नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेशतर्फ निर्यात सुरु

काठमाडौँ, ३० कात्तिक ।
नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेशतर्फ निर्यात सुरु भएको छ ।

नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहर लाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले शुक्रवार भर्चुअल विधिमार्फत संयुक्त रूपमा स्विच अन गरी विद्युत् निर्यातको उद्घाटन गरेका हुन् ।

नेपाल–बंगलादेशबीच विद्युत् व्यापार डलरमा हुनेछ । नेपाल विद्युत् प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको जुन १५-नोभेम्बर १५ सम्म पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । नेपालले विद्युत् बिक्रीबाट पहिलोपल्ट डलरमा आम्दानी गर्न लागेको हो ।

प्राधिकरणले बंगलादेश विद्युत् बिक्री गरी प्रति युनिट ६.४० अमेरिकी सेन्ट (शुक्रबारको विदेशी मुद्रा विनियम दर अनुसार ८ रुपैयाँ ६२ पैसा) का आधारमा पाउने छ ।

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित क्रमश: १८.६० र २१.४० गरी ४० मेगावाट विद्युत् बंगलादेशतर्फ निर्यातका लागि बिहीबार स्वीकृति दिएको थियो ।

 

२०८४ सम्म गठबन्धन कायम रहन्छ – देउवा

डडेलधुरा, ३० कात्तिक ।
पूर्व प्रधमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसंगको गठबन्धन २०८४ सालसम्म रहने बताएका छन् ।

गृह जिल्ला डडेल्धुरामा प्रेस युनियनद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गठबन्धन भत्किने कुरा आफूले प्रेसबाट सुन्ने गरेको भएपनि त्यसमा सत्यता नरहेको बताए ।

उनले दुई वर्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार चलाउने र त्यसपछि १८ महिना काँग्रेसले सरकारको नेतृत्व गर्ने सहमती भएको बताए । देउवाले ओलीपछि १८ महिना आफूले सरकारको नेतृत्व गर्ने सुनाए ।

पूर्व प्रधानमन्त्री देउवाले ओली नेतृत्वको सरकारले राम्रो काम गरिरहेको दावी गरे ।

उनले राष्ट्रलाई फाइदा हुने सवालमा संविधान संसोधन गर्न सत्ता साझेदार एमालेसँग सहमती भएको प्रष्ट पारे ।

उनले संबिधान संशोधनका लागि एमाले र काँग्रेसले अन्य दलहरुलाई समेत समेट्ने बताए ।
देउवाले मुलुकको विकास, समृद्धि, शान्ति र स्थायीत्वका लागि दुई दलका बीचमा सरकार सञ्चालनका लागि सहमती भएको बताए ।

सरकारले कुनै व्यक्तिमाथि प्रतिशोध नसाध्ने प्रष्ट पार्दै देउवाले रवि लामिछानेको नाम नलिएरै राजनीतिक प्रतिशोधका आधारमा सहकारी ठगीका रुपमा कसैलाई थुन्यो भन्नु गलत भएको बताए ।

प्रहरीले हाम्रा साथीहरुलाई पनि नियन्त्रणमा लिएर बयान लिईरहेको छ, उनले भने, प्रहरीले कानून बमोजिम काम गरिरहेको छ । यसमा कुनै राजनीतिक प्रतिशोध छैन ।

शिवशिखर सहकारीले डडेल्धुरामा ४२ करोड रकम हिनामिना गरेको प्रसंगमा देउवाले सहकारी सञ्चालकहरुको सम्पत्ती जफत गरी सहकारीबाट ठगिएका बचतकर्ताको रकम फिर्ता गरिनु पर्ने बताए ।

देउवाले चुनावको समयमा मात्र डडेल्धुरा आउने गरेको आरोपको प्रतिवाद गर्दै आफूले चुनावपछि डडेल्धुराका सबै पालिकाहरुको भ्रमण गरिरहेको र डडेल्धुराको विकास र समृद्धिका लागि आफूले निरन्तर रुपमा काम गर्दै आएको बताए ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ३० कात्तिक ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ३० र बिक्रीदर एक सय ७१ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ १४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६३ पैसा र बिक्रीदर आठ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६ रुपैयाँ चार पैसा, कतार रियाल एकको खरिद दर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ८४ पैसा र बिक्रीदर तीन रुपैयाँ ८६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६ड पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ०७ पैसा र बिक्रीदर ३० रुपैयाँ २१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५८ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १९ पैसा र बिक्रीदर १२ रुपैयाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिद दर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ३९ पैसा, कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ८६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ५२ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ १२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

दार्चुलामा जीप दुर्घटनामा सात जनाको मृत्यु, छ घाईते

दार्चुला,३० कात्तिक ।

दार्चुलामा जीप दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ भने छ जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक छत्र रावतका अनुसार मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गईरहेको म १ ज ३३८ नम्बरको जीप शुक्रबार बिहान ४ बजे महाकाली लोकमार्ग अन्तर्गत शैल्यशिखर नगरपालिका–६ बजानीमा दुर्घटना हुदा छ जनाको घट्नास्थलमा र एक जनाको गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा मृत्यु क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन । घाईतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको छ । मालिकार्जुन मन्दिरको जात्राबाट फर्किदै गरेका दर्शनार्थी चढेको जीप दुर्घटनामा परेको हो । जीप सडकबाट सय मिटर तल खसेको थियो ।

 

अल्लु अर्जुनको ‘पुष्पा–२’ मंसिर २१ मा रिलिज हुने

एजेन्सी ।
पुष्पाको अपार सफलतापछि बलिउड स्टार अल्लु अर्जुनको चलचित्र ‘पुष्पा २’ ६ डिसेम्बर (मंसिर २१) मा रिलिज हुने भएको छ ।

निर्माण पक्षले यस अघि अगस्त १५ मा रिलिज हुने भनिएको पुष्पा २ को लाई ६ डिसेम्बरमा रिलिज गर्ने निर्णय गरेका हुन् ।

सार्बजनिक बिदामा रिलिज गरेको भए फिल्मले ओपनिङ डेमा हिन्दी बेल्टमा मात्र करिब ९५ करोड कमाउन सक्ने थियो । तर अब फिल्मले हिन्दी बेल्टमा मात्रै ६५ करोड रुपैयाँसम्म कमाउन सक्ने बताइएको छ ।

यसरी हेर्दा रिलिज मिति परिवर्तनका कारण फिल्मले करिब ३० करोड घाटा बेहोर्नु पर्नेछ । यदि फिल्म १५ अगस्टमा रिलिज भएको भए ४ दिनको लामो साताको विन्डो पाउने थियो ।

रिलिज अघि सार्वजनिक भएका दुई गीत ‘पुष्पा पुष्प’ र ‘अंगारौं’ युट्युबमा हिट भएका छन् । चलचित्र पुष्प २ लाई सुकुमारले निर्देशन गर्दैछन् । पहिलो भाग पनि उनले निर्देशन गरेका थिए । मिडिया रिपोर्टका अनुसार यो फिल्म ५०० करोडको बजेटमा बनिरहेको छ । फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिल देखिनेछन् ।

यसअघि २०२१ मा रिलिज भएको ‘पुष्पाः द राइज’ वर्षको सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको थियो । सबै संस्करणहरू सहित, यो फिल्मले भारतमा ३१३ करोड र विश्वव्यापी रूपमा ३५० करोडको व्यापार गरेको थियो ।

 

सुनको मूल्य तोलामा २ हजार दुई सयले घट्यो

काठमाडौं,२९ कात्तिक।
बिहीवार सुनको मूल्य तोलामा रु दुई हजार दुई सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ६२ हजार दुई सयमा कारोबार भएको छापावाला सुन बिहीवार (आज)का लागि रु एक लाख ६० हजार निर्धारण भएको छ ।

महासङ्घले चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको जनाएको छ । बुधबार प्रतितोला रु एक हजार नौ सय ४० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय पाँच निर्धारण भएको महास्ंघले जनाएको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउदैनौ – प्रधानमन्त्री ओली

काठमाडौं,२९ कात्तिक ।
सरकारले दल बिभाजनका लागि राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याउन लागेको आरोप लागिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश नल्याउने प्रष्ट पारेका छन् ।

बिहीवार काठमाडौंमा कान्तिपुर कन्क्लेभमा बोल्दै प्रधानमन्त्री ओलीले राजनीतिक दल सम्बन्धि अध्यादेश नल्याउने बताए।
उनले देश संविधानअनुसार चल्ने र संविधानअनुसार कानून बन्ने पनि प्रष्ट पारे ।

संविधानअनुसार कहिले काही औचित्यपूर्ण ढंगले अध्यादेश ल्याउनुपर्ने भने बताए । उनले भने, कुनैपनि राजनीतिक दलमा ४० प्रतिशतले सँगै बस्न नमान्ने अवस्थामा राजनीतिक दलसम्बन्धी कानून ल्याउनुपर्ने हुन सक्छ । कानून नबनाइ बस्न नहुने भन्दै कुनै न कुनै बेला कानून बनाउनैपर्ने पनि हुन सक्छ ।

यू–१९ महिला क्रिकेट टोलीको भव्य स्वागत

काठमाडौं,२९ कात्तिक ।

आइसिसी महिला यू-१९ विश्वकपमा छनोट भएर स्वदेश फर्किएको नेपाली यू-१९ टोलीलाई बिहिवार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

बिहीबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेप सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) सचिव पारस खड्का पदाधिकारी लगायतले यू-१९ महिला क्रिकेट टोलीलाई स्वागत गरेको हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान)  ले पहिलो पटक यु-१९ विश्वकपमा प्रवेश गरेको नेपाली महिला क्रिकेट टोलीका खेलाडीलाई प्रोत्साहनस्वरुप जनही रु दुई लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको छ ।

टिममा समावेश अफिसियलहरूलाई भने जनही रु एक लाख ५० हजार पुरस्कारबाट सम्मान गरिने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

दुबईमा भएको एसिया छनोटको अन्तिम खेलमा बुधबार घरेलु टोली युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल शीर्ष स्थानमा रहेर अर्को वर्ष जनवरी(फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा छनोट भएको हो ।

चार टोली सहभागि छनोटमा नेपाल र युएईले समान ५ जितबाट १० अंक जोडेपनि नेटरनरेटमा नेपालले युएईलाई पछि पार्‍यो ।

नेपालले ६ खेलबाट १० अङ्क जोड्दै विश्वकपमा स्थान बनाएको हो । त्यस्तै युएईले पनि समान खेलबाट समान १० अङ्क जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भएको हो । यु–१९ विश्वकप क्रिकेट सन् २०२५ मा मलेसियामा आयोजना हुँदैछ ।

विश्वकपका साथै नेपाल यु–१९ एसिया कपका लागि पनि छनोट भएको छ । एसिसीको आयोजनामा आगामी डिसेम्बरमा हुने यु–१९ महिला एसिया कपका लागि पनि नेपाल छनोट भएको हो । यु–१९ एसिया कप क्रिकेटमा नेपालसँगै पाकिस्तान, भारत श्रीलङ्का, बङ्गलादेश र मलेसिया सहभागी हुनेछन् ।

 

कांग्रेसको दलित विभागमा १० जना मनोनीत

काठमाण्डौं, २९ कात्तिक ।

नेपाली कांग्रेसको दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा १० सदस्य मनोनयन गरिएको छ ।

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य लक्ष्मी परियार प्रमुख रहनुभएको उक्त विभागमा आज १० सदस्य मनोयन गर्नुभएको हो ।

नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बिहीवार एक बिज्ञप्ति जारी गरी मनोनयन हुनेमा रामकृष्ण लकान्द्री (तेह्रथुम), दीपक सोनी (दैलेख), कलावती पासवान (बारा), विपेन्द्र रामुदामु (चितवन), कुमार टेलर (डोटी), शान्ता सुनार (धादिङ), प्रकाश घतानी (काठमाडौँ), सुनिल बुढाथोकी (पाल्पा), कुमारी सार्की (कैलाली) र केदार गान्धारी (गोरखा)  लाई सभापति  देउवाले मनोनयन गरेको जानकारी दिए ।। ।

शेयर बजारमा बिहीबार सामान्य वृद्धि

काठमाडौं । लगातार २ दिन घटेको शेयर बजारमा बिहीबार भने वृद्धि सामान्य वृद्धि भएको छ । शेयर बजारमा बिहीबार  आज नेप्से १३.९५ अंक बढेको हो । यो अंकको वृद्धिसँगै नेप्से २७४८ अंकमा कायम भएको छ ।

यस दिन १० अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भयो। अघिल्लो दिन ७ अर्ब ९१ करोडको कारोबार भएको थियो ।

साताको अन्तिम कारोबार दिन बिहीबार १५९ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा ७९ कम्पनीको मूल्य घटेको छ । ६ वटा कम्पनीको मूल्य भने यथावत् रह्यो ।

३ वटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा बढ्दा रावा इनर्जीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढी गुमाएका छन् ।

आज ग्रीनलाइफ हाइड्रोपावरको सबैभन्दा बढी कित्ता शेयर कारोबार भयो ।

 

रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरुद्ध अदालत अवहेलनामा सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ।  सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान जारी रहँदा अदालतलाई नै प्रभाव पार्नेगरी आन्दोलन गरेको दावीसहित अदालतमा रिट दायर भएको हो।

अधिवक्ता अनुपम भट्टराईले लामिछानेमाथि अनुसन्धान चलिरहँदा अदालतलाई दबाब दिने वा प्रभाव पार्नेगरी रास्वपाका नेताहरूले अदालतको मानहानी हुनेगरी आन्दोलन तथा अभिव्यक्ति दिएको दावी गर्दै रिट दायर गरेका हुन्।

रिटमा मंसिर तीन गतेलाई पेशी तोकिएको छ।

यसअघि उनले दिएको रिटमा सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो।  प्रशासनको दरपीठ गर्ने निर्णयविरुद्ध अधिवक्ता भट्टराईले पुन: रिट दायर गरेका थिए। निवेदनमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले,प्रवक्ता मनिष झा,विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ,तोसिमा कार्की,सोविता गौतमलगायतलाई विपक्षी बनाइएको छ।

सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछाने हाल प्रहरी हिरासतमा छन्।  विभिन्न सहकारीको रकम हिनामिना गरेको उनीमाथि आरोप छ।

बाख्रा हराएकाे निहुँमा पत्रकारको हत्या : कुटपिटपछि लेखेका थिए- पुलिस र वडाध्यक्ष मिलेका छन्

कैलाली । २० गते स्थानीय विष्णा भुलको बाख्रा हराएको थियो । त्यसको ३ दिनपछि अर्थात् २३ कात्तिकमा स्थानीय अभियन्ता तथा पत्रकार सुरेश भुलको मेडिकल बाहिर भेटियो । कैलाली गौरीगङ्गा नगरपालिका-११ कान्तिपुर टोल बस्ने भुललाई एक पक्षले उक्त बाख्रा चोरेको आरोप लगायो ।

सुरेशले भने ‘शौचालयमा भेटिएको बाख्रा जसको हो उसैले लैजान्छ’ भन्दै सबैले देख्ने ठाउँमा बाँधिदिएको बताए । विषय यत्तिमा रोकिएन- बाख्राका धनीहरूले सुरेशले नै बाख्रा चोरेको जिकिर गर्‍यो । वडा कार्यालय र प्रहरीसँग पनि बाख्रा चोरेको भन्दै सुरेशलाई ३० हजार तिराउने सहमति भयो । तर, २४ गते १ लाख मागियो । त्यही निहुँमा निर्घात कुटपिट भयो ।

‘हाम्रो पक्षबाट बोलिदिने कोही भएन । हूलले जबरजस्ती ३० हजार तिराउने कुरा गर्‍यो ’, सुरेशका एक आफन्तले भने ‘ऊ दोषी नहुँदा पनि भीडको दबाबमा ३० हजार तिर्न सहमत भयौँ तर, पछि एक लाख माग्दै कुटपिट भयो ।’

२३ गते ३० हजार तिराउने सहमति गरेर २४ गते थप रकम माग्दै सुरेशमाथि कुटपिट भएको सुरेशका परिवारले बताउँछन् ।

‘८\१० जनाले नराम्ररी हिर्काए । हामीले प्रतिकार गर्न सक्ने अवस्था थिए राति नै धनगढीको निसर्ग अस्पताल गरेका थियौँ बिहान उहाँको मृत्यु भयो’, आफन्तले भने ।

कुटपिटपछि अस्पताल भर्ना भएका सुरेशले साथीहरूसँग म्यासेजमा आफूमाथि प्रहरीसहितको मिलेमतोमा अन्याय भएको बताएका थिए ।

‘पुलिसहित मिलेका छन् मसुरियाको मेरो ठाउँमा कोही पनि भएन ’, उनले ग्रुपमा पत्रकारको ह्वाट्सएप ग्रुपमा लेखेका छन् ‘वडाध्यक्षसहितको मिलेमतोका भएको हो यो सबै । ’

‘भोलि जिल्ला अदालतमा मुद्दा दिन्छु’ भनेका सुरेश भोलि देख्न नपाउँदै अस्ताए ।

‘नियोजित ढंगले हत्या गरियो’

राष्ट्रिय दलित पत्रकार संघ कैलालीका सहसचिव रहेका उनी सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ कैलाली जिल्ला सदस्य पनि हुन् । उनी केही समय अघिदेखि अन्याय, भ्रष्टाचार र अनियमितताको विषयमा सूचना माग्दै, वकालत गर्दै र समाचार लेख्दै आइरहेका थिए ।

सुदूरपाटी अनलाइनमा आबद्ध सुरेश सुशासनका विभिन्न विषयहरूमा बोल्दै आइरहेका थिए । सूचनाको अभियन्ताका रुपमा भ्रष्टाचारविरोधी अभियानमै लागेको हुँदा उनको नियोजित ढंगले हत्या गरिएको पत्रकार महासंघ सुदूरपश्चिम अध्यक्ष योगेश रावल बताउँछन् ।

‘विवादको विषय बाख्रा हराएको र भेटिएकोबाट सुरू भएपनि मरणासन्न हुनेगरि कुटपिट गरेको विषय त्यो होइन । बाख्राको विषय सहमति भइसकेपछि हुल बाँधेर कुटपिट गर्नु भनेको नियोजित ढंगले हत्या गर्न खोज्नु रहेको देखिन्छ । कुटपिटमा संलग्नहरू बाख्रा धनीसँग सरोकार नराख्नेहरू पनि रहेको हुँदा पनि हत्या नियोजित देखिन्छ’, अध्यक्ष रावलले भने, ‘घटनाको सत्य तथ्य छानबिन गर्दै दोषीमाथि कडा कारवाही हुनुपर्छ । ’

सूचनाको हकका लागि राष्ट्रिय अभियानका प्रदेश अध्यक्ष पुष्प जोशीले पनि विभिन्न सङ्घ संस्था निकाय र व्यक्तिहरुको विषयमा वकालत गरेको, सूचना माग गरेकै कारण उनको हत्या गरिएको दाबी गर्छन् ।

‘भ्रष्टाचारको विरुद्धमा आवाज उठाएकै कारण उनको हत्या भएको हुनसक्छ । घटनाको सत्य तथ्य छानबिन गरेर दोषीमाथि कडा कारवाही हुनुपर्छ’, अध्यक्ष जोशीले भने ।

घटनापछि ९ जनाविरुद्ध किटानी जाहेरी परेको छ । तीमध्ये ८ जना नियन्त्रणमा आइसकेका छन् । फरार एकजनाको खोजी भइरहेको प्रहरीले बताएको छ ।

‘घटनाबारे हामी अनुसन्धान गरिरहेका छौँ’, जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कविन्द्र बोहराले भने । सुरेशले आक्रमणपछि मसुरियाका प्रहरीसहितको मिलेमतो भनेर ग्रुपमा लेख्दा पनि अहिलेसम्म ती प्रहरी अधिकारीमाथि छानबिन नभएको भन्दै आलोचना भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता भने अनुसन्धान भइरहेको भन्दै विभिन्न विषय पत्ता लाग्दै जाने बताउँछन् ।

पत्रकार महासंघ केन्द्रले पनि उक्त घटनाको छानबिनको लागि मिसन टोली खटाएको छ । केन्द्रीय सचिव हेमकर्ण विकको संयोजकत्वमा खटिएको मिसन टोलीले १५ दिनभित्र घटनाको सत्य तथ्यसहितको प्रतिवेदन पेश गर्नेछ ।

देशका कर्णधारहरूले सृजनशील काम सिक्दै जानुपर्छ : प्रदेश प्रमुख मियाँ

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले बालबालिकाहरू सृजनशील हुनुपर्ने बताएका छन् । लुम्बिनी एसिया इन्टरनेस्नल डिप्लोमेट्स सोसाइटीले आयोजना गरेको मोडल युनाइटेड नेशन कार्यक्रममा प्रदेश प्रमुख मियाँले बालबालिकाहरू सृजनशील हुनुपर्ने र सिर्जनाबाटै केही नयाँ गर्न सकिने बताएका थिए ।

युवा विद्यार्थीलाई अन्तर्राष्ट्रिय कूटनीति, संवाद र समस्याको समाधानका सीपहरूको लागि आयोजना गरिएको कार्यक्रमले विद्यार्थीहरूलाई निकै ठूलो फाइदा पुग्ने बताए ।

चैतन्य पाठशालामा सुरु भएको कार्यक्रम शनिवारसम्म जारी रहने छ । धनगढीका बिभिन्न विद्यालयका कक्षा ७ देखी १२ सम्म पढ्ने ११५ जना विद्यार्थी सहभागी छन् । चैतन्य पाठशालाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश जोशीले यस्ता गतिविधिहरूले विद्यार्थीहरूमा थप नयाँ कुरा सिक्ने अवसर प्राप्त हुने बताएका थिए ।

युवाहरूको क्षमता अभिवृद्धि गर्न, बोल्ने नेतृत्वको विकास गर्न, विश्वव्यापी कूटनीतिबारे जानकारी दिन कार्यक्रम महत्त्वपूर्ण हुने आयोजकले जनाएको छ । कार्यक्रममा युवा विद्यार्थीलाई अन्तर्राष्ट्रिय कूटनीति, संवाद र समस्याको समाधानका सीपहरूबारे जानकारी गराइने छ ।

 

पाकिस्तानमा विषाक्त धुवाँ : एकैदिन १५ हजारभन्दा बढीमा श्वासप्रश्वासजन्य संक्रमण

पाकिस्तानमा लाहोरलगायत अन्य भागहरूमा विषाक्त धुवाँ फैलिँदा २४ घण्टामा १५ हजारभन्दा बढी व्यक्तिमा श्वासप्रश्वासजन्य सङ्क्रमण देखिएको छ ।

लाहोरका अस्पताल सुक्खा खोकी, सास फेर्न गाह्रो, निमोनिया र छातीमा सङ्क्रमण भएका बिरामीहरूले भरिएका एरी न्यूजले उल्लेख गरेको छ ।

मेयो अस्पतालमा चार हजार बिरामी, जिन्ना अस्पताल ३ हजार ६ सय बिरामी, गङ्गाराम अस्पतालमा तीन हजार बिरामी र बाल अस्पतालमा २  हजार बिरामीलगायतका प्रमुख सरकारी अस्पतालमा अधिकांश श्वासप्रश्वासजन्य सङ्क्रमणबाट ग्रसित भएको भेटिएका छन् ।

पाकिस्तानका चिकित्सा विज्ञहरूले प्रदूषणका कारण दम र मुटुको रोगजस्ता समस्या भएका बालबालिका तथा बिरामीहरू अत्यधिकरूपमा अस्पतालमा उपचारका लागि पुगेका छन् । उनीहरुले प्रदूषण र धुवाँले निमोनिया, छातीको सङ्क्रमण र छालाका रोगहरूसहित विभिन्न भाइरल रोगहरूमा वृद्धि गरेको जनाएका छन् ।

पाकिस्तानका विभिन्न भागमा धुलो तथा धुवाँको प्रदूषण बढेको भन्दै यातायात विभागले नयाँ निर्देशन जारी गरी यातायातका साधनलाई अतिआवश्यक कामका लागि बाहेक पालो मिलाएर सेवा दिन निर्देशन गरेको छ भने विद्यालय र कलेजहरू बन्द गरिएका छन् ।

पछिल्लो समयमा उत्तरी पाकिस्तानमा फैलिएको धुवाँलाई नासाको ‘मोडरेट रिजोलुसन इमेजिङ स्पेक्ट्रोरेडियो मिटर’ ले पनि रिपोर्ट गरेको छ । सन् २०२४ को ‘नोभेम्बरको सुरुमा उत्तरी पाकिस्तानी आकाश धुवाँले ढाकिँदा हावाको गुणस्तर घटेकाले विद्यालय बन्द भएको र सयौं मानिस अस्पतालमा पठाइएको नासा मोडिसले जनाएको छ ।

नासाले देशमा एक्यूआईको घट्दो स्तरलाई पनि ध्यानमा राख्दै पाकिस्तानको पञ्जाब क्षेत्रका केही भागमा वायु गुणस्तर सूचकाङ्क नोभेम्बर १० मा एक हजार ९ सयभन्दा माथि पुगेको  जनाएको छ ।

पाकिस्तानी मिडिया स्रोतका अनुसार पाकिस्तानको पञ्जाब प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले प्रदूषण ‘प्रकोप’ घोषणा गरी आपतकालीन उपायहरू सुरु गरेको घोषणा गरेको थियो ।

प्रदूषणबारे जानकारी दिँदै मोडिसले धुवाँको सतह बाक्लो भएकाले पाकिस्तानको परिदृश्यलाई पूर्णरूपमा अस्पष्ट पारेको बताएको छ । पछिल्लो समयमा विश्वको सबैभन्दा बढी प्रदूषित शहरको सूचीमा पाकिस्तानको लाहोर सहर परेको छ ।

आफूलाई क्यान्सर भएको हल्लाबारे मरियम नवाजले के भनिन् ?

इस्लामावाद । पाकिस्तानको पञ्जाब प्रान्तकी मुख्यमन्त्री मरियम नवाजले आफ्नो स्वास्थ्यबारे चलिरहेका हल्लाबारे प्रतिक्रिया दिएकी छिन्। लण्डनमा आफ्नो पार्टीका कार्यकर्ताहरूसँग कुराकानी गर्दै नवाजले भनिन्, ‘मेरो स्वास्थ्यबारे गलत प्रचार भइरहेको छ । मलाई क्यान्सर भएको हल्ला फैलाइएको छ ।’

‘सामाजिक सञ्जालमा मेरो बिमारीबारे हल्ला फैलिरहेको छ । ब्लग बनाइएको छ अनि यस्तो झुठो आरोप फैलाउने काम भइरहेको छ कि मैले आफ्नो उपचार पाकिस्तानमा किन गराइन ?’ उनले भनिन् ।

मरियमले भनिन्, ‘म त्यस्ता मानिसहरूलाई भन्न चाहन्छु कि मेरो उपचार पाकिस्तानमै हुन्छ । तर प्याराथाइराइड एउटा यस्तो रोग हो जसको उपचार विश्वका दुई देश स्विट्जरल्याण्ड र अमेरिकामा मात्रै हुन्छ । यसको उपचार इङ्गल्याण्डमा पनि सम्भव छैन ।’

गणेश हिमाल आधार शिविरमा अलपत्र परेकाको २७ घण्टापछि उद्धार

२९ कात्तिक, काठमाडौं। गणेश हिमालको आधार शिविरतर्फ जाँदै गर्दा बीच बाटोमै बिरामी परेर अलपत्र परेकाहरुलाई आज उद्धार गरिएको छ ।

टोलीका तीन सदस्यलाई हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ । धादिङ प्रशासनले विहीबारै उद्धारको प्रयास गरे पनि खराब मौसमका कारण सफल हुन सकेको थिएन ।

पर्यटन प्रवर्द्धनका लागि भन्दै गणेश हिमाल आधार शिविर जाँदै गर्दा डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्य, प्राविधिक सहायक अनुसिया ढुंगानामा श्वासप्रश्वासको समस्या देखिएको थियो । आधार शिविर नपुग्दै आँखुखोला नजिक बिरामी परेपछि १६ जनाको टोली बीच बाटोमै रोकिएको थियो । उनीहरुको २७ घण्टापछि आज दिउँसो साढे १ बजे उद्धार भएको हो ।

बिरामी परेका सबैको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बिरामीहरुलाई उपचार गर्न नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको र अन्यलाई हिन्दुङ गाउँमा छाडिएको थियो ।

पर्यापर्यटन प्रवर्द्धन गर्न भन्दै धादिङको रुवी भ्याली गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको टोली एक सातायता पदयात्रामा छ । उनीहरुसँग केही पत्रकार र साहित्यकारहरुसमेत छन् ।

आज बिहानदेखि प्रयास गर्दा मौसममा सुधार आएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत उनीहरुको अहिले दिउँसो १:३० बजे उद्धार गरिएको छ ।

युवा मामिलासम्बन्धी अमेरिकी विशेष दूत काठमाडौंमा

२९ कात्तिक, काठमाडौं। विश्व युवा मामिला सम्बन्धी अमेरिकी विशेष दूत एबी फिनकेनाउर काठमाडौं आएकी छन् । श्रीलंकापछि उनले नेपालको भ्रमण गरेकी हुन् ।

अमेरिकाको स्टेट डिपार्टमेन्टका अनुसार, उनले १२ देखि १५ नोभेम्बरसम्म श्रीलंका र नेपालको भ्रमण गर्ने कार्यतालिका छ । एबीको यो भ्रमणले दक्षिण एसियाका युवाको शशक्तिकरणमा अमेरिकाको भूमिकालाई दर्साउने स्टेट डिपार्टमेन्टले भनेको छ ।

नेपाल भ्रमणका क्रममा उनले युवा नेताहरुसँगै सोसल मिडिया इन्फ्यून्सरहरुसँग समेत छलफल गर्नेछिन्। त्यसक्रममा उनले साइबर बुलिङ, अफवाह, मिथ्या सूचना लगायतका विषयमा छलफल गर्ने भनिएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले पनि सूचना जारी गर्दै नेपाल भ्रमणका क्रममा उनले नेपाली युवा नेतृत्वकर्तासँग भेटघाट गर्ने र नागरिक संलग्नता प्रबद्र्धन गर्ने युवा केन्द्रीत कार्यक्रमहरुमा सहभागिता जनाउने भनेको छ ।

दूतावासले भनेको छ, ‘उहाँको यो भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्धहरुलाई प्रगाढ बनाउनका साथै युवाहरुलाई लोकतान्त्रिक भविष्य र समृद्ध नेपाल निर्मणका लागि मद्दत गर्न सहयोग गर्नेछ ।’

डेमोक्रेटिक पार्टीकी नेतृ एबीलाई अमेरिकी राष्ट्रपति जो बाइडनले १२ नोभेम्बर २०२२ मा युवा मामिलाबारे अमेरिकी विशेष दूत नियुक्त गरेका थिए ।

अन्तरिक्षमा तीव्र गतिमा घट्दैछ सुनिताको तौल ?

वासिङ्टन डीसी । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी विल्मोर बुच ८ दिनका लागि भनेर अन्तरिक्षमा गएका थिए । तर उनीहरूको यो बसाई केही दिन वा हप्ता मात्रै होइन महिनौँसम्म लम्बियो । अब सन् २०२५ को फेब्रुअरीमा मात्रै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका यी दुई अन्तरिक्ष यात्री पृथ्वीमा फर्कनेछन् ।

दुवै अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा आफ्ना दिनहरू बिताइरहेका छन् । यसैबिच सुनिताको एउटा फोटो भाइरल बनेपछि उनको स्वास्थ्य अवस्थाबारे अनेकौँ अड्कलबाजी र अफवाह चलेको थियो । यस विषयमा सुनिताले जवाफ दिएकी छिन् ।
सार्वजनिक भएको तस्बिरमा उनी निकै पातली दुब्ली देखिएपछि उनको स्वास्थ्य अवस्था खस्किएको हल्ला चलेको थियो । तौल घटेको अफवाहबिच सुनिताले नासासँग कुरा गरेकी छन् ।
‘मलाई लाग्छ कि मेरो तौल उस्तै छ, तर शरीरमा केही परिवर्तन आएको छ ।’ नासाले सन् २०२४ को जुनमा मा ८ दिनका लागि सुनिता र बुचलाई आइएसएसमा पठाएको थियो ।
नासासँगको कुराकानीमा सुनिताले आईएसएसमा अनेक परिवर्तन हुने बताइन् । उनले भने– ‘मेरो तौल घटिरहेको भन्ने अफवाह छ । तर मेरो तौल जति थियो, त्यति नै छ । यहाँ पनि हामी आफ्नो तौल नाप्छौँ । मेरो अनि बुचको तौल उति नै छ, जति हामी यहाँ आउँदा थियो’ उनले भनिन् ।

पाँच महिनादेखि छन् अन्तरिक्षमा

सुनिता र बुच करिब पाँच महिनादेखि आईएसएसमा छन् । दुबै जनालाई लिएर गएको बोइङ स्टारलाइनरबाट हिलियम चुहिएको अनि केही थ्रस्टरमा खराबी देखिएपछि नासाले सोही यान ठिक पारेर दुबैलाई फर्काउन खोजेको थियो । तर यसमा कुनै सफलता हात नपरे पनि नासाले कुनै जोखिम मोल्न चाहेन ।

सो विमान सेप्टेम्बर ६ मा रित्तै पृथ्वीमा फर्किसकेको छ । यी दुईलाई ल्याउन अमेरिकी खर्बपति व्यापारी एलन मस्कको स्पेस एक्सको ड्र्यागन क्रु क्याप्सुल पठाइएको छ । यान आगामी वर्षको फेब्रुअरीमा पृथ्वीमा फर्किनेछ ।

 

ह्यारिससँगै हारेको समानता र अधिकारको लडाइँ

संयुक्त राज्य अमेरिकाको पछिल्लो निर्वाचनलाई उक्त देशभित्र मात्र होइन, सिंगो विश्वबाट नै महत्त्वका साथ हेरिएको थियो । राष्ट्रपतीय प्रणाली भएको विश्वको प्रथम शक्तिराष्ट्रमा नयाँ राष्ट्रपतिको पृष्ठभूमि, एजेन्डा, दृष्टिकोण र अन्य विशेषता वा क्षमताले अमेरिकाको आन्तरिक मात्र नभएर विश्व मामलामा नै प्रभाव पार्ने भएकाले सधैंझैं त्यहाँको राष्ट्रपतिको निर्वाचनमा विश्वको ध्यान केन्द्रित हुने सामान्य हो ।

प्रतिस्पर्धामा उत्रिने थुप्रै उम्मेदवार भए पनि अमेरिकी राजनीति द्विदलीय प्रणाली जस्तै छ । त्यहाँ डेमोक्रेटिक र रिपब्लिकन दलका उम्मेदवारबीच नै प्रतिस्पर्धा र जितहार हुने भएकाले यी दलका उम्मेदवारकै चर्चा, विश्लेषण र पक्षविपक्षमा परिणाम अनुमान गरिन्छ । यस पटक लोकरिझ्याइँको हतियार बोकेका, राज्य संयन्त्रलाई नै चुनौती दिने, वर्चस्वशाली गोरा समूहको पहिचान भएका, विश्वशान्तिको कुरा गर्ने तर अशान्ति सिर्जना गर्न उद्यत देखिएका, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प एकातिर थिए । अर्कोतिर कालाजाति र एसियाली मूलकी महिला, बहालवाला उपराष्ट्रपति, अमेरिका र विश्वलाई ट्रम्पभन्दा फरक ढंगले लैजाने सोच राख्ने कमला ह्यारिसको उम्मेदवारी भएका कारण यो प्रतिस्पर्धाले थप चाख जगाएको थियो । सन् २०१६ मा डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजय गरी राष्ट्रपति बनेका रिपब्लिकन उम्मेदवार ट्रम्प सन् २०२० मा जो बाइडेनसँग पराजय भएका थिए । यस पटक भने कमला ह्यारिसलाई पराजय गरी राष्ट्रपति पदका लागि निर्वाचित भएका छन् । रिपब्लिकनबाट तीन–तीन पटक उम्मेदवार बन्ने अवसर पाएका ट्रम्पसँग किन एकै दलका दुई महिलाहरूले एक कार्यकालको अन्तरालमा पराजय भोगे तर पुरुष अर्थात् वर्तमान राष्ट्रपति बाइडेन विजय भए, यो यक्ष प्रश्न बनेको छ । विश्वलाई समानता, सहभागिता र समावेशिताको पाठ पढाउने पश्चिमाहरूको नेतृत्वकर्ता मानिएको अमेरिकामा यति लामो लोकतान्त्रिक इतिहासमा एउटै महिला राष्ट्रपति बन्न किन सकेन भन्ने विषय अहिले चर्चाको केन्द्रमा छ । यही सेरोफेरोमा रहेर यो आलेख तयार गरिएको छ ।

महिला सहभागिता र राजनीतिक प्रतिस्पर्धाआधाभन्दा बढी महिला जनसंख्या भएको अमेरिकामा अहिले १२ राज्यमा गभर्नर महिला छन् । सन् २०२२ को सर्वेक्षण अनुसार ६८.५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष मतदानयोग्य भएकोमा त्यसको ७० प्रतिशत महिला र ६८.२ प्रतिशत पुरुषले मतदाता नामावलीमा नाम दर्ता गरेको देखिन्छ । सन् २०२४ को आम निर्वाचन अनुसार ८ एसियाली, २८ काला, १८ ल्याटिनो, १ मध्य एसियाली/उत्तर अमेरिकन, २ आदिवासी र ७३ गोरा गरी जम्मा १३० वा २९ प्रतिशत महिला तल्लो सदन प्रतिनिधिसभा र २ एसियन, १ काला, १ ल्याटिनो र २१ गोरा गरी २५ जना वा २५ प्रतिशत महिला माथिल्लो सदन सिनेटमा पुगेका छन् । सन् अठारौं शताब्दीदेखि नै अमेरिकामा सानाठूला दलहरूका तर्फबाट, आदिवासी अमेरिकी, काला जाति, एसियन, प्रभावशाली भनिने गोरालगायत सबै समूहमा पर्ने महिलाहरूले अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारीका लागि प्रतिनिधि बन्ने प्रशस्त पहल गरे पनि अधिकांशले राष्ट्रपति र उपराष्ट्रपतिको पार्टीभित्रै (प्राइमरी) तहमै उम्मेदवार बन्ने मौका पाएनन् । कतिले उम्मेदवारीमा प्रतिस्पर्धाका लागि मत माग्ने त मौका पाए तर तल्लै (प्राइमरी) तहमा रोकिए । ठूला दलभित्रै प्रतिस्पर्धी र प्रभावशाली मानिने थुप्रै महिलालाई सम्बद्ध दलहरूले प्राथमिक तहबाटै उम्मेदवारी दर्ता गर्नबाट रोक्ने र फिर्ता लिन लगाउने काम भयो । श्रम मन्त्रालय सम्हालिसकेकी रिपब्लिकनकी एलिजावेथ डोले (सन् २०००) र डेमोक्रेटिक पार्टी नेतृ सिनेटर करोज बसेली बरौन (२००८) लगायत यस्ता धेरै उदाहरण हुन् ।

अहिलेसम्मको महिला प्रत्याशी वा इच्छुक उम्मेदवारहरूको रेकर्ड हेर्दा के देखिन्छ भने सयौं महिला उम्मेदवारहरू दलहरूभित्रै प्राइमरी प्रतिस्पर्धामा अवसर प्राप्त गरे पनि केही दर्जन महिलाहरूले मात्र राष्ट्रपतिको उम्मेदवारमा प्रतिस्पर्धामा उत्रिने अवसर पाए । यस्तो अवसर पाउनेमध्ये अधिकांश साना दलहरूबाट आए, जुन दलका लागि राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गराउनुको उद्देश्य दलको राजनीतिक अस्तित्व जोगाउन र जगाउन रीत पूरा गर्ने मात्र रह्यो न कि राष्ट्रपति बन्न र बनाउन । किनभने स्पष्ट बहुमत नपाई राष्ट्रपति चुनिन नसक्ने प्रावधानका कारण इलेक्ट्रोरल कलेजका निर्वाचितहरूबीच दोस्रो पटक मतदान गरेर जानुपर्ने बाध्यताका बीच छानिने भनेको अहिलेसम्मको अवस्थामा डेमोक्रेटिक र रिपब्लिकन दुई ठूला दलहरूबीचबाट मात्र हो र यस्ता उम्मेदवार दलबाटै पनि चुनिएर आउनुपर्ने हुन्छ । पछिल्लो पटक प्राइमरीदेखिको छनोट प्रक्रिया पार गर्दै २०१६ मा हिलारी क्लिन्टन डेमोक्रेटिक उम्मेदवार बन्ने अवसर पाएकी हुन् । तर कमला ह्यारिस भने यो दौडबाट गुज्रिनुपरेन, प्राइमरीमार्फत आउन परेको भए सायद उनलाई उम्मेदवार बन्न नै कठिन हुन सक्थ्यो भन्ने कुरा उनले उनकी अग्रज हिलारीभन्दा अत्यधिक अन्तरले लोकप्रिय मत र इलेक्ट्रोरल कलेजमा हार बेहोरेबाटै आशंका गर्न सकिन्छ ।

एकै व्यक्तिले दुई पटकसम्म राष्ट्रपति बन्न सक्ने प्रावधानका कारण राष्ट्रपति बाइडेन नै उम्मेदवार बन्ने अवस्थाका कारण यस पटक प्राइमरीमा डेमोक्रेटलाई जान परेन, तर बाइडेनको शारीरिक अशक्तता र असक्षमतालाई लिएर चौतर्फी विरोध र दबाबको वातावरण बनेपछि उनले आफ्नै उपराष्ट्रपति कमलालाई राष्ट्रपति पदको उम्मेदवारी हस्तान्तरण गरे । जुन अमेरिकी राजनीतिमा सामान्य अपवाद मात्र होइन, त्यसबेलाका लागि कमलाको ‘तालुमा आलु’ फले समान भयो । अमेरिकी इतिहासमा उपराष्ट्रपतिको उम्मेदवार बन्ने अवसर पाउने प्रमुख दलका महिला उम्मेदवारमध्ये कमला ह्यारिस न्युयोर्क प्रतिनिधि गराल्डिने फेरारो (१९८४) र अलास्का गभर्नर साराहा पालिन (रिपब्लिकन उपराष्ट्रपति उम्मेदवार) पछि उपराष्ट्रिपतिको तेस्रो नाम मात्र भइनन्, प्रथम महिला, काला र एसियन मूलकी उपराष्ट्रपति पनि भइन् । सन् २०१६ की डेमोक्रेटिक पार्टी उम्मेदवार हिलारी क्लिन्टनपछि दोस्रो महिला प्रतिस्पर्धी, साथै ओबामापछि दोस्रो काला र एसियन मूलकी प्रथम उम्मेदवार भएकी र उपराष्ट्रपतिमा पदासीन भएर राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्दैगर्दा धेरैको अपेक्षा, प्रक्षेपण र शुभचिन्तनका बीच अन्ततः उनले निर्वाचन हारिन् । कमलाको उम्मेदवारीले सीमान्तीकृतहरूमा आफ्नो अस्तित्वको पनि समान अर्थ र मूल्य स्थापित हुँदै जाने आशा उमंग अनि विश्व राजनीतिक समाजमा सांकेतिक मात्र नभएर रूपान्तरणकारी परिवर्तनका रूपमा हेरिएको थियो । तर परिणामले त्यो अपेक्षा धरातलीय यथार्थ नभएको सन्देश प्रवाह भएपछि त्यही तहमा उदासीनता र निराशा निम्तिएको छ । उनको हार क्लिन्टनको भन्दा फराकिलो मतका आधारमा भयो ।

अब राज्यका तीनै अंगहरू– कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका– राष्ट्रपति, सिनेट र प्रतिनिधिसभा रिपब्लिकन पार्टीको कब्जामा पुग्ने परिस्थिति बनेको छ । यससँगै अमेरिकी राजनीतिक प्रणालीकै विशेषता बनेको शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्त नै संकटमा पर्ने देखिन्छ । अर्को शब्दमा भन्दा, खासै राजनीतिक पृष्ठभूमि नभएका व्यक्तिको कमान्डमा उक्त दल र अमेरिका मात्र पुगेको नभई, कसैले रुचाए पनि नरुचाए पनि, ट्रम्प अहिले विश्वको राजनीतिक चरित्र र नेतृत्वका रूपमा स्थापित हुन पुगेको देखिन्छ ।

राजनीतिक संकीर्णता कि वैचारिक पिछडापन ?

विगत २४८ वर्षदेखि राष्ट्रपति प्रणालीको अभ्यास गरेको भनिएको अमेरिकामा १०५ वर्ष त महिलालाई मताधिकार नै दिइएको थिएन । अश्वेतलगायत सबैखाले महिलाले मतदानको अधिकार पाएको ५९ वर्ष मात्र पुगेको छ । विश्व राजनीतिको इतिहास हेर्दा संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रमध्ये एक तिहाइ देशले महिला सरकार प्रमुख पाइसकेका र अहिले पनि १३ राष्ट्रका सरकारप्रमुख महिला नै छन् । तर अमेरिकामा यो अवसरबाट महिलालाई अरू पछि धकेलिएको देखिन्छ ।

अहिले पनि अन्य पश्चिमा राष्ट्रहरूभन्दा राजनीतिमा अमेरिकी मनोविज्ञान संकीर्ण र संकुचित मात्र होइन, थुप्रै विकासोन्मुख र पिछडिएका भनिएका राष्ट्रहरूका भन्दा पनि पछाडि देखिएको छ । पितृसत्ता विश्वकै चरित्र भए पनि महिला अधिकार र सहभागिताका विषयमा विश्व अघि बढिरहेको आजको दिनमा अमेरिकामा भने महिलाले आफ्नो सुरक्षा आफैं गर्न सक्दैनन् र यो विश्व व्यवस्थामा राष्ट्रहरूमा शान्ति र सुरक्षा पुरुषबाट मात्र सम्भव छ भन्ने मान्यतामा विश्वास गरेको देखिन्छ । ‘अमेरिकाको सिमानामा पर्खाल लगाउने, युक्रेनलाई नेटो सदस्यको अपेक्षाबाट पछि हट्न लगाउने, पुटिनसँग वार्ता गरेर २४ घण्टामा रुस–युक्रेन युद्ध रोकिने, इजरायल–प्यालेस्टाइनमा शान्ति ल्याउने र यी काम महिला राष्ट्रपतिबाट असम्भव छ, कमलालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सीले कति पनि नगन्ने र पुतली जस्तै प्रयोग गर्नेछन्’ भन्नेजस्ता तर्कमार्फत ट्रमद्वारा निर्वाचन अभियानका बेला फैलाइएका हौवाले अमेरिकी मतदाता प्रभावित भएको उनले पाएको मतबाट प्रस्ट हुन्छ ।

शान्तिप्रति विश्वास हुनु र अमेरिका नेतृत्व विश्व शान्ति स्थापनाको नीतिमा पनि लाग्नुपर्छ भनेर मत जाहेर गर्नु सही भए पनि आफैंमा अति असहिष्णु, अशान्त, आक्रामक, असन्तुलित र अस्थिर व्यक्तिबाट सारभूत शान्ति सम्भव हुने विश्वास गरेर शान्तिका पक्षमा फरक ढंग र सोचका साथ काम गर्ने प्रतिबद्धता रहेकी प्रतिबद्ध अमेरिकी महिला उम्मेदवारलाई विश्वास गर्न नसकेबाट यो प्रमाणित हुन्छ । अहिले पनि अमेरिकी मतदाताको मनोविज्ञान हेर्दा अत्यधिक व्यक्तिवादी, आत्मकेन्द्रित, उपभोक्तावादी, नश्लीय, लैंगिक हिसाबले पनि विभेदकारीकै बाहुल्यता रहेको देखियो । शिक्षा, स्वास्थ्य, पर्यावरण, आप्रवासन, सुरक्षा, नागरिक/महिला अधिकार, सीमाजस्ता विषयमा दिगो समाधान र स्थायी विश्व शान्तिको बुझाइ र बाटोबारे प्रस्टता वा समर्थन देखिएन भन्न सकिन्छ ।

अमेरिका फस्ट र अमेरिकी उत्पादनको प्रयोगको कुरा राष्ट्रिय पहिचान र समृद्धिका हिसाबले ठीक होला । तर, विश्वमा अमेरिका खुम्चिँदै जाने, अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय संगठनहरूका कामकारबाहीमा उदासीन र गैरजिम्मेवार हुँदा, नेतृत्वको खोजी हुने कुरा राम्रो होइन भन्दै अमेरिकाले अमेरिकाको मात्र कुरा गर्‍यो भने नेतृत्वका लागि उत्पन्न हुने रिक्त ठाउँ अरू शक्तिका लागि अवसर बन्नेछ भन्ने मान्यताले त्यहाँ खासै स्थान पाएन । साथै, प्रतिस्पर्धी राष्ट्रबीच अघोषित ‘ट्रेडवार’ भएको अघिल्लो ट्रम्प कार्यकाल पनि भविष्यका लागि पाठ बनेको देखिएन । यो अवस्था कमजोर र विकासशील तथा विकासोन्मुख राष्ट्रका लागि ‘जुन जोगी आए पनि कान चिरेको’ सावित भए पनि अमेरिकी दबदबाबाट आजित राष्ट्रहरूले विकल्प पाए पनि भन्न सकिएला– जुन तिनका लागि सही वा अरू खराब जे पनि हुन सक्छ, तर स्वयं अमेरिकी जनताका लागि भने सुखद पक्ष कदापि थिएन ।

अहिले विश्वका चर्चित नेताहरू अमेरिकी निर्वाचनमा ट्रमको समर्थन मात्र होइन, उनको पुनरागमनपछि थप हौसिनुको प्रमुख कारण यही हो । आर्थिक समृद्धिको परिभाषा, सामाजिक न्यायका मुद्दा, महिला अधिकार र प्रजनन स्वास्थ्यका प्रारम्भिक विषय, बन्दुकको अधिकारका कारण नागरिकबाटै नागरिकको सुरक्षा सुनिश्चित गर्ने जस्ता विषय राष्ट्रपति चुनावका अनुमोदित एजेन्डा नबन्ने अवस्था झन् उदेकलाग्दो थियो । ट्रमका राजनीतिक र कमलाविरुद्धका प्रोपागान्डा हुन् वा सांघातिक आक्रमणका नाममा ट्रम्पले बटुलेका सहानुभूतिको मत प्रकट गर्ने अमेरिकीहरूले ‘सबैको नेतृत्व’ गर्छु भन्ने कमलालाई नचुनेका मात्र होइनन्, आफ्नो चुनावी सभामा ‘बेश्या’ जस्ता स्तरहीन र चरित्रहत्या गर्ने खालका आरोप लगाउन समर्थकलाई उस्काउने र कमलाविरुद्धका यस्ता अपशब्दवाण सुनेर मुस्कुराउँदै आनन्द लिने कदमको प्रतिवाद गरेनन् । बरु, मासमा मजाले हुटिङ गर्ने कामसम्म भयो र त्यसमा महिला–पुरुष दुवै देखिए । नेपालमा अनुभव गरिएको छद्म नाममा सामाजिक सन्जाल प्रयोग गरी विचार नमिल्नेमाथि तुच्छ गालीगलौजमा उत्रिने व्यक्ति/समूहभन्दा पनि तल्लो स्तर अमेरिकामा देखियो । भनिन्छ, महिलाको क्षमताबाट असुरक्षित बन्ने र हीनताबोध गर्नेले महिलालाई होच्याएर छायामा पार्ने हतियारका रूपमा चरित्रमा प्रश्न उठाउने वा आक्षेप लगाउने परम्परा पिछडिएको समाजको चरित्र हो । त्यस मानेमा अमेरिका यस पटक अरू अगाडि देखियो ।

सारमा भन्दा बाइडेन सरकारका कमजोरी र असफलताले निम्त्याएको सम्पूर्ण नकारात्मक परिणामको जवाफदेहिता उपराष्ट्रपतिको हैसियतले उनीसँग खोज्नु सामान्य भए पनि आफू निर्वाचित भएमा गर्ने भनेका उनका नयाँ एजेन्डामा विश्वास नगरी प्रतिशोध पोखिनुलाई सही मान्न सकिँदैन । यसबाट उनको व्यक्तिगत–पेसागत क्षमता, पहिचान र पृष्ठभूमि साथै उनले आफ्नो कार्यकालमा गर्ने भनी जाहेर गरेका प्रतिबद्धतालाई मान्न नचाहेको देखिन्छ । कमलाले प्रतिनिधित्व गर्ने महिला, काला, एसियन, युवा र अन्य सीमान्तीकृतले पनि उनलाई बुझ्न खोजेनन् वा रोजेनन् ।

सारांश

त्यसैले कमलाको हार एक देशको राष्ट्र/सरकार प्रमुखमा महिला प्रत्याशीको हार मात्र हैन । विश्वको एक नम्बर शक्तिशाली व्यक्तिका रूपमा महिला स्वीकार्य नहुनु पनि हो । पितृसत्ताले जकडिएको विश्वमा पहिलो विश्वशक्तिको नेतृत्वमा महिला पुग्न सक्दा त्यसले विश्व समाजमा सकारात्मक सन्देश सञ्चार हुने, त्यसबाट मिल्ने प्रेरणा र उत्साहको लहर ल्याउने र त्यो सकारात्मक रूपान्तरणमा संवाहक हुन सक्थ्यो, यस्तो रूपान्तरणको नेतृत्वको जस पनि अमेरिकालाई जान्थ्यो । अमेरिकामा ट्रम्पको पुनरागमनसँगै समानता, न्याय र अधिकारको लडाइँ लड्ने ठूलो समुदाय फेरि एक पटक हारेको छ । ठूला शक्तिराष्ट्रहरूमध्ये लोकतन्त्रको हिमायती ठान्ने अमेरिकामै सरकारको नेतृत्वमा पटक–पटक महिला प्रत्याशी अस्वीकार्य भएपछि केन्द्रीयतामा आधारित शासन भएका रुस र चीन जस्ता र अन्य परम्परागत/कठोर/निरंकुश शासन प्रणाली अपनाएका राष्ट्रमा यस्तो स्वीकार्यता कसरी अपेक्षा गर्ने ? सीमान्तीकृतहरू पनि निर्वाचन लडेर जितेर नेतृत्वमा पुग्ने क्षमता राख्छन्, त्यसका लागि माहौल सकारात्मक बन्दै गइरहेको छ भन्ने विश्वास गर्ने विश्वको एउटा ठूलो तप्का र सचेत वर्गका लागि यो ठूलो र निराशाजनक चुनौती हो ।

ट्रम्पले दोस्रो कार्यकालमा दक्षिण एसियाप्रति खासै चासो देखाउने छैनन् : सुहासिनी हैदर

काठमाडौँ — भारतीय पत्रकार सुहासिनी हैदरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा दक्षिण एसियाली मुलुकप्रति खासै चासो नदेखाउने बताएकी छिन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभ-२०२४ अन्तर्गत दोस्रो दिनको दोस्रो सत्र ‘भूराजनीतिक खलबल’ मा द हिन्दुकी परराष्ट्र मामिला सम्पादकसमेत रहेकी हैदरले भारतबाहेक दक्षिण एसियाका अरु देशप्रति ट्रम्पले चासो नदेखाउने बताएकी हुन् ।

ट्रम्पको क्याबिनेट चयनले आगामी दिनमा कस्तो हुन्छ भन्ने देखाउने पनि हैदर बताउँछिन् । ‘ट्रम्पको दोस्रो कार्यकालले भारत मात्र होइन दक्षिण एसियामै प्रभाव पार्नेछ । भारतसँगको व्यापारमा सुधार आउने देखिन्छ । ट्रम्पले भारतसँगको व्यापार बढाउनका लागि छुटहरूको घोषणा गर्न सक्नेछन्,’ उनले भनिन् ।

बंगलादेशप्रति भने ट्रम्पको दृष्टिकोण नकारात्मक हुने हैदरको भनाइ छ । ‘उनले बंगलादेशको यसअघि नै आलोचनासमेत गरिसकेका छन् । अहिलेको सरकारका प्रमुख सल्लाहकार प्रजातन्त्र पक्षधर पनि हुन्,’ उनले भनिन् । ट्रम्पले प्रजातन्त्र र मानव अधिकारसम्बन्धी विषयमा पनि खासै चासो नदेखाउने हैदरको भनाइ छ । ‘ट्रम्पले मानव अधिकार, अल्पसंख्यकको अधिकार र प्रेस स्वतन्त्रताप्रति पनि उनले खासै चासो देखाउने छैनन् । बाइडेनले लोकतान्त्रिक विमर्शहरूमा सहभागिता जनाएका थिए,’ उनले भनिन् ।अफगानिस्तानमा सेना नभएकाले पनि ट्रम्पले पहिलो कार्यकालमा जति पनि दक्षिण एसियामा खासै रुचि नदेखाउने उनले बताइन् । पहिलो कार्यकालमा झैं यसपल्ट पनि ट्रम्पको राजनीतिक शैली हेर्न भने रुचिकर हुने उनको भनाइ छ । ‘ट्रम्पको यस कार्यकालमा पनि उनले बोल्ने शैली, उनका ट्विट, व्यक्तिगत रूपमा वार्ता गरेर अर्को दिन सार्वजनिक गर्ने उनको शैली रुचिकर हुन सक्छ,’ उनले भनिन् ।

भारतीय एजेन्टहरूको सक्रियतामा अमेरिकामा हत्या भएको भन्ने कुरा पनि ट्रम्पको कार्यकालमा शान्त हुने नयाँदिल्लीले अपेक्षा गरेको हैदरले जनाएकी छिन् । अमेरिकी सरकारले भारतीय मूलका अमेरिकी नागरिक गुरपतवन्त सिंह पन्नुनको हत्यामा भारतका पूर्व गुप्तचर अधिकारी विकास यादवको हात रहेको आरोप लगाएको थियो ।

त्यस्तै ट्रम्पको कार्यकालमा रुस-युक्रेन युद्ध र पश्चिम एसियामा जारी द्वन्द्व मत्थर हुने आशा गरिएको हैदरले बताइन् । ‘रुस-युक्रेन युद्धको असर नेपाल र भारतमा समेत देखिएको छ । नेपाली र भारतीय युवाहरू युद्धमा सहभागी नै भएका छन् । त्यति मात्र होइन, यस युद्धले विश्व व्यावार, खाद्यसुरक्षालगायतका क्षेत्रमा समेत संकट उत्पन्न गराएको छ ।’

चार पुस्ताका डाक्टर : शिवदत्त जोशी

उनी पाँच वर्षका थिए । चौथो ज्वरोले थला परे । बाँच्ने आशा क्षीण  थियो ।  समाप्त भने भईसकेको थिएन । कही न कतै बाँच्ने अलिकति आशा जिवित थियो । मलेरियाको सबैभन्दा कडा रुपलाई त्यतिबेला चौथो ज्वरो भनिन्थ्यो । त्यही चौथो ज्वरोले चार वर्ष थला परे, उभिनै नसक्ने गरी । पिताजीले बैद्य बोलाए । धामीझाक्री बोलाए । भएभरका जडिबुटी खुवाए । झारफुक गरे । तर अह केहीले पनि काम गरेन । समय खराव भएपछि न औषधीले काम गर्छ । न प्रार्थनाले । सायद उनको समय पनि समय खराव चल्दै थियो ।

चार वर्षसम्म थला परेका उनको जीवनमा नौ वर्षको उमेरमा चमत्कार झै भयो । उनी आफै ठिक भए । उनले सोचे, काल नआई कसैगरी मरिदैन । र त बाँचे ।

उनले धेरैलाई बचाउनु थियो । र त भगवानले भने होलान, तिमी मर्नु हुन्न । बाँच्नुपर्छ । भाग्यमा बाँच्नु लेखेर आएका उनलाई कालले पनि केही गर्न सकेन । काल हा¥यो । उनले जिते । बाल्यकालमा मुस्किलले बाँचेका उनले आफ्नो जीवनभरी धेरैलाई मुस्किल अवस्थाबाट बचाए ।

उनले बाजेको उपचार गरे । छोरालाई औषधी दिएर बचाए । नाती र पनाती पुस्ताको उपचार पनि गरे । त्यसैले त उनलाई चार पुस्ताका डाक्टर भन्छन् । उनलाई चार वटै पुस्ताले सम्झिन्छन् । यतिबेला उनी  राम्रोसंग कान सुन्दैनन । हिडडुल पनि गर्न उनलाई कठिनाई हुन्छ । तर उनी जोशी मेडिकलको बिरासत सम्हालिरहेका भाई नारायण जोशीलाई बेलाबेला निर्देशन दिईरहन्छन । बिरामी आउदा के भएको हो भनेर सोध्न पनि भ्याउछन ।  उनी सबैका डाक्टर हुन् । अझ डाक्टरका पनि डाक्टर । उनले उपचार गरेर बचाएकाहरु कति डाक्टर भए होलान । उनले त त्यसको पनि हिसाव गरेनन । बस, उपचार गरिरहे । सबै पुस्ताले सम्झिने उनी हुन्, शिवदत्त जोशी । जतिबेला अस्पताल थिएन । उनले त्यतिबेला उपचार शुरु गरे । जोशी मेडिकललाई एउटा ब्राण्ड बनाए । जोशी डाक्टर उनको उपाधी बन्यो । कैलाली र कञ्चनपुरका जनताका लागि ५० वर्षअघि यही ग्राण्डी थियो । यही नर्भिक । र यही मेदान्ता । सेती अञ्चल अस्पताल नाम मात्रको थियो । उनले आजभन्दा ५४ वर्षअघि वि.स.२०२४ सालमा सरकारी जागीर छोडेर खोलेको जोशी मेडिकल कैलाली र कञ्चनपुरको पहिलो निजी मेडिकल थियो ।

उनी यतिबेला ९३ वर्षका भए । चार वर्षअघिसम्म उनी बिरामी जाँच्थे । कान कम सुन्न थालेपछि उनले बिरामी जाँच्न छाडे । पहिले देखि नै उनलाई साथ दिईरहेका भाई नारायणले उनको त्यो जिम्मेवारी सम्हाले । बिरामी जाँच्न त छोडेपनि उनले मेडिकल जान छाडेका थिएनन । मेडिकल नटेकी उनको दिनको शुरुवात हुदैनथ्यो। बिगत केही समययता उनी बिरामीले थला परेपछि भने मेडिकल जान सकेका छैनन ।

उनी कैलाली कञ्चनपुरका शिक्षा,स्वास्थ्य, राजनीति र यहाँको विकासका साक्षी हुन् । र हुन् उनी राणा शासन,पञ्चायती व्यवस्था, प्रजातन्त्र, गणतन्त्र र हरेक परिवर्तनका साक्षी । उनले राणा शासन देखे । २००७ साल देखे । २०१५ को मुलुकको पहिलो संसदीय निर्वाचनलाई नजिकबाट महशुस गरे । २०३६ को जनमत संग्रह अझै बिर्सिएका छैनन । २०४७ को प्रजातान्त्रिक आन्दोलन उनको आँखामा अझै ताजै छ । त्यसपछि १० वर्षे सशस्त्र संघर्ष, २०६२/६३ को जनआन्दोलन त झन कसरी बिर्सन सक्छन । जसले मुलुकको शासन व्यवस्थालाई नै परिवर्तन गरिदियो । भन्छन्, २००७ सालदेखि आन्दोलन मात्र भए । जनताले सुखशान्ति कहिल्यै पाएन । जनताका दुःख पीडा त उस्तै छन् ।

बैतडीदेखि धनगढीको यात्रा

उनी जन्मिदा देशमा राणा शासनको जगजगी थियो । वि.स.१९८८ साल मंसिर २३ गते बैतडीको शेरामा उनको जन्म भयो । पिताजी महानन्द जोशी पण्डित थिए । पुरेत्याई गर्थे । आमा गंगादेवी जोशी गृहणी । चार दाजु बहिनीमा उनी माईला थिए ।
पाँच वर्षको उमेरमा उनले क ख, अ आ घरमै पढिसकेका थिए । त्यही बेला मलेरियाले थला परे । चार वर्षपछि उनी निको भए । र उनले घर वस्न पाएनन । पिताजीले उनलाई पिथौरागढको स्कुलमा भर्ना गरिदिए । बैतडीमा स्कुल थिएन । पिथौरागढबाट पाँच कक्षासम्म पास भएपछि उनी पढ्न पु¥याईए, ऋषिकेश,हरीद्धार । त्यहाँ मध्यमा र सात कक्षा पढे । उनको एउटै काम थियो, पढ्नु । पढ्नमा मेधावी थिए । उनी पास हुनुको अर्थ थियो, विद्यालय र स्थान परिवर्तन हुनु । सात कक्षा हरिद्धारबाट पास गरेपछि उनी बनारस पुगे । जहाँ उनले १० कक्षा पास गरे । र त्यहीबाट उनले शास्त्री पास गरे । उनले सोचे अव पढाई सकियो ।

शास्त्रीको पढाई पुरा गर्दा उनी २१ वर्षका भईसकेका थिए । उनी २०१० सालमा काठमाण्डौं पुगे । त्यहाँ पुगेको केही समयमा निर्वाचन आयोगमा निर्वाचन अधिकृतको जागीर पाए । सिंह दरवारभित्र रहेको निर्वाचन आयोगमा उनले दुई वर्ष जागीर खाए । निर्वाचनको आयोगको जागीरबाट उनी सन्तुष्ट थिएनन । र उनले थप पढ्ने सोचे । र भारत सरकारले प्रदान गर्ने कोलम्बो प्लानको छात्रबृतिका लागि आवदेन भरे । छात्रबृतिमा उनको नाम निस्कियो । र उनी चार वर्षे आयुर्वेदाचार्य व्याचलर अफ मेडिकल सर्जरी(एएमबीएस) पढाई पुरा गर्न काठमाण्डौंबाट लागे भारतको झाँसी ।

वि.स.२०१६ मा पढाई सकेर कविराज भएर उनी काठमाण्डौं फर्किए । त्यस लगत्तै उनले जागीर पाए । मासिक तलव थियो, दुई सय रुपैया । २०१७ सालमा सरकारले उनलाई धनगढी खटायो । उनी धनगढी आउदा आयुर्वेद औषधालय थिएन । उनले त्यसको स्थापना गरे । र बिरामीको उपचार शुरु गरे । डेढ वर्षपछि उनको सरुवा भयो, गुल्मीको रिडी । रिडीका मान्छेका मिठो र सौहाद्र्ध व्यवहार अहिले पनि बिर्सेका छैनन । त्यतिबेलाका परिचित धेरै बितिसके । कतिपय अझै पनि उनको सम्पर्कमा छन् । उनले चार वर्ष त्यहाँ काम गरे । र त्यहाँबाट सरुवा भएर उनी फिर्ता भए, धनगढी । त्यसपछि जम्माजम्मी एक वर्ष सरकारी जागीर खाए । कोलोम्बो प्लान अन्तर्गत पढेकाले पाँच वर्ष सरकारी जागीर खाएर काम गर्नैपथ्र्यो । उनले पाँच वर्ष काम गरेपछि सरकारी जागीर छोडे । २०२४ सालमा उनले आफ्नै निजी मेडिकल खोले, जोशी मेडिकल ।

त्यही मेडिकलले उनलाई नाम दियो । पहिचान दियो । सम्मान दियो । जतिबेला कसैले डाक्टर देख्न पाउथेनन, त्यतिबेला उनले उपचार शुरु गरेका थिए । उनी कहाँ उपचार गर्न जमिन्दारदेखि गरीवसम्म आउथे । कतिपय जमिन्दार उपचार गरेको पैसा नै दिन्थेनन । गरीवसंग पैसा नै हुन्थेनन । पैसा भएर नदिनेलाई उनी धन्यवाद भन्थे । जोसंग पैसा नै हुन्थेन, उसलाई भैगो, पर्दैन भनेर पठाउथे ।

बालकदेखि बृद्धसम्मको उनले उपचार गर्थे । उपचार गर्दागर्दै ५४ वर्ष बितेको पनि पत्तै भएन । धनगढीमा उनले मेडिकल पसल खोल्दा उनी एक्लै थिए । अहिले धनगढीमा कति मेडिकल पसल छन् । कति निजी अस्पताल गनिसाध्य छैन । तर कतिपयको भरोसा भने अझै पनि जोशी मेडिकलमाथि नै छ । कही उपचार नगरेर सोझै जोशी मेडिकल पुग्नेको अहिले पनि कमि छैन । पैसा कति कमाए थाह छैन, भन्छन्, मेरो पैसा कमाउने उद्देश्य कहिल्यै भएन, मैले कमाएको भनेकै विश्वास हो । त्यही विश्वासको अर्को नाम हो, जोशी मेडिकल ।

१२ वर्षमा बिबाह

१२ वर्षको थिए । आफ्नै जिन्दगीका बारेमा बुझेका थिएनन । बिहा, पत्नी अनि गृहस्थी के चिज हो ? उनलाई थाह थिएन । पिताजीले बिहाको कुरा पक्का गरे । उनको बिहा हुदै थियो तर उनलाई सोधिएन । पिताजीले जे भन्यो चुपचाप मान्नु नै पुत्र धर्म मानिन्थ्यो । उनी दुल्हा भए । नौहाटकी ११ वर्षीया गंगादेवी उनकी दुल्ही थिईन । चुपचाप मण्डपमा बसे । बिहा सम्पन्न भयो । त्यसको केही दिनमै उनी पढ्न पिथौरागढ फर्के । संयोग कस्तो आमाको नाम र उनकी दुल्हीको नाम एउटै थियो ।

विदामा घर फर्किन्थे । तर आफ्नै पत्नीसंग बोल्न लजाउथे । उनी अहिले सम्झिन्छन, बिहा भएको कति समय मेरो उनीसंग बोलचाल नै भएन । समाजका अगाडि त हामी बोल्दै बोल्थेनौ । तर एकान्तमा भेट हुदा भने अलिअलि कुरा हुन्थे । प्रेम र जीवनका बारेमा बुझेका थिएनन । उनको बिहा भईसकेको थियो । २०१२ सालमा उनका छोरा लोकराज जोशीको जन्म भयो । उनी २५ वर्षको हुदा उनका छोराको जन्म भयो ।

उहिलेको धनगढी

राणा शासनमा कैलाली र कञ्चनपुर एउटा गोश्वारा थियो । जिल्ला भईसकेका थिएनन । कैलाली कञ्चनपुर गोश्वाराको सदरमुकाम बेलौरी थियो । त्यही कारण त्यतिबेलाको प्रशासनिक केन्द्र बेलौरी थियो । वि.स.१९९७ मा सदरमुकाम धनगढी सारियो । र धनगढीमा बेलौरीबाट सरकारी कार्यालयहरु पनि सार्नेक्रम त्यही बेला शुरु भयो ।

कैलाली र कञ्चनपुर गोश्वाराको जनसंख्या ५० हजार जति थियो । २०१५ सालको निर्वाचनमा यहाँबाट लोकेन्द्र बहादुर शाहले चुनाव जितको उनको मस्तिष्कमा अझै ताजै छ ।  २०१९ सालमा जिल्ला बिभाजन भयो । कैलाली र कञ्चनपुर अलग भए ।

उनी जतिबेला धनगढी झरे । त्यतिबेलाको धनगढीमा पाँचवटा मात्र घर पक्की थिए । जताततै जंगल थियो । अस्पतालका दुई वटा साना पक्की भवन थिए । गोश्वारा, अञ्चलाधिशको आवास, कारागार, वन बिभागको एउटा घर र माल अड्डा(मालपोत कार्यालय) का गरी जम्मा पाँच वटा पक्की घर थिए । केही फुसका घर थिए । जताततै जंगल । रुख काटेर चार खामा गाड्यो । माथि फुसले छायो । घर तयार भयो । घरको छाना नाम मात्रको हुन्थ्यो । भित्ता हुन्थेन । बिजुली वत्तीको त कसैले कल्पना पनि गर्थेन । मट्टितेल हालेर टुकी बाल्यो । बिजुली पनि होला भन्ने सोचेका पनि थिएनन ।

अहिलेको व्यस्त धनगढीको मुल सडकमा त्यतिबेला दिउसो एक्लो हिड्न डर हुन्थ्यो । अस्पताल नाम मात्रको थियो । जहाँ उपचारका लागि जानु भनेको मर्नु थियो । उपचार गर्न ल्याईएकाहरु पनि अन्तिम अवस्थामा ल्याइएका हुन्थ्यो । अस्पतालमै अधिकांशको मृत्यु हुन्थ्यो । मृत्यु भएपछि गाड्न धेरै टाढा पनि लग्थेनन । जताततै लाश गाडिएका हुन्थे ।

अहिलेका कतिपय वस्ती उहिले चिहानघर थिए । गाँउबाट लडियामा बिरामी आउथे । जमिन्दारहरु हात्तीमा चढ्थे । उनीहरुको सामान लडियामा आउथ्यो । मोहना नदी तर्न हात्ती पर्खिनु पथ्र्यो । हात्तीको तर्ने बेला मोहना पुग्नुपथ्र्यो । जो त्यो बेला पुग्यो, उ हात्तीमा तरेर पारी जान्थ्यो । बर्खामा मोहना नदी तरेर पारी जान सकिदैनथ्यो ।

धनगढी बजार अहिले जस्तो थिएन । सडकको ट्र्याक खोलिसकेको थिएन । बाटोमा जताततै खाल्डाखुल्डी । बर्खामा हिलो । हिउदमा धुलो । जताततै जंगल भएका कारण धनगढीकै एक ठाउबाट अर्को ठाउ जादा डर हुन्थ्यो ।

धनगढीको पुरानो बजार हालको मस्जिद र शिवमन्दिर क्षेत्र हो । मस्जिदको गल्लीमा मुसलमान व्यापारी थिए । र शिवमन्दिरको गल्लीमा हिन्दु व्यापारी । पछि त्यहाँबाट बजार विस्तार हुदै गयो । उनी भन्छन्, अहिलेको चौराहा त त्यतिबेला केही थिएन ।  धनगढीमा मान्छे थिएनन । मान्छे नभएपछि व्यापार हुने कुरै भएन । एक जना भारतीय व्यापारीको सानो पसल थियो, उनी ३० को दशक सम्झना सुनाउछन्, उनले बरेलीबाट चामल, आटा र अरु सामान ल्याउथे । उनले पसल खोले सामान पाईन्थ्यो, नत्र पाईदैन थियो ।

शिव मन्दिरको छेउमा एक लालाको पसल थियो । जो हप्तामा एक दिन लखनउ जान्थे । र त्यहाँबाट ल्याउथे,दुई टोकरी फलफुल र तरकारी । धनगढीमा त्यही एउटा पसल थियो । तरकारी र फलफुल पाउने । तरकारी पनि हप्तामा एक दिन मात्र खान पाईन्थ्यो ।

तरकारी झै दुध पनि दुर्लभ थियो । धनगढीमा एउटा गोरे होटल थियो । डडेल्धुराबाट झरेका गोरेले एउटा भैसी पालेका थिए । दुध दही त्यतिबेला कोही खादैनथे । दुध खाए मलेरिया हुन्छ भन्ने डर थियो । दुध चियाका लागि मात्र प्रयोग हुन्थ्यो । र चियाका लागि दुध किन्नु परे गोरेको घरमा पुग्थे । दुध किन्ने त थपिए । तर गोरेको भैसी थपिएन । पछि धनगढीमा उनकै सिको गरेर अरुहरुले पनि भैसी पाल्न थाले । जसलाई गोरेले नै पहाडबाट धनगढी ल्याएर बसाएका थिए । यसरी धनगढीमा भैसी पाल्ने र दुध बिक्री गर्ने चलनको शुरुवात भयो ।

जुगेडा, फुलवारी पनि घनघोर जंगल थियो । लालझाडी चारकोशे झाडी । धनगढीमा वस्ती बस्न शुरु भयो,२०२४÷२५ सालतिर । २०३६ सालतिर पहाडमा भोकमरी भयो । धमाधाम मान्छेहरु तराई झर्न थाले । पूर्वबाट पनि आए । आसाम र बर्माबाट लखेटिएर नेपालीहरु आए । त्यसपछि जंगल फाड्ने क्रम तिब्र भयो । पुनर्वास गरिएका जनतालाई सरकारले दुई वर्षसम्म पौष्टिक आहार दिएर पाल्यो ।

उहिले पैसाको महत्व 

उनी भन्छन्, समयसंगै मान्छेका आवश्यकता बढेका छन् । उहिले मान्छेसंग साईकल हुन्थेन । रेडियो सिमित व्यक्तिसंग हुन्थ्यो । रेडियोका लागि पनि लाईसेन्स लिनुपथ्र्यो । त्यतिबेला टिभीको त कसैले पनि कल्पना गरेका थिएनन । तर मान्छेले अहिले मोटरसाईकल,कार, हेलिकोप्टर हुदै प्लेन समेत किनि सकेका छन् ।

५० को दशकमा उनले टेलिभिजन किने । महाभारत र रामायण हेर्न उनको घर सिनेमा हलमा झै भीड लाग्थ्यो । किनकी छिमेकी र बजारका मान्छे उनका घरमा महाभारत र रामायण हेर्न ओईरिन्थे । उनले २०२४/२५ सालतिर सुन प्रति तोला डेढ सय थियो ।

उनले घर बनाउदा लागेको खर्च समेत सुनाउन भ्याए, ८० रुपैयामा एक हजार ईटा पाइन्थ्यो । प्रति क्विन्टल सरियाको पनि ८० रुपैया नै मूल्य थियो । र सिमेण्टको प्रति बोराको मूल्य १५ रुपैया थियो ।

उनले २०१८ सालमा १० बिगाहा जग्गा पाँच हजार रुपैयामा किनेको अझै सम्झना छ । अहिले त्यही जग्गाको एक कठ्ठाको लाखौ रुपैया मूल्य पर्ने देख्दा उनी सोच्छन्, समय कति फेरिईसकेको रहेछ । तर उनी भने उस्तै छन्, सरल र सहज ।

जमिन्दारको बोलवाला

कैलालीका बिभिन्न भागमा जमिन्दारको शासन चल्थ्यो । जमिन्दारले जे चाह्यो, त्यो गर्थे । नियम,कानुन, प्रहरी, प्रशासन उनीहरुका अगाडि नाम मात्रका थिए । यद्दपि केही जमिन्दारहरु राम्रा पनि थिए । धनगढीमा डिल्लीराज भण्डारी,श्रीपुरमा चेतराज पन्त,बसौटीमा देशराज महतो, छिमानन्द महतो कहलिएका जमिन्दार थिए । कतिपय जमिन्दारको नाम उनी बिर्सिसके । अधिकांश जमिन्दारसंग हात्ती थिए । उनीहरु कही जानु पर्दा हात्तीमा जान्थे ।

कतिसम्म भने, देशराज महतो र छिमानन्द महतो दुधुवा नेशनल पार्कमा जादा रेल रोकिन्थ्यो । देशराजले उर्दी गर्थे, गार्ड से कहेदेना रेल दो घण्टा लेट चलेगी । यस्ता थुप्रै किस्सा छन्, जमिन्दारहरुका ।  देशराज महतोको चर्चा लखनउसम्म हुन्थ्यो ।धनगढी गाँउमा एक जमिन्दार थिए, हरी प्रधान । उनलाई भण्डारी थरका एक जमिन्दारले जग्गा बेच्न भने । प्रधानले मानेनन । जग्गा बेच्न नमानेका प्रधानको हातमा एकसय २० रुपैया थमाएर भण्डारी थरका जमिन्दारले सबै जग्गा हड्पे । प्रधान चुपचाप कैलाली गाँउ सरे ।

एउटा अर्को प्रसंग उनी अहिले पनि बिर्सेका छैनन, एक जना जमिन्दारले आगो लगाएर आफ्नी पत्नीको हत्या गरे । त्यो घट्ना मिलाउन ती जमिन्दारले त्यतिबेला सेती अञ्चल अस्पतालमा रहेको उप्रेती थरका डाक्टरलाई भने अनुसारको रिपोर्ट बनाउन ४० हजार रुपैया दिने आश्वासन दिए । २० हजार त उनलाई दिए । पछि दिने भनिएको २० हजार भने जमिन्दारले उनलाई दिएनन रे । उल्टै घुस माग्ने भनेर हप्काएछन् । अञ्चलाधिशलाई पनि पैसा दिएर चुप लगाएछन् । बिरोधमा कोही बोलेनन । घट्ना केही समयमै साम्य भयो ।

धनगढी र आसपासका थारु गाँउहरुमा महाजन हुन्थे । हरेक गाँउमा एक महाजन । जो भारतीय मुसलमान थिए । उनीहरु व्यापारका लागि वस्ती-वस्तीमा पसेका थिए । वर्षभरी उनीहरुले जमिन्दार तथा किसानलाई भने जति सामान दिन्थे । र एकै पटक पैसा उठाउथे । पैसा दिन नसक्नेले उनीहरुलाई आफ्नो जमीन दिन्थे । त्यो जमिन अरुलाई बेचेर उनीहरु आफ्नो पैसा असुल गर्थे । ती महाजनहरु भूमि सुधार लागु भएपछि फिर्ता भए ।

अंग्रेजले सुदूरपश्चिमको जोगबुढासम्म रेलको लिक पु¥याएका थिए । यहाँको सालको काठ ओसार्न रेलको लिक बिछ्याईएको थियो । धनगढीमा पनि रेलको लिक थियो । भारतबाट अंग्रेजीहरु लखेटिएपछि यहाँको रेलको लिक हटाईएको थियो ।

२० को दशकसम्म धनगढीमा विद्यालय खुलिसकेका थिएनन । दुई वटा भाषा पाठशाला थिए । एउटा भाषा पाठशाला हालको नैनादेवी मन्दिरको छेउमा थियो । मन्दिर छेउमै रुख थियो । त्यही रुखको मुन्तिर फुसको छानो थियो । विद्यालय भने पनि भाषा पाठशालाको हविगत यस्तो थियो ।

अग्रणी समाजसेवी

उनी बिरामीको उपचार गर्थे । त्यसबाहेक पनि उनको समाजसेवामा बिशेष रुचि थियो । कैलालीमा अधिकांश सामाजिक संघसंस्था उनको अगुवाईमा खुलेका हुन् । नेपाल रेडक्रस सोसाईटी कैलाली शाखा उनकै अगुवाईमा २०२७ सालमा खुल्यो । जसको सभापति उनी २०३७ सम्म रहे ।

२०३७ सालमा कैलाली बहुमुखी क्याम्पस स्थापना भयो । जसको उनी सहकोषाध्यक्ष थिए । र कोषाध्यक्ष थिए, तोलाराम दुगड । दुगड यहाँका ठूला गल्ला व्यापारी थिए । दुगड कोषाध्यक्ष भएपनि कोषाध्यक्षको काम उनले नै गरे । पछि उनी कोषाध्यक्ष भए । र २०६२ सालदेखि २०७० सम्म कैलाली बहुमुखी क्याम्पसको अध्यक्षका रुपमा समेत उनले जिम्मेवारी निर्वाह गरे ।

उनकै नेतृत्वमा २०४२ सालमा अपांग संघ खुल्यो । खेमराज शाही त्यसको पहिलो सभापति रहे । शाही जिल्ला पञ्चायतका सदस्य थिए । सामाजिक संस्थामा पञ्चायती व्यवस्थाका सहयोगी बाहेक अरुले नेतृत्व गर्न पाउथेनन । उनको पृष्ठभूमि पञ्चायती व्यवस्थाको सहयोगी थिएन । तर पछि त्यसको नेतृत्व उनले करीव १० वर्ष (२०५३ साल) सम्म गरे । उनकै नेतृत्वमा कैलालीमा नेत्रज्योती संघको २०५० सालमा स्थापना भएको हो । उनी संघको प्रथम अध्यक्ष हुन् । २०६६ सालमा उनी संघको केन्द्रीय सदस्य समेत भए ।

भारतको काञ्चीकामाकोठी पीठका पीठाधिश जगतगुरु शंकराचार्यले धनगढी स्थापना गर्ने भनिएको मेडिकल कलेजमा पनि उनी सदस्य रहेर काम गरे ।

२०६७ सालमा उनी सेती अञ्चल अस्पतालका अध्यक्ष समेत भए । राई थरका मेडिकल सुपरिटेण्डेटसंग तालमेल नमिलेपछि उनले एक वर्षमै त्यो पद छोडेर बाहिरिए । उनी भन्छन्, मैले पदका लागि कहिल्यै मरिहत्ते गरेन ।

मेरा लागि पद भन्दा काम ठूलो थियो,काम गर्न नपाएपछि वा काम गर्न सक्ने अवस्था नभएपछि मैले पद ओगटेर बसिरहन कही चाहेन, भन्छन्, त्यही कारण मलाई अस्पतालको अध्यक्ष पद छाड्न कुनै समस्या भएन ।

आशावादी व्यक्ति

उनी जहिल्यै आशावादी रहे । जीवनको ९० औ वर्षमा छन् । यो उमेरमा पनि उनी उत्तिकै आशावादी छन् । उनको शब्दमा,‘जन्मेपछि मृत्यु निश्चित छ । र दुःखसुख त एक सिक्काका दुई पाटा हुन् । रातपछि दिन निश्चित रुपमा आउछ । त्यसका लागि कसैले कुनै कोशिस गर्न पर्दैन । तर दुःखमा आत्तिने र  निराश हुने मान्छेको जीवनमा सुख बिरलै आउछ । संघर्ष गर्नेले मात्र सफलता हात पार्छ ।’

सदाचार जीवनका लागि आवश्यक ठान्छन् । स्वस्थ रहन दैनिक एक घण्टा पैदल हिड्न जरुरी ठान्छन । उनका अनुसार  स्वस्थ रहनका लागि सबैभन्दा महत्वपूर्ण खानपिनमा ध्यान दिन जरुरी छ ।

यही कारण होला, ९० वर्षको उमेरमा पनि उनी प्रष्टसंग आँखा देख्छन् । दात दुरुस्तै छन् । केही वर्ष अगाडि एउटा दात निकाल्दा खेपेको कष्ट बाहेक उनले व्यहोरेको स्वास्थ्य समस्या अरु याद छैन ।

मान्छे पैसाका लागि मरिहत्ते गर्छ । त्यो पैसा जो उसको शेषपछि काम लाग्दैन । मर्दा खाली हात जानुपर्ने कुरा मान्छे बिर्सिन्छ । र पैसाका पछि दर्गुछ । पैसाकै पछि दगुरेका कारण डाक्टर वदमास भएको उनको गुनासो छ । डाक्टरी पेशा सेवा हो, भन्छन्, तर कतिपयले यसलाई सेवा होईन, व्यवसाय बनाईदिए ।

उनका दुई नाती र दुई नातिनी छन् । जेठो नाती अमेरिका छन् । अर्को अष्टे«लिया । एक नातिनी धरानमा डाक्टर छन् । र कान्छी नातिनी पनि अष्टे«लिया । छोरा र नातिनातिनीलाई पढाएर हुर्काए । भलै, उनीसंग उनका छोरा बाहेक कोही छैनन । तर नातिनातिनाको प्रगतिमै रमाएका छन् । आफूसंग नभएको चिजलाई लिएर दुखी हुने मान्छे सधैभरी दुखी नै भईरहन्छ । सात वर्ष अघि उनकी पत्नी गंगाको निधन भयो । जीवनको उत्तराद्र्धमा जीवन संगीनीले छोडेर गएपनि उनी अझै गलेका छैनन ।

अहंकार र क्रोध राख्नु हुन्न । एक दिन मर्नु त छदैछ, मर्नुको भयले आतंकित भएर पनि किन बाँच्नु ? यो उमेरमा पनि स्वस्थ भएर बाँच्नुको रहस्य उनले सुनाए ।

धनगढीबाट ३६ किलो चरेस बरामद

धनगढी, २९ कात्तिक ।

प्रहरीले बुधवार कैलालीको धनगढी उपमहानगरपालिका ५ लब्ली चौकबाट ३६ किलो चरेस बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले बुधबार साँझ धनगढी उपमहानगरपालिका-५ को लब्ली चोकमा १०७२ नम्बरको एनएस प्लसर जाँच गर्नेक्रममा ३६ किलो ६६५ ग्राम चरेस बरामद गरिएको बताए ।

वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले लब्ली चोकमा मोटरसाइकल चेकजाँच गर्दा चरेस बरामद गरेको हो ।

चरेस बोकेको १०७२ नम्बरको एनएस प्लसरका चालक र पछाडि सवार व्यक्ति भने पक्राउ परेनन । उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २९ कात्तिक । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ६० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ३५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ १९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८८ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ १० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६९ पैसा र बिक्रीदर आठ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६ रुपैयाँ एक पैसा, कतार रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ८८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९० पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६२ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२ रुपैयाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७ रुपैयाँ ४० पैसा, कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९५ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ९० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ४१ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

वक्यौता नउठे नेपाल सरकार जिम्मेवार : घिसिङ

काठमाडौ, २८ कात्तिक ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र विद्युतको वक्यौता नउठे त्यसको जिम्मेवार नेपाल सरकार र उर्जा मन्त्रालय हुने बताएका छन् ।

बुधवार प्राधिकरणमा विद्युत महशुल नतिरेको भन्दै उद्योगहरुको लाईन काटेका घिसिङले सरकारको निर्देशमा लाईन जोडेको बताए ।

व्यवसायीहरुले सरकारको निर्देशनअनुसार वक्यौता नतिरे उद्योगहरूको लाइन पुनः काटिदिने बताएका छन् ।

उनले नेपाल सरकारको निर्देशनअनुसार उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रंक लाइनको बाँकी वक्यौता १५ दिनभित्र वक्यौता बुझाउनुपर्ने बताए ।

उनले १५ दिनको अवधिमा वक्यौता नबुझाए प्राधिकरण आफ्नो प्रक्रियामा फेरि पनि लाग्ने चेतावनी दिए ।

कार्यकारी निर्देशक घिसिङले नेपाल सरकारले स्पष्ट रुपमा १५ दिनभित्र उद्योगीहरुसँग विद्युत वक्यौता उठाउन निर्देशन दिएको भन्दै त्यसको कार्यान्वयन प्राधिकरणले उद्योगको लाइन जोडेर शुरु गरेको बताए ।

निर्देशक घिसिङले प्राधिकरणले कानूनी रूपमा वक्यौता उठाउन लाइन काटेको अवस्थामा हाललाई २४ घण्टाभित्र लाइन जोड्ने निर्देशन प्राप्त भएकाले कार्यान्वयन गर्न प्राधिकरण बाध्य भएको बताए ।

प्राधिकरणले विभिन्न समयमा गरी तीन पटक लाइन काटेकोमा नेपाल सरकारले गरेको निर्णयअनुरूप जोडिरहेको भन्दै अहिले पनि सरकारको निर्देशन र निर्णयलाई प्राधिकरणले पालना गरेको बताए ।

कार्यकारी निर्देशक घिसिङले डेडिकेटेड र ट्रंक लाइन विवादमा प्राधिकरणले यसअघि काटेको बिल नै ठिक भएको जिकिर   गरे ।

घिसिङले  मन्त्रिपरिषद् बैठकले आईतवार टीओडी मिटरका आधारमा १५ दिनभित्र डेडिकेटेड र ट्रंक लाइनको महशुल उठाउने निर्णय गरे पनि आफूहरूले पहिले काटेको बिल नै सही भएकाले नयाँ गणना नगर्ने बताए ।

उनले अहिलेसम्म प्राधिकरणले काटेको बिल कुनै पनि निकायले ठिक छैन नभनेको भन्दै त्यही बिलका आधारमा वक्यौता रकम उठाउने बताए ।

अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा ऋचा र शंकर घिमिरेविरुद्ध उजुरी

काठमाडौं । फिल्मकर्मी जोडी ऋचा घिमिरे र उनका पति शंकर घिमिरेविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

अमेरिका पठाइदिने प्रलोभनमा पारेर एक व्यक्तिबाट १ करोड २२ लाख रुपैयाँ लिएर ठगी गरेको उनीहरुमाथि आरोप छ ।

फिल्म ‘तेल भिसा’को प्रदर्शनको तयारीमा रहेका घिमिरे दम्पतीमाथि काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीमा  एक व्यक्तिले बुधबार जाहेरी दिएका हुन् । तर उजुरी दिने व्यक्तिको विषयमा भने प्रहरीले केही खुलाएको छैन ।

यद्यपि कतिपयले उजुरीको व्यहोराको पत्र सामाजिक सञ्जालमा भाइरल बनाइरहेका छन् । साथै घिमिरे दम्पतीले पनि यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

लामो समय अमेरिका बसेर नेपाल आएका घिमिरे दम्पती भने यतिबेला नयाँ फिल्म तेल भिसा प्रदर्शनको तयारी र प्रचार प्रसारमा व्यस्त छन् । शंकर निर्देशक र ऋचा अभिनेत्री रहेको उक्त फिल्म मंसिर ७ देखि प्रदर्शनमा आउने बताइएको छ ।

यही फिल्मका लागि अमेरिकाबाट सुशील क्षेत्री पनि नेपाल आएका छन् । उक्त फिल्ममा ऋचासहित विपिन कार्की, वर्षा कार्की लगायतका कलाकारहरु रहेका छन् ।

जलवायु परिवर्तनको सामना गर्न विश्वको साझा प्रयास आवश्यक-राष्ट्रपति रामचन्द्र पौडेल

बाकु (अजरबैजान), २८ कात्तिक ।
राष्ट्रपति रामचन्द्र पौडेलले विश्वको साझा चुनौतीका रुपमा रहेको जलवायु परिवर्तनको सामना गर्न सबैको साझा बुझाइ र साझा प्रयास हुनुपर्ने बताएका छन् ।

अजरबैजानको राजधानी बाकुमा जारी जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको सम्मेलन (कोप–२९) अन्तर्गत बुधवार नेपालले आयोजना गरेको विशेष सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।

नेपालका तर्फबाट आयोजना गरिएको ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्र सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका उस्तै प्रभावित राष्ट्रहरुलाई एकै ठाउँमा राखेर छलफल गर्दा समस्याको बारेमा बुझ्न र समाधन गर्न सहज हुने धारणा व्यक्त गरे ।

राष्ट्रपति पौडेलले विशेष सत्रमा गर्नुभएको सम्बोधनको पूर्ण पाठ यसप्रकार छ ।

कीर्गिस्तानका सम्माननीय राष्ट्रपतिज्यू,
माल्दिभ्सका सम्माननीय राष्ट्रपतिज्यू,
अजरबैजानका सम्माननीय राष्ट्रपतिज्यू,
विकास साझेदार संस्थाका प्रमुख र प्रतिनिधिहरु,
विभिन्न देशका प्रमुख र प्रतिनिधिहरु,
मिडिया प्रतिनिधिहरु,

सर्वप्रथम, हाम्रो निमन्त्रणालाई स्वीकार गरी यस कार्यक्रममा उपस्थित भई सक्रिय रुपमा भाग लिई दिनुभएकामा हार्दिक धन्यवाद दिन चाहन्छु ।

जलवायु परिवर्तन हामी सबैको साझा चुनौती भएको र यस साझा चुनौतीको सामना गर्न हामी सबैको साझा बुझाइ र साझा प्रयास बनाउनुपर्ने भएकाले हामीले यस कार्यक्रमको आयोजना गरेका हौँ ।

जलवायु परिवर्तनका उस्तै प्रभावित राष्ट्रहरुलाई एकै ठाउँमा राखेर छलफल गर्दा समस्याका बारेमा बुझ्न र समाधान गर्न पनि सहज हुने हाम्रो विश्वास हो । सबैलाई आ–आफ्नो समस्या ठूलो लाग्नु स्वाभाविकै हो, तर पछिल्ला दिनमा नेपालले भोगेका जलवायु समस्याको चुनौती निकै हृदयविदारक छ ।

तीन महिनाअघि विश्वको सर्वाेच्च शिखर सगरमाथा नजिकैको हिमताल फुट्दा सम्पूर्ण थामेगाउँलाई बगाएर लग्यो, जबकि त्यस क्षेत्रमा मानवीय गतिविधि शून्य नै थियो । त्यस्तैगरी, विगत तीन महिनामा जलवायुजन्य प्रकोपमा परेर नेपालमा मात्र पाँच सयभन्दा बढी मानिसले ज्यान गुमाउन पुगेभने खर्बभन्दा बढीको हानि–नोक्सानी भएको छ । यस प्रकारको हानि–नोक्सानी भर्खरै स्पेनमा भएको बाढी र डुबानलाई हेर्दा पनि हुन्छ, र गत जुलाईमा क्यारिबियन क्षेत्रमा आएको आँधीबेहरी हेर्दा पनि हुन्छ । भोलिका दिनमा यो मानवीय सङ्कट कसलाई कतिबेला पर्छ, कसैलाई थाहा छैन, तर आज समस्या परेको देशलाई सबै मिलेर सहयोग गर्नु नै मानवीय धर्म हो भन्ने हामी नेपालीको विश्वास पनि हो ।

पहाडी देशमा परेको जलवायु जोखिमको प्रभाव सामुद्रिक देशमा पर्न सक्ने र सामुद्रिक किनार माथि उठ्न सक्ने भएकाले आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न म हार्दिक अनुरोध गर्दछु ।

मुख्यगरी कार्बन उत्सर्जन गर्ने विकसित राष्ट्र र उच्च दरमा आर्थिक वृद्धि गर्ने राष्ट्रले उच्च जलवायु जोखिममा परेका राष्ट्रका लागि बढी सहयोग गर्नुपर्ने हुन्छ, बढीभन्दा बढी जलवायु वित्तको व्यस्थापन गर्न २९औँ जलवायु सम्मेलन सफल हुनेछ भन्ने मेरो विश्वास छ ।

जलवायु परिवर्तनका प्रभाव बहुआयामिक भएकाले हानि–नोक्सानीलाई जलवायुवित्त व्यवस्थापनका लागि नयाँ समिष्टिगत सङ्ख्यात्मक लक्ष्यमा हानि–नोक्सानीसमेत समेट्न म विशेष आह्वान गर्दछु ।

अन्त्यमा, पुनः एकपटक सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद दिँदै यस कार्यक्रमलाई म यही अन्त्य गर्दछु । प्रकृति संरक्षणका लागि विश्वलाई अपिल गर्दै वेद्को यो उद्धरणलाई उद्धृत गर्दै आफ्नो भनाइ टुङ्ग्याउँछु ।

ॐ द्यौः शान्तिरन्तरिक्षं शान्तिः
पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्तिः ।
वनस्पतयः शान्ति विश्वेदेवाः शान्ति ब्रह्म शान्तिः
सर्वं शान्तिः शान्तिरेव शान्तिः सा मा शान्तिरेधि ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

यूएईलाई हराउँदै नेपाल यु-१९ महिला विश्‍वकपमा छनोट

काठमाडौं,२८ कात्तिक ।

यु १९ महिला विश्वकप छनोट खेलमा यूएईमाथि सनसनीपूर्ण जितसंगै नेपाली महिला क्रिकेट टीमले नयाँ ईतिहास रचेको छ । यो जितले नेपाली महिला क्रिकेट टिम पहिलो पटक विश्वकपका लागि छनोट भएको छ ।

बुधबार भएको छनोट खेलमा यूएईलाई उसकै खेल मैदानमा ८ विकेटले हराउँदै नेपालले ईतिहास रचेको हो । यो जितले नेपाली महिला क्रिकेट टिम आउँदो जनवरीमा मलेसियामा हुने आईसीसी यु-१९ टी-२० महिला विश्वकपको यात्रा तय गरेको छ ।

यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक रन ३५ बनाइन् । त्यस्तै कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन् । साबित्री धामीले १२ रन बनाइन् ।

टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् । त्यस्तै रिनिथा रञ्जितले २० रन बनाइन् भने ‌‌ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए ।

नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन् । उनले कप्तान धर्निधरका सहित ३ खेलाडीलाई एकै ओभरमा आउट गराएकी थिइन् । नेपालका रिया शर्मा र सीमा केसीले २-२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिइन् ।
एक साता महिला फुटवलमा उपबिजेतामा सिमित भएपनि सनसनी मचाएको नेपाली खेलाडीहरुले एकपछि अर्को उपलब्धी हात पारेका छन् ।

संघीयता र गणतन्त्र असफल भएको राप्रपा नेपालको निष्कर्ष, यी हुन् तराई मधेश राष्ट्रिय सम्मेलनका निर्णय

राप्रपा नेपालले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र असफल भएको निष्कर्ष निकालेको छ । वीरगञ्जमा सम्पन्न तराई मधेश राष्ट्रिय सम्मेलनको निर्णयमा सो पार्टीले भनेको छ- ‘२०६२/६३ को आन्दोलनपछि अवलम्बन गरिएका धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र असफल प्रमाणित भएका छन् ।’

त्यस्तै राष्ट्रियता र प्रजातन्त्रलाई थप सुदृढ तुल्याउँदै सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र, संवैधानिक राजसंस्था र  सुदृढ स्थानीय स्वायत्त शासनप्रणाली कायम गरिनु पर्छ भन्ने आफ्नो माग रहेको पनि राप्रपा नेपालले जनाएको छ ।

हेर्नुस् राप्रपा नेपालको निर्णयः

राप्रपा नेपाल केन्द्रिय कार्यसमितिद्वारा बिरगंजमा आयोजित “तराई मधेस राष्ट्रिय सम्मेलन” उत्साहपूर्णरुपमा सम्पन्न भएको छ । सम्मेलनमा तराई मधेसका २१ जिल्लाका १८५ प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सम्मेलनले देहायबमोजिम निर्णयहरू गरेको छः

१) सम्मेलनमा उपाध्यक्ष धीरेन्द्र झा तथा महामन्त्री राजराम वर्तौलाद्वारा प्रस्तुत ‘मधेस उत्थान बिशेष अभियान’ सम्बन्धि अवधारणापत्र र कार्ययोजना परिमार्जनसहित पारित गरेको छ ।

२) २०६२/६३ को आन्दोलन पछि अवलम्बन गरिएका धर्मनिरपेक्षता, संघियता र गणतन्त्र असफल प्रमाणित भएका छन् । राष्ट्रियता र प्रजातन्त्रलाई थप सुदृढ तुल्याउँदै सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र, संवैधानिक राजसंस्था र  सुदृढ स्थानीय स्वायत्त शासनप्रणाली कायम गरिनु पर्छ भन्ने राप्रपा नेपालको धारणा रहेको छ । उल्लेखित विषय मधेस उत्थान अभियानको प्रमुख एजेण्डा रहने छ ।

३) भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने, हिन्दुराष्ट्र स्थापना तथा तराई मधेसको उत्थानको मुख्य उदेश्यका साथ आगामि २०८१ पौष महिनामा ‘चतराधाम-त्रिवेणीधाम जनजागरण अभियान’ संचालन गरिने छ ।

४) तराई मधेसका जनताको आर्थिक अवस्था सृदृढ तुल्याउने उदेश्यका साथ आर्थीक बिकासको समग्र पक्षलाई समेटेर नीति निर्माण गर्न तथा कार्यान्वयन गर्न सर्वाधिकार सम्पन्न ‘सिमावर्ती क्षेत्र एकिकृत बिकास प्राधिकरण’ (Border Area Integrated Development Authority) निर्माण गर्न राप्रपा नेपाल माग गर्दछ । यस सम्बन्धि कानुन संसदबाट अविलम्ब तयार गरिनु पर्छ ।

५) मिटरव्याजीको शोषण र सहकारी ठगीबाट पिडित जनताको हित रक्षाको निम्ति हालसम्म ठोस नीति र कदम चाल्न नसकेको तथा यस सम्बन्धि सरकारको उदासिनताप्रति सम्मेलन भत्सर्ना गर्दछ । सहकारीमा जम्मा भएको वचतकर्ताको रकम सुरक्षित गर्न तथा मिटरव्याजीको शोषणको जालोबाट स्थायीरूपमा पिडितलाई मुक्त तुल्याउन सरकारले तत्काल आबश्यक कानुनी र प्रशासनिक कदम उठाओस् भन्ने राप्रपा नेपालको माग रहेको छ ।

६) धर्मनिरपेक्षताको आडमा देशभर सनातन धर्म संस्कृति माथी आक्रमण भैरहेको छ । संगठित र योजनावद्धरुपमा धर्मपरिवर्तन गराउने कार्य व्यापक भैरहेको छ । तराई मधेसमा तुलनात्मक रुपमा यसको प्रभाव अहिले केही कम छ । तर, धर्मान्तरणकारीहरु मधेसमा पनि आक्रमण गर्ने तयारी गरी रहेका छन् । यो यथार्थलाई दृष्टिगत गर्दै नेपालको राष्ट्रिय पहिचान र मधेसको शानको रुपमा रहेको सनातन हिन्दुधर्मको रक्षार्थ आगामि दिनमा राप्रपा नेपालले सशक्त अभियान संचालन गर्नेछ ।

७) तराई मधेसको आर्थिक अवस्थालाई मात्र होईन, मुलुककै अर्थतन्त्रलाई कायापलट गर्न सक्ने पुर्व पश्चीम रेलमार्गको तत्काल संभाव्यता अध्ययन गरी दश वर्ष भित्र सम्पन्न गर्न गराउन राप्रपा नेपालले दवाव दिनेछ ।

८) तराई मधेसको मातृभाषाकोरुपमा रहेको मैथिली, भोजपुरी, अवधि र थारू भाषाको संरक्षण र सम्बर्धनका निम्ति सरकारले बिशेष ध्यान दिनुपर्छ । यस क्रममा ‘मातृभाषा संरक्षण आयोग’ गठन गरियोस् भन्ने राप्रपा नेपाल माग गर्दछ ।

९) कृषीको बिकासको निम्ति सिंचाईको ठूलो महत्व हुने हुँदा सिंचाईको बिकास र विस्तारको निम्ति तराईका सबै जिल्लाका सवै उर्वर भूमीमा सिंचाई सुविधा उपलव्ध गराउने गरी वृहत सिंचाई योजना तर्जुमा गरिनु पर्दछ । हाल निर्माणाधीन र चालु रहेका विभिन्न सिंचाई आयोजनाहरूको एकिकृत र समन्वयात्मक बिकास र विस्तारका निम्ति छुट्टै ‘तराई मधेस एकिकृत सिंचाई आयोजना’ ईकाई खडा गरिनु पर्छ भन्ने राप्रपा नेपालको धारणा रहेको छ ।

१०) देशको अन्न भण्डारकोरुपमा तराईलाई फेरी पुनर्स्थापित गर्न ‘कृषी बिकासको वैकल्पिक मोडल’ तयार गर्न पर्दछ । पाँच वर्ष भित्र खाद्यान्न, तरकारी, मासु, दुध, अण्डामा देशलाई आत्मनिर्भर गराउने गरी योजना बनाउन राप्रपा नेपालले सरकारलाई दवाव दिनेछ । यसक्रममा बिदेशबाट आयत गरिने उपरोक्त वस्तुहरुलाई नियन्त्रण गरियोस् भन्ने राप्रपा नेपालले माग गर्दछ ।

११) विगत केही वर्ष यता नेपाल-भारत सिमा वारपार अपराधिक घटना व्यापकरूपले बृद्धि हुँदै गैरहेको छ । यसबाट दुवै देशको सुरक्षामा समेत खतरा बढ्दै गैरहेको छ । त्यसर्थ, आवागमनमा वाधा नपर्ने गरी सिमा व्यवस्थापनको निम्ति भारतसँग सरकारले तत्काल वार्ता गरी उपयुक्त कदम चालोस् भन्ने पनि राप्रपा नेपालको माग रहेको छ ।

१२) प्रमुख भनिने राजनीतिक दलहरु असफल भएको वर्तमान अवस्थामा देशले बलियो राष्ट्रवादी प्रजातान्त्रिक विकल्प खोजिरहेको छ। यो यथार्थलाई आत्मसात गर्दै तथा मुलुकमा विद्यमान संकट समाधान गर्न समान विचारधारा भएका सबै दल र समुहका बिचमा एकता र सहकार्यको निमित्त सम्मेलन आह्वान गर्दछ ।

१३) सदियौंदेखि शोषण र विभेदको शिकार भएका दलित उत्पिडित समुदायको हित र उत्थानका निम्ति राज्यको सबै निकायमा र खासगरी जनप्रतिनिधित्वको क्षेत्रमा जनसंख्याको अनुपातमा सिट आरक्षण गर्न सम्मेलन माग गर्दछ।

खोज्नुहोस