चार पुस्ताका डाक्टर : शिवदत्त जोशी

द एभरेष्ट पोष्ट
२९ कार्तिक २०८१ ५:२८
चार पुस्ताका डाक्टर : शिवदत्त जोशी

उनी पाँच वर्षका थिए । चौथो ज्वरोले थला परे । बाँच्ने आशा क्षीण  थियो ।  समाप्त भने भईसकेको थिएन । कही न कतै बाँच्ने अलिकति आशा जिवित थियो । मलेरियाको सबैभन्दा कडा रुपलाई त्यतिबेला चौथो ज्वरो भनिन्थ्यो । त्यही चौथो ज्वरोले चार वर्ष थला परे, उभिनै नसक्ने गरी । पिताजीले बैद्य बोलाए । धामीझाक्री बोलाए । भएभरका जडिबुटी खुवाए । झारफुक गरे । तर अह केहीले पनि काम गरेन । समय खराव भएपछि न औषधीले काम गर्छ । न प्रार्थनाले । सायद उनको समय पनि समय खराव चल्दै थियो ।

चार वर्षसम्म थला परेका उनको जीवनमा नौ वर्षको उमेरमा चमत्कार झै भयो । उनी आफै ठिक भए । उनले सोचे, काल नआई कसैगरी मरिदैन । र त बाँचे ।

उनले धेरैलाई बचाउनु थियो । र त भगवानले भने होलान, तिमी मर्नु हुन्न । बाँच्नुपर्छ । भाग्यमा बाँच्नु लेखेर आएका उनलाई कालले पनि केही गर्न सकेन । काल हा¥यो । उनले जिते । बाल्यकालमा मुस्किलले बाँचेका उनले आफ्नो जीवनभरी धेरैलाई मुस्किल अवस्थाबाट बचाए ।

उनले बाजेको उपचार गरे । छोरालाई औषधी दिएर बचाए । नाती र पनाती पुस्ताको उपचार पनि गरे । त्यसैले त उनलाई चार पुस्ताका डाक्टर भन्छन् । उनलाई चार वटै पुस्ताले सम्झिन्छन् । यतिबेला उनी  राम्रोसंग कान सुन्दैनन । हिडडुल पनि गर्न उनलाई कठिनाई हुन्छ । तर उनी जोशी मेडिकलको बिरासत सम्हालिरहेका भाई नारायण जोशीलाई बेलाबेला निर्देशन दिईरहन्छन । बिरामी आउदा के भएको हो भनेर सोध्न पनि भ्याउछन ।  उनी सबैका डाक्टर हुन् । अझ डाक्टरका पनि डाक्टर । उनले उपचार गरेर बचाएकाहरु कति डाक्टर भए होलान । उनले त त्यसको पनि हिसाव गरेनन । बस, उपचार गरिरहे । सबै पुस्ताले सम्झिने उनी हुन्, शिवदत्त जोशी । जतिबेला अस्पताल थिएन । उनले त्यतिबेला उपचार शुरु गरे । जोशी मेडिकललाई एउटा ब्राण्ड बनाए । जोशी डाक्टर उनको उपाधी बन्यो । कैलाली र कञ्चनपुरका जनताका लागि ५० वर्षअघि यही ग्राण्डी थियो । यही नर्भिक । र यही मेदान्ता । सेती अञ्चल अस्पताल नाम मात्रको थियो । उनले आजभन्दा ५४ वर्षअघि वि.स.२०२४ सालमा सरकारी जागीर छोडेर खोलेको जोशी मेडिकल कैलाली र कञ्चनपुरको पहिलो निजी मेडिकल थियो ।

उनी यतिबेला ९३ वर्षका भए । चार वर्षअघिसम्म उनी बिरामी जाँच्थे । कान कम सुन्न थालेपछि उनले बिरामी जाँच्न छाडे । पहिले देखि नै उनलाई साथ दिईरहेका भाई नारायणले उनको त्यो जिम्मेवारी सम्हाले । बिरामी जाँच्न त छोडेपनि उनले मेडिकल जान छाडेका थिएनन । मेडिकल नटेकी उनको दिनको शुरुवात हुदैनथ्यो। बिगत केही समययता उनी बिरामीले थला परेपछि भने मेडिकल जान सकेका छैनन ।

उनी कैलाली कञ्चनपुरका शिक्षा,स्वास्थ्य, राजनीति र यहाँको विकासका साक्षी हुन् । र हुन् उनी राणा शासन,पञ्चायती व्यवस्था, प्रजातन्त्र, गणतन्त्र र हरेक परिवर्तनका साक्षी । उनले राणा शासन देखे । २००७ साल देखे । २०१५ को मुलुकको पहिलो संसदीय निर्वाचनलाई नजिकबाट महशुस गरे । २०३६ को जनमत संग्रह अझै बिर्सिएका छैनन । २०४७ को प्रजातान्त्रिक आन्दोलन उनको आँखामा अझै ताजै छ । त्यसपछि १० वर्षे सशस्त्र संघर्ष, २०६२/६३ को जनआन्दोलन त झन कसरी बिर्सन सक्छन । जसले मुलुकको शासन व्यवस्थालाई नै परिवर्तन गरिदियो । भन्छन्, २००७ सालदेखि आन्दोलन मात्र भए । जनताले सुखशान्ति कहिल्यै पाएन । जनताका दुःख पीडा त उस्तै छन् ।

बैतडीदेखि धनगढीको यात्रा

उनी जन्मिदा देशमा राणा शासनको जगजगी थियो । वि.स.१९८८ साल मंसिर २३ गते बैतडीको शेरामा उनको जन्म भयो । पिताजी महानन्द जोशी पण्डित थिए । पुरेत्याई गर्थे । आमा गंगादेवी जोशी गृहणी । चार दाजु बहिनीमा उनी माईला थिए ।
पाँच वर्षको उमेरमा उनले क ख, अ आ घरमै पढिसकेका थिए । त्यही बेला मलेरियाले थला परे । चार वर्षपछि उनी निको भए । र उनले घर वस्न पाएनन । पिताजीले उनलाई पिथौरागढको स्कुलमा भर्ना गरिदिए । बैतडीमा स्कुल थिएन । पिथौरागढबाट पाँच कक्षासम्म पास भएपछि उनी पढ्न पु¥याईए, ऋषिकेश,हरीद्धार । त्यहाँ मध्यमा र सात कक्षा पढे । उनको एउटै काम थियो, पढ्नु । पढ्नमा मेधावी थिए । उनी पास हुनुको अर्थ थियो, विद्यालय र स्थान परिवर्तन हुनु । सात कक्षा हरिद्धारबाट पास गरेपछि उनी बनारस पुगे । जहाँ उनले १० कक्षा पास गरे । र त्यहीबाट उनले शास्त्री पास गरे । उनले सोचे अव पढाई सकियो ।

शास्त्रीको पढाई पुरा गर्दा उनी २१ वर्षका भईसकेका थिए । उनी २०१० सालमा काठमाण्डौं पुगे । त्यहाँ पुगेको केही समयमा निर्वाचन आयोगमा निर्वाचन अधिकृतको जागीर पाए । सिंह दरवारभित्र रहेको निर्वाचन आयोगमा उनले दुई वर्ष जागीर खाए । निर्वाचनको आयोगको जागीरबाट उनी सन्तुष्ट थिएनन । र उनले थप पढ्ने सोचे । र भारत सरकारले प्रदान गर्ने कोलम्बो प्लानको छात्रबृतिका लागि आवदेन भरे । छात्रबृतिमा उनको नाम निस्कियो । र उनी चार वर्षे आयुर्वेदाचार्य व्याचलर अफ मेडिकल सर्जरी(एएमबीएस) पढाई पुरा गर्न काठमाण्डौंबाट लागे भारतको झाँसी ।

वि.स.२०१६ मा पढाई सकेर कविराज भएर उनी काठमाण्डौं फर्किए । त्यस लगत्तै उनले जागीर पाए । मासिक तलव थियो, दुई सय रुपैया । २०१७ सालमा सरकारले उनलाई धनगढी खटायो । उनी धनगढी आउदा आयुर्वेद औषधालय थिएन । उनले त्यसको स्थापना गरे । र बिरामीको उपचार शुरु गरे । डेढ वर्षपछि उनको सरुवा भयो, गुल्मीको रिडी । रिडीका मान्छेका मिठो र सौहाद्र्ध व्यवहार अहिले पनि बिर्सेका छैनन । त्यतिबेलाका परिचित धेरै बितिसके । कतिपय अझै पनि उनको सम्पर्कमा छन् । उनले चार वर्ष त्यहाँ काम गरे । र त्यहाँबाट सरुवा भएर उनी फिर्ता भए, धनगढी । त्यसपछि जम्माजम्मी एक वर्ष सरकारी जागीर खाए । कोलोम्बो प्लान अन्तर्गत पढेकाले पाँच वर्ष सरकारी जागीर खाएर काम गर्नैपथ्र्यो । उनले पाँच वर्ष काम गरेपछि सरकारी जागीर छोडे । २०२४ सालमा उनले आफ्नै निजी मेडिकल खोले, जोशी मेडिकल ।

त्यही मेडिकलले उनलाई नाम दियो । पहिचान दियो । सम्मान दियो । जतिबेला कसैले डाक्टर देख्न पाउथेनन, त्यतिबेला उनले उपचार शुरु गरेका थिए । उनी कहाँ उपचार गर्न जमिन्दारदेखि गरीवसम्म आउथे । कतिपय जमिन्दार उपचार गरेको पैसा नै दिन्थेनन । गरीवसंग पैसा नै हुन्थेनन । पैसा भएर नदिनेलाई उनी धन्यवाद भन्थे । जोसंग पैसा नै हुन्थेन, उसलाई भैगो, पर्दैन भनेर पठाउथे ।

बालकदेखि बृद्धसम्मको उनले उपचार गर्थे । उपचार गर्दागर्दै ५४ वर्ष बितेको पनि पत्तै भएन । धनगढीमा उनले मेडिकल पसल खोल्दा उनी एक्लै थिए । अहिले धनगढीमा कति मेडिकल पसल छन् । कति निजी अस्पताल गनिसाध्य छैन । तर कतिपयको भरोसा भने अझै पनि जोशी मेडिकलमाथि नै छ । कही उपचार नगरेर सोझै जोशी मेडिकल पुग्नेको अहिले पनि कमि छैन । पैसा कति कमाए थाह छैन, भन्छन्, मेरो पैसा कमाउने उद्देश्य कहिल्यै भएन, मैले कमाएको भनेकै विश्वास हो । त्यही विश्वासको अर्को नाम हो, जोशी मेडिकल ।

१२ वर्षमा बिबाह

१२ वर्षको थिए । आफ्नै जिन्दगीका बारेमा बुझेका थिएनन । बिहा, पत्नी अनि गृहस्थी के चिज हो ? उनलाई थाह थिएन । पिताजीले बिहाको कुरा पक्का गरे । उनको बिहा हुदै थियो तर उनलाई सोधिएन । पिताजीले जे भन्यो चुपचाप मान्नु नै पुत्र धर्म मानिन्थ्यो । उनी दुल्हा भए । नौहाटकी ११ वर्षीया गंगादेवी उनकी दुल्ही थिईन । चुपचाप मण्डपमा बसे । बिहा सम्पन्न भयो । त्यसको केही दिनमै उनी पढ्न पिथौरागढ फर्के । संयोग कस्तो आमाको नाम र उनकी दुल्हीको नाम एउटै थियो ।

विदामा घर फर्किन्थे । तर आफ्नै पत्नीसंग बोल्न लजाउथे । उनी अहिले सम्झिन्छन, बिहा भएको कति समय मेरो उनीसंग बोलचाल नै भएन । समाजका अगाडि त हामी बोल्दै बोल्थेनौ । तर एकान्तमा भेट हुदा भने अलिअलि कुरा हुन्थे । प्रेम र जीवनका बारेमा बुझेका थिएनन । उनको बिहा भईसकेको थियो । २०१२ सालमा उनका छोरा लोकराज जोशीको जन्म भयो । उनी २५ वर्षको हुदा उनका छोराको जन्म भयो ।

उहिलेको धनगढी

राणा शासनमा कैलाली र कञ्चनपुर एउटा गोश्वारा थियो । जिल्ला भईसकेका थिएनन । कैलाली कञ्चनपुर गोश्वाराको सदरमुकाम बेलौरी थियो । त्यही कारण त्यतिबेलाको प्रशासनिक केन्द्र बेलौरी थियो । वि.स.१९९७ मा सदरमुकाम धनगढी सारियो । र धनगढीमा बेलौरीबाट सरकारी कार्यालयहरु पनि सार्नेक्रम त्यही बेला शुरु भयो ।

कैलाली र कञ्चनपुर गोश्वाराको जनसंख्या ५० हजार जति थियो । २०१५ सालको निर्वाचनमा यहाँबाट लोकेन्द्र बहादुर शाहले चुनाव जितको उनको मस्तिष्कमा अझै ताजै छ ।  २०१९ सालमा जिल्ला बिभाजन भयो । कैलाली र कञ्चनपुर अलग भए ।

उनी जतिबेला धनगढी झरे । त्यतिबेलाको धनगढीमा पाँचवटा मात्र घर पक्की थिए । जताततै जंगल थियो । अस्पतालका दुई वटा साना पक्की भवन थिए । गोश्वारा, अञ्चलाधिशको आवास, कारागार, वन बिभागको एउटा घर र माल अड्डा(मालपोत कार्यालय) का गरी जम्मा पाँच वटा पक्की घर थिए । केही फुसका घर थिए । जताततै जंगल । रुख काटेर चार खामा गाड्यो । माथि फुसले छायो । घर तयार भयो । घरको छाना नाम मात्रको हुन्थ्यो । भित्ता हुन्थेन । बिजुली वत्तीको त कसैले कल्पना पनि गर्थेन । मट्टितेल हालेर टुकी बाल्यो । बिजुली पनि होला भन्ने सोचेका पनि थिएनन ।

अहिलेको व्यस्त धनगढीको मुल सडकमा त्यतिबेला दिउसो एक्लो हिड्न डर हुन्थ्यो । अस्पताल नाम मात्रको थियो । जहाँ उपचारका लागि जानु भनेको मर्नु थियो । उपचार गर्न ल्याईएकाहरु पनि अन्तिम अवस्थामा ल्याइएका हुन्थ्यो । अस्पतालमै अधिकांशको मृत्यु हुन्थ्यो । मृत्यु भएपछि गाड्न धेरै टाढा पनि लग्थेनन । जताततै लाश गाडिएका हुन्थे ।

अहिलेका कतिपय वस्ती उहिले चिहानघर थिए । गाँउबाट लडियामा बिरामी आउथे । जमिन्दारहरु हात्तीमा चढ्थे । उनीहरुको सामान लडियामा आउथ्यो । मोहना नदी तर्न हात्ती पर्खिनु पथ्र्यो । हात्तीको तर्ने बेला मोहना पुग्नुपथ्र्यो । जो त्यो बेला पुग्यो, उ हात्तीमा तरेर पारी जान्थ्यो । बर्खामा मोहना नदी तरेर पारी जान सकिदैनथ्यो ।

धनगढी बजार अहिले जस्तो थिएन । सडकको ट्र्याक खोलिसकेको थिएन । बाटोमा जताततै खाल्डाखुल्डी । बर्खामा हिलो । हिउदमा धुलो । जताततै जंगल भएका कारण धनगढीकै एक ठाउबाट अर्को ठाउ जादा डर हुन्थ्यो ।

धनगढीको पुरानो बजार हालको मस्जिद र शिवमन्दिर क्षेत्र हो । मस्जिदको गल्लीमा मुसलमान व्यापारी थिए । र शिवमन्दिरको गल्लीमा हिन्दु व्यापारी । पछि त्यहाँबाट बजार विस्तार हुदै गयो । उनी भन्छन्, अहिलेको चौराहा त त्यतिबेला केही थिएन ।  धनगढीमा मान्छे थिएनन । मान्छे नभएपछि व्यापार हुने कुरै भएन । एक जना भारतीय व्यापारीको सानो पसल थियो, उनी ३० को दशक सम्झना सुनाउछन्, उनले बरेलीबाट चामल, आटा र अरु सामान ल्याउथे । उनले पसल खोले सामान पाईन्थ्यो, नत्र पाईदैन थियो ।

शिव मन्दिरको छेउमा एक लालाको पसल थियो । जो हप्तामा एक दिन लखनउ जान्थे । र त्यहाँबाट ल्याउथे,दुई टोकरी फलफुल र तरकारी । धनगढीमा त्यही एउटा पसल थियो । तरकारी र फलफुल पाउने । तरकारी पनि हप्तामा एक दिन मात्र खान पाईन्थ्यो ।

तरकारी झै दुध पनि दुर्लभ थियो । धनगढीमा एउटा गोरे होटल थियो । डडेल्धुराबाट झरेका गोरेले एउटा भैसी पालेका थिए । दुध दही त्यतिबेला कोही खादैनथे । दुध खाए मलेरिया हुन्छ भन्ने डर थियो । दुध चियाका लागि मात्र प्रयोग हुन्थ्यो । र चियाका लागि दुध किन्नु परे गोरेको घरमा पुग्थे । दुध किन्ने त थपिए । तर गोरेको भैसी थपिएन । पछि धनगढीमा उनकै सिको गरेर अरुहरुले पनि भैसी पाल्न थाले । जसलाई गोरेले नै पहाडबाट धनगढी ल्याएर बसाएका थिए । यसरी धनगढीमा भैसी पाल्ने र दुध बिक्री गर्ने चलनको शुरुवात भयो ।

जुगेडा, फुलवारी पनि घनघोर जंगल थियो । लालझाडी चारकोशे झाडी । धनगढीमा वस्ती बस्न शुरु भयो,२०२४÷२५ सालतिर । २०३६ सालतिर पहाडमा भोकमरी भयो । धमाधाम मान्छेहरु तराई झर्न थाले । पूर्वबाट पनि आए । आसाम र बर्माबाट लखेटिएर नेपालीहरु आए । त्यसपछि जंगल फाड्ने क्रम तिब्र भयो । पुनर्वास गरिएका जनतालाई सरकारले दुई वर्षसम्म पौष्टिक आहार दिएर पाल्यो ।

उहिले पैसाको महत्व 

उनी भन्छन्, समयसंगै मान्छेका आवश्यकता बढेका छन् । उहिले मान्छेसंग साईकल हुन्थेन । रेडियो सिमित व्यक्तिसंग हुन्थ्यो । रेडियोका लागि पनि लाईसेन्स लिनुपथ्र्यो । त्यतिबेला टिभीको त कसैले पनि कल्पना गरेका थिएनन । तर मान्छेले अहिले मोटरसाईकल,कार, हेलिकोप्टर हुदै प्लेन समेत किनि सकेका छन् ।

५० को दशकमा उनले टेलिभिजन किने । महाभारत र रामायण हेर्न उनको घर सिनेमा हलमा झै भीड लाग्थ्यो । किनकी छिमेकी र बजारका मान्छे उनका घरमा महाभारत र रामायण हेर्न ओईरिन्थे । उनले २०२४/२५ सालतिर सुन प्रति तोला डेढ सय थियो ।

उनले घर बनाउदा लागेको खर्च समेत सुनाउन भ्याए, ८० रुपैयामा एक हजार ईटा पाइन्थ्यो । प्रति क्विन्टल सरियाको पनि ८० रुपैया नै मूल्य थियो । र सिमेण्टको प्रति बोराको मूल्य १५ रुपैया थियो ।

उनले २०१८ सालमा १० बिगाहा जग्गा पाँच हजार रुपैयामा किनेको अझै सम्झना छ । अहिले त्यही जग्गाको एक कठ्ठाको लाखौ रुपैया मूल्य पर्ने देख्दा उनी सोच्छन्, समय कति फेरिईसकेको रहेछ । तर उनी भने उस्तै छन्, सरल र सहज ।

जमिन्दारको बोलवाला

कैलालीका बिभिन्न भागमा जमिन्दारको शासन चल्थ्यो । जमिन्दारले जे चाह्यो, त्यो गर्थे । नियम,कानुन, प्रहरी, प्रशासन उनीहरुका अगाडि नाम मात्रका थिए । यद्दपि केही जमिन्दारहरु राम्रा पनि थिए । धनगढीमा डिल्लीराज भण्डारी,श्रीपुरमा चेतराज पन्त,बसौटीमा देशराज महतो, छिमानन्द महतो कहलिएका जमिन्दार थिए । कतिपय जमिन्दारको नाम उनी बिर्सिसके । अधिकांश जमिन्दारसंग हात्ती थिए । उनीहरु कही जानु पर्दा हात्तीमा जान्थे ।

कतिसम्म भने, देशराज महतो र छिमानन्द महतो दुधुवा नेशनल पार्कमा जादा रेल रोकिन्थ्यो । देशराजले उर्दी गर्थे, गार्ड से कहेदेना रेल दो घण्टा लेट चलेगी । यस्ता थुप्रै किस्सा छन्, जमिन्दारहरुका ।  देशराज महतोको चर्चा लखनउसम्म हुन्थ्यो ।धनगढी गाँउमा एक जमिन्दार थिए, हरी प्रधान । उनलाई भण्डारी थरका एक जमिन्दारले जग्गा बेच्न भने । प्रधानले मानेनन । जग्गा बेच्न नमानेका प्रधानको हातमा एकसय २० रुपैया थमाएर भण्डारी थरका जमिन्दारले सबै जग्गा हड्पे । प्रधान चुपचाप कैलाली गाँउ सरे ।

एउटा अर्को प्रसंग उनी अहिले पनि बिर्सेका छैनन, एक जना जमिन्दारले आगो लगाएर आफ्नी पत्नीको हत्या गरे । त्यो घट्ना मिलाउन ती जमिन्दारले त्यतिबेला सेती अञ्चल अस्पतालमा रहेको उप्रेती थरका डाक्टरलाई भने अनुसारको रिपोर्ट बनाउन ४० हजार रुपैया दिने आश्वासन दिए । २० हजार त उनलाई दिए । पछि दिने भनिएको २० हजार भने जमिन्दारले उनलाई दिएनन रे । उल्टै घुस माग्ने भनेर हप्काएछन् । अञ्चलाधिशलाई पनि पैसा दिएर चुप लगाएछन् । बिरोधमा कोही बोलेनन । घट्ना केही समयमै साम्य भयो ।

धनगढी र आसपासका थारु गाँउहरुमा महाजन हुन्थे । हरेक गाँउमा एक महाजन । जो भारतीय मुसलमान थिए । उनीहरु व्यापारका लागि वस्ती-वस्तीमा पसेका थिए । वर्षभरी उनीहरुले जमिन्दार तथा किसानलाई भने जति सामान दिन्थे । र एकै पटक पैसा उठाउथे । पैसा दिन नसक्नेले उनीहरुलाई आफ्नो जमीन दिन्थे । त्यो जमिन अरुलाई बेचेर उनीहरु आफ्नो पैसा असुल गर्थे । ती महाजनहरु भूमि सुधार लागु भएपछि फिर्ता भए ।

अंग्रेजले सुदूरपश्चिमको जोगबुढासम्म रेलको लिक पु¥याएका थिए । यहाँको सालको काठ ओसार्न रेलको लिक बिछ्याईएको थियो । धनगढीमा पनि रेलको लिक थियो । भारतबाट अंग्रेजीहरु लखेटिएपछि यहाँको रेलको लिक हटाईएको थियो ।

२० को दशकसम्म धनगढीमा विद्यालय खुलिसकेका थिएनन । दुई वटा भाषा पाठशाला थिए । एउटा भाषा पाठशाला हालको नैनादेवी मन्दिरको छेउमा थियो । मन्दिर छेउमै रुख थियो । त्यही रुखको मुन्तिर फुसको छानो थियो । विद्यालय भने पनि भाषा पाठशालाको हविगत यस्तो थियो ।

अग्रणी समाजसेवी

उनी बिरामीको उपचार गर्थे । त्यसबाहेक पनि उनको समाजसेवामा बिशेष रुचि थियो । कैलालीमा अधिकांश सामाजिक संघसंस्था उनको अगुवाईमा खुलेका हुन् । नेपाल रेडक्रस सोसाईटी कैलाली शाखा उनकै अगुवाईमा २०२७ सालमा खुल्यो । जसको सभापति उनी २०३७ सम्म रहे ।

२०३७ सालमा कैलाली बहुमुखी क्याम्पस स्थापना भयो । जसको उनी सहकोषाध्यक्ष थिए । र कोषाध्यक्ष थिए, तोलाराम दुगड । दुगड यहाँका ठूला गल्ला व्यापारी थिए । दुगड कोषाध्यक्ष भएपनि कोषाध्यक्षको काम उनले नै गरे । पछि उनी कोषाध्यक्ष भए । र २०६२ सालदेखि २०७० सम्म कैलाली बहुमुखी क्याम्पसको अध्यक्षका रुपमा समेत उनले जिम्मेवारी निर्वाह गरे ।

उनकै नेतृत्वमा २०४२ सालमा अपांग संघ खुल्यो । खेमराज शाही त्यसको पहिलो सभापति रहे । शाही जिल्ला पञ्चायतका सदस्य थिए । सामाजिक संस्थामा पञ्चायती व्यवस्थाका सहयोगी बाहेक अरुले नेतृत्व गर्न पाउथेनन । उनको पृष्ठभूमि पञ्चायती व्यवस्थाको सहयोगी थिएन । तर पछि त्यसको नेतृत्व उनले करीव १० वर्ष (२०५३ साल) सम्म गरे । उनकै नेतृत्वमा कैलालीमा नेत्रज्योती संघको २०५० सालमा स्थापना भएको हो । उनी संघको प्रथम अध्यक्ष हुन् । २०६६ सालमा उनी संघको केन्द्रीय सदस्य समेत भए ।

भारतको काञ्चीकामाकोठी पीठका पीठाधिश जगतगुरु शंकराचार्यले धनगढी स्थापना गर्ने भनिएको मेडिकल कलेजमा पनि उनी सदस्य रहेर काम गरे ।

२०६७ सालमा उनी सेती अञ्चल अस्पतालका अध्यक्ष समेत भए । राई थरका मेडिकल सुपरिटेण्डेटसंग तालमेल नमिलेपछि उनले एक वर्षमै त्यो पद छोडेर बाहिरिए । उनी भन्छन्, मैले पदका लागि कहिल्यै मरिहत्ते गरेन ।

मेरा लागि पद भन्दा काम ठूलो थियो,काम गर्न नपाएपछि वा काम गर्न सक्ने अवस्था नभएपछि मैले पद ओगटेर बसिरहन कही चाहेन, भन्छन्, त्यही कारण मलाई अस्पतालको अध्यक्ष पद छाड्न कुनै समस्या भएन ।

आशावादी व्यक्ति

उनी जहिल्यै आशावादी रहे । जीवनको ९० औ वर्षमा छन् । यो उमेरमा पनि उनी उत्तिकै आशावादी छन् । उनको शब्दमा,‘जन्मेपछि मृत्यु निश्चित छ । र दुःखसुख त एक सिक्काका दुई पाटा हुन् । रातपछि दिन निश्चित रुपमा आउछ । त्यसका लागि कसैले कुनै कोशिस गर्न पर्दैन । तर दुःखमा आत्तिने र  निराश हुने मान्छेको जीवनमा सुख बिरलै आउछ । संघर्ष गर्नेले मात्र सफलता हात पार्छ ।’

सदाचार जीवनका लागि आवश्यक ठान्छन् । स्वस्थ रहन दैनिक एक घण्टा पैदल हिड्न जरुरी ठान्छन । उनका अनुसार  स्वस्थ रहनका लागि सबैभन्दा महत्वपूर्ण खानपिनमा ध्यान दिन जरुरी छ ।

यही कारण होला, ९० वर्षको उमेरमा पनि उनी प्रष्टसंग आँखा देख्छन् । दात दुरुस्तै छन् । केही वर्ष अगाडि एउटा दात निकाल्दा खेपेको कष्ट बाहेक उनले व्यहोरेको स्वास्थ्य समस्या अरु याद छैन ।

मान्छे पैसाका लागि मरिहत्ते गर्छ । त्यो पैसा जो उसको शेषपछि काम लाग्दैन । मर्दा खाली हात जानुपर्ने कुरा मान्छे बिर्सिन्छ । र पैसाका पछि दर्गुछ । पैसाकै पछि दगुरेका कारण डाक्टर वदमास भएको उनको गुनासो छ । डाक्टरी पेशा सेवा हो, भन्छन्, तर कतिपयले यसलाई सेवा होईन, व्यवसाय बनाईदिए ।

उनका दुई नाती र दुई नातिनी छन् । जेठो नाती अमेरिका छन् । अर्को अष्टे«लिया । एक नातिनी धरानमा डाक्टर छन् । र कान्छी नातिनी पनि अष्टे«लिया । छोरा र नातिनातिनीलाई पढाएर हुर्काए । भलै, उनीसंग उनका छोरा बाहेक कोही छैनन । तर नातिनातिनाको प्रगतिमै रमाएका छन् । आफूसंग नभएको चिजलाई लिएर दुखी हुने मान्छे सधैभरी दुखी नै भईरहन्छ । सात वर्ष अघि उनकी पत्नी गंगाको निधन भयो । जीवनको उत्तराद्र्धमा जीवन संगीनीले छोडेर गएपनि उनी अझै गलेका छैनन ।

अहंकार र क्रोध राख्नु हुन्न । एक दिन मर्नु त छदैछ, मर्नुको भयले आतंकित भएर पनि किन बाँच्नु ? यो उमेरमा पनि स्वस्थ भएर बाँच्नुको रहस्य उनले सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस