आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्को संयुक्त बैठकमा बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्।

कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ रहेको छ। यो कुल बजेटको ६०. १ प्रतिशत हो। यसैगरी पुँजीगततर्फ चार खर्ब सात अर्ब ८९ करोड रुपैयाँ अर्थात् २०. ८ प्रतिशत र वित्तीय व्यस्थापनतर्फ तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९.१ प्रतिशत रहेको छ।

खानेपानी मन्त्रालयलाई ३३ अर्ब ८९ करोड बजेट

काठ्माण्डौ : सरकारले खानेपानी मन्त्रालयका लागि आगामी आर्थिक वर्ष ३३ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दै यो जानकारी दिए।

 

द्रुतमार्गलाई २४ अर्ब ४९ करोड बजेट

काठमाडौं । सरकारले काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाका निम्ति आउँदो आर्थिक वर्ष २०८२/८३ मा २४ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बिहीबार (जेठ १५) संघीय संसद् बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् ।

“आगामी वर्ष ३७ किलोमिटर सडकमा सवबेस, चार किलोमिटर सुरुङ, ६० पुलको निर्माण कार्य सम्पन्न गरिनेछ । त्यसको लागि २४ अर्ब ४९ करोड विनियोजन गरेको छु,” उनले भने ।

सहरी विकास मन्त्रालयको बजेट १ खर्ब १८ अर्ब

काठमाडौं । सरकारले विकास मन्त्रालयको बजेट ह्वात्तै बढाएको छ। चालू आर्थिक वर्षमा ९२ अर्ब ६३ करोड रुपैयाँ विनियोजन भएकोमा ह्वात्तै बढाएर  सहरी विकास मन्त्रालयकालागि १ खर्ब १८ अर्ब ३४ करोड विनियोजन गरिएको हो।

आर्थिक वर्ष २०८०/०८१ मा ६६ अर्ब १७ करोड रुपैयाँ मात्रै बजेट विनियोजन भएको थियो। २०७९/०८० मा ३७ अर्ब ७३ करोड रुपैयाँ मात्रै रहेको थियो।

सरकारले मध्य पाहाडी क्षेत्रका १० शहरकालागि १ अर्ब ७० करोड विनियोजन गरिएको छ। पूर्व-पश्चिम जोडिएको मध्य पाहाडी राजमार्गमा निर्माणाधिन १० सहरको भौतिक पूर्वधार निर्माण गर्न १ अर्ब ७० करोड विनियोजन गरेको हो।

सर्वोच्च अदालत र संसद भवन निर्माण सकिने भएको छ।

भौतिक मन्त्रालयका लागि १ खर्ब ५२ अर्ब बजेट विनियोजन

काठमाडौं : सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५२ अर्ब करोड बजेट विनियोजन गरेको छ। आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले भौतिक मन्त्रालयका लागि १ खर्ब ५२ अर्ब करोड बजेट विनियोजन गरिएको जानकारी दिए।

विद्यार्थी छात्रवृत्तिका लागि २ अर्ब ४४ करोडको बजेट

काठमाडौं : सरकारले विद्यार्थीहरूका लागि २ अर्ब ४४ करोडको छात्रवृत्ति बाँड्ने घोषणा गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै विद्यार्थीहरूलाई उक्त रकम बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका हुन्।

उनले लक्षित समुदाय र हिमाली जिल्लाका विद्यार्थीलाई छात्रवृत्तिमा प्राथमिकता दिइने बताए। मुसहर, डोम र चमार समुदायका विद्यार्थीलाई उच्च शिक्षामा उत्प्रेरणा छात्रवृत्ति प्रदान गर्ने उनले बताए।

ऊर्जा मन्त्रालयका लागि ८६ अर्ब १ करोड बजेट विनियोजन

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि ८६ अर्ब १ करोड करोड बजेट विनियोजन गरेको छ। आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा मन्त्रालयका लागि ८६ अर्ब १ करोड बजेट विनियोजन गरिएको जानकारी दिए।

खेलकुदको बजेट ६ अर्ब ८ करोड विनियोजन

सरकारले युवा तथा खेलकुद क्षेत्रमा ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विहीबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यो जानकारी दिएका हुन् ।
सरकारले सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि करोड बजेट विनियोज गरेको जनाएको छ । यसैगरी खेल क्षेत्रको पूर्वाधार निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने पनि बजेटमा उल्लेख गरेको छ ।

गत वर्ष सरकारको खेलकुद बजेटको वितरण यस्तो थियो

त्यसैगरी दमकमा आधुनिक रंगशाला निर्माण गरिने छ भने यस पटक हाइ अल्टीच्युट खेलकुदले बजेटमा फेरि प्रवेश पाएको छ । त्रिवि क्रिकेट मैदानका लागि ४० करोड बजेट व्यवस्था गर्दा अन्य क्रिकेट रंगशालाका लागि ४० करोड विनियोजन गरेको मन्त्री पौडेलले जानकारी दिए । यसैगरी चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले लिने प्रक्रिया अघि बढाइने छ ।

 

सञ्चार मन्त्रालयका लागि ७ अर्ब ७२ करोड रूपैयाँ बजेट

काठ्माण्डौ( सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ७ अर्ब ७२ करोड रूपैयाँ बजेट छुट्याएको जानकारी दिएका हुन् ।

 

वन तथा वातावरण मन्त्रालयलाई १८ अर्ब ६१ करोड बजेट

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षमा वन तथा वातावरण मन्त्रालयका निम्ति १८ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बिहीबार ९जेठ १५० संसद् बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी गराएका हुन् ।

उद्योग, कृषि र भूमि व्यवस्था मन्त्रालयको बजेट १० अर्ब १४ करोड

काठमाडौं । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका निम्ति आउँदो आर्थिक वर्षमा १० अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बिहीबार संसद् बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानकारी दिए ।

यसैगरी सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब ४९ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले निरपेक्ष गरिबी हटाउने घोषणा समेत गरे । उनले गरिबी हटाउनका लागि प्रदेश र स्थानीय तहसँग मिलेर काम गर्ने बताए ।

आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री पौडेलले कृषि क्षेत्रमा उत्पादन वृद्धि, व्यवसायिकता, आत्मनिर्भरतासहित खाद्य सुरक्षामा ध्यान दिइने बताए ।

शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै उक्त व्यवस्था गरेको बताए ।

 

 

 

 

फेसबुक-इन्स्टाग्राम नियमन गर्न खोज्ने नेपाली अधिकारीहरूलाई अमेरिकाले भिसा नदिने !

काठमाडौँ । अमेरिकी सरकारले विदेशी अधिकारीहरूमाथि भिसा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । खासगरी सामाजिक सञ्जाल प्लेटफर्महरूका सामग्री नियमन (content moderation) का लागि कडा नियमहरू लागु गर्ने प्रयासमा रहेका देशका अधिकारीहरूलाई लक्षित गर्दै यस्तो कदम चालिएको हो ।

त्यस किसिमको व्यवहारलाई अमेरिकाले ‘सेन्सरशिप’ संज्ञा दिएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार, यो नीति ती विदेशी नागरिकहरूमाथि लक्षित छ, जो अमेरिकामा सुरक्षित मानिएका अभिव्यक्तिमाथि सेन्सरशिप लगाउनमा जिम्मेवार छन् । विदेश मन्त्री मार्को रुबियोले एक घोषणा मार्फत भिसा प्रतिबन्ध लगाइने विदेशी अधिकारीहरूको विषयमा चर्चा गरेका छन् ।

जसअनुसार अमेरिकी सामाजिक सञ्जाल माध्यममा गरिएका पोस्टलाई लिएर अमेरिकामा रहेका अमेरिकी नागरिक वा बासिन्दाहरूलाई पक्राउ पुर्जी जारी गर्ने वा त्यसको धम्की दिने अधिकारीहरू पनि यसमा पर्नेछन् । अमेरिकी प्लेटफर्महरूलाई विश्वव्यापी सामग्री नियमन नीतिहरू अपनाउन वा उनीहरूको अधिकारभन्दा बाहिर अमेरिकाभित्र पुग्ने गरी सेन्सरशिप गतिविधिमा संलग्न हुन दबाब दिनेहरूलाई समेत यसले लक्षित गरेको छ ।

खासगरी यो नयाँ नीति युरोपको डिजिटल सेवा ऐन (डीएसए) प्रति लक्षित रहेको द भर्जले उल्लेख गरेको छ । यद्यपि यसले नेपालको सामाजिक सञ्जाल निर्देशिका तथा सामाजिक सञ्जाल विधेयक र त्यसको तर्जुमा तथा कार्यान्वयनमा संलग्न अधिकारीहरूलाई समेत प्रभावित पार्न सक्छ । नेपाल सरकारले पछिल्लो केही समयदेखि सामाजिक सञ्जाल नियमनको नाममा फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्स लगायतका प्लेटफर्ममाथि दबाब बढाउँदै आइरहेको छ ।

त्यसो त सन् २०२३ मा लागु भएको युरोपको डिजिटल सेवा ऐनको उद्देश्य अनलाइन प्लेटफर्महरूलाई सुरक्षित बनाउनु हो । यसले ठुला प्लेटफर्महरूलाई गैरकानुनी सामग्री हटाउन र उनीहरूको सामग्री नियमन प्रक्रियाबारे पारदर्शिता अपनाउनुपर्ने नियमहरू लागु गरेको छ ।

तर, अमेरिकाले डीएसएको आलोचना गर्दै आएको छ । अमेरिकी विदेश मन्त्रालयसँग सम्बन्धित एक सबस्ट्याक लेखमा डीएसएलाई ‘स्वतन्त्र नियामकहरूले अमेरिकी प्लेटफर्महरूमाथि कडा नियम लागु गर्ने’ र ‘असन्तुष्ट आवाजहरूलाई अधिनायकवादी तरिकाले दबाउने’ औजारको रूपमा व्याख्या गरिएको छ । ट्रम्प प्रशासनले यस अघि नै त्यसको आलोचना गरिसकेको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार, अमेरिकाले आफ्नो सार्वभौमिकतामाथि हुने हस्तक्षेप स्वीकार गर्दैन, विशेषगरी जब यसले अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकारलाई कमजोर पार्छ । यद्यपि, यो नयाँ भिसा प्रतिबन्ध नीति कसरी र कोकोमाथि लागु गरिनेछ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन ।

एकातर्फ अमेरिकाले विदेशी सेन्सरशिपको विरोध गरेको छ । जब कि राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासन स्वयँले घरेलु स्तरमा पनि केही यस्ता कदम नचालेको भने होइन । जसले अमेरिकाभित्रै अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गर्ने प्रयास गरेको थियो । उदाहरणका लागि, सरकारी वेबसाइटहरू र सरकारी कोषमा निर्भर संस्थाहरूले ‘विविधता’ सँग सम्बन्धित शब्दहरू हटाउनु परेको थियो ।

गल्फ अफ मेक्सिकोलाई ‘गल्फ अफ अमेरिका’ नभनेपछि ह्वाइट हाउसले एक समाचार संस्थामाथि आफ्नो प्रेस ब्रिफिङमा समेत निषेध गरेको थियो । विश्वव्यापी डिजिटल नियमन प्रयासहरूमाथि यो अमेरिकी नीतिको थप प्रभाव पर्ने देखिएको छ ।

किसानलाई ‘बोनस’ बन्दै चैते धान

कैलाली : कैलालीको भजनी नगरपालिका–७ का फागुराम चौधरी केही वर्ष अघिसम्म वार्षिक दुई बाली अन्न फलाउँथे । परिवारका लागि खान पुग्नेजति राखेर बचेको धान, गहुँ बिक्री गर्थे । तर उनले व्यवसायिक रुपमै बिक्री हुनेगरी भने फलाउन सकेका थिएनन् । धान, गहुँ, तोरी, मसुरो लगायत बालीको खेती गर्ने तरिका पुरानै थियो । जसमा मेहनत बढी लाग्ने तर उत्पादन भने कम ।

अहिले तिनै फागुरामको खेती गर्ने तरिका फेरिएको छ । खेतमा प्रयोग हुने परम्परागत औजार छोडेर आधुनिक औजारको प्रयोग गर्छन् । उन्नत जातको बीउ, धान–गहुँमा लाग्ने रोगको उपचार र किरा फट्यांग्रा मार्न किटनासक औषधि प्रयोग गर्छन् । यसले खेतमा लाग्ने मेहनतलाई मात्र कम गरेको छैन, उत्पादनलाई पनि बढाएको चौधरी बताउँछन् ।

सामान्यत: मौसम अनुसार वर्षमा दुई बाली अन्न उत्पादन हुन्छ । तर फागुराम अहिले तीन बाली उत्पादन गर्छन् । एक बाली गहुँ, तोरी र दुई बाली धान । धानमा एक बाली चैते धान उत्पादन हुन्छ । जुन माघमा बीउ उमारेर फागुनदेखि चैतको बीचमा रोपिन्छ । जेठको अन्तिम सातादेखि असारको पहिलो सातासम्म करिब १२० दिनमा यो धान पाक्छ । यसपछि रोपिन्छ बर्खे धान ।

‘चैते धान त हाम्रो लागि बोनस जस्तै हो । गहुँ पाकिसकेपछिको खाली समयमा अर्को आम्दानी गर्ने बाटो बनेको छ’, फागुराम भन्छन् । उनले समाज सुधार कृषि समूह अन्तर्गत १२ बिघा क्षेत्रफलमा यो धान रोपेका छन् । विगत ४ वर्षदेखि चैते धान खेती गर्दै आएका भजनी–३ का किसान खुशीराम चौधरीले वर्षमा तीनवटा बाली लगाएर राम्रो आम्दानी भएको बताए । ‘चैते धानले बर्खे धानभन्दा बढी फल दिइरहेको छ,’ चौधरीले भने,‘यसले किसानहरूको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याएको छ ।’

भजनी नगरपालिका कैलालीको सबैभन्दा बढी डुबान पर्ने क्षेत्रमा पर्छ । वडा न.३, ५ र ८ बाढी तथा डुबानको उच्च जोखिम युक्त क्षेत्र हो । यो क्षेत्रमा हिउँदेबाली मात्रै उत्पादन हुन्छ । बर्खामा धान उत्पादन नहुने हुँदा यहाँका किसान मर्कामा पर्थे । तर विगत तीन वर्षयता यो क्षेत्रमा चैते धान उत्पादन बढ्न थालेको छ । भजनी नगरपालिका–३ ढुसीकी आशारानी डगौंरा चैते धान रोप्न पाउँदा मख्ख छिन् । ३ वर्ष अघिसम्म उनको परिवारको सबैभन्दा धेरै खर्च खाद्यान्न खरिदमा जान्थ्यो । तर अहिले आफैंले धान उत्पादन गर्न थालेपछि पैसा बचत हुने गरेको डंगौरा बताउँछिन् ।

‘धान चामले सधै किन्नुपर्थ्यो । बर्खामा केही फल्दैन थियो । अहिले बर्खाकोभन्दा बढी हामी चैते धान फलाउँछौ । केही घाटा हुँदैन’, आशारानी भन्छिन् । उनले राधाकृष्ण कृषि समूह अन्तर्गत ३० बिघा क्षेत्रफमा चैते धान रोपेकी छन् । भजनी–५ की रूपी देवी डंगौराले पनि चैते धान खेतीलाई राम्रो सम्भावनाको रूपमा देखेकी छन् ।

कैलालीका विभिन्न क्षेत्रका किसानले यो धान विगतदेखि फलाउँदै आएका छन् । तर बेसिजनमा फल्ने यो खेतीबारे खासै अध्ययन नभएको हुँदा अपेक्षा अनुसारको धान फलिरहेको थिएन । अहिले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले कैलालीका विभिन्न पालिकामा चैते धानबारे अध्ययन, माटो परीक्षण लगायत किसानलाई अनुदान दिने गरेको छ । यसले जिल्लामा चैते धान खेतीको विस्तारसँगै उत्पादन पनि वृद्धि भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कैलालीको तथ्यांक अनुसार यो वर्ष कैलालीमा ४७६ हेक्टर क्षेत्रफलमा चैते धान रोपिएको छ । लक्ष्य भने ६०० हेक्टर रहेको थियो । आर्थिक वर्ष २०७९/८० मा ५० हेक्टर क्षेत्रफलबाट चैते धान रोप्न सुरु भएको थियो । ०८०/८१ मा विस्तार भएर १७२ हेक्टर क्षेत्रफलमा जिल्लाभर यो धान रोपिएको थियो । चालु वर्षमा भजनी, जोशीपुर र जानकी गाउँपालिकाका अधिकांश वडाहरूमा चैते धान खेती विस्तार गरिएको छ । जोशीपुरको वडा नम्बर १ देखि ५, भजनीको वडा नम्बर ३, ६ र ८ तथा जानकी गाउँपालिकाको वडा नम्बर ४ धान उत्पादनका लागि ‘धान जोन’ एरिया घोषित गरिएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कैलालीका वरिष्ठ कृषि अधिकृत गोविन्द जोशी बर्खे धानको तुलनामा यो धान डेढ गुणा बढी फल्ने बताउँछन् । उनका अनुसार चैते धानका लागि बजारमा विभिन्न बीउ भए पनि चैते ४, चैते ५, हरदिनाथ १ र हरदिनाथ ४ किसानले बढी रचाएका छन् । यो धानलाई विस्तार गर्न सके कैलालीका किसान अनपेक्षित धान उत्पादन गर्न सक्ने अधिकृत जोशी बताउँछन् ।

परियोजनाले यो वर्ष तोकिएका क्षेत्रमा ३ हजार २४१ मेट्रिक टन धान उत्पादन हुने आंकलन गरेको छ । कैलालीमा ५० हेक्टरमा आ.व ०७९/८० मा २ सय ६३ मेट्रिक टन, १७२ हेक्टरमा ०८०/८१ मा १ हजार १ सय ७१ मेट्रिक टन चैते धान उत्पादन भएको थियो । चैते धान विस्तारका लागि चालू आर्थिक वर्षमा ३८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यो रकम किसानलाई अनुदान, प्राविधिक सहयोग, जिङग् सल्फेट, कीट, झारनाशक औषधि, इलेक्ट्रिक स्पेयर, इलेक्ट्रिक मोटर, त्रिपाल र डेलिभरी पाइप वितरणमा खर्च भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कैलालीकी कृषि प्राविधिक रीतु धामीले जानकारी दिइन् ।

उनका अनुसार परियोजनाले प्रति हेक्टर ८ हजार ५ सय रुपैयाँ अनुदान दिँदै आएको छ । यसबाट कैलालीका ६१ हृजार ५८४ किसान लाभाविंत भएका छन् ।

सिँचाइको समस्या

भजनी–३ का सीताराम डँगौरा नेतृत्वको साना किसान समूहले चैते ४ र चैनी ५ जातको धान खेती गर्दै आएको छ । तीन जना किसान यही धान उत्पादनले ऋण मुक्त भएको डँगौरा बताउँछन् । बर्खे धानको तुलनामा उत्पादन बढी भए पनि रोग, किरा र पानीको समस्या भने बढी हुने छ । धानले पानी उच्च खपत गर्ने हुँदा सिँचाइका लागि विद्युत् अभाव भएको किसानहरुको गुनासो छ । राधा कृष्ण महिला कृषक समूहकी अध्यक्ष आशा रानी डँगौराले सिँचाइ गर्न विद्युत् अभाव झेल्नु परेको बताइन् ।

भन्छिन्,‘बिजुलीको पावर नै पुग्दैन खेतसम्म । एक बिघा धान सिँचाइ गरेपछि अर्को बिघाको लागि ३ दिन कुर्नुपर्छ ।’ यो सिजनमा पानि कम पर्ने भएकाले सिँचाइ गर्न विद्युत् विकल्प किसानसँग छैन् । तर खेती योग्य जमिन रहेका अधिकांश ठाउँमा विद्युत् नपुग्दा किसानहरु समस्यामा परेका छन् । भजनी नगरपालिकाका नगर प्रमुख एकल चौधरीले खेतमा विद्युत् जडानको लागि नगरपालिाले २ करोड १० लाख बजेट छुट्याएको बताए । त्यो रकम पनि अपुग भए ३० लाख अझै थप गर्ने उनको भनाइ छ । डुबान क्षेत्र रहेको भजनीमा चैते धानलाई बढीभन्दा बढी प्रमोट गर्न आफू प्रतिबद्ध रहेको चौधरी बताउँछन् ।

किसानहरूले उत्पादन गरेको धानको मूल्य पनि कम भएको गुनासो गरेका छन् । चैते धानको प्रतिक्विन्टल ३४ सयदेखि ३६ सय रुपैयाँसम्म बजार मूल्य पाएको छ ।

सुदूरपश्चिमका द्वन्द्वपीडित : कोही न्यायको आसमा, कोही आफन्तको पर्खाइमा

काठमाडौँ :  २०५९ कात्तिक १५ को साँझ । ७ बजे रेडियो नेपालमा समाचार बज्यो- ‘सरकारी फौज र आतंककारीबीचको झडपमा गोली लागेर कैलालीको पहलवानपुरमा एकजनाको निधन भएको छ । मृतक पवेरा गाविस-१ का आशाराम (परिवर्तित नाम/ठेगाना) रहेको पुष्टि भएको छ ।’

छेउमै बसेर समाचार सुनिरहेकी फूलमती (परिवर्तित नाम) आत्तिँदै रेडियो नजिकै गइन् । पूरा समाचार सुनेपछि उनको मनमा चिसो पस्यो । नपसोस् पनि कसरी, खबरमा भनिएको ठाउँ, गाउँ र मृतकको नाम श्रीमान्‌सँग ठ्याक्कै मिलेको थियो । परिवारमा रुवाबासी चल्यो । फूलमती त्यो सामचार सत्य मान्न तयार थिइनन् । उनी सासू-ससुरालाई सम्झाउन थालिन्, ‘आशारामलाई केही भएको छैन । घर आउने समय भयो । अब आइपुग्नुहुन्छ ।’

फूलमतीले भनेजस्तै आशाराम त आएनन्, बरु गाउँभरिका मान्छे भने दौडिएर घरमा आइपुगे । कसैले खबर ल्यायो, ‘पहलवानपुरमा मारिएको मान्छे आशाराम दाइ नै हो रे ।’ केहीबेरमै खबर पक्का भयो- हत्या गरिएका व्यक्ति फूलमतीकै श्रीमान् थिए ।

आशाराम न कुनै नेता न सुरक्षाकर्मी । गाउँका सामान्य पसले थिए । तर समाचारमा उनका लागि माओवादी, आतंककारीजस्ता शब्द प्रयोग भए । सदाझैं पसल खोल्न बिहानै घरबाट हिँडेका उनी त्यसपछि कहिल्यै फर्किएनन् । कसले गोली चलायो ? किन हत्या गरियो ? शव कहाँ छ ? कुनै उत्तर थिएन । दोस्रो दिन बिहान फूलमती पसल पुग्दा तोडफोड र सामान लुटिएको रहेछ ।

आसपासका केही मान्छेले माओवादी हो भन्दै सेनाले लगेको उनलाई सुनाए । ‘त्यो द्वन्द्वकालीन समयमा प्रश्न सोध्न पनि सकिँदैनथ्यो,’ फूलमती भन्छिन्, ‘सास नभए पनि लास त भेटिएला भनेर धेरै कोसिस गर्‍यौं तर पाएनौं ।’

श्रीमान्‌को हत्यारालाई करबाही गर्न भन्दै फूलमतीले जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता पनि गरिन् । न्याय त परको कुरा, न छानबिन भयो, न चित्तबुझ्दो जवाफ आयो । उल्टै उनलाई माअेवादी हो भन्दै अपहरण गरेर अत्तरियाको तेघरी ब्यारेक पुर्‍याइयो । त्यहाँ शारीरिक र मानसिक हिंसा भोगेको उनी सुनाउँछिन् ।

फूलमती २६ वर्षको उमेरमा विधवा भइन् । दुई सन्तान हुर्काइन् । सरकारबाट सहयोगका नाममा १० लाख रुपैयाँ पाइन् । त्यो पैसाले केही सहयोग त पुग्यो तर श्रीमान्‌का अगाडि खासै ठूलो अर्थ राखेन । उनको माग पैसाभन्दा हत्यारालाई कारबाही होओस् भन्ने थियो । अब त्यो आस पनि मरिसकेको छ ।

श्रीमान्‌को सम्झनामा फूलमतीले दुई कुरा चटक्क छाडिन् । एउटा पहलवानपुरको पसल, अर्को रेडियो । भन्छिन्, ‘आज पनि कतै रेडियो बजेको सुन्दा डर लाग्छ ।’ श्रीमान् बितेको २३ वर्ष बिते पनि रेडियोको त्यो खबर अझै उनको कानमा गुञ्जिरहन्छ ।

कैलालीकी कृष्णीदेवी चौधरीको कथा पनि फूलमतीको भन्दा फरक छैन । उनका श्रीमान् विनोद चौधरी ०५८ फागुन २७ गते कामको सिलसिलामा घरबाहिर जाँदा अपहरणमा परे । त्यतिबेला विनोद कैलालीको शिव प्राविका स्थायी शिक्षक थिए ।

फागुन २७ देखि ०५९ जेठ १५ सम्म तेघरी ब्यारेकमा राखिएका विनोदलाई त्यो बेलासम्म खाना, लत्ताकपडा लगेर कृष्णीले पनि भेटेकी थिइन् । तर जेठ १६ गते राति ब्यारेकबाट सरुवा गरिने भन्दै त्यहाँबाट बेपत्ता पारेको उनले बताइन् । ‛जेठ १५ सम्म त उहाँ त्यहीँ हुनुहुन्थ्यो । तर १६ गते राति त्यहाँबाट सरुवा गर्ने भनेर लगियो । हामीलाई त लगेको पनि थाहा थिएन । उहाँ सँगै बस्नुभएको साथी अनिल चौधरीले भनेपछि थाहा पायौं । आँखामा पट्टी बाँधेर लगेका हुन् रे,’ उनले भनिन् ।

बेपत्ता भएको १९ वर्षसम्म कुनै खबर नआएपछि आफन्तको सल्लाहमा ४ वर्षअगाडि श्रीमान्‌को अन्तिम संस्कार गरेको उनले सुनाइन् । सहयोगका नाममा सरकारबाट उनले केही पाएकी छैनन् । ‘परिवारमा एकजनालाई रोजगारीको व्यवस्था गरिदिए सहज हुने थियो,’ उनी भन्छिन् । बुवा बेपत्ता हुँदा ३ वर्षका उनका छोरा अहिले २५ वर्षका छन् ।

कञ्चनपुरकी लक्ष्मीदेवीले भने छोरी परलोटीको बाटो कुरेको २३ वर्ष कट्यो । ०५८ फागुन १३ गते विद्यालय गएकी परलोटी त्यसपछि घर फर्किइनन् । १५ वर्षकी उनी सधैंजसो त्यो दिन पनि बिहानै विद्यालय गइन् । साँझसम्म नफर्किएपछि अभिभावकले खोजी सुरु गरे । छोरी त फेला परिनन् तर परिवारले उनको अपहरण भएको जानकारी भने पाए । अपहरण भएको तेस्रो दिन फागुन १६ गते जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा खोजीको अपिल गर्दै अभिभावक पुगे । तर, केही पत्ता लागेन । त्यसयता राष्ट्रिय मानव अधिकार आयोग, माइती नेपाल, इन्सेक, कारागार र हेडक्वाटरसम्म पुग्दा पनि परलोटी फेला नपरेको लक्ष्मीको पीडा छ ।

‘बिहान राम्रैसँग स्कुल गएकी छोरीलाई स्कुलबाटै अपहरण गरेर लगे । त्यसपछि खोजीनिती गर्दा आर्मीको ब्यारेकमा छ भन्ने थाहा पायौं । त्यहाँ हामीलाई जान दिइएन,’ उनी भन्छिन्, ‘कति दिनसम्म त यतै छ भन्थे, पछि कता लगे थाहै भएन ।’ २३ वर्षपछि पनि लक्ष्मीलाई त्यो दिनले पोलिरहन्छ ।

छोरी फर्किन्छे कि भन्ने आस उनले अझै मारेकी छैनन् । ‘मलाई मेरी छोरी बितेको छ जस्तो लाग्दैन । कतिबेला टुप्लुक्क आउँछे अनि आमा भनेर बोलाउँछे जस्तो लाग्छ,’ लक्ष्मीले रुँदै भनिन् । छोरीको अवस्थाबारे पटकपटक सरकारसँग आग्रह गर्दा पनि आश्वासन मात्रै पाएको उनको गुनासो छ । सरकारबाट उनले अहिलेसम्म २ लाख क्षतिपूर्तीबाहेक अरु केही पाएकी छैनन् । आफूलाई राहत नभई छोरी चाहिएको लक्ष्मी बताउँछिन् ।

फूलमती, कृष्णी र लक्ष्मी प्रतिनिधि पात्र मात्रै हुन् । राज्य पक्ष र तत्कालीन माओवादीबीच भएको सशस्त्र द्वन्द्वमा मारिएका, बेपत्ता परेका र अंगभंग भएका सबै परिवारको अवस्था लगभग उस्तै छ । ०७१ सालको माघमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन भए । तर जुन उद्देश्यका साथ आयोग बने राज्यले त्यो पूरा गर्न सकेनन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका सुदूरपश्चिम प्रदेश प्रमुख खडकराज जोशी द्वन्द्वपीडितका लागि आयोगले कुनै पनि काम गर्न नसकेको बताउँछन् । ‘आयोगले इमानदारीसाथ काम गरेन । जसका लागि गठन भए, तिनै द्वन्द्वपीडित यिनका विरुद्धमा आवाज उठाउँछन्,’ जोशी शंका व्यक्त गर्छन्, ‘यी आयोगले वास्तविक पीडितका लागि काम गर्लान् भन्ने पनि आस छैन ।’Victims of conflict in Far West: Some are hoping for justice, some are waiting for their relatives

इन्सेकको तथ्यांकअनुसार सशस्त्र द्वन्द्वबाट सुदूरपश्चिममा १ हजार ६ सय ८२ जना प्रभावित भएका छन् । जसमध्ये १ हजार ५ सय ५८ जनाले ज्यान गुमाएका छन् भने ५९ जना बेपत्ता पारिएका छन् । यस्तै, ६५ जना अपांग भएका छन् । प्रभावितहरुमा १ हजार ४ सय ७३ पुरुष र २ सय ९ जना महिला छन् ।

द्वन्द्वमा हिंसा र यौन हिंसामा परेका महिलालाई सरकारले अभिभावकत्व प्रदान गर्नुपर्नेमा उनीहरु लक्षित काम गर्न नसकेको राष्ट्रिय द्वन्द्वपीडित महिला सञ्जाल कैलालीकी अध्यक्ष कृति चौधरी बताउँछिन् । ‘द्वन्द्वपीडत महिला अहिले पनि त्यो घटनाबाट माथि उठ्न सकेका छैनन्,’ उनी भन्छिन, ‘अझ यौन हिंसामा परेका महिला त गम्भीर स्वास्थ्य समस्या र मानसिक समस्या भोगिरहेका छन् ।’

उनका अनुसार द्वन्द्वमा यौन हिंसामा परेको थाहा पाएपछि पीडित महिलाहरु परिवारबाट पनि हिंसा भोगिरहेका छन् । सरकार द्वन्द्वपीडतका समस्या र मुद्दाबाट पन्छिन नमिल्ने उनी बताउँछिन् ।

बजेट अनुमोदन गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न प्रस्तुत हुने आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न मध्याह्न मन्त्रिपरिषद् बैठक हुँदैछ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ। आजै अपराह्न राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आयोगको बैठक हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सङ्घीय संसद्मा अपराह्न ३ः०० बजे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।

बंगालादेशी नागरिकलाई बन्धक बनाएको आरोपमा ५ जना पक्राउ

काठमाडौं :  नेपाल घुम्न आएका बंगलादेशका नागरिकहरूलाई बन्धक बनाएको आरोपमा प्रहरीले ५ जना भारतीयलाई पक्राउ गरेको छ । आरोपीहरूले ललितपुर महानगरपालिका–१५ स्थित एक घरमा बन्धक बनाएर आफन्तसँग फिरौती मागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए।

उनीहरूलाई परिसर काठमाडौँ र गौशालाबाट खटिएको टोलीले काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । जेठ १४ मा काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर उनीहरूमाथि अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए ।

अमेरिकाले चीन र हङकङबाट पढ्न आउने विद्यार्थीहरूको भिसा जाँच गर्ने

काठमाडौं । अमेरिकाले चीन र हङकङबाट पढ्न आउने विद्यार्थीहरूको भिसा जाँच गर्ने भएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने, “चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्ध राख्ने व्यक्तिहरूको पहिचान गरिनेछ ।”

रुबियोले विज्ञप्तिमार्फत चीन र हङकङबाट भविष्यमा आउने भिसा आवेदकहरूको जाँचलाई अझ कडा बनाउन भिसा आवश्यकताहरू पनि परिमार्जन गरिने बताए ।

हालैका महिनाहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करवृद्धिका कारण चीन र अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण बनेको छ।

यसअघि रुबियोले विश्वभरका अमेरिकी दूतावासहरूलाई विद्यार्थी भिसाका लागि अपोइन्टमेन्टहरू बन्द गर्न आदेश दिएका थिए । साथै, विदेश विभागले आवेदकहरूको सामाजिक सञ्जाल जाँचलाई तीव्र बनाउने तयारी गरिरहेको जनाएको छ ।

अनुमानअनुसार गत वर्ष लगभग २ लाख ८० हजारभन्दा बढी चिनियाँ विद्यार्थीहरू अमेरिकामा अध्ययन गरिरहेका थिए ।

भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता पुष्टि गर्न गृहमन्त्री लेखकको चुनौती

काठमाण्डौं, १४ जेठ ।
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको र संलग्नता भएको पुष्टि भए सजाय भोग्न तयार रहेको बताएका छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरु गरिसकेको अवस्थामा आयोगको अनुसन्धानलाई पर्खिन सबैलाई आग्रह गरे । उनले आयोगको निर्णय आफूलाई मान्य हुने समेत बताए ।

भिजिट भिसा प्रकरणमा आयोगबाट अनुसन्धान प्रारम्भ भइसकेको छ, उनले भने, अनुसन्धान कार्यमा कसरी सहयोग पुग्छ, के के गर्दा राज्यमा सुशासन स्थापित हुन्छ त्यसका लागि म तयार छु ।

“सम्मानित आयोगको अनुसन्धान पश्चात जो दोषी देखिन्छ उसलाई कानून बमोजिम कारवाही हुने नै भएकोले आयोगको निर्णय भन्दा अगाडि नै सक्षम निकायलाई ओझेलमा पारेर कसैलाई दोषी करार गर्न हतास नबनौ र हतार नगरौं भन्ने मेरो आग्रह छ ।” मन्त्री लेखकले भने, “ स्वतन्त्र सक्षम संवैधानिक निकायको अनुसन्धानको निष्कर्ष नै समग्रतामा जवाफ हुने भएकोले यसमा थप प्रष्टीकरण दिइ रहनु नपर्ला भन्ने विश्वास छ ।”

आफ्नो राजनैतिक जीवन समाप्त गर्न आफू संलग्न नै नभएको विषयसमा जोडेर अनर्गल प्रचार गरिएको लेखकको भनाई थियो । गृहमन्त्री लेखकले गलत तथ्य र सूचनामा आधारित रहेर राजनीतिक अभिष्ठ पूरा गर्न गरिने गलत कार्यप्रति आम नागरिक लाई सजक हुन समेत आग्रह गरे ।

उनले कुनै मातहतको राष्ट्रसेवकलाई कुनै कसूरमा छानविन गर्न पर्यो वा अनुसन्धान गर्न पर्यो वा मुद्वा दायर भयो भने त्यसको जिम्मा विभागीय मन्त्रीले लिने हो भने हरेको बर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने मुद्दाको जिम्मेवारी तत् मन्त्रीले लिने कि नलिने भन्दै प्रश्न गरे ।

“ अहिले बजारमा म माथि सृजना गरिएका भ्रामक समाचारको जवाफ दिन मैले समाचार प्रकाशन भएकै दिनमा सम्माननीय सभामुख मार्फत समय मागेको थिए,”उनले भने “ म लोकतन्त्र र संसदीय सर्वोच्चताको पक्षपाती जनप्रतिनिधि भएकोले म माथि उठेको प्रश्नको प्रष्टीकरण जनताको थलोबाटै दिन चाहन्थे तर त्यो संभव भएन ।” उनले आफू माथि आक्रमण गरिरहँदा कतै यस्ता

अपराधिक कार्यहरू गर्ने समूहहरू हर्षबढाँई गरी खुसी मनाईरहेका त छैनन भन्ने चिन्ता व्यक्त गरे ।

“गृह मन्त्रीमाथिको आक्रमणले सुधार नचाहने तत्व सलवलाईरहेको त छैन ? तपाईहरूलाई लाग्छ, यस्ता गैरकानूनी कार्यमा संलग्न होला ? म बाट न विगतमा, न वर्तमान र न भविष्यमा राष्ट्रहित विपरितका कार्यहरू भएनन् र हुन सक्दैनन्। ” उनले भने, “ यद्धपि, कुनै पनि समस्याको मर्यादित प्रश्न उठाउने, समस्या समाधानमा सुझाव दिने माननीय सदस्यहरू, नागरिक समाज, विपक्षी दलहरू, सञ्चारकर्मी र आम नागरिकमा हार्दिक आभार प्रकट गर्दछु। तर, व्यक्तिको सार्वजनिक जीवनलाई आघात पुग्ने गरी भ्रमपूर्ण कार्यहरू नगर्न, नगराउन समेत सबैमा हार्दिक अनुरोध छ ।”

उनले मुलुकको अर्थतन्त्र र समग्र शासकीय प्रणालीलाई सबल बनाउन कटिबद्ध जनप्रतिनिधि माथि अप्रासांगिक, व्यक्ति केन्द्रीत र राजनीतिक कुण्ठा प्रेरित विषय उठाएर सार्वभौम संसद अवरुद्ध गर्नु आफैंमा बुद्धिमानपूर्ण कार्य नभएको बताए ।

“तसर्थ सबै विपक्षी दलहरूलाई मेरो आग्रह छ, कि नागरिकका समस्याहरू समाधानार्थ संसद सुचारु गरौं, देखिएका समाधानहरू कहाँ कहाँ छन् सम्बोधन गर्न आजैबाट लागौं। ” उनले आग्रह गरे

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कार्यालय प्रमुख, सहसचिव तीर्थराज भट्टराईलाई सोधपुछको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट बोलाइएको भन्ने बिषय आफूले सञ्चार माध्यमबाट थाहा पाएको लेखकले बताए । ।

“अख्तियार दुरुपयोग अनुसन्धान आयोग जसले मुलुकमा भ्रष्ट्राचार नियन्त्रणका लागि कार्य गर्ने संवैधानिक भूमिका प्राप्त गरेको छ, उसको काम कारवाहीलाई म खुल्ला मनले स्वागत गर्दछु। अझ म, जो लोकतन्त्र र सुशासनको लागि बर्षौदेखि लडिरहेको छु, विधिको शासनको लागि आवाज उठाएको छु, त्यस्तो व्यक्तिले संवैधानिक निकायको काममा सहयोग र समर्थन गरेको छु र गर्ने नै छु ।” उनले भने–“ कुनै पनि राष्ट्र सेवकले गरेको भ्रष्ट्रचारजन्य कामको अनुसन्धान, अभियोजन लगायतका कार्य गर्न सक्षम संवैधानिक निकाय छ।उसले गर्ने काम कारबाहीलाई कमजोर पार्ने र स्वयं आयोगलाई समेत अनुसन्धानमा प्रभावित पर्ने कार्य कतैबाट गरिनुहुन्न भन्ने बिषयमा म सचेत छु। र, सो आग्रह सबैमा गर्न चाहन्छु कि स्वतन्त्र निकायलाई स्वतन्त्र रुपमा निष्कर्षमा पुग्न दिऔ ।”

“ अहिलेको प्रसंग एक जना सहसचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानको हो। मेरो बिषय वा प्रसंग पनि होइन। मेरो कुनै स्वार्थको द्वन्द्व पनि छैन।” उनले “ सक्षम संबैधानिक निकायले गर्ने अनुसन्धानलाई निष्कर्षमा पुग्न दिदा जो दोषी हुन्छ ऊ कानून बमोजिमको कारवाहीमा परी नै हाल्छ ।”

गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता पुष्टि गर्न समेत चुनौती दिए ।

उनले सहसचिव तीर्थराज भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा खटाएकोले त्यसको जिम्मेवारी मैले लिनुपर्नेजस्तो कुरा आएकोप्रति दुखः व्यक्त गरे।

“ त्यहाँ सहसचिव खटिने ठाँउमा कानून बमोजिम कर्मचारी खटाउदा मैले त्यो अपराध गरेको मान्ने ? मैले कुनै मेरो आफन्तलाई कानून बेगर नै त्यहाँ खटाएको हो ? त्यहाँ हिजो जसरी निजामती कर्मचारी खटिए आज पनि त्यसै गरी खटिएका छन्।” लेखकले भने, “ मैले तीर्थराज भट्टराईलाई अन्तबाट ल्याएर त्यहाँ पठाएको पनि हैन। गृह मन्त्रालयको एउटा विभागबाट अर्को विभागमा सरुवा गरेको मात्र हो। कुनै पनि मन्त्रीले आफूलाई सहयोग गर्न निजामती तर्फको उपसचिवलाई निजी सचिवको रुपमा नियुक्त गर्ने बाहेक मन्त्रालय मातहतको कर्मचारीहरूको सरुवा, पदस्थापन लगायतका प्रशासनिक कार्यहरू मन्त्रालयको प्रशासनिक नेतृत्वबाट हुने गर्दछ ।”

उनले मन्त्री पदको लोभ भन्दा पनि कस्तो विधि बसाल्ने भन्ने प्रश्न उब्जिएको बताए ।

“ राष्ट्र सेवकलाई मुद्वा दायर गरेकै भरमा मन्त्रीले राजीनामा दिने हो भने अबस्था कस्तो होला।” उनले भने, “ गृह प्रशासन आफैमा ठूलो र वृहत्तर कार्यक्षेत्र भएको निकाय हो। आम नागरिकको घरदैलोमा सेवा पुर्याउनदेखि विपद् व्यवस्थापनसम्म, ट्राफिक व्यवस्थापनदेखि अध्यागमनसम्म, नागरिकतादेखि मुद्दा व्यवस्थापनसम्म यसको कार्य रहेको छ। यस मातहत ४५ सय निजामती कर्मचारी, ८० हजार बढी नेपाल प्रहरी, ३८ हजार बढी सशस्त्र प्रहरी बलका कर्मचारी कार्यरत छन।”

अध्यागमन कार्यको नियमन, रेखदेख र प्रशासनिक कार्यका लागि अध्यागमन विभाग र अन्तराष्ट्रिय विमानस्थलहरूमा अध्यागमन कार्यालयहरु छन। त्यहाँका दैनिक काम कारबाहीहरु तत् जिम्मेवार अधिकारीबाट कानूनतः निरुपण हुन्छन नै,उनले भने, जसले जिम्मेवारी बहन गर्छ त्यसले आफ्नो कामको जिम्मा लिनु पर्छ भन्नेमा म स्पष्ट छु ।

“ गृह मन्त्रालयको नेतृत्वको हैसियतले वा विभागीय प्रमुखको हैसियतले नीति निर्माण र सरकारको राजनीतिक संयोजनमा बढी केन्द्रीत हुनु पर्छ। अझ, राजनीतक विषय वा कुनै आदेश निर्देशनको अबस्थामा मात्र मेरो भूमिका बढि रहन्छ।यस्तो अबस्थामा कुनै कार्यलयमा घटित कुनै घटनासँग मेरो भूमिका वा संलग्नता कसरी हुन्छ ? ” लेखकको प्रश्न थियो ।

कांग्रेस पूर्वसांसद आफताब आलमले उच्च अदालतबाट पाए सफाइ

पर्सा १४ जेठ । रौतहटमा भएको बम विस्फोटका अभियुक्त मोहम्मद आफताब आलमलाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले सफाइ दिएको छ ।

जिल्ला अदालत रौतहटको आदेशलाई उल्ट्याएर उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले आलमलाई रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले बुधबार जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ दिएको हो ।

आलम जिल्ला अदालत रौतहटको आदेशविरुद्ध उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा पुगेका थिए । उक्त इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्‍न दिएको आदेश सदर गरेको थियो ।

पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम विस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा नेता आलम, उनका भाइ मोहम्मद महताब आलम र शेख सराजसहित ११ जनाविरुद्ध ०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा कांग्रेस नेता आलम ०७६ असोज २६ मा पक्राउ परेका थिए ।

उच्च अदालतले संकलित सबुद प्रमाणबाट मोहम्मद आफताब आलमको घरमा २०६४/१२/२७ मा बम विस्फोटको वारदात वस्तुनिष्ठ प्रमाणले पुष्टि हुन नसकेको,  घाइते भनिएका पिन्टु भनिने त्रिलोकप्रसाद सिंह र ओसी अख्तरलाई ट्याक्टरमा हाली राजा इँटाभट्टामा लगी पोलेको भन्ने ठोस सबुद प्रमाण भेटिन नसकेको र विधि विज्ञान प्रयोगशालाबाट पनि मृतकलाई इँटाभट्टामा पोलेको अभियोग लागी पुष्टि हुन नसकेको सफाई दिएको जनाएको छ ।

अमेरिकाद्वारा विश्वभरि विद्यार्थी भिसाका ‘अपोइन्टमेन्ट’ स्थगन, सामाजिक सञ्जाल निगरानीको योजना

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले विदेशस्थित उसका राजदूतावासहरूलाई विद्यार्थी भिसाका लागि अन्तर्वार्ताका निम्ति समय दिने कार्य रोक्न आदेश दिएको छ।

उसले भिसा आवेदकहरूको सामाजिक सञ्जालको परीक्षणलाई विस्तार गर्न तयारी थाल्दै गर्दा उक्त आदेश दिइएको हो।

कूटनीतिक निकायहरूलाई जारी गरिएको सूचनामा विदेशमन्त्री मार्को रुबियोले ‘थप निर्देशन नआएसम्मका लागि’ ती कार्य स्थगन हुने भनेका छन्।

सामाजिक सञ्जालको परीक्षण

उनको सन्देशमा विद्यार्थी तथा फरेन एक्सचेन्जअन्तर्गतका भिसा आवेदकहरूको सामाजिक सञ्जालको निगरानी वा परीक्षण गहन बनाइने बताइएको छ।

यसले विदेशस्थित अमेरिकी राजदूतावास तथा महावाणिज्य दूतावासहरूका लागि ‘महत्त्वपूर्ण प्रभाव’ पर्ने ठानिएको छ।

ट्रम्प प्रशासनको प्रतिष्ठित कलेजहरूसँगको तनावका माझ पछिल्लो निर्णय आएको छ। कतिपय त्यस्ता कलेजहरूले यहुदी विरोधी भावनालाई क्याम्पसमा प्रश्रय दिएको अनि कतिपयले ‘भेदभावपूर्ण भर्ना नीति’ अँगालेको ट्रम्पले भन्दै आएका छन्।

बीबीसीको अमेरिकी साझेदार सीबीसी न्यूजले देखेको विदेशमन्त्रालयले मङ्गलवार जारी गरेको ‘मेमो’मा अमेरिकी दूतावासहरूलाई विद्यार्थी भिसाका निम्ति आवेदकको अन्तर्वार्ता अब तय नगर्न भनिएको छ। तय भइसकेको अन्तर्वार्ताको हकमा चाहिँ त्यसलाई कायम राख्न सकिने भनिएको छ।

त्यसमा विदेशमन्त्रालयले सबै विद्यार्थी भिसा आवेदनका निम्ति लागु हुने गरी ‘सामाजिक सञ्जालको निगरानी तथा परीक्षणको विस्तार’को तयारी भइरहेको जनाइएको छ।

अमेरिकामा पढ्न चाहने विदेशी विद्यार्थीहरूले भिसा स्वीकृतिको अगाडि सामान्यतया उनीहरूको देशमा रहेका अमेरिकी दूतावासमा अन्तर्वार्ता तय गर्नु पर्छ।

कैयन् अमेरिकी शैक्षिक संस्थाहरू तिनको आम्दानीको उल्लेखनीय हिस्साका निम्ति विदेशी विद्यार्थीमा निर्भर हुन्छन् किनकी तिनले प्राय: बढ्ता शुल्क तिर्छन्।

विद्यार्थी भिसाबारे मङ्गलवार सोधिएको प्रश्नको जबाफ दिँदै विदेशमन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले भने: “हामी देशभित्र कस्ता मानिस आइरहेका छन् भनेर निर्क्योल गर्ने परीक्षणको प्रक्रियालाई निकै गम्भीरतापूर्वक लिन्छौँ र लिइरहने छौँ।”

विश्वविद्यालयहरूसँग ट्रम्प प्रशासनको टकराव

प्रदर्शनकारी

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,ह्वाइट हाउसका माग नमान्न विश्वविद्यालयहरूलाई आग्रह गर्दै प्रदर्शन भएका थिए

विश्वविद्यालयहरूका दशौँ करोड डलरका कोषलाई ट्रम्प प्रशासनले रोक्का गरिदिएको छ। कतिपय विद्यार्थीलाई अमेरिकाबाट निकाला गरिएको छ भने हजारौँ अन्यको भिसा रद्द गरिएको छ।

यीमध्ये कतिपय कारबाहीलाई अदालतहरूले रोकिदिएका छन्।

केही अमेरिकी विश्वविद्यालयले तिनका क्याम्पसमा यहुदी विरोधीहरूलाई प्यालेस्टीनी समर्थक कार्य गर्न छुट दिएको ह्वाइट हाउसले आरोप लगाएको छ।

ती कलेजहरूले चाहिँ ट्रम्प प्रशासनले वाक् स्वतन्त्रता कुल्चन खोजेको आरोप लगाएका छन्।

राष्ट्रपति ट्रम्पको क्रोधको निसानामा हार्वर्ड विश्वविद्यालय परेको छ। गत साता ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थी तथा विदेशी शोधकर्तालाई भर्ना लिनसक्ने हार्वर्डको क्षमतामा रोक लगाइदियो। तर सङ्घीय न्यायाधीशले प्रशासनको निर्णयमा रोक लगाइदिएका छन्।

यदि प्रशासनको निर्णय लागु भयो भने त्यसले एक चौथाइ विद्यार्थी विदेशी रहने उक्त विश्वविद्यालयलाई गम्भीर धक्का पुग्न सक्छ।

ब्र्यान्डन ड्रेनन / बीबीसी न्यूज, वाशिङ्टन डीसी

पुटिनले आगोसँग खेलिरहेको ट्रम्पको चेतावनी

अमेरिका, २७ मे ।
पछिल्लो समय रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग असन्तुष्ट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनले आगोसँग खेलिरहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा लेख्दै ट्रम्पले पुटिनले आगोसँग खेलिरहेको बताएका हुन् ।

‘यदि म हुन्थेन भने रुसविरुद्ध कति धेरै गलतभन्दा गलत कुराहरु हुनसक्थे । तर यो कुरा पुटिनलाई महशुस छैन,उनले भनेका छन्, उनी आगोसँग खेलिरहेका छन् ।’

त्यसअघि ट्रम्पले युक्रेनमा रुसको लगातार बमबारीका कारण पुटिनको आलोचना गरेका थिए र सन्कीको संज्ञा दिएका थिए ।

उनले पुटिनलाई सन्की बताउँदै लेखका थिए, ‘उनी बिनाकारण मानिसहरुलाई मारिरहेका छन् । म केवल सैनिकको मात्र कुरा गरिरहेको छैन । बिना कुनै कारण युक्रेनका सहरमा मिसाइल र ड्रोन प्रहार भइरहेको छ ।’

देशको बारेमा कुरा भयो होला भनेको, मेरै बारेमा भएछ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सभापति निवासमा भएको पदाधिकारी बैठक आफ्नो बारेमा मात्रै केन्द्रित रह्यो भन्ने सुन्दा अचम्म लागेको बताएका छन् ।

‘मलाई लागेको थियो सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला, भर्खरै प्रधानमन्त्रीले १५ गते काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला तर कुरा त मेरै बारेमा मात्रै भएछ ।’ ,कोइरालाले भने ।

कोइरालाले देशको सर्वोच्च पदमा बसेको मान्छेले गैर-राजनीति र मुठभेडको भाषा बोल्दा समेत कांग्रेसले यसबारेमा आधिकारिक रूपमा कहीँकतै नबोलेकोमा आफूलाई छक्क लागेको बताए ।

कोइरालाले प्रधानमन्त्री व्यक्ति मात्रै नभएर संस्था पनि भएको भन्दै त्यो पदमा बस्ने मान्छेले बोल्ने हरेक कुराले अर्थ राख्ने बताए ।

विराटनगरमा आयोजित कांग्रेसको शुभेच्छुक संगठन नेपाल नाइँ संघको राष्ट्रिय परिषद् उद्घाटन गर्दै कोइरालाले भने,’के बाध्यता आइपर्‍यो त्यस्तो प्रधानमन्त्रीले जे जे गरे पनि कांग्रेसले छुट दिँदै जाने ?’- कोइरालाले प्रश्न गरे ।

पछिल्ला दिनमा कांग्रेसले आफ्नो सैद्धान्तिक मौलिकता बिर्सँदै गएकोमा चिन्ता समेत व्यक्त गरे ।

युवा संघको मतदान सकियो, ८० प्रतिशत मत खस्यो

पोखरा- राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार भएको मतदानमा करिब ८० प्रतिशत मत खसेको छ। कुल मतदाता १,७६४ मध्ये १,४०४ मत खसेको निर्वाचन अधिकृत ईश्वरी पौडेलले जानकारी दिइन्।

महाधिवेशनस्थल पोखरा सभागृहमा बिहान १० बजेपछि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म रहेकामा १ घण्टा थप गरिएको थियो। दिउँसो ४ बजेसम्म मतदानस्थभित्र प्रवेश गरेका मतदातालाई मताधिकारको अवसर दिइएको थियो।

मतदान सकिएको १ घण्टामै प्रारम्भिक नतिजा दिने निर्वाचन समितिले जनाएको छ। १५१ सदस्यीय कमिटीमा नयाँ नेतृत्वका लागि क्षितिज थेवे र सुमन पुरी प्यानल चुनावमा होमिएको हो।

नेपालमा पनि भित्रियो कोरोना भाइरस

काठमाडौं- पछिल्लो समय भारत र चीन लगायत एसियाली मुलुकमा देखिन थालेको कोरोनाको नयाँ लहर नेपालमा पनि भेटिएको छ । भारतमा पछिल्लो समय समुदायस्तरमा फैलिएको कोरोना भाइरसबाट नेपालमा पनि सातजना संक्रमित भएका छन् ।

तत्कालको परीक्षण अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट एकजना र धुलिखेल अस्पतालमा ६ जनासहित ७ जनामा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक चन्द्रबल झाका अनुसार कोरोना संक्रमण देखिएका सबैको विदेश भ्रमणको हिस्ट्री छैन । उनका अनुसार सबै संक्रमित डिस्चार्ज भएर घर गइसकेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र विभिन्न विज्ञहरूसँग छलफल गर्दा पहिलेको जस्तो डराउनुपर्ने स्थिति नरहेको उनले बताए । तर थोरै मात्रामा पनि बढ्ने अवस्थाको ख्याल गर्दै नियन्त्रणका लागि आवश्यक तयारी थालिएको उनले बताए ।

‘बिरामीहरूलाई निगरानीमै राखेका छौं । सीमा नाका तथा हवाई नाकामा हेल्थडेस्क राखिएको छ’, उनले भने ।

सातवटै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई तयारी अवस्थामा रहन भनिसकिएको उनले जानकारी दिए । परीक्षण कीट खरिदको लागि मन्त्रालयसँग अनुरोध गरिसकेको झाले जानकारी दिए ।

‘तत्काल महामारी नै फैलिने गरी बढ्ने सम्भावना त छैन । तर मास्क लगाउने, भिडभाडमा नजाने, साबुनपानीले हात धुने, लगायत आवश्यक सतर्कता अपनाउन जरुरी छ’, उनले भने ।

 

 

अहिले भारत लगायत देशहरूमा देखिएको नयाँ भेरियन्ट सामान्य रहेको रिपोर्ट डब्लुएचओले पठाएको छ । ‘हाम्रोमा भेरियण्ट जाँच गर्न कम्तिमा ३०-४० वटा केश आए फ्रिक्वाइन्सी गर्ने भन्ने कुरा थियो । तर अहिले जनमानसमा त्रास फैलिएकाले थोरै केश भए पनि फ्रिक्वाइन्सी गर्ने विषयमा छलफल भइरहेको छ’, झाले भने ।

 

अहिलेको भेरियन्ट कडा नभए पनि दीर्घरोगी तथा बालबालिका र वृद्धवृद्धाहरु जोखिममा हुने भएकाले आवश्यक सर्ताकता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।

गृहमन्त्रीमाथि मानव तस्करीमै छानबिन हुनुपर्छ : सांसद पराजुली

काठमाडौं । रास्वपा सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरण भ्रष्टाचारको मात्रै नभई मानवतस्करीको विषय भएकाले गम्भीर भएर छानबिन हुनुपर्ने बताएका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पराजुलीले मानवतस्करी भइरहेको उजुरीको अनुसन्धान नगरेर गृह प्रशासनले त्यसलाई प्रश्रय दिएको आरोप लगाए ।

अध्यागमनबाट भिजिट भिसामार्फत नेपालीहरूलाई बेच्ने प्रकरणमा राज्यको निकायहरू नै जोडिएकाले गृहमन्त्री रमेश लेखकको राजीनामा केबल नैतिकताको विषयमात्रै हुन नसक्ने उनको जिकिर छ ।

‘भिजिट भिसामार्फत मानवतस्करीको विषयमा अख्तियारले छानबिन प्रक्रिया अघि बढाएर अध्यागमनका कर्मचारीलाई पक्राउ गर्न खोज्दा गृह मन्त्रालयले दोषी देखिएका कर्मचारी बचाउन रातारात सरुवा गरेको छ’, उनले भने ।

गृहमन्त्री लेखकमाथि प्रशस्त शंका गर्ने ठाउँ भएकाले अनुसन्धानको घेरामा ल्याउनुपर्ने उनको भनाइ छ । पराजुलीले उक्त प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने पनि दोहोर्‍याए ।

अल- नासर छाड्ने स्टार फुटबलर रोनाल्डोको सङ्केत

काठमाडौं । फुटबल लिजेन्ड क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल-नासर छाड्ने सङ्केत गरेका छन् ।

उनले मङ्गलबार आफ्नो सामाजिक सञ्जालमा “यो अध्याय समाप्त भयो। कथा? अझै लेखिँदैछ। सबैप्रति आभारी छु।” भन्ने स्टाटस पोस्ट गर्दै यसबारे सङ्केत दिएका हुन् ।

विशेषगरी, युरोपियन सिजनको अन्त्यसँगै र साउदी अरेबियाको लिगमा अल- नासरबाट खेलिरहेको अवस्थामा उनको यो पोस्ट अर्थपूर्ण मानिएको छ।

पोर्चुगलका एक विश्वचर्चित व्यावसायिक फुटबलरको यस भनाइलाई उनको क्लब करिअरको वर्तमान चरणको अन्त्य वा नयाँ सुरुवातको सङ्केतका रूपमा पनि लिन सकिन्छ ।

“कथा? अझै लेखिँदैछ” भन्ने वाक्यांशले उनको करिअरमा अझै केही नयाँ उपलब्धिहरू हासिल गर्ने इच्छा रहेको बुझ्न सकिन्छ ।

यसले उनको फुटबल यात्रा अझै सकिएको छैन र भविष्यमा थप रोमाञ्चक मोडहरू आउन सक्ने सम्भावनालाई खुला राखेको छ ।

रियल म्याड्रिडमा रहँदा उनले ४ पटक च्याम्पियन्स लिगको उपाधि जिते र क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने।

उनले पोर्चुगललाई सन् २०१६ मा युरोपेली च्याम्पियनसिप (Euro 2016) र २०१९ मा यूईएफए नेसन्स लिग (UEFA Nations League) जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनी अन्तर्राष्ट्रिय फुटबलमा पुरुष खेलाडीतर्फ सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

कैलालीकी १३ वर्षीय बालिकामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ एक फरार

कैलाली । कैलालीकी १३ वर्षीय एक बालीका सामूहिक बलात्कारमा परेकी छन्  । गत जेठ २ गते कञ्चनपुरको कृष्णपुरमा उनी बलात्कारमा परेकी हुन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनामा संलग्न २ जनालाई कञ्चनपुरबाटै पक्राउ गरेको छ ।

पीडितले इलाका प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । घटनामा संलग्न एक जना फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी सागर बोहराले जानकारी दिएका छन् ।

पक्राउ परेकाहरूलाई जिल्ला अदालतबाट ५ दिनको म्यादथप गरी अनुसन्धान भइरहेको उनले बताए । पीडित किशोरी गत जेठ २ गते आफन्तको बिहेमा कञ्चनपुर गएको बुझिएको छ । सोही दिन उनी बलात्कारमा परेकी थिइन भने जेठ १० गते किटानी जाहेरी दर्ता गरेकी थिइन ।

खोज्नुहोस