग गरिने बताएका छन् ।प्रतिनिधिसभाको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आजको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेकाले वीरगञ्जमा आउट ब्रेक भएको हैजा नियन्त्रणमा आउने विश्वास व्यक्त गरे ।

उनले महामारीबाट तीन जनाको निधन भएकामा दुःख व्यक्त गर्दै नियन्त्रणका लागि सरकारकोतर्फबाट सक्दो पहल भएको तथा यस रोगको स्रोत के हो भन्नेबारे खोजी भइरहेको बताए ।

प्रधानमन्त्री ओलीले हैजाका बिरामीको उपचार गर्न तथा सचेतनाका प्रवन्ध गरिएको उल्लेख गर्दै  नारायणी अस्पतालमा निःशुल्क उपचार गरिनुका साथै निजी अस्पतालमा समेत  उपचार गरिएको सदनलाई जानकारी दिए ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा ६ राष्ट्रका प्रमुखसँग भेट गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणका क्रममा ६ राष्ट्रका प्रमुखसँग भेट गर्ने भएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणका क्रममा भेट गर्ने राष्ट्रप्रमुखहरूको बारेमा जानकारी गराएका हुन् ।चीनका महामहिम राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणा चीन जान लागेका उनले फिङलाई भेट्ने छन् ।

त्यस्तै उनले रूसी महासङ्घका महामहिम राष्ट्रपति भ्लादिमिर पुटिन, गणतन्त्र माल्दिभ्सका महामहिम राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका महामहिम प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका महामहिम प्रधानमन्त्री श्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका महामहिम प्रधानमन्त्री श्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भइसकेको ओलीले प्रतिनिधिसभामा जानकारी गराए ।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली भदौ १४ देखि १८ (तदनुसार सन् २०२५ अगष्ट ३० देखि सेप्टेम्बर ३) सम्म ५ दिने भ्रमणमा जाँदैछन् ।

आसामविरुद्ध नेपाल ‘ए’ को सानदार जित, युवराज खत्रीको उत्कृष्ट बलिङ

काठ्माण्डौँ । भारतको गुवाहाटीमा जारी टी–२० सिरिजमा नेपाल ‘ए’ टोलीले पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्नेक्रममा नेपालले शुक्रबार घरेलु टिम आसामलाई ९६ रनले हरायो । योसँगै सिरिज १–१ को स्थितिमा आएको छ ।

पहिलो खेलमा नेपाल डकवर्थ लुइस पद्धतिअनुसार १५ रनको हार बेहोरेको थियो । पहिलो खेलमा १९० रन बनाएको आसामले दोस्रो टी–२० मा भने निकै खराब ब्याटिङ गर्यो ।

शुक्रबारको खेलमा नेपालले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको आसाम १५.२ ओभरमा ७७ रनमै अलआउट भयो । उसलाई सस्तैमा समेट्न आज मात्र ‘ए’ टिमबाट डेब्यू गरेका युवा स्पिनर युवराज खत्रीले जादुमयी बलिङ गरे ।

उनले ३.२ ओभरमा १५ रन मात्र दिएर सर्वाधिक चार विकेट लिए । यस्तै, बसिर अहमदले तीन विकेट हात पारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७३ रनको योगफल खडा गर्‍यो ।

चीन जानुको उदेश्य नेपालको हित प्रवर्द्धन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन् ।

शुक्रबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले यही भदौ १४ देखि १८ गतेसम्म आफू चीनको पाँचदिने भ्रमणमा जान लागेको जानकारी दिए । “यस भ्रमणको उदेश्य सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिनु हो,” उनले भने ।

सांघाई सहयोग संगठन सन् २००१ मा स्थापना गरिएको ठूला क्षेत्रीय संगठनमध्ये एक भएको उनले जनाए । “नेपाल सन् २०१६ देखि यसको संवाद साझेदार रहँदै आएको छ । यहाँ जानुको उदेश्य नेपालको स्तर अभिवृद्धि गर्नु, नेपालको दृष्टिकोण र प्राथमिकता स्पष्ट राख्नु र नेपालको हित प्रवर्द्धन गर्नु रहेको छ,” उनले भने ।

चीन भ्रमणमा रहँदा चिनियाँ राष्ट्रपति र उपराष्ट्रपतिसँग आफूले भेटवार्ता गर्ने कार्यक्रम रहेको उनले स्पष्ट पारे ।

स्वास्थ्य बीमा नवीकरण नगरे चर्को शुल्क, सह–भुक्तानीमा भने आकर्षक छुट

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले समयमा स्वास्थ्य बीमा नवीकरण नगर्ने बिमित परिवारका लागि चर्को शुल्क लाग्ने जनाएको छ । बोर्डका जनस्वास्थ्य अधिकृत सूचना अधिकारी विकेश मल्लले एकपटकको अवसर दिँदै आगामी २०८२ असोज मसान्तसम्म नवीकरण गरेमा कुनै पनि थप शुल्क नलाग्ने बताए ।

उनले बोर्डले बिमित परिवारलाई निर्धारित समयभित्रै नवीकरण गरी स्वास्थ्य सेवामा लिन आग्रह गरे ।

सह–भुक्तानीमा चाहिँ आकर्षक छुट

सूचना अधिकारी बीमा कार्यक्रममा आबद्ध बीमितलाई भने सह–भुक्तानी (बीमा दाबी गर्दा ग्राहकले आफैंले पनि तिर्नुपर्ने रकम निश्चित अंश)मा आकर्षक छुट व्यवस्था गरिएको बताए । आबद्ध बीमितलाई सह–भुक्तानीमा ३० प्रतिशतसम्म सुविधा दिइएको मल्लले सुनाए । लामो समयसम्म नियमित नवीकरण गर्ने बीमितले ३० प्रतिशतसम्मको सह–भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।  यस सुविधाले बीमितहरूलाई आर्थिक भार कम गर्न सहयोग पुग्ने उनको जिकिर छ ।

उनका अनुसार  तीन वर्षसम्म लगातार नियमित रुपमा बीमा नवीकरण गर्ने बीमितले प्रचलित कानून अनुसार गर्नु पर्ने सह–भुक्तानीमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

यस्तै चार वर्षदेखि सात वर्षसम्म नियमित रुपमा बीमा नवीकरण गर्ने बीमितका हकमा पनि सह–भुक्तानीमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

यसैगरी  सात वर्षभन्दा बढी समयसम्म निरन्तर रुपमा बीमा नवीकरण गर्ने बीमितहरूलाई सबैभन्दा बढी,  सह–भुक्तानीमा ३० प्रतिशत छुट प्रदान गरिने छ ।

साफ यू-१७ मा दोस्रो जितको खोजीमा नेपाल, आज भारतसँग भिड्दै

काठ्माण्डौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू-१७ च्याम्पियनसिपमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समयअनुसार बेलुका ६ बजेदेखि सुरु हुने हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अङ्कका साथ पहिलो स्थानमा छ ।

नेपाल तीन अङ्कका साथ तेस्रो स्थानमा छ । अंकविहीन भुटान चौथो स्थानमा छ । ९ अङ्कका साथ बङ्गलादेश दोस्रो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन् ।

तालिकाअनुसार नेपाल यही १५ भदौमा भुटानसँग भिड्ने छ । तीन खेलमा हार बेहोरिसकेको नेपाल दुई खेलअगावै उपाधि दौडबाट बाहिरिएको छ ।

रुबी हत्या आरोपी लक्ष्मणको शव उठेन, बुबाले मेयरसँग मागे आर्थिक सहयोग

रौतहट । रौतहटकी रुबी साहका हत्या आरोपी लक्ष्मण पासवानको शव कीर्तिपुर बर्न अस्पतालबाट घर ल्याउन समस्या परेको छ । आर्थिक अभावका कारण शव उठाउन नसकिएको लक्ष्मणका बुवा जयनाथ पासवानले बताएका छन् ।

रौतहट माधवनारायण नगरपालिका-६ माधोपुरका लक्ष्मण पासवानले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए । उपचारको क्रममा कीर्तिपुर वर्न अस्पतालमा उनको ज्यान गएको थियो ।

पैसा नभएका कारण मृत्यु भएको दुई दिन बितिसक्दा पनि छोराको शव ल्याउन नसिकएको भन्दै बुबा जयनाथले जनप्रतिनिधिहरूसँग आर्थिक सहयोग मागेका छन् ।

काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालबाट छोराको शव घरसम्म ल्याउने खर्च जुटाउन नसक्दा पीडा भएको जयनाथले बताए ।

‘छोरालाई उपचारका लागि काठमाडौं लगिएको थियो । त्यहीँ मृत्यु भयो । अब शव ल्याउन हामीसँग पैसा छैन,’ जयनाथले भने, ‘छोराको शव ल्याउन मेयर साहेबसँग आर्थिक सहयोग मागेको छु ।’

माधवनारायण नगरपालिकाका मेयर बैजनाथ यादवले लक्ष्मणको शव ल्याउन आफूले सहयोग गर्ने बताए ।

‘निकै दुःखद घटना भएको छ । लक्ष्मणको शव परिवारजनसम्म पुर्‍याउन सक्दो सहयोग गर्छु भनेको छु,’ मेयर यादवले भने, ‘उनको परिवारको अवस्था निकै नाजुक छ ।’

रुबीको शव गत शनिबार राति गौर-९ मा मुडवलवा गेट अगाडि सुटकेसमा फेला परेको थियो । त्यसपछि रुबी हत्याका आरोपी लक्ष्मण पासवानले आफ्नै शरीरमा आगो लगाएका थिए ।

शरीरमा आगो लागेर गम्भीर घाइते भएका उनलाई प्रहरीले उद्धार गरी उपचारमा पठाए पनि उपचारकै क्रममा ज्यान गएको थियो ।

आफूलाई आगो लगाउनुभन्दा पहिले लक्ष्मणले ९ मिनेटको भिडियो सार्वजनिक गर्दै आफूले रुबीको हत्या गरेको स्वीकार गरेका थिए ।

सभामुख घिमिरेको आग्रह : संसद् अवरुद्ध नगर्नुहोस्, सहमतिको थलो बनाऔँ

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्लाई निरन्तर अवरुद्ध गर्ने प्रवृत्ति लोकतान्त्रिक अभ्यासका लागि हानिकारक हुने बताएका छन्। उनले संसद् असहमति अभिव्यक्त गर्ने स्थल नभई राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलो भएको स्पष्ट पार्दै सबै दल र सांसदलाई संवादको वातावरण बनाउन अपिल गरेका हुन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख घिमिरेले भिजिट भिसा प्रकरणलगायतका मुद्दा उठाउँदै प्रतिपक्षी सांसदहरू लामो समयदेखि बैठक बहिष्कार गर्दै आएकोमा चिन्ता व्यक्त गरे। उनले आफूले सहमतिका लागि सम्भाव्य सबै पहल र संवादको मार्ग अपनाए पनि अपेक्षित परिणाम नआएको जानकारी गराए।

‘बैठक सुरु हुनासाथ असहमति प्रदर्शन गरेर बाहिरिने प्रवृत्ति दीर्घकालीन रूपमा हानिकारक साबित हुन सक्छ’, उनले भने, ‘हामी भविष्यलाई के सन्देश दिइरहेका छौँ भन्ने विषयमा सबै सचेत रहनु आवश्यक छ।’

घिमिरेले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ पार्न प्रत्यक्ष सम्बन्धित विधेयकहरू संसद्‌मा बहस र पारित हुने प्रक्रियामा रहेको भन्दै सबै सांसदलाई गम्भीर र रचनात्मक छलफलमा सहभागी हुन आग्रह गरे। सभामुखले प्रधानमन्त्री स्वयंले बैठकमा सम्बोधन गर्ने समय लिएको जानकारी दिँदै बैठकलाई फलदायी बनाउन सांसदहरूको पूर्ण उपस्थिति आवश्यक रहेको दोर्‍याए।

सभामुख घिमिरेले भने, ‘म फेरि पनि सरकार, प्रतिपक्ष र सत्तापक्षका सबै दललाई संवादको वातावरण सिर्जना गरी संसद्लाई आफ्नो मूल लयमा फर्काउन अपिल गर्दछु।’

पर्यटकीय सम्भावना बोकेको सुदूरपश्चिम लगानी गर्न आह्वान

काठमाडौं– सुदूरपश्चिम पर्यटकीय दृष्टिकोणले ‘भर्जिन ल्याण्ड’ भएको उल्लेख गर्दै लगानी गर्न आह्वान गरिएको छ ।

सुदूरपश्चिम लगानी तथा विकास सम्मेलनको पूर्वसन्ध्यामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सुदूरपश्चिम सरकारसँगको आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको पर्यटन क्षेत्रसम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले सुदूरपश्चिमको पर्यटकीय पूर्वाधारमा लगानीका लागि आह्वान गरेका हुन् ।

मन्त्री पाण्डेले भने, ‘सुदूरपश्चिम पर्यटक आकर्षणका मुख्य आधार नेचर, कल्चर र एड्‌भेन्चरको समिश्रण भएको प्रदेश हो । सुदूरपश्चिमका थुप्रै पर्यटकीय सम्भावनाहरू उजागर भइरहेका छन् । यस लगानी सम्मेलनमार्फत सुदूरपश्चिमका पर्यटकीय पूर्वाधारमा लगानी गर्न लगानीकर्ताहरूलाई आह्वान पनि गर्दछु ।’

मन्त्री पाण्डेले लगानी सम्मेलनको सम्पूर्ण आयामहरुमार्फत् पूर्ण तयारीमा उल्लेख गर्दै भने, ‘हामीले यसका लागि निजी क्षेत्रलाई विश्वासमा लिने र लगानीको वातावरण सिर्जना गर्न कानुनी उल्झन समाधान गर्ने र लगानीमैत्री नीति बनाउनेतर्फ ध्यान दिनुपर्दछ ।’

पर्यटन विकासका लागि सूदूरपश्‍चिममा नेपाल पर्यटन बोर्डको कार्यालय यही वर्ष स्थापना गर्न बजेट विनियोजन गरिएको पनि मन्त्री पाण्डेले जानकारी गराए ।

त्यसैगरी सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम सरकार निजी क्षेत्रलाई लगानीका लागि स्वागत गर्न आतुर रहेको उल्लेख गरे ।

उनले भने, ‘हामी सुदूरपश्चिमका सम्भावनाहरूलाई लगानी सम्मेलनमार्फत राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चिनाउन चाहन्छौँ । यसका लागि स्वदेशका निजी क्षेत्रलाई लगानीका लागि आवश्यक कानुनी तथा लगानी सुरक्षाको ग्यारेन्टी हामी लिन तयार छौँ ।’

मुख्यमन्त्री शाहले लगानी सम्मेलनमा सहभागी हुन र त्यहाँका सम्भावनाको अध्ययन गर्दै लगानी गर्न आह्वान गरेका हुन् ।

सुदूरपश्चिममा आगामी मंसिर १ र २ गते धनगढीमा लगानी सम्मेलन आयोजना हुने भएको छ । यसै सन्दर्भमा विभिन्न विधामा लगानीका लागि सुदूरपश्चिम सरकार काठमाडौंमा आएर विभिन्न निकायसँग छलफल गरिरहेको छ ।

शुक्रबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सभा हलमा भएको अन्तर्क्रिया कार्यक्रममा सुदूरपश्चिम सरकारका तर्फबाट सुदूरपश्चिममा पर्यटकीय सम्भावना र लगानीको वातावरणको स्थितिबारे प्रस्तुतीकरण गरिएको थियो ।

अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाल होटल व्यवसायी संघका अध्यक्ष विनायक शाह, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, नाटाका सीईओ यूविका राज भण्डारी, एनएमएका उपाध्यक्ष ठाकुर राज पाँडे, सिद्धार्थ होटल एण्ड ग्रुप अफ कम्पनीका सीईओ कृष्ण न्यौपाने, टानका महासचिव रामप्रसाद सेढाई, नेपाल उद्योग परिसंघको पर्यटन समिति सभापति पम्फा धमला, नाराका महासचिव देवराज जोशीलगायत पर्यटन सम्बद्ध निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

पर्यटनसम्बन्धी सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूले सुदूरपश्चिममा लगानी गर्न आफूहरू तयार रहेको भए पनि सरकारले आवश्यक नीति र लगानीको क्षेत्र पहिचान गर्नुपर्ने सुझाव दिएका हुन् ।

सरकारले पछिल्लो समय सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमालहरूको आरोहण दुई वर्षका लागि नि:शुल्क गरेको छ । सुदूरपश्चिमका पछिल्लो समय धनगढी विमानस्थलको स्तरोन्नति र कञ्चनपुर विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको छ ।

छलफलमा सुदूरपश्चिम धार्मिक दृष्टिले पनि पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै लगानीका लागि आह्वान गरिएको हो ।

विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै माओवादी कार्यालयमा धर्ना

काठमाडौं। प्रस्तावित विद्यालय शिक्षा विधेयकमा संशोधन गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिस डाँडामा धर्ना दिएको छ। महासंघले यसअघि सरकारसँग भएका सहमतिअनुसार विधेयकमा आफ्ना मागहरू समावेश गर्न दबाब दिन यो आन्दोलन सुरु गरेको बताएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सार्वजनिक शिक्षालाई सुधार्नका लागि शिक्षक र कर्मचारीले उठाएका मागहरू सम्बोधन गर्नुको विकल्प नरहेको बताएका छन्। महासंघले अस्थायी प्रकृतिका शिक्षकको पदपूर्तिमा ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा र २५ प्रतिशत खुला हुनुपर्ने माग गरेको छ। तर, विधेयकमा भने ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुलाको व्यवस्था गरिएको छ।

यसका साथै, महासंघले विद्यालय कर्मचारीको पद र वेतन, बालकक्षा शिक्षकको सेवा सुविधा र संस्थागत विद्यालयका शिक्षकको अव्यावहारिक सरुवा प्रणालीजस्ता विषयमा पनि विरोध जनाएको छ।

महासंघले भदौ २० गतेसम्म धर्ना कार्यक्रम जारी राख्ने जनाएको छ। यसअन्तर्गत भदौ १३ गते देशभरका स्थानीय तहहरूमा र भदौ १५ गते जिल्ला शिक्षा इकाइहरूमा पनि धर्ना दिने कार्यक्रम रहेको छ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट भदौ ५ गते पारित भएको यस विधेयकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले फरक मत राखेका छन्।

दोस्रो टी-२० मा नेपाल ‘ए’ ले आसामलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं । भारतको गुवाहाटीमा जारी नेपाल ‘ए’ र आसामबीचको टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल ए ले आसामलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाएर १७३ रन बनाउँदै आसामलाई १७४ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

नेपाल ए का लागि सन्दीप जोराले सर्वाधिक ३५ रन बनाए । देव खनाल र पवन सर्राफले समान ३१ रन बनाए । बसिर अहमदले २७ रन तथा विवेक यादव २६ रनमा अविजित रहे ।

आसामका आकाश सेनगुप्ताले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिए । अभिनव चौधरीले २ तथा आयुष्मान मलाकार र अभिलाष गोगोइले १-१ विकेट लिए ।

यसअघि बिहीबारभएको पहिलो खेलमा नेपाल ‘ए’ डीएल पद्धति अनुसार १५ रनले पराजित भएको थियो ।

आसामले दिएको १९१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ८ ओभरमा ३ विकेट गुमाएर ६४ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल त्यसपछि सुरु हुन सकेन

नेपाल ए दे आसामसँग कुल ५ खेल खेल्नेछ । यसपछिका ३ खेलहरू एसीए रंगशालामा डे/नाइट रूपमा फ्लडलाइटमा खेलिनेछ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए।

ठकमा प्रधानमन्त्रीले चीन भ्रमणमा उठाउने एजेण्डा र नियमित एजेण्डामाथि छलफल भएको ती मन्त्रीले बताए।  प्रधानमन्त्री ओली शनिबार पाँच दिने चीन भ्रमणमा जाँदैछन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग तियानजिनमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनले भदौ १६ गते तियानजिनमा हुने एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले जापानविरुद्धको युद्धमा विजयी भएको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  बद्रीप्रसाद पाण्डे, सांसद पूर्ण बहादुर खड्का र छविलाल विश्वकर्मा, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा र उच्चपदस्थ सरकारी अधिकारी रहेका छन्।

प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्किने कार्यक्रम छ।

देशभरका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइए, निमित्तको संख्या शून्य

काठ्माण्डौँ । स्थानीय तह पुनर्संरचना पश्चात् पहिलो पटक देशभरका नगरपालिका तथा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको सङ्ख्या शून्यमा झारिएको छ । संघीय  मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यसअघि १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतले सञ्चालन गरेका थिए ।

सामान्य प्रसाशनमन्त्री भगवती न्यौपानेका अनुसार सम्पूर्ण स्थानीय तहमा दरबन्दी अनुरूप प्रमुख प्रशासकीय अधिकृत खटाइएकाले पूर्ण जिम्मेवारीसहितको प्रशासनिक नेतृत्व सुनिश्चित भएको छ । निजामती सेवा ऐन, २०४९ अनुसार अवकाशको चरणमा रहेका कर्मचारीबाहेक, मन्त्रालयले पारदर्शिता, कार्यकुशलता र भौगोलिक क्षेत्रको अनुभव दिलाउने गरी प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरिएको छ ।

दुई वर्षभन्दा बढी मन्त्रालय वा मातहतका निकायमा काम गरेका, उपत्यका केन्द्रित कार्यालयमा सीमित, स्थानीय तहमा काम नगरेका, प्रदेशमा कामकाजका लागि खटिएका तथा अतिरिक्त समूहमा रहेका कर्मचारीलाई प्राथमिकतामा राखिएको छ ।

पहिलो पटक गाउँपालिका तथा नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था शून्यमा झार्नुका साथै बाह्य राजनीतिक दबाब वा स्थानीय तहको मनपरी अन्त्य गरी मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृत अनिवार्य रूपमा सम्बन्धित स्थानीय तहमा काम गर्ने वातावरण सिर्जना भएको छ ।

मन्त्रालयले दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत खटाएको हुँदा यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको आर्थिक वा प्रशासनिक जिम्मेवारी स्वतः रद्द भएको छ ।

साथै कर्मचारी सरुवामा हुने बाह्य प्रभाव अन्त्य भएको छ भने चक्रिय सरुवा प्रणाली कार्यान्वयन सहज भएको छ । सुगम स्थानमा मात्र सेवा गर्ने प्रवृत्ति पनि रोकिने मन्त्री न्यौपानेको विश्वास छ ।

दुर्गम क्षेत्रमा सेवाको पहुँच विस्तार, प्रशासनिक न्यायको अनुभूति, सेवा प्रवाहको गति र कार्यकुशलतामा वृद्धि, सुशासन पर्वद्धन, जनप्रतिनिधिबाट प्रमुख प्रशासकीय अधिकृतभन्दा व्यक्तिविशेष रोज्ने प्रवृत्ति अन्त्य हुने उनले दाबी गरिन् । सहसचिव प्रमुख प्रशासकीय अधिकृत हुने मध्ये नौ वटा उपमहानगरपालिका र एउटा महानगरपालिकामा चाँडै दरबन्दीअनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाउने तयारी भइरहेको मन्त्री न्यौपानेले बताए ।

नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् ।

आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपी बनाउने निर्णय गरेको हो । खापुङ पहिलो वरीयताका एआईजी थिए ।

वर्तमान आईजीपी दीपक थापा यही भदौ १७ गते मध्यरातिबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि खापुङको नियुक्त लागू हुनेछ ।

रास्वपा नेता पाँडेविरुद्ध मुद्दा दर्ता, न्यायाधीश कार्कीको इजलासमा बयान सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य डा. अरनिको पाँडेविरुद्ध मुद्दा दर्ता भएको छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा पाँडेको बयान सुरु भएको छ । बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि पुर्पक्षका लागि कारागार पठाउने वा साधारण तारेख तथा धरौटीमा छाड्ने मध्ये एक आदेश आउने छ । सम्भवत आजै थुनछेक बहस सकिने सम्भावना रहेको छ ।

बुधबार साँझ पाँडेलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले पक्राउ गरेको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको हो ।

बिहीबार मात्रै चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको थियो । तर पाँडेलाई हिरासत राखेको भन्दै आलोचना समेत भएको थियो ।

एकै प्रकृतिका मुद्दामा एमाले नेता ऐन महरालाई हाजिरी जमानीमा छाडेको तर पाँडेलाई भने हिरासतमा राखेको भन्दै विरोध हुन थालेपछि फास्ट ट्रयाकमै पाँडेविरुद्ध मुद्दा दर्ता भएको स्रोतले बतायो ।

पाँडेले बेलायत बस्ने एक महिलालाई इमेल र ह्वाट्स एपमार्फत अपशब्द बोल्दै गाली गरेको आरोप छ । ती महिला नेपाल आएको बेलामा उजुरी दिएपछि पाँडेलाई प्रहरीले पक्राउ गरेको हो ।

पाँडेविरुद्ध उजुरी दिने महिला र पाँडे पूर्व चिनजानकै व्यक्तिहरु रहेको प्रहरीले बताएको छ । कुनै विषयमा उनीहरुबीच सम्बन्ध बिग्रिएपछि पाँडेले गाली गरेको आरोप छ ।

वातावरणविद् भनेर चिनिने पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । उनी रास्वपा सरकारमा रहेको बेलामा २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य समेत बनेका थिए ।

खेलाडीले विश्वमा नेपालको पहिचान उच्च बनाएका छन्: वर्षमान

काठ्माण्डौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाली खेलाडीले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान उच्च बनाएको बताएका छन्।

‘भक्त राना खुल्ला र्‍यापिड चेस’ प्रतियोगिता समापन कार्यक्रमलाई आज काठमाडौँमा सम्बोधन गर्दै पुनले खेल क्षेत्रले अन्तर्राष्ट्रिय भाइचारा सम्बन्ध विस्तारमासमेत भूमिका खेलेको भन्दै खेलाडीको प्रशंसा गरे।

‘देशको झण्डा बोकेर खेल्ने खेलाडीहरू मुलुकका गौरब हुन्’, पुनले भने, ‘कुनै दल, आस्था, जाती र क्षेत्रको होइन, खेलाडीले जहिले पनि राष्ट्रको प्रतिनिधित्व गरेको हुन्छ।’

उनले समाजको सबै क्षेत्रले खेलाडीहरुलाई रोल मोडलका रुपमा लिने गरेको बताए । पछिल्लो समय क्रिकेट, फुटबल, मार्सल आर्ट र बुद्धिचालजस्ता खेलले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने काम गरेको उनको भनाइ थियो।

शारीरिक र मानसिक रुपले तन्दुरुस्त नागरिक तयार गर्न खेल क्षेत्रको भूमिकालाई सरकारले उच्च प्राथमिकतामा राखेर पूर्वाधार निर्माण तथा खेलाडीको व्यवसायिकता वृद्धि गर्नुपर्नेमा पुनले जोड दिए।

पुनले विद्यालय र क्याम्पसमा विद्यार्थी हुँदा आफू पनि फुटबल र भलिवल खेलाडी रहेको स्मरण गरे। पुनले भक्त राना नेपालको गणतान्त्रिक आन्दोलनका योद्धा तथा बुद्धिचालका उत्कृष्ट खेलाडीका साथै खेल प्रेमीसमेत रहेको उल्लेख गरे।

चार किशोरको मृत्युपछि शोकमा धनगढी

धनगढी, १३ भदौ ।
नदीमा नुहाउने क्रममा चार जना किशोरको मृत्यु भएपछि धनगढी शोकमा डुबेको छ ।

मृतक किशोरहरुका परिवारजन  विक्षिप्त छन् । परिवारजन र आफन्तहरु गहिरो शोकमा डुबेका छन् । मृतक परिवारजनमा रुवावासी थामिएको    छैन् ।

बाल्मिकी ईन्टरनेशनल स्कुलले शोक बिज्ञप्ति जारी गर्दै दिवगंत छात्रहरुको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना व्यक्त गरेको छ ।

त्यस्तै गार्डनर ईगलिस स्कुलले समेत आफ्ना पूर्व विद्यार्थी भण्डारी दाजुभाई सहित चार जना किशोरको मृत्युको घट्नामा दुःख व्यक्त गरेको छ ।

चार किशोरको मृत्युको घट्नाबाट धनगढीवासी स्तब्ध भएका छन् । राजनैतिक दलका नेता, प्रदेश सभा सदस्य, शिक्षक, सर्वसाधारण सबैले सामाजिक सञ्जालमा मृतक किशोरहरुप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेद्ना प्रकट गरिरहेका छन् ।

धनगढी उपमहानगरपालिका -५ का वडा अध्यक्ष गजेन्द्र बहादुर शाहीले किशोरहरुको मृत्युमा दुःख व्यक्त गर्दै उनीहरुको मृत्यु हुनुमा जनप्रतिनिधिहरु पनि जिम्मेवार रहेको बताएका छन् । नदीको गहिराई भएको स्थानमा कुनै संकेत नराखिनुले यति ठूलो मानवीय क्षति भएको शाहीको भनाई छ ।

धनगढीबाट साथीको जन्मदिन मनाउन गोदावरी नगरपालिका–९ भल्का गएका सात जना मध्ये चार जना किशोरको खुटिया नदीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको थियो ।

नदीमा डुबेका एक जना साथीलाई बचाउन खोज्दा धनगढीका चार जनाको किशोरको ज्यान गएको हो । उनीहरुसंगै गएका तीन किशोर भने जोगिएका छन् ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–४ का १६ वर्षीय जेफ भण्डारी र जाबेज भण्डारी दुबै जोयल भण्डारी र क्रान्ति भण्डारीका जुम्ल्याहा सन्तान हुन् । धनगढी–४ तारानगरका डिल्लीराज जोशी र हरिप्रिया जोशीका १७ वर्षीय छोरा सक्षम जोशी, धनगढी–५ जाइका बलिराम चौधरी र सोनदेवी चौधरीका १५ वर्षीय छोरा प्रतीक चौधरीको पनि डुबेर मृत्यु भएको छ । उनीहरुमध्ये तीन जना स्कुल र एक जना ग्यालेक्सी स्कुलमा कक्षा ११ मा अध्ययनरत थिए ।

मृत्यु भएकाहरु मध्ये प्रतिक, सक्षम जोशी र जावेज वाल्मीकि इन्टरनेसनल धनगढीमा र जेफ ग्यालेक्सी उच्च माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिए । जेफ र जाबेज जुम्ल्याहा दाजुभाई हुन् ।

दिउँसो साढे १२ बजेतिर नदीमा डुबेका चारै जनाको शव करीव चार घण्टापछि स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा अपराह्न ४ बजे फेला परेको थियो ।

सातै जना साथीले जन्मदिनको रमाइलो गर्दै खाना खाएपछि वारिपट्टी फर्कने क्रममा डुबेका हुन् । एक जना डुबेपछि बचाउन खोज्दा अन्य तीन जनाको पनि ज्यान गएको देखिन्छ । बाँकी तीन जना भने पारिपट्टी नै रोकिएका कारण सकुशल रहे ।

समूहमा सहभागी सात जनामध्ये नवीन डडाल, युवराज कुँवर र आकाश मल्ल भने सकुशल रहेका छन् । उनीहरूलाई घटनास्थल नजिकै अर्धनग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उद्दारपछि पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएका शवहरु पोस्टमार्टमपछि परिवारजनलाई बुझाउने तयारीमा रहेको प्रहरीले जनाएको छ ।

सत्यम् शिवम् सुन्दरम् :  एक समग्र जीवनदर्शन

गणेश जोशी, चैतन्य

“सत्यम् शिवम् सुन्दरम्” — संस्कृतको यो प्रसिद्ध वाक्यांश मात्र तीन शब्दहरूको संयोजन हो, तर यसको अर्थ, गहिराइ र प्रभाव अतुलनीय छ। यो वाक्यले सत्य, शिव (कल्याण) र सुन्दरता मार्फत एक समग्र, संतुलित र सार्थक जीवनदर्शन प्रस्तुत गर्दछ। यस वाक्यको प्रयोग धार्मिक ग्रन्थहरू, दर्शन, साहित्य, संगीत र कला सबै क्षेत्रमा पाइन्छ, जसले यसको सार्वभौमिक महत्व दर्शाउँछ।

यस लेखमा, हामी “सत्यम् शिवम् सुन्दरम्” लाई विभिन्न आध्यात्मिक, सामाजिक, सांस्कृतिक र मानवीय आयामहरूबाट विश्लेषण गर्नेछौं र यसको मर्मलाई आत्मसात गरेर कसरी जीवन सार्थक बन्न सक्छ भन्ने पक्षलाई प्रस्ट पार्ने प्रयास गर्नेछौं।

१. आध्यात्मिक आयाम

आध्यात्मिक रूपमा, “सत्यम् शिवम् सुन्दरम्” आत्माको उन्नति र परम सत्यको खोजसँग सम्बन्धित छ।

✦ सत्यम् (सत्य)

सत्य भनेको केवल बाह्य सत्य होइन, आत्मसत्य, ब्रह्मसत्य, अस्तित्वको सत्य हो। वेद-उपनिषद्‌हरूमा भनिएको छ — “सत्यं वद, धर्मं चर” अर्थात् सत्य बोल र धर्मको पालन गर। सत्य आध्यात्मिक यात्राको पहिलो पाइलो हो। जब मानिस झूट, भ्रम, लोभ र मोहबाट माथि उठेर सत्यसँग टाँसिन्छ, तब ऊ आत्मज्ञानतर्फ अग्रसर हुन्छ।

✦ शिवम् (शिव र कल्याण)

शिव केवल एक देवता होइनन्, उनी चेतनाको प्रतीक हुन्। शिवता भन्नाले आफूभित्रको नकारात्मकता नष्ट गरेर सकारात्मक चेतनाको उदय गर्नु हो। आध्यात्मिक रूपमा, शिवम् ले सर्वजन हिताय, सर्वजन सुखाय भन्ने भाव बोकेको हुन्छ। जब हामी आफ्ना कर्महरू अरूको भलाइमा लगाउँछौं, तब त्यो शिवत्त्वको अभ्यास हुन्छ।

✦ सुन्दरम् (सुन्दरता)

आध्यात्ममा सुन्दरता भनेको आत्माको प्रकाश, चिन्तनको शुद्धता र जीवनको समरसता हो। आत्मिक सुन्दरता त्यो शक्ति हो, जसले संसारलाई सुन्दर देख्न सक्ने दृष्टिकोण दिन्छ। सुन्दरता बाह्य स्वरूपमा मात्र होइन, कर्म र विचारमा पनि हुनु आवश्यक हुन्छ।

२. सामाजिक आयाम

एक सभ्य र सुसंस्कृत समाजको निर्माणमा सत्य, शिवता र सुन्दरता अत्यावश्यक आधार हुन्।

✦ सत्य सामाजिक सदाचारको मूलभूत तत्व हो।

यदि समाजमा सत्यको सम्मान छैन भने, अन्याय, भ्रष्टाचार, दमन र हिंसा बढ्न सक्छ। सत्यले पारदर्शिता ल्याउँछ, न्याय दिलाउँछ, र भरोसाको वातावरण सिर्जना गर्छ। उदाहरणस्वरूप, न्यायालयहरू सत्यको आधारमा निर्णय दिन्छन् — “सत्यमेव जयते” भन्ने मन्त्र त्यसको उदाहरण हो।

✦ शिवम् सामाजिक सहिष्णुता र सेवा भावको प्रतीक हो।

समाजमा सबैले सबैप्रति कल्याण भावना राखे भने वर्ग, जात, लिंग, धर्म वा भाषाको आधारमा हुने विभेद अन्त्य हुन्छ। एक अर्कालाई सहयोग गर्ने, दुखीलाई साथ दिने र सेवा भाव राख्ने प्रवृत्तिले समाजलाई बलियो बनाउँछ।

✦ सुन्दरता सामाजिक सद्भाव हो।

जब समाजका सदस्यहरू परस्पर प्रेम, आदर र सम्मानसहित बस्छन्, त्यहाँ सामाजिक सौन्दर्य उत्पन्न हुन्छ। सुन्दरता सामाजिक विविधता र एकताको प्रतीक पनि हो, जहाँ भिन्नता भएर पनि सबैले मिलेर सहअस्तित्वको भावना विकास गर्छन्।

३. सांस्कृतिक आयाम

हाम्रा धर्म, कला, संगीत, नृत्य, वास्तुशास्त्र, साहित्य — सबैमा “सत्यम् शिवम् सुन्दरम्” को उपस्थिति पाइन्छ।

✦ सत्य संस्कृतिको मेरुदण्ड हो।

धार्मिक ग्रन्थहरूमा राम, कृष्ण, बुद्ध, महावीर, गुरु नानकजस्ता महापुरुषहरूको जीवन सत्यमा आधारित थियो। सत्यको संरक्षणका लागि उनीहरूले संघर्ष गरे, युद्ध गरे, यहाँसम्म कि प्राण पनि त्याग गरे।

✦ शिवत्त्व कलाको आत्मा हो।

संगीत, नृत्य, चित्रकला, साहित्य — सबैमा ‘शिवत्त्व’ अर्थात् सौम्यता, चेतना, गहिराइ र कल्याणको सन्देश हुन्छ। भारतीय नृत्य परम्परामा नटराज (शिव) लाई नृत्यका देवता मानिन्छन्।

✦ सुन्दरता संस्कृति विकासको प्राण हो।

हाम्रो संस्कृति चाडपर्व, भेषभूषा, रीतिरिवाज, भाषा, वास्तुकला आदिमा प्रकट हुने सौन्दर्यले भरिएको छ। सुन्दरता हाम्रो सांस्कृतिक आस्थाको उत्सव हो, जसले मानिसको हृदयमा आनन्द र आत्मीयता उत्पन्न गर्छ।

४. मानवीय आयाम

“सत्यम् शिवम् सुन्दरम्” केवल समाज र संस्कृति मात्र होइन, व्यक्तिगत जीवनको पनि मूलभूत आधार हो।

✦ व्यक्तिगत स्तरमा सत्य आत्मा–शुद्धिको बाटो हो।

जब मानिस सत्य बोल्छ, सोच्दछ र आचरण गर्छ, तब ऊ आत्मविश्वासले भरिन्छ। झुट, कपट र दोहोरो चरित्र आत्मालाई कलुषित गर्छ, आत्मग्लानी बढाउँछ। त्यसैले, सत्यले मानिसको आन्तरिक विकास गर्छ।

✦ शिवता मनोवृत्तिमा कल्याण भावना जागृत गर्छ।

जब मानिसको व्यवहारमा करुणा, प्रेम, दया र सेवा हुन्छ, तब ऊ केवल स्वार्थी प्राणी हुँदैन, ऊ मानव बन्ने दिशातर्फ जान्छ। मानवीय गुणहरूले भरिएको व्यक्ति अरूको लागि प्रेरणा बन्न सक्छ।

✦ सुन्दरता दृष्टिकोणमा रमणीयता ल्याउँछ।

जीवनप्रतिको दृष्टिकोण सुन्दर हुनुपर्छ। समस्यामा पनि अवसर देख्न सक्ने क्षमता, दुस्खमा पनि शान्ति खोज्न सक्ने समझदारी, र अशान्तिमा पनि प्रेम फैलाउन सक्ने सोचले जीवनलाई सार्थक बनाउँछ।

५. जीवनमा यसको मर्म आत्मसात गरेर कसरी सार्थकता ल्याउन सकिन्छ ?

“सत्यम् शिवम् सुन्दरम्” को मर्म आत्मसात गर्नु भनेको केवल बुझ्नु होइन, जीवनमा व्यवहारिक रूपमा लागू गर्नु हो। यसलाई अपनाउँदा जीवनलाई निम्न तरिकाले सार्थक बनाउन सकिन्छस्

१. सत्यको अभ्यास गर्नुहोस्

• साँचो बोल्नुहोस्, आफूलाई पनि झुट नबोल्नुहोस्।

• विचार, व्यवहार र भावनामा स्पष्टता राख्नुहोस्।

• सत्यको साथ दिनुहोस्, चाहे स्थिति जस्तोसुकै होस्।

२. शिवत्त्व (कल्याण भावना) अपनाउनुहोस्

• सेवाभाव राख्नुहोस्। असहाय, वृद्ध, अशक्तको सेवा गर्नुहोस्।

• अरूको सफलता देखेर ईर्ष्या होइन, प्रेरणा लिनुहोस्।

• क्रोध, अहंकार, लोभजस्ता विकारहरू हटाउनुहोस्।

३. सुन्दरता अपनाउनुहोस्

• जीवनमा सौन्दर्य खोज्नुहोस् — प्रकृतिमा, सम्बन्धमा, कर्ममा।

• सकारात्मक सोच राख्नुहोस्।

• अरूको राम्रो पक्ष देख्न सक्ने दृष्टि विकास गर्नुहोस्।

निष्कर्ष

“सत्यम् शिवम् सुन्दरम्” कुनै धार्मिक मन्त्र मात्र होइन, यो एउटा सम्पूर्ण जीवनदर्शन हो। सत्य जीवनको मार्ग हो, शिवम् जीवनको उद्देश्य हो, र सुन्दरम् जीवनको सौन्दर्य हो।

जब मानिसले सत्यलाई आत्मसात गर्छ, शिवत्त्वलाई आचरणमा उतार्छ र सुन्दरतालाई जीवनशैली बनाउँछ, तब जीवन केवल भौतिक उपलब्धिमा सीमित हुँदैनस त्यो जीवन ज्ञान, चेतना र करुणाले भरिन्छ — जसले आफैंसँगै समाज, संस्कृति र सम्पूर्ण मानवता उज्यालो बनाउँछ।

यस दर्शनले हामीलाई सिकाउँछ —

“सत्य बोल, सकारात्मक सोच, सुन्दर जीवन बाँच।”

त्यसैमा जीवनको सार्थकता निहित छ।

(लेखकः चैतन्य पाठशालारचैतन्य एकेडेमिर चैतन्य शैक्षिक जागरणसंग सम्वन्धित हुनुहुन्छ।)

अछाममा महिनावारी हुँदा खेतमा पाल टाँगेर सुतेकी महिला र बालिकाको भीरबाट ढुङ्गा खस्दा मृत्यु

अछाम, १३ भदौ ।
अछाममा महिनावारी बारेर खेतबारीमा पाल टाँगेर सुतेको अवस्थामा ढुङ्गा लागेर दुई जनाको मृत्यु भएको छ।

जिल्लाको अछामको पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलमा ढुङ्गा खस्दा गोरे भण्डारीकी ७ वर्षीया छोरी कविता भण्डारी र ३५ वर्षीया निम खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

गोरे भण्डारीकी श्रीमती ३६ वर्षीया रत्ना भण्डारीको टाउकोमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

आज ९मंगलबार० बिहान करिब ५स्३० बजेतिर अविरल वर्षाका कारण भीरबाट खसेको ढुङ्गाले त्रिपाल टाँगेर सुतिरहेका स्थानीय तीन जनालाई लागेको थियो। तीमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइतेलाई तत्काल उपचारका लागि स्थानीय स्वास्थ्यचौकी बारला पठाइएको थियो भने थप उपचारका लागि नेपालगञ्ज रेफर गर्ने तयारी गरिएको छ।

मृतक खनाल र भण्डारी दुवै जना माइतीघरमा आएर महिनावारी भएको कारण खेतमा पाल टाँगेर सुतेका थिए।

भण्डारीकी ७ वर्षीया छोरी आमाको मायाले उनीहरूसँगै त्रिपालमुनी सुतेकी थिइन्। आमा गम्भीर घाइते हुँदा छोरीसहित थप एक जनाको मृत्यु भएको हो।

अमेरिकाको मेरिल्याण्डमा गौरा पर्व धुमधामसंग मनाईदै

मेरिल्याण्ड, २८ अगष्ट ।
सुदूर पश्चिम नेपाली समाज मेरिल्याण्डले सुदूरपश्चिमको मौलिक पर्व गौरा मेरिल्याण्डमा धुमधामसंग मनाउने भएको छ ।

सुदूर पश्चिम नेपाली समाज मेरिल्याण्डका अध्यक्ष बिक्रम शाहीले बिगतका वर्ष झै यस वर्ष पनि सुदूरपश्चिमेलीहरुले मरिल्याण्डमा गौरा पर्व धुमधामसंग मनाउन लागेको जानकारी दिए ।

गौरा व्यवस्थापन समितिका संयोजक तीर्थराज पाण्डेयले गौरा पर्वमा गौरी पूजा, दुबधागो अभिषेक, गौरा नृत्य, विरुडा प्रसाद वितरण, परम्परागत बाजा दाईना दमाउ बजाउने, देउडा खेल र गौरा सेलाउने लगायतका गतिबिधि गरिने जानकारी दिए ।

गौरा पर्व संयोजक पाण्डेयले मेरिल्याण्डको हिन्दु बुद्ध मन्दिर प्रांगणमा अगष्ट ३१ तारेख आईतवार दिउँसो १२ बजेदेखि राति ६ बजेसम्म गौरा पर्व मनाईने बताए ।

अध्यक्ष शाहीले गौरा पर्वमा सहभागी हुन मेरिल्याण्डमा रहेका सुदूरपश्चिमेलीसंगै नेपाली समुदायलाई आग्रह गरे ।

गौरा व्यवस्थापन समितिका मिडिया संयोजक रमेश भट्टराईले सुदूरपश्चिमको मौलिक पर्व गौराको संरक्षण तथा पुस्तान्तरणका लागि विगत चार वर्षदेखि सुदूर पश्चिम नेपाली समाज मेरिल्याण्डले गौरा पर्व मनाउदै आएको बताए ।

अष्टे«लियाको मेलवर्नमा गौरा पर्व मनाईदै, चक्र बम र टंक तिमिल्सेना प्रस्तुति रहने

मेलवर्न २८ अगष्ट ।
सुदूर पश्चिम नेपाली समाज भिक्टोरियाले सुदूरपश्चिमको मौलिक पर्व गौरा अष्टे«लियाको मेलवर्नमा धुमधामसंग मनाउने भएको छ ।

सुदूर पश्चिम नेपाली समाज भिक्टोरियाका अध्यक्ष दीप चन्दले बिगतका वर्ष झै यस वर्ष पनि सुदूरपश्चिमेलीहरुले मेलबर्नमा गौरा पर्व धुमधामसंग मनाउन लागेको जानकारी दिए ।

अध्यक्ष चन्दले सुदूरपश्चिमको मौलिक पर्व गौराका अवसरमा गौरादेवी र महेश्वरलाई नचाउने, प्रसाद वितरण, देउडा खेल, गौरा सेलाउने लगायतका गतिबिधि गरिने जानकारी दिए ।

गौरा पर्वका अवसरमा आयोजना गरिने सांस्कृतिक कार्यक्रममा सुदूर पश्चिमका चर्चित गायक चक्र बम र टंक तिमिल्सेनाको विशेष सांगितिक प्रस्तुति रहने छ ।

भिक्टोरियाको मेलवर्न शहरमा अगष्ट ३१ तारेख शनिवार अपरान्ह ४ः३० बजेदेखि राति ९ः३० बजेसम्म गौरा पर्व मनाईने समाजका अध्यक्ष चन्दले  बताए ।

उनले गौरा पर्वका अवसरमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा प्रवेश निशुल्क रहेको बताए ।

अध्यक्ष चन्दले गौरा पर्वमा सहभागी हुन मेलबर्नमा रहेका सुदूरपश्चिमेलीसंगै नेपाली समुदायलाई आग्रह गरे ।

गौरा पर्वको टाईटल स्पोन्सरमा क्लाईमेट ग्रिन र को– स्पोन्ससरमा मिराकल माईग्रेसन एण्ड एजुकेशन रहेको छ

गौरा पर्वको मिडिया पार्टनरमा पश्चिम टुडे मिडिया हाउस र द एभरेष्ट अनलाईन न्यूज पोर्टल रहेको छ ।

टेक्सासमा गौरा पर्व मनाईदै, रेखा जोशी र रवि वडको प्रस्तुति रहने

टेक्सास, २८ अगष्ट ।
सुदूर पश्चिमको मौलिक पर्व गौरा अमेरिकाको टेक्सासमा धुमधामसंग मनाईदैछ ।

सुदूर पश्चिम नेपाली समाज टेक्सास र ग्रेटर अष्टिन नेपाली सोसाईटीको आयोजनामा अगष्ट ३० तारेखमा अष्टिनमा र ३१ अगष्टमा ड्यालसमा गौरा पर्व मनाईने भएको हो ।

सुदूर पश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष गगन केसीले ग्रेटर अष्टिन नेपाली सोसाईटीको आयोजनामा टेक्सासको अष्टिन र ड्यालसमा गौरा पर्व धुमधामसंग मनाउन लागिएको जानकारी दिए ।

अध्यक्ष केसीले सुदूरपश्चिमको मौलिक पर्व गौराका अवसरमा गौरादेवी र महेश्वरलाई नचाउने, प्रसाद वितरण, देउडा खेल, गौरा सेलाउने लगायतका गतिबिधि गरिने जानकारी दिए ।

गौरा पर्वका अवसरमा आयोजना गरिने सांस्कृतिक कार्यक्रममा सुदूर पश्चिमकी चर्चित गायिका रेखा जोशी र नेपाल आईडल रवि ओडको विशेष सांगितिक प्रस्तुति रहने छ । पछिल्लो समय जोशीको ‘सुन हौ कि चाँदी हौ’ बोलको गीत चर्चित छ ।

अष्टिनको हटोमा अगष्ट ३० तारेख शनिवार अपरान्ह चार बजे गौरा पर्व शुरु हुनेछ । त्यस्तै ड्यालसको पशुपतिनाथ बुद्ध मन्दिरमा अगष्ट ३१ तारेख आईतवार गौरा पर्व मनाईनेछ ।

दुबै स्थानमा गौरा पर्वका अवसरमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा प्रवेश निशुल्क रहेको समाजका अध्यक्ष केसीले बताए ।

अध्यक्ष केसीले गौरा पर्वमा सहभागी हुन सुदूरपश्चिमेलीसंगै नेपाली समुदायलाई आग्रह गरे ।

 

न्यूयोर्कमा धुमधामसंग गौरा पर्व मनाईदै

न्यूयोर्क, २८ अगष्ट
सुदूरपश्चिम समाज अमेरिका, न्यूयोर्कको आयोजनामा बिगतमा झै यस वर्ष पनि गौरा पर्व धुमधामसंग मनाईने भएको छ ।

गौरा पर्वका संयोजक रैभान महराले सुदूरपश्चिमको गौरा पर्वका अवसरमा सुदूरपश्चिमेली परम्परागत बाजा दाईना दमाऊको नाच सहित गौरा प्रदर्शन गरिने बताए ।

उनले गौरा पर्वमा महिलाहरुको अठेवाली वाचन, वालो खेलाउने (गौरादेवी र महेश्वरलाई नचाउने), विरुडा सहित फल फड्काउने र प्रसाद वितरण, देउडा खेल, गौरा सेलाउने लगायतका गतिबिधि गरिने जानकारी दिए ।

गौरा पर्वमा प्रमुख अतिथिका रुपमा महावाणिज्यदूत दधिराम भण्डारी र विशिष्ट अतिथिका रुपमा चर्चित देउडा गायक नन्दकृष्ण जोशी सहभागी हुने समाजका अध्यक्ष दान सिंह बिष्टले बताए ।

अध्यक्ष बिष्टले गौरा पर्वमा सहभागिताका लागि न्यूयोर्कमा सुदूरपश्चिमेलीसंगै नेपाली समुदायलाई सहभागी भईदिन आग्रह गरे ।

अगष्ट ३० को साँझ ५ देखि १० बजेसम्म न्यूयोर्कको वुडसाईडस्थित दिव्यधाममा आयोजना हुने गौरा पर्वमा देउडा गायक जोशीका चर्चित देउडाहरु सुन्न पाईने अध्यक्ष बिष्टले बताए ।

साथीलाई बचाउन खोज्दा चार जनाको ज्यान गयो

धनगढी, १२ भदौ ।
नदीमा नुहाउने क्रममा डुबेका एक जना साथीलाई बचाउन खोज्दा कैलालीको धनगढीका चार जनाको किशोरको ज्यान गएको छ ।
धनगढीबाट साथीको जन्मदिन मनाउन गोदावरी नगरपालिका–९ भल्का गएका सात जना मध्ये चार जना किशोरको खुटिया नदीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको थियो ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–४ का १६ वर्षीय जेफ भण्डारी र जाबेज भण्डारी दुबै जोयल भण्डारी र क्रान्ति भण्डारीका जुम्ल्याहा सन्तान हुन् । धनगढी–४ तारानगरका डिल्लीराज जोशी र हरिप्रिया जोशीका १७ वर्षीय छोरा सक्षम जोशी, धनगढी–५ जाइका बलिराम चौधरी र सोनदेवी चौधरीका १५ वर्षीय छोरा प्रतीक चौधरीको पनि डुबेर मृत्यु भएको । उनीहरुमध्ये तीन जना स्कुल र एक जना ग्यालेक्सी स्कुलमा कक्षा ११ मा अध्ययनरत थिए ।

मृत्यु भएकाहरु मध्ये प्रतिक, सक्षम जोशी र जावेज वाल्मीकि इन्टरनेसनल धनगढीमा र जेफ ग्यालेक्सी उच्च माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिए । जेफ र जाबेज जुम्ल्याहा दाजुभाई हुन् ।

घटनास्थलमै पुगेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार दिउँसो साढे १२ बजेतिर किशोरहरू नदीमा पसेका थिए । खोलाको बेगसँगै विपत्तिमा परेका उनीहरूको शव स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा करिब चार घण्टापछि, अपराह्न ४ बजे फेला परेको थियो ।

डीएसपी चन्दले भने, ‘सातै जना साथीले जन्मदिनको रमाइलो गर्दै खाना खाएपछि वारिपट्टी फर्कने क्रममा डुबेका हुन् । एक जना डुबेपछि बचाउन खोज्दा अन्य तीन जनाको पनि ज्यान गएको देखिन्छ । बाँकी तीन जना भने पारिपट्टी नै रोकिएका कारण सकुशल रहे ।

समूहमा सहभागी सात जनामध्ये नवीन डडाल, युवराज कुँवर र आकाश मल्ल भने सकुशल रहेका छन् । उनीहरूलाई घटनास्थल नजिकै अर्धनग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शव अहिले सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । परीक्षणपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

खोज्नुहोस