प्रधानमन्त्री कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ बन्ने
 
                                 काठमाडौ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुशासन कायम गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्ने दिशामा अग्रसर हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ स्थापना गरिने बताएका छन्।
प्रभावकारी सेवा प्रवाह तथा सरकारी कामकाजलाई देश र जनताप्रति केन्द्रित गर्न ‘गभर्मेन्ट रिफर्म सेन्टर’ आवश्यक भएको उनको धारणा छ। आइतबार जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै उनले त्यस्तो सेन्टर स्थापनाका साथै त्यसका एकाइ हरेक कार्यालयमा स्थापना गर्ने गरी गृहकार्य थालिएको बताए।
दुई ठुला राजनीतिक दल मिलेर गठन भएको वर्तमान सरकारले जनताका अपेक्षा पूरा गर्न हरसम्भव प्रयत्न गरिरहेको उनको भनाइ छ। महासचिव पोखरेलले विगतको तुलनमा सार्वजनिक निकायहरूबाट प्रभावकारी ढंगले सेवा प्रवाह भएको बताए। साथै उनले मुलुकमा लगानीको वातावरण पनि बनेको बताए।

 
                                         
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                      
                                      
                                      
                                      
                                      
                                      
                                     