यस वर्षको गौरा पर्व १५ भदौमा मनाइने

यस वर्षको गौरा पर्व यही भदौ १५ गते मनाइने भएको छ । अठोला पञ्चाङ्गका पञ्चाङ्कार ज्योतिष डिल्लीराज जोशीद्वारा हस्ताक्षरित प्रकाशित विज्ञप्तिमा भदौ १२ देखि सुरु भई १५ गते मुख्य दिनका रुपमा मनाइने जनाइएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘गौरा पर्व पर्वतराज हिमालय पुत्री पार्वतीको कठोर तपस्याले सफलता प्राप्त गरेको सुखद उपलक्ष्यमा वैदिक कालदेखि मनाइँदै आएको हाम्रो मौलिक सांस्कृतिक पर्व हो, गौरा पर्वमा व्रतालु नारीहरूको प्रमुख भूमिका रहेको हुन्छ ।’

विज्ञप्तिमा उल्लेख भए अनुसार भदौ १२ गते भाद्र शुक्लपक्ष पञ्चमी तिथि बिहान ७ः१० बजेसम्म सिंह लग्न र अपरान्ह ३ः५४ बजेसम्म पञ्चमी तिथि रहेको छ तथा यसैदिन बिरुडा (पञ्च अनाज)भिजाउने बिरुडा पञ्चमी पनि रहेको छ । यस्तै भदौ १३ गते बिरुडा धुने षष्ठीतिथि साँझ ५ः५४ बजेसम्म रहेको छ ।

यसै दिनमा बिरुडा धुने र नोला(पानीको धारामा) गोरा पुजिने गरिन्छ । भदौ १४ गते गौरा सप्‍तमी र अमुक्ताभरण सप्तमी साँझ ७ः५७ बजेसम्म रहेको छ । यसैदिन गौरा भित्र्याउने, गौरा र दुबधागो पुजन रहेको छ । भदौ १५ गते दुर्वाष्टमी व्रत, गौरा पर्वको मुख्य दिन अठ्वाली अनुराधा नक्षत्र अपरान्ह ३ः५६ बजेसम्म रहेको जनाइएको छ ।

अठोला पञ्चाङ्गका अनुसार नयाँ सृष्टि, माया–प्रेमाकर्षण, शान्ति, धैर्यता, पारिवारिक मिलन, सामाजिक–सद्भाव, हर्ष र बन्धुत्वको सन्देश बोकेको यो पर्वमा मनस्विनी, शिवशक्ति माँ गौरीको तपलाई अनुसरण गरी महिला पवित्र रही, चार दिनसम्म निराहार व्रत बसी, गौरी– महेश्वरको प्रतिमा बनाई मङ्गलामुखी बाणी (सगुना) र बिरुडाको प्रसादले इच्छित फल प्राप्तिका लागि गौरी–महेश्वरको ध्यानमग्न भई पूजा–आराधना गर्ने गर्दछन् ।

महिलाले यस वर्ष दुबधागो उत्तराभिमुख भई लगाउँदा शुभ रहेको छ । आफ्नो अनुकूलता र चलनअनुसार गोराः सेलाइने (समापन) छ । यसवर्ष गौरा पर्व भाद्र शुक्ल पक्षमा परेको हुँदा नौली गोरिया (नवविवाहिता नारी)ले उज्याली गोराः मा दुबधागो लाउन पाउने हुँदा गौरा पर्व थप उल्लासमय हुनेछ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा पञ्चतन्मात्राज्ञमा माँ गौरीको कृपादृष्टि बनिरहोस् भन्ने कामना गर्दै, अमूल्य निधि र वैभवका रूपमा रहेका हाम्रा धार्मिक र सांस्कृतिक पर्व हरितालिका तीज, गणेश चतुर्थी, ऋषिपञ्चमी र गौरापर्वको सुखद उपलक्ष्यमा व्रतालु महिला दिदीबहिनी, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइको सुस्वास्थ, सुख, शान्ति र समृद्धिको हृदयतः मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।’

महाधिवेशन प्रभावित पार्ने खालका क्रियाकलाप नगर्न लिङ्देनलाई राणाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का महामन्त्री धवलशम्शेर राणाले पार्टीको आगामी महाधिवेशनलाई प्रभावित पार्ने कुनैपनि काम नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री राणाले आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने समय आएकाले त्यसलाई प्रभावित गर्ने कुनैपनि काम नगर्न पार्टी नेतृत्वलाई आग्रह गरे हो ।

महाधिवेशन समयमा निष्पक्ष रूपमा हुनुपर्ने उल्लेख गर्दै राणाले सवै पक्षलाई बाधा अवरोध नपारि सहज रूपमा महाधिवेशन प्रतिनिधि छनोट गर्न दिनुपर्ने बताए ।

राणाले महाधिवेशनको मुखमा एकलौटी रूपमा नेता कार्यकतालाई हटाउने र स्पष्टीकरण माग्ने कार्यले देशभरका राप्रपा कार्यकर्ता चिन्तित रहेको धारणा राखे । उनले पार्टी विधि विधानविपरीत नेतृत्वले एकपक्षीय ढंगले निर्णय गर्दा केहि समस्या देखिएको जिकिर गरे ।

त्यस्तै उनले कुनै हालतमा राप्रपालाई फुट्न नदिने स्पष्ट पार्नुभयो । नेतृत्वका विषयमा केही फरक मत भएपनि पार्टी फुटाएर अघि बढ्ने सोच आफूहरूको नरहेको राणाले प्रष्टीकरण दिए ।

महामन्त्री राणाले अध्यक्ष पार्टीको अभिभावक रहेकाले सबैलाई मिलाएर अघि बढ्न खोजे सबै कुरा मिल्ने तर एकलौटी निर्णय गरे मान्य नहुने चेतावनी दिए । उनले आगामी महाधिवेशनको मिति तोक्न ढिलाइ गर्न नहुनेमा समेत जोड दिए ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अत्यधिक, आइतबार ५० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं– बैंकिङ प्रणालीमा लगानीयोग्य रकम फालाफाल भएको छ । आइतबार (भदौ ८ गते) तरलता व्यवस्थापन गर्नेका लागि नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

केन्द्रीय बैंकले २१ दिनका लागि बोलकबोल माध्यमबाट दिउसो ३ बजेट ५० अर्ब रुपैयाँ खिच्ने भएको हो । ब्याजदर पनि बोलकबोलको माध्यमबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोल गर्दा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान हुनुपर्ने राष्ट्र बैंकले बताएको छ ।

यूएईमा नेपालीको पिडा : कोहीको सडकमा बास,कोही अलपत्र

काठमाडौँ । आकर्षक रोजगारीको प्रलोभनमा परेर संयुक्त अरब इमिरेट्स पुगेर अलपत्र परेका ८ नेपालीको उद्धार गरिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी यूएईको पहलमा ८ जना नेपाली श्रमिकलाई उद्धार गरी नेपाल पठाइएको हो।

एनआरएनएका अनुसार उद्धार गरिएकाहरुमा कृष्णप्रसाद मराइज, लिला बहादुर तामाङ, अमन तामाङ, राजन बस्नेत, सबिन विक, हेमबहादुर सुनार र राज विक रहेका छन्। उनीहरुले सम्झौता अनुसारको सेवा सुविधा नपाएको गुनासो गर्दै एनआरएनए एनसीसी यूएई अध्यक्ष विकास शाहीलाई निवेदन दिएका थिए।

नेपालबाट म्यानपावर मार्फत यूएई पुगेका उनीहरू सुरुमै सम्झौता अनुसारको काम तथा सुविधा नपाएर पछि काम र तलब समेत नपाउने, साथै बस्न र खानसमेत नपाएर सडकमा दिन बिताउन बाध्य भएको यथार्थ बुझिएपछि बुझेपछि एनआरएनले उद्धारका लागि पहल गरेको थियो।

एनआरएनए अध्यक्ष शाही, उपाध्यक्ष तथा राहत उद्धार समिति संयोजक भीम मल्ल ठकुरीको समन्वयमा पिडित भनिएकाहरुको अबस्था र बास्तबिकता बुझि संस्थाले सहयोग गर्ने निर्णय गरेअनुसार उद्धार गरेको एनआरएन यूएईका प्रवक्ता रुद्र थापाले जानकारी दिए। उद्धार अन्तर्गत ४ जनाको हवाई टिकट एनआरएनएले नै व्यवस्था गरेको थियो भने बाँकी ३ जनाको टिकट समाजसेवी सबिन तामाङको सहयोगमा जुटाइएको थियो।

यस्तै, एक वर्षअघि युएई पुगेका झापाका डम्बर बहादुर कार्कीलाई पनि उद्धार गरी एनआरएनएले स्वदेश फर्काएको छ। कार्की चार महिनाअघि कम्पनी बन्द भएपछि मालिक सम्पर्कविहीन भएपछि अलपत्र परेका थिए । बसोबास र खाद्यान्नको समस्या भोगिरहेका उनलाई नेपाल फर्किने टिकटको अभावले थप कठिनाइ भएपछि एनआरएनएमा निवेदन दिएका थिए।

निवेदन अनुसार उनको अवस्थाको जानकारी लिएपछि एनआरएनए सह-कोषाध्यक्ष नवराज ढुङ्गानाज्यूले आफ्नो जन्मदिनको अवसरमा नेपाल फर्किनको लागि आवश्यक हवाई टिकट उपलब्ध गराएका थिए।

त्यसपछि उनलाई पनि नेपाल फर्काईएको प्रवक्ता थापाले बताए। एनआरएनएले पछिल्लो समय दलालको प्रलोभनमा परेर युएई पुगेर अलपत्र तथा भोकभोकै परेका नेपालीहरुको पिडामा मलम लगाउदै आइरहेको छ।

गृहमन्त्री भन्छन्– संविधान असफल भए अकल्पनीय द्वन्द्व सुरु हुन्छ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान असफल बनाउने छुट कसैलाई पनि नभएको बताएका छन् । आइतबार (भदौ ८) काठमाडौमा आयोजित एक कार्यक्रममा उनले वर्तमान संविधान असफल भए देशमा अकल्पनीय द्वन्द्व सुरु हुने बताए ।

संविधान निर्माणका निम्ति २० वर्ष लागेको उनले स्मरण गरे । यो असफल भए अर्को २० वर्षमा पनि संविधान बनाउन नसकिने उनले जिकिर गरे । संविधानको रक्षा, यसको सुदृढीकरण, समयसापेक्ष संशोधन आजको आवश्यकता भएको उनको भनाइ थियो ।

समय र समाजको विकासको गतिअनुसार संविधान पनि परिमार्जन गर्नुपर्ने उनले बताए । समयसापेक्ष संविधान संशोधनका निम्ति वर्तमान सरकार गठनको बेला नेपाली (कांग्रेस) र नेकपा (एमाले)ले सहमति गरेको पनि उनले उल्लेख गरे । सरकार गठनको एक वर्षमा पनि संविधान संशोधनको कार्य सुरु गर्न नसकिएको उनले स्वीकार गरे ।

उपराष्ट्रपति यादव र सुआनबीच वार्ता : एयर कनेक्टिभिटी र पर्यटन प्रवर्द्धन गर्ने सहमति

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र उनका भियतनामी समकक्षी भो थी आन्ह सुआनबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ ।

आइतबार (भदौ ८) बिहान काठमाडौंको होटेल याक एन्ड यतीमा भएको भेटवार्तामा व्यापार, लगानी, जलविद्युत्, पर्यटन र सांस्कृतिक सहकार्यका विषयमा छलफल गरिएको बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

वार्तामा नेपाल–भियतनाम सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारीले बताए । दुवै पक्षबाट मित्रता, सद्भावना र द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरिएको उनले जानकारी दिए ।

भेटवार्तामा उच्च तहमा भ्रमण आदानप्रदान, सांस्कृतिक र धार्मिक सहकार्य, पर्यटन प्रवर्द्धनका निम्ति एयर कनेक्टिभिटी, व्यापार, लगानी र डिजिटल रूपान्तरणका क्षेत्रमा सहयोग बढाउने विषयमा छलफल गरिएको अधिकारीले बताए ।

भियतनामको तीव्र आर्थिक वृद्धि नेपालका निम्ति सिकाइको अवसर भएको उनले उल्लेख गरे । दुवै देशले जलवायु परिवर्तन र वातावरणीय चुनौतीको सामनाका निम्ति सहकार्य गर्ने सहमति पनि भएको उनले जानकारी दिए ।

उपराष्ट्रपति यादवको निमन्त्रणामा शनिबार (भदौ ७) काठमाडौं आइपुगेकी सुआनको यो भ्रमण नेपाल र भियतनाम कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवका अवसरमा भएको हो । भियतनामबाट नेपालको यो पहिलो उच्चस्तरीय भ्रमण समेत हो ।

एसिया कपका लागि राशिदको कप्तानीमा अफगानिस्तानको टोली घोषणा

८ भदौ, काठमाडौं । आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि अफगानिस्तानले १७ सदस्यीय टोली घोषणा गरेको छ। टोलीको नेतृत्व स्टार खेलाडी राशिद खानले गर्नेछन्।

अफगानिस्तानले पहिलो खेल सेप्टेम्बर ९ मा हङकङसँग खेल्नेछ। एसिया कप सुरु हुनु अघि अफगान टोलीले अगस्ट २९ देखि यूएई र पाकिस्तानसँगको टी–२० त्रिकोणात्मक सिरिज खेलेर तयारी गर्नेछ।

यसअघि सन् २०२४ को टी–२० विश्वकपमा न्यूजिल्यान्ड र अष्ट्रेलियाजस्ता टोलीलाई हराउँदै सेमिफाइनलसम्म पुगेको अफगानिस्तान यसपटक पनि बलियो प्रदर्शन गर्ने लक्ष्यमा छ।

राशिद खानसहित मोहम्मद नाबी, करिम जनत र गुलबदिन नैबजस्ता अनुभवी खेलाडी टोलीमा छन् भने रहमानुल्लाह गुरबाज र इब्राहिम जादरानजस्ता युवा ब्याटरले शीर्षक्रम बलियो बनाउने अपेक्षा गरिएको छ।

एसिया कप सेप्टेम्बर ९ देखि यूएईमा सुरु हुँदैछ ।

अफगानिस्तानको टोली: रशिद खान (कप्तान), रहमानुल्लाह गुरबाज, इब्राहिम जादरान, डारविश रसुली, सेडिकुल्लाह अटल, अजमतुल्लाह ओमरजई, करिम जनत, मोहम्मद नाबी, गुलबादिन नैब, शरफुद्दिन अशरफ, मोहम्मद इशाक, मुजीबुर् रहमान, अल्लाह गजनफर, नूर अहमद, फारिद मलिक, नभीन उल हक, फजलहक फारुकी

नेपालको ‘ए’ क्रिकेट टोलीका कान्छा स्पिनर घोषणा

काठ्माण्डौँ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार नेपालको ‘ए’ क्रिकेट टोली घोषणा गर्‍यो। भारतको आसाम स्टेट टोलीसँग पाँच खेलको टी-२० सिरिजका लागि क्यानले पछिल्लो एक वर्षपछि नयाँ ‘ए’ टोली घोषणा गरेको हो। यो टोली यसै साता भारत जाने कार्यक्रम छ।

टोलीमा रहेका सबैभन्दा कान्छा खेलाडी युवराज खत्रीले पहिलो पटक सिनियर खेलाडी सम्मिलित प्रतियोगितामा भाग लिँदैछन्।

१७ वर्षीय स्पिनर युवराजलाई नेपाली क्रिकेटको ‘भविष्य’ को रूपमा लिने गरिन्छ। युवराजले सिनियर टोलीमा पहिलोपटक स्थान बनाए पनि उनले १६ वर्षकै उमेरमा उमेर समूहका प्रतियोगितामा भने उत्कृष्ट खेल्दै सबैको ध्यान खिचेका थिए।

उनले सुदूरपश्चिमको यू-१९ टोली हुँदै नेपालको यू-१९ राष्ट्रिय टोलीबाट विश्वकप छनोट खेलिसकेका छन्।

यो सिजन उनले नेपाल प्रिमियर लिग (एनपिएल) पनि खेल्दैछन्। सानै उमेरमा उनलाई भित्र्याउन ५ वटा एनपिएल टोलीले बोली लगाएका थिए।

उनी यो सिजनको अक्सनका लागि ‘बी’ श्रेणीमा थिए।

नेपालको यू-१९ टोलीबाट एसिया कप र विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी सबै टोलीको नजरमा थिए।

यस्तै सिनियर टोलीका प्रशिक्षक स्टुअर्ट लको आँखामा परेका स्पिनर हुन्, युवराज।

पछिल्ला दुईवटा बन्द प्रशिक्षणमा लले उनलाई स्थान दिइसकेका छन्। अन्तिम टोलीमा नपरेका उनलाई अहिले नेपालको ‘ए’ टोलीमा स्थान दिइएको हो।

अछाम जिल्लाको चौरपाटीका युवराज सानै उमेरमा क्रिकेटप्रति मोहित थिए। घरैमा हातले बनाएको ब्याट र मोजाको बलले क्रिकेटको यात्रा सुरू गरेका युवराजलाई उनका दाइ जीवनले ८ वर्षको उमेरमा क्रिकेट सिकाउन काठमाडौं ल्याएका थिए।

काठमाडौंको एन्जल हार्ट्स एकेडेमीमा भर्ना भएर पढाइ र क्रिकेट सँगै अघि बढाएपछि उनको क्रिकेट करिअरले पनि गति लिन थालेको हो। सुरुमा काठमाडौं जिल्लाबाट क्रिकेट घरेलु खेलेका उनले पछि सुदूरपश्चिम प्रदेशबाट घरेलु उमेर समूहका क्रिकेट खेले।

त्यसपछि नेपालको उमेर समूहको टोलीमा परेका युवराजले गत वर्ष मुलपानीमा भएको यू-१९ विश्वकपमा छनोटमा उत्कृष्ट खेल देखाए। त्यतिबेला नेपाली यू-१९ टोलीका प्रशिक्षक शक्ति गौचनले युवराजलाई नेपाली टोलीको ‘ट्रम्प कार्ड’ भनेका थिए।

उमेर समूहबाट सिनियर टोलीको बन्द प्रशिक्षणसम्मको यात्रा गरेका युवराजलाई एनपिएलले थप एक्सपोजर दिने  विश्वास गरिएको छ।

उनलाई भित्र्याउन सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, विराटनगर र चितवनले बोली लगाएका थिए। लक्की ‘ड्र’ मार्फत् युवराज कर्णालीमा १० लाख रूपैयाँमा आबद्ध भए।

एनपिएलअघि नेपालको ‘ए’ टोलीबाट भारत भ्रमण गर्दा उनलाई थप अनुभवी हुने मौका मिल्नेछ।

नाडा अटो शो २०२५: पाँच दिनमै १ लाख ४९ हजारले गरे अवलोकन

काठमाडौं : ‘नाडा अटो शो’ ले यस वर्ष ऐतिहासिक उपलब्धि हासिल गरेको छ। पाँच दिनमा १ लाख ४९ हजार ८ सय ८१ जनाले शो अवलोकन गरेका छन्। जसले आम जनताको नवप्रविधि र अटोमोबाइलप्रति चासो र उत्साह प्रष्ट गरेको छ।

शोको पाँचौं दिन नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख नवराज अधिकारी, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, तातोपानी भन्सार कार्यालय प्रमुख राजेन्द्रप्रसाद चुडाल, सिजी होल्डिङ्सका अध्यक्ष अरुणकुमार चौधरी र कलाकार सन्दीप क्षेत्रीले प्रदर्शनी अवलोकन गरेका थिए।

त्यसै दिन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यतामा सडक र यातायातसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। साथै नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको प्रमुख आतिथ्यतामा ‘मेड इन नेपाल’ विषयमा पनि अन्तरक्रिया कार्यक्रम भएको थियो।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्षले भने, ‘यस उपलब्धिले हाम्रो अपेक्षामा वृद्धि गरेको छ र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य-उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउने हाम्रो आत्मविश्वास थप मजबुत भएको छ।’

राष्ट्रपतिसँग विपिन जोशीका परिवारको भेट

काठमाडौँ। राष्ट्रपति पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन । इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले इजरायल पुगेर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका थिए ।

विपिनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको र यो विषय अन्तर्राष्ट्रिय स्तरमा पुगेको बताए । उनीहरुले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि आग्रह गरे ।

आमा पद्माले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गरे । सो अवसरमा राष्ट्रपति पौडेलले विपिनको रिहाइका आफूले थप प्रयास गर्ने बताएका थिए।

अमेरिकी धुनमा गुञ्जिए नेपाली कवि

पत्रकार नारायण श्रेष्ठले माइक टेस्ट गर्दा दर्शकले ठानेका थिए,- यिनी कार्यक्रम संचालक रहेछन् । नवोदित कवि नदीश त अझै खुसी भए परिचित सञ्चारकर्मीले आफूलाई मञ्चमा आमन्त्रण गर्ने भए भनेर ।

तर, त्यहाँ श्रेष्ठ कवि अवतारमा प्रस्तुत हुन अमेरिकी संगीत संयोजकको ईशारामा अभ्यास गर्दै थिए । दुई दशकअघि नै कविको छवि बनाएका उनले लामो अन्तरालमा कविता वाचन गरे ।

अमेरिकाको न्युयोर्कस्थित बफेलो शहरमा शनिबार साँझ आयोजित कार्यक्रममा श्रेष्ठले पाँचवटा कविता सुनाएर संगीतमय साँझ बनाए । जीसीआर स्टुडियोमा नारायणसँगै नदीशले पनि आफ्ना पाँचवटा कविता वाचन गरे ।

नारायणले नेपालमा पत्रकारिता गर्दाताका कोरेका तत्कालीन राजनीतिक अवस्थासम्बन्धी चार कविता वाचन गरे । उनको पाँचौँ कविताले कोरोना महामारीको त्रासद्धपूर्ण चित्रण उतारेको थियो ।

यस्तै कवि नदीशले प्रकृति र अमेरिकन जीव  दर्शाउने कविता वाचन गरे ।

दुवै कविका कवितामा डा. जेन मेरिटले संगीत संयोजन गरेका हुन् । संगीतमा मेरिटसँगै एन्ड्रयु, जेसिका र प्रज्वल लामाले संगीतमा साथ दिए । लामाले पियानो, जेसिकाले भायोलिन, एन्ड्रयूले चेलो र जेन आफैँले गितार बजाएर संगीतमय साँझ बनाए ।

आयोजक कोकोमेन्दो अन्सेम्बलका लामिन तामाङले संगीत र कविता एकसाथ प्रस्तुत हुने यस्तो कार्यक्रम बिरलै हुने हुनाले आफूले यसमो चासो लिएको बताए । उनले दुई वर्षदेखिको यो सपना पूरा भएको सुनाए ।

सुदूरपश्चिममा घोडाघोडी नगरपालिका उत्कृष्ट, मेलौली सबैभन्दा कमजोर

कैलाली। स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजामा सुदूरपश्चिमतर्फ कैलालीको घोडाघोडी नगरपालिका पहिलो बनेको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा स्थानीय तहहरूको गुणस्तर र कार्यसम्पादनको परीक्षणपछि सार्वजनिक गरेको नतिजाअनुसार घोडाघोडी नगरपालिकाले ८५.५० अंक प्राप्त गर्दै प्रदेशमै उत्कृष्ट स्थान हासिल गरेको हो।

कैलालीको घोडाघोडी पहिलो स्थानमा आउँदा बैतडीको मेलौली नगरपालिका भने पुछारमा परेको छ। मेलौलीले जम्मा ३१.२५ अंक मात्र प्राप्त गरेको छ।

यसैगरी, बाजुराको बुढीगंगा नगरपालिका ८४.२५ अंकसहित दोस्रो स्थानमा आएको छ भने कञ्चनपुरको बेदकोट नगरपालिका ८३.२५ अंक पाउँदै तेस्रो स्थानमा देखिएको छ। डडेल्धुराको अजयमेरु गाउँपालिका ८३.२५ अंकसहित चौथो र डोटीको जोरायल गाउँपालिका ८२.२५ अंकसहित पाँचौँ स्थानमा रहेका छन्।

मन्त्रालयका अनुसार मूल्याङ्कन शासकीय प्रबन्ध, वित्तीय व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन र भौतिक पूर्वाधारलगायत १० वटा मुख्य सूचकका आधारमा गरिएको हो। यस मूल्याङ्कनको उद्देश्य स्थानीय तहहरूको कामको समीक्षा गर्ने, सुधारका क्षेत्र पहिचान गर्ने र आपसी स्वस्थ प्रतिस्पर्धा बढाउने रहेको मन्त्रालयले जनाएको छ।

जिल्लागत अवस्था

कैलाली — घोडाघोडी नगरपालिका (८५.५०) पहिलो, मोहन्याल गाउँपालिका (५५.५०) अन्तिम।

कञ्चनपुर — बेदकोट नगरपालिका (८३.२५) पहिलो, दोधारा चाँदनी नगरपालिका (७१.५०) अन्तिम।

बाजुरा — बुढीगंगा नगरपालिका (८४.२५) पहिलो, बुढीनन्दा नगरपालिका (६१.७५) अन्तिम।

बैतडी — पुर्चौंडी नगरपालिका (७७.२५) पहिलो, मेलौली नगरपालिका (३१.२५) अन्तिम।

अछाम — पंचदेवल विनायक नगरपालिका (७७.५०) पहिलो, ढकारी गाउँपालिका (४३.७५) अन्तिम।

डडेल्धुरा — अजयमेरु गाउँपालिका (८३.२५) पहिलो, नवदुर्गा गाउँपालिका (७३.२५) अन्तिम।

डोटी — जोरायल गाउँपालिका (८२.२५) पहिलो, पूर्विचौकी गाउँपालिका (५८.७५) अन्तिम।

दार्चुला — शैल्यशिखर नगरपालिका (८१) पहिलो, लेकम गाउँपालिका (६१.७५) अन्तिम।

बझाङ — केदारस्युँ गाउँपालिका (७९.७५) पहिलो, सुर्मा गाउँपालिका (६२) अन्तिम।

सुटकेसभित्र मृत भेटिएकी महिलाको घर भारत, रौतहटमा डेरा

रौतहट : रौतहटमा सुटकेसभित्र मृत फेला परेकी महिलाको पहिचान खुलेको छ। उनको घर भारतको मुजफ्फरपुर भएको रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक राजु कार्कीले जानकारी दिए । उनका अनुसार मृतक महिला ३५ वर्षीया रुवीकुमारी साह भएको र उनको माइत रौतहटको माधव नारायण नगरपालिका–२ महादेवपट्टी रहेको छ।

प्रवक्ता कार्कीका अनुसार मृतकका आफन्तले शवको सनाखत गरेका छन् भने मृतक महिलाको एक छोरा रहेको खुलेको छ। मृतक रुवी एक महिनादेखि माधवपट्टीमा डेरा गरी बस्दै आएकी थिइन् ।

उनको हत्या गरेर शव सुटकेसमा राखेर फालेको हुन सक्ने प्रहरीको आशंका छ। प्रहरीले सुटकेस खोलेर हेर्दा त्यसभित्र सल र डोरीले घाँटी बेरिएको अवस्थामा रुबीको शव फेला परेको प्रवक्ता कार्कीले बताए।

भियतनामकी उपराष्ट्रपति सुआन र समकक्षी यादवबीच भेटवार्ता

८ भदौ, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ ।

शनिबार काठमाडौं आएकी सुआनले आज बिहान उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेकी हुन् ।

नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुआनलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए ।

उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सो भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शनिबार नेपाल आएकै दिन उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेकी थिइन् । मन्त्री राणाले भियतनामबाट पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान गर्न प्रस्ताव राखेकी थिइन् । यसो हुनसके भियतनामबाट नेपाल भित्रिने पर्यटकहरुको संख्या बढाउन सकिने नेपालको विश्वास छ ।

उपराष्ट्रपति सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने र पाटन दरबार स्क्वायर, स्वयंभूनाथ स्तूप लगायतका स्थान भ्रमण गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि उनी स्वदेश फर्किनेछिन् ।

यो नेपालमा भियतनामका तर्फबाट पहिलो उच्चस्तरीय भ्रमण हो ।

भियतनामकी उपराष्ट्रपति सुआनले आज उच्चस्तरीय भेटवार्ता गर्ने

 नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनले आज पनि उच्चस्तरीय भेटवार्ता गर्दैछिन् ।

उनले आज उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सो भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनी नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औ वार्षिकोत्सव समारोहमा पनि सहभागी हुने कार्यक्रम छ ।

उपराष्ट्रपति यादवको औपचारिक निमन्त्रणामा उनी शनिबार नेपाल भ्रमणमा आएकी थिइन् । भियतनामबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

शनिबार नेपाल आएकै दिन उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेकी थिइन् ।

मन्त्री राणाले भियतनामबाट पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान गर्न प्रस्ताव राखेकी थिइन् । यसो हुनसके भियतनामबाट नेपाल भित्रिने पर्यटकहरुको संख्या बढाउन सकिने नेपालको विश्वास छ ।

परराष्ट्र मन्त्री राणाले राखेको यो प्रस्तावमा आज उपराष्ट्रपति यादव र प्रधानमन्त्री ओलीसँगको भेटमा विस्तृत छलफल हुने बताइएको छ ।

उपराष्ट्रपति सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने र पाटन दरबार स्क्वायर, स्वयंभूनाथ स्तूप लगायतका स्थान भ्रमण गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि उनी स्वदेश फर्किनेछिन् ।

‘नाडा अटो सो २०२५’ आज सकिँदै

काठमाडौँ- नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडाको आयोजनामा भइरहेको ‘नाडा अटो सो २०२५’ आइतबार सकिँदैछ। काठमाडौँको भृकुटीमण्डपमा भदौ ३ गते सुरु १७ औं संस्करणको शो आज सकिन लागेको हो ।

सोेमा उन्नत प्रविधि, स्मार्ट मोबिलिटी र दिगोपनलाई जोड दिइएको छ। शोमा उड्ने कारदेखि अत्याधुनिक स्वचालित चारपांग्रे रोबोट ‘युनिट्री रोबोट्स’ कासाथै विभिन्न ब्राण्डका गाडी प्रदर्शनीमा राखिएका छन्। अवलकोनकर्ताको रोजाइमा उड्ने कार रहेको आयोजको भनाइ छ।

शनिबारसम्ममा १ लाख ४९ हजारले अवलोकन गरिसकेको अटोमोबाइल्स एसोसियसनले जनाएको छ । यस वर्षको शो’मा १९ वटा चारपांग्रे ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी ब्राण्ड, ४ वटा दुईपांग्रे सवारी ब्राण्ड, तथा ३५ अन्य कम्पनी (टायर, ल्युब्रिकेन्ट, उपकरण, वित्तीय संस्था आदि) गरी १२५ भन्दा बढी प्रदर्शकहरू सहभागी छन्।

समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक : कुलमान घिसिङ

 स्पेन । युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले  समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोष्टाव्लाङ्का र नेपाल समाज एसोसिएसन कोष्टाव्लाङ्काद्वारा  संयुक्त रूपमा आयोजित भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै  घिसिङले नेपालको समग्र रूपान्तरणका लागि  सही राजनीतिक नेतृत्व आवश्यक रहेको बताए।

“मुलुकमा छिटो भन्दा छिटो आर्थिक परिवर्तन गर्न र बिदेसिएका नेपालीलाई नेपाल फर्काउन पनि  नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक छ,” उनले भने अहिले देशभरि झन्डै हरेक नेपालीको घरमा बत्तीको उज्यालो पुगेको छ। तर  बत्तीको उज्यालोले मात्रै पुग्दैन,  देशको  हरेक क्षेत्रमा उज्यालो हुनुपर्‍यो भनेर उज्यालो नेपाल अभियान सुरु गरेको उनले बताए। “म प्राधिकरणमा आउँदा हाम्रो कुल विद्युत् उत्पादन ८०० मेगावाट थियो , अहिले झन्डै ४ हजार मेगावाट पुग्न लागेको छ।  पाँच गुना बढी उत्पादन भई रहेको छ।  अरू हजारौँ मेगावाटका आयोजनाहरू निर्माणाधीन  छन्। अहिले रु २५ अरब वार्षिक महसुल उठाई रहेका छौँ।  प्राधिकरणलाई आर्थिक रूपमा सबल बनायौँ।  आम जनताको सहयोग नभएको भए यो सम्भव हुने थिए,” घिसिङले भने।

“अहिले मुलुकका हरेक क्षेत्रमा अँध्यारो छन्।  अँध्यारो हटाएर,  आशा जगाउन, हरेक नेपालीको अनुहारमा उज्यालो छर्नु पर्छ भन्ने सङ्कल्पका साथ अगाडी बढेको  छु।  म खाडी मुलुकहरू, अमेरिका,   युके, बेल्जियम, द नेदरल्याण्डस, माल्टा हुँदै स्पेन आइपुगेको छु। यो भ्रमणबाट मैले धेरै  बुझ्ने सिक्ने मौका पाएँ,” उनले भने।

आफ्नो भेटघाटमा प्रवासमा रहेका सबै नेपालीले  छिटो भन्दा छिटो नेपालको समृद्धि कसरी हुन् सक्छ ? हामीले के गर्न सक्छौँ ? नेपालमा लगानीको वातावरण कसरी राम्रो बन्छ ? भनेर चासो र चिन्ता व्यक्त गरेको उनले बताए । “प्रवासमा  साथीहरूले धेरै राम्रो व्यवसाय, काम गरिरहनु भएको छ। यो नेपालको लागि ठुलो सम्पत्ति हो।  ५० लाख नेपालीले विदेशमा बसेर अनुभव हासिल गर्नु भएको छ, विज्ञता हासिल गर्नु भएको छ। यो सबै विज्ञता नेपालको विकास र रूपान्तरणमा जोड्नु पर्छ,” उनले भने।

उनले छिट्टै आवश्यक कानुन ल्याएर गैर आवासीय नेपाली (एनआरएन) नागरिकताको पूर्ण कार्यान्वयन गर्नु पर्ने पनि बताए।  उज्यालो नेपाल बनाउने अभियानमा जोडिन उनले सबैलाई आग्रह पनि गरे।

कार्यक्रमको अध्यक्षता गरिरहेका  नेपाल समाज एसोसिएसन कोष्टाव्लाङ्काका अध्यक्ष  केशर बहादुर थापाले राष्ट्रको सेवामा लागेका कुलमान घिसिङजस्तो व्यक्तित्वको कुरा सुन्न पाउँदा निकै खुसी लागेको बताए।  उनले प्रवासमा बसे पनि आफूहरू मातृभूमिको सुख दुखमा सधैँ हातेमालो गर्दै आएको बताए। सन् २०१५ मा महाभूकम्पमा रकम सङ्कलन गरेर नेपाल पठाएको स्मरण गर्दै अध्यक्ष थापाले उज्यालो नेपाल अभियानको सफलताको कामना गरे।

कार्यक्रममा  एनआरएनए  कोष्टाव्लाङ्काका  अध्यक्ष   विपिन कुमार बिसी लगायतले मन्तव्य व्यक्त गरेका थिए।   उक्त अवसरमा घिसिङलाई कदर पत्र सहित सम्मान पनि गरिएको थियो। कलाकार सरोज लामिछानेले  साङ्गीतिक प्रस्तुति गरेका थिए।  विभिन्न संघ संस्थाले कार्यक्रमको सफलताको कामना गर्दै सन्देश  पठाएको कार्यक्रम संयोजक असीम लोप्चन तामाङले बताए।

धेरैले बिर्सिएको हुलाक, हुलाकले नबिर्सिएको धर्म

धनगढी, ७ भदौ ।,
एक समय थियो, गाउँमा हल्कारा अर्थात ‘हुलाकी दाई’ को उपस्थितिले सबैको ध्यान आकर्षित हुन्थ्यो । ‘हुलाकी दाई’ ले परदेशिएका पति/पिता/छोरा को सन्देश लिएर आउँथे । ‘हुलाकी दाई’ ले चिठी छोडेर गएपछि पढ्ने व्यक्तिको खोजी शुरु हुन्थ्यो । चिठी पढ्न सक्ने मान्छेको बेग्लै रवाफ हुन्थ्यो । उनले चिठी पढिरहदा, छेउमा बसेर सबैले सुन्थे । खुशीको खवर भए, गाउँमा उत्साह छाउथ्यो । दुःखको खवर भए गाउँ नै शोकमा डुब्थ्यो ।

बिशुँ र दशैंमा परदेशबाट घर आउन नपाएको प्रियजनको हालचाल त्यही चिठी सुनेर परिवारजनले थाह पाउँथे । र, ढुक्क हुन्थे ।

त्यो समय ‘हुलाकी दाई’ को बाटो कुरेर बस्थे, मान्छेहरु । सूचनाको भरपर्दो एउटै माध्यम थियो, हुलाक । पत्र ल्याएर आउने हल्कारालाई सबैले ‘हुलाकी दाई’ भन्थे ।

७८ वर्षीय रंगलाल उपाध्याय आज पनि हुलाकको सम्झनामा भावुक हुन्छन् ।

‘दाजुहरुले भारतबाट चिठी पठाउँथे । धनगढी हुदै सिलगढी र त्यहाँबाट सायल चिठी पुग्न दुई महिना लाग्थ्यो । चिठीले घर आँगन उज्यालो हुन्थ्यो,’ उपाध्यायले हुलाक र चिठीको मिठो स्मृति सुनाए ।

२०३४ सालमा आमाको निधन भएको खबर उनले आकाशवाणीबाट सुने । ‘त्यो खबर सुनेर पाँच दिन हिंडेर डोटी पुगेको थिएँ,’ उनी सम्झिन्छन् ।

त्यो समय खवर आदान प्रदान गर्ने हुलाक बाहेक अर्को माध्यम पनि थिएन । चिठीका लागि मान्छेहरु ‘हुलाकी दाई’ को बाटो कुरी बस्थे ।

सूचना प्रविधिको विकासले खवर आदानप्रदान गर्ने माध्यम बद्लियो । हुलाक माथिको निर्भरता घट्दै गयो । मान्छेहरुले ‘हुलाकी दाई’ को बाटो कुर्न छोडे ।

सामाजिक सञ्जालसंगै हुर्किएको ‘जेन जी’ पुस्ताले चिठीको युग अनुभव गर्न पाएन् । यो पुस्ता ग्याजेट र एन्ड्रोईड मोवाईलसंगै हुर्कियो । चिठी पठाउने उमेर नहुदै यो पुस्ता मेसेञ्जर र ह्याट्स एपमा  सन्देश आदान प्रदानमा व्यस्त हुन थाल्यो । योसंगै हुलाकबाट व्यक्तिगत चिठी पठाउने घटे ।

‘पूज्यनीय पिता साष्टाङ्ग दण्डवत ढोग छ’, यसरी शुरु हुने चिठीको ढाँचामा अहिलेको पुस्ताले न त आफूभन्दा टाढा रहेका बुवालाई पत्र लेखेको छ । न त उसलाई हुलाकको त्यो युगको स्मरण छ ।

हुलाक निर्देशनालय कैलालीका निर्देशक गोविन्द प्रसाद पाण्डेयका भनाईमा ‘व्यक्तिगत चिठी घटेको भए पनि हुलाकको काम झन् बढेको छ ।’ भन्छन्, ‘सरकारका पत्र, बैंक तथा वित्तीय संस्थाका कागजात, अदालतका नोटिस, पार्सल, विज्ञापन वितरण जस्ता जिम्मेवारी थपिएका छन् ।’

पाण्डेयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा हुलाक मार्फत कैलालीमा ६५,९५८ वस्तु आदान प्रदान भए । जसबाट ६६ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भयो ।

सुदूरपश्चिममा दैनिक १,५०० चिठी आदान प्रदान हुने गरेको हुलाकको तथ्यांकले देखाउछ । धनगढीस्थित हुलाक निर्देशनालयबाट दैनिक सबैभन्दा बढि ४०० चिठी पठाउने गरिएको छ ।

नेपालमा हुलाकको ईतिहास

नेपालमा हुलाक सेवा वि.सं. १९३५ मा ‘नेपाल हुलाक घर’को नामबाट सुरु भएको हो । सन् १९५६ मा नेपालले विश्व हुलाक सङ्घको सदस्यता लिएपछि अन्तर्राष्ट्रिय स्तरमा हुलाक सेवा थप व्यवस्थित बन्यो । सन १८७४ मा स्थापना भएको यो सङ्घ संयुक्त राष्ट्र सङ्घको विशेषीकृत निकाय हो ।

‘अतिरिक्त हुलाक नियमावली’ आइसकेपछि ५८ वर्षे उमेर हदबन्दीका कारण उमेर पुगेका कर्मचारीको अनिवार्य अवकाशसंगै अतिरिक्त हुलाकहरू पनि खारेज भए । त्यो संगै हुलाक संगठनको पुनर्संरचना भयो । ‘अतिरिक्त हुलाक नियमावली’ आउनुपूर्व हुलाक सेवा विभागको देशभर १७ हजार दरबन्दी थियो । त्यसमध्ये सात हजार निजामती र झन्डै १० हजार भन्दा बढी अतिरिक्त हुलाक तर्फका कर्मचारी  थिए ।

हुलाक सेवा विभागका निर्देशक एवम सूचना अधिकारी ध्रुवराज आचार्यका अनुसार आर्थिक वर्ष २०८०/८१ मा तीन हजार ७४ अतिरिक्त हुलाक, ८४२ इलाका हुलाक, ७० जिल्ला हुलाक, चार हुलाक निर्देशनालय र एउटा गोश्वारा हुलाक गरी झन्डै चार हजार कार्यालय थिए ।

हाल ६ निर्देशनालय, ७० जिल्ला हुलाक एक गोश्वारा गरी ७७ हुलाक कार्यालय छन् । देशैभर ७७ जिल्ला हुलाक र हुलाक निर्देशनालयका साथै ६७६ स्थानीय हुलाक कार्यालय गरी पुनर्संरचनापछि ७५३ हुलाक कार्यालय छन् । जसमा साढे ४६ सयको हाराहारीमा कर्मचारी दरवन्दी छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेटले सरकारले जिल्ला, इलाका र अतिरिक्त हुलाक कार्यालयहरु खारेज गर्ने र प्रत्येक स्थानीय तहमा हुलाक कार्यालय स्थापना गर्ने घोषणा गरेको थियो । यही घोषणा अनुसार जिल्ला र इलाका हुलाक कार्यालय सहित हुलाक निर्देशनालयहरुको पुनर्संरचना गर्दै स्थायी दरबन्दीको पुनरावलोकन गरेको थियो ।

सूचना प्रविधिको युग शुरु हुदै थियो । त्यहीबीच २०५५ सालपछि निजी क्षेत्रले कुरियर सेवा चलाउने अनुमति पायो । हुलाकभन्दा शुल्क धेरै लिए पनि छरितो र विश्वसनीय सेवाका कारण निजी कुरियर तर्फ आकर्षण बढ्न थाल्यो । एकातिर व्यक्तिगत चिठीहरु आदान प्रदान हुन छाडे । अर्कोतिर निजी संस्थाहरुले आफ्ना कागजात पठाउन कुरियर रोज्न थाले ।

उनीहरूले छिटो, सुरक्षित, ट्रयाकिङ सुविधा, होम डेलिभरी र ‘क्यास अन डेलिभरी’ सेवा दिन थालेपछि हुलाकलाई पनि आफ्ना सेवाहरु समयानुकूल र छरितो बनाउन दवाव बढ्दै गयो ।

सरकारी पत्रको हकमा भने स्थापनाकालदेखि एकाधिकार कायम राखेको हुलाकले आफ्ना सेवा र सुविधालाई प्रबिधि मैत्री बनाएपछि निजी क्षेत्रको विश्वास समेत जित्न सफल भएको निर्देशक पाण्डेयको दावी छ ।

उनको भनाईमा, व्यक्तिगत चिठी–पत्र तथा सरकारी कागजातहरु पठाउने विश्वसनीय माध्यम अहिले पनि हुलाक नै हो ।

‘हामी सरकारी निकाय हौं । हामीबाट सेवाग्राहीलाई कुनै जोखिम हुँदैन, पाण्डेय भन्छन्, ‘हामी कहाँ सेवाग्राहीले पठाएको सामग्री कहाँ छ भन्ने पिआइटीएसबाट सेवाग्राहीले समेत हेर्न सकिन्छ ।’

यद्दपि हुलाकका लागि निजी कुरियरहरु प्रतिस्पर्धीका रुपमा स्थापित हुदै जादा चुनौती थपिएको स्वीकार्छन् ।

तर नेपाल कुरियर सेवासंघका केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेश अध्यक्ष नवराज भट्ट हुलाकलाई आफ्नो प्रतिस्पर्धी ठान्दैनन् । हुलाकलाई हामीले प्रतिस्पर्धी मान्दैनौं, भन्छन्, सहकार्य गर्ने ठाउँमा सहकार्य गर्छौं । हामीले हुलाकमाथिको सेवाग्राहीको निर्भरता र दवावलाई कम गरेका छौ ।

हुलाकले नविर्सिएको कर्म 

कुनै बेला व्यक्तिगत चिठी पत्र पठाउन हुलाकमा सेवाग्राहीको घुईचो लाग्थ्यो । सूचना प्रविधिको विकाससंगै आममान्छे सामाजिक सञ्जाल प्रयोग गर्न थालेपछि हुलाकबाट व्यक्तिगत चिठी पत्र  पठाउने काम न्यून भयो । बिगतमा सामान्य र रजिष्ट्री गरी दुई किसिमको सुविधा हुलाकले प्रदान गर्दै आएको थियो । सामान्य पत्र एक रुपैयाको टिकट लाग्थ्यो । रजिष्ट्री पत्रमा १० रुपैयाको टिकट टाँसिन्थ्यो । पत्रको गोपनीयता र गम्भीरताका आधारमा सेवाग्राहीहरु रजिष्ट्री पत्रको सुविधा प्रयोग गर्थे ।

तर सूचना प्रविधिको विकासपछि सेवाग्राहीले हुलाकलाई विर्सिए । हुलाकलाई पुराना सेवाग्राहीले विर्सिएपनि सेवा, सुविधामा बिबिधता थपेपछि नयाँ सेवाग्राहीको संख्या थपिएको हुलाक निर्देशनालय कैलालीका हुलाक निर्देशक गोविन्द प्रसाद पाण्डेय बताउछन् । उनी भन्छन्, हुलाकले आफ्नो न धर्म बिर्सिएको छ । न कर्म ।

हुलाकमा व्यक्तिगत पत्रको संख्या घटेपनि अन्य सुविधा प्रयोगकर्ताको संख्या भने बृद्धि भएको पाण्डेय बताउछन् ।

पाण्डेयका अनुसार हाल हुलाक मार्फत सरकारी कागजपत्र, बैंक तथा वित्तिय संस्था र अदालतका पत्रहरु बढि आउने गर्छन । ‘व्यक्तिगत पत्रले हुलाकको २० प्रतिसत काम घटाएकै हो । तर त्यो भन्दा बढी ३० प्रतिशत काम हुलाकमा थपिएको छ,’ निर्देशक पाण्डेयले भने ।

पहिले चिठीपत्र आदान प्रदान गर्ने हुलाक हाल चिठीपत्र संगै सामान पार्सल, टिकट व्यवस्थापन, सञ्चारगृह तथा सञ्चारकर्मीसंग सम्बन्धित काम पनि गर्ने गर्छ । सरकारले सञ्चारमाध्यम लाई दिने लोककल्याणकारी विज्ञापन वितरणको जिम्मा पनि हुलाकलाई नै दिएको छ । आफ्नो सेवालाई अझ प्रभावकारी बनाउन हुलाकले अहिले पिआइटीएस प्रणाली प्रयोगमा ल्याएको छ । यस प्रणालीले चिठ्ठी पत्र तथा कुरियरहरु कुन ठाउँमा छन् भनेर लोकेशन पत्ता लगाउने काम गर्छ । सेवाहरुलाई प्रविधिमैत्री बनाउन हुलाकले विभिन्न प्रयासहरु गरिरहेको छ ।

हुलाक निर्देशक पाण्डेय पहिलेको तुलनामा कम भए पनि चिठीपत्रको काम नरोकिएको बताउछन ।  हुलाकलाई धेरैले बिर्सिए, उनी भन्छ्न, तर हुलाकले आफ्नो कर्म छोडेको छैन् ।

निजी क्षेत्रको प्रभाव

पछिल्लो समय हुलाक जस्तै निजी क्षेत्रले पनि चिठिपत्र, पार्सल आदान प्रदान गर्दै आएको छ । हुलाक भन्दा छिटो, स्तरीय र भरपुर प्रविधिको प्रयोग गरेर काम गर्ने गरेको निजी क्षेत्रको दावी छ । नेपालमा लामो समयसम्म हुलाक सेवा सरकारकै हातमा थियो । २०५५ सालमा हुलाक ऐन संशोधन भएपछि निजी क्षेत्रले कुरियरको काम गर्ने स्वीकृति पाएका हुन ।

१९९० को दशकमा काठमाडौं उपत्यकामा केही निजी कुरियर कम्पनीहरू सुरु भए । व्यापार–व्यवसाय बढ्दै जाँदा छिटो, सुरक्षित र विश्वसनीय ढुवानीको माग बढ्यो । निजी क्षेत्रले छिटो र विश्वसनीय सेवा दिन थालेपछि परम्परागत हुलाक सेवा पछि प¥यो । निजी क्षेत्रबाट ग्राहकले ट्रयाकिङ, होम डेलिभरी, क्यास–अन–डेलिभरी जस्ता सुविधा पाए ।

सरकारी चिठीमा अझै हुलाकको एकाधिकार रहे पनि निजी कुरियरहरूले आकस्मिक र महत्वपूर्ण कागजपत्र ओसारपसारको काम गरिरहेका छन् । यद्यपी निजी कुरियरले दुई किलोभन्दा कम वजनका सामग्री ओसारपसार गर्न नपाउने प्रावधान छ । तर पनि तिनले चिठी र कागजपत्र बोकिरहेका छन् । यसको प्रत्यक्ष असर हुलाकलाई परेको छ ।

ग्रामीण क्षेत्रमा अझै सरकारी हुलाक प्रमुख भए पनि शहरी क्षेत्रमा निजी कुरियर हावी छन् । यसको कारण निजी कुरियर कम्पनीहरूले छिटो, आधुनिक र ग्राहकमैत्री सेवा दिनु हो । पछिल्लो समय हुलाकले पनि आफ्ना सेवाहरुरलाई बिस्तार गर्दै आधुनिक र ग्राहकमैत्री बनाइ रहेको छ । यसले हुलाकलाई थप प्रभावकारी र जीवन्त बनाएको छ ।

हुलाक सेवा विभागका सूचना अधिकारी ध्रुवराज आचार्य निजी क्षेत्र र हुलाकबीच प्रतिस्पर्धा रहेको बताउछन । ‘अन्य क्षेत्रमा जस्तै हुलाक सेवामा पनि सरकारी र निजी क्षेत्र बिच प्रतिस्पर्धा छ,’ उनले भने ।

हुलाक र निजी कुरियरको शुल्कमा ठूलो अन्तर छ । हुलाकले सामान्यतया एक पत्रको ४० देखि ७० रुपैंया सम्म लिने गर्छ । पत्रको तौल २० ग्राम भन्दा बढि भएमा प्रत्येक १० ग्राममा पाँच रुपैंयाका दरले शुल्क बृद्धि हुने गरेको छ । तर निजी कुरियरमा शुल्कको कुनै मापदण्ड छैन । कुरियरले सामान्यतया कागजात वा पत्र पठाए वाफत १५० देखि ३०० रुपैया सम्म लिने गर्छन् ।

नेपाल कुरियर सेवासंघका केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेश अध्यक्ष नवराज भट्टका अनुसार सुदुरपश्चिममा हाल ८० को हाराहारीमा कुरियर सेवा सञ्चालनमा छन् ।

दुई दशकदेखि धनगढीमा कोर्टियर वल्र्ड वाईड एक्सप्रेस कुरियर सञ्चालन गर्दै आएका भट्ट स्वयम पछिल्लो समय कुरियर सेवामा केही बेथिति बढेको स्वीकार्छन् । उनी सरकारी निकायले बेथिति नियमन गर्नु पर्ने बताउछन् ।

कैलाली जिल्ला अदालत बार एशोसियसनको अध्यक्षमा महतो निर्वाचित

धनगढी, ५ भदौ ।
कैलाली जिल्ला अदालत बार एशोसियसनको अध्यक्षमा नाथुराम महतो निर्विरोध निर्वाचित भएका छन् ।

शुक्रवार सम्पन्न ३४ औं अधिबेशनबाट महतोको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।

उपाध्यक्षमा हिमालय बिष्ट, सचिवमा प्रेम बहादुर शाही, कोषाध्यक्ष किशोर कुमार चौधरी, सहसचिवमा कुमारी कौशिला केसी सापकोटा निर्वाचित   भए ।

त्यसैगरी सदस्यमा कर्ण सिंह महरा, रेनु प्रधान श्रेष्ठ, सुवास चन्द्र उपाध्याय, नैन बहादुर बडायक, देवीलाल चौधरी, ईन्द्र बहादुर खड्का, धर्मराज भट्ट, वीरेन्द्र चौधरी निर्वाचित भए ।

केन्द्रीय पार्षदमा बीर बहादुर जेठारा, भरत बहादुर सिंह र नवराज पाण्डेय निर्वाचन समितिले जनाएको छ ।

 

कानुन नै चोरी हुने संसद्‌मा बेकार आइएछ जस्तो लाग्छ : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कानुन चोरी हुने संसद्‌मा किन आइएछ भनेर आत्मग्लानी हुने गरेको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आफू अन्तरिक कालदेखि निरन्तर संसद्‌मा रहेको बताउँदै पछिल्लो समय किन संसद्मा आइएछ भनेर आत्मग्लानी हुने गरेको बताए ।

‘म त अन्तरिम कालदेखि संसद्‌मा निरन्तर छु । पछिल्लो समय आउँदा त कानुन त चोरी हुने संसद्‌मा के बेकार आइएछ जस्तो लाग्छ आजभोलि । कानुन नै चोरी हुन्छ । अलि दिक्क लागेर होला । अलि पुरानो भएर पनि होला,’ शर्माले आफ्नो दिग्दारी सुनाए ।

संविधानमा लेखिएका कुराहरू कार्यान्वयन गर्न नसकेको भन्दै उनले दु:खेसो गरे । आफूले किन संविधानको कार्यान्वयन गरिएन ? भनेर प्रश्न गर्दा अरु तर्सिने गरेको पनि उनले टिप्पणी गरे ।

‘संविधानमा उपलब्ध प्रगति त गर्‍यौँ तर पण्डितको पुस्तकको माछा र खोलाको माछा भन्ने आउँछ । संविधानको उपभोग बनाउन जनताले पाउनुपर्छ । उपभोग गर्न जनताले पाउने अवस्था सिर्जना गर्न हामी चुक्यौं,’ शर्माले भने, ‘यो मैले गरेको प्रश्न म आफैंलाई हो । तर मैले आफैंलाई गरेको प्रश्नले अरु तर्सिन्छन् र पो गाह्रो छ । प्रश्न आफैंलाई गरेको हो । किनभने त्यस ठाउँमा त हामी नै छौँ ।’

देशको अर्थतन्त्रबारे १५ दिनसम्म लगातार बहस गर्न जरुरी रहेको शर्माको भनाइ छ ।

भूमिसम्बन्धी विधेयकविरुद्ध आन्दोलन गर्ने जसपाको घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धि विधेयक मुलुक र जनताको हितमा नरहेको भन्दै आन्दोलनको घोषणा गरेको छ ।

जसपाले शनिबार विज्ञप्ति जारी गरेर भदौ ९ देखि १५ गतेसम्म भूमि विधेयकविरुद्ध आन्दोलनको घोषणा गरेको हो ।

महासचिव लालबाबु राउतद्वारा जारी गरिएको विज्ञप्तिमा ‘भूमि र वन बचाउँ, मधेशलाई मरूभूमिकरण हुनबाट जोगाउँ’ अभियानअन्तर्गत भूमि विधेयकविरुद्ध कडा प्रतिकार गर्ने र विरोधमा उत्रिने निर्णय गरेबमोजिम आन्दोलनको घोषणा गरिएको उल्लेख छ ।

उनले भूमिसम्बन्धी विधेयकको विरोधमा देशका विभिन्न सहरहरूमा व्यापक विरोध प्रदर्शनमा सहभागी भएर सहयोग गर्न आम–जनसमुदायमा अपील पनि गरेका छन् ।

संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भदौ ५ गते सरकारले राष्ट्रियहीत विपरीत रहेको विवादित भूमि विधेयकको प्रक्रिया अगाडि बढाएको भन्दै जसपाले आपत्ति जनाएको छ ।

इजरायलबाट फर्किएपछि विपिनकी आमा र बहिनीले भेटे प्रधानमन्त्री

काठमाडौं : हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। इजरायलबाट फर्केपछि उनीहरूले शनिबार प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।

इजरायल गएर उनीहरूले इजरायली राष्ट्रपति इसाक हेर्जोग र संसद्का अध्यक्ष अमिर ओहानासँग भेट गरेर विपिनको रिहाइको माग गरेका थिए।

प्रधानमन्त्रीले विपिनको रिहाइको पहलका लागि सरकारले कुनै पनि कसर बाँकी नराखेको बताए।

शैक्षिक उन्नयनका निम्ति सरकार र निजी क्षेत्रले हातेमालो गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

काठ्माण्डौँ ।पूर्वराष्ट्रपति डा. रामवरण यादवले शिक्षित जनशक्ति नै राष्ट्रको बृहत् पूँजी भएकाले शैक्षिक उन्नयनका निम्ति राज्यका साथै निजी क्षेत्र सदैव गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।

उनले सरकार र निजी क्षेत्रको साझेदारीमा लक्ष्य हासिल गर्न सहज हुने समेत बताएका छन्।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ललितपुर महानगर समितिद्वारा शनिबार जावलाखेलमा आयोजित एसईई परीक्षा २०८१ मा सर्वोत्कृष्ट अंक प्राप्त गरेका विद्यार्थीलाई सम्मान गर्दै उनले शिक्षा, स्वास्थ्य, कृषि र उद्योगको विकासबाट राष्ट्रको विकास गर्न सकिने बताए।

संविधानमा स्थानीय तहले माध्यमिक तहसम्मको शिक्षाको जिम्मा लिने व्यवस्था गरिएको बताउँदै उनले भने, ‘तपाईँ निजी विद्यालय सञ्चालकहरु पनि स्थानीय तह माताहतमा जान चाहिरहनु भएको छैन, नागरिकप्रति राज्यको जिम्मेवारी पूरा हुनुपर्छ, कल्याणकारी राज्यको कल्पना संविधानले गरेको छ।’

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यस वर्ष ललितपुर महानगरले चार ‘जीपीए’ प्राप्त गरेका ८६ विद्यार्थीलाई सम्मान गरेको बताए।

प्याब्सनका केन्द्रीय संरक्षक एवं जेम्स स्कुलका संस्थापक राजेश खड्काले अभिभावक र विद्यार्थीको अथक प्रयासबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल भएको भन्दै यो मेहनत र लगनशीलतालाई उच्चशिक्षामा पनि निरन्तरता दिन सम्मानित विद्यार्थीलाई आग्रह गरे।

विपिनको रिहाइका लागि सरकारले कुनै कसर बाँकी राखेको छैन: प्रधानमन्त्री

काठ्माण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन्।

शनिबार विपिनकी आमा पद्मा र बहिनी पुष्पाले इजरायलबाट फर्केपछि प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए। जसपश्चात् उनले सामाजिक सञ्जालमार्फत सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका हुन्।

‘बिपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन,’ भेटवार्तापछि प्रधानमन्त्रीले भने।

विपिनको परिवारले इजरायल भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति र संसदका अध्यक्षसँग भेटवार्ता गरेका थिए। उक्त भेटवार्ता विपिनको रिहाइको पहललाई थप सशक्त बनाउने उद्देश्यले नेपाली दूतावासको समन्वयमा आयोजना गरिएको थियो।

विपिनकी आमा र बहिनी उनको रिहाइका लागि आग्रह र अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न इजरायली सरकारको निम्तोमा त्यहाँ पुगेका थिए। उनीहरूले इजरायली राष्ट्रपति आइज्याक हर्जोग र अन्य उच्च अधिकारीहरूसँग भेट गरी विपिनको अवस्थाबारे जानकारी गराउँदै रिहाइका लागि अपिल गरेका थिए।

कञ्चनपुरका विपिन कृषि अध्ययनका लागि इजरायल पुगेका थिए। सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा अन्य १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने जोशीलाई बन्धक बनाइएको थियो।

त्यसयता उनको अवस्था अज्ञात रहेको छ। उनको परिवार र नेपाल सरकार उनको शीघ्र र सुरक्षित रिहाइका लागि निरन्तर प्रयासरत छन्।

भियतनामकी उपराष्ट्रपति सुआनसँग परराष्ट्रमन्त्री राणाको भेटवार्ता

 काठमाडौं । आजबाट नेपाल भ्रमणमा आएकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र परराष्ट्रमन्त्री आरजु राणा देउवाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

तीनदिने औपचारिक भ्रमणका लागि उनी शनिबार काठमाडौं आइपुगेकी हुन् ।

लगत्तै परराष्ट्रमन्त्री राणासँग मन्त्रालयमा औपचारिक भेटवार्ता भएको हो ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा आएकी उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री राणालगायतका अधिकारीहरू स्वागतका लागि पुगेका थिए ।

लिपुलेकबारे सरकारले कूटनीतिक नोट पठाइसक्यो, भारत र चीन भ्रमणमा पनि प्रधानमन्त्रीले कुरा उठाउनुहुन्छ: लेखराज भट्ट

कैलाली । नेकपा (एमाले) का सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले नेपाली भूमि लिपुलेकबारे भारत र चीनबीच भएको सम्झौताप्रति आपत्ति जनाएका छन् ।

दुई देशबीच भदौ ३ गते नयाँ दिल्लीमा चीनका विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस.जयशंकरबीच भएको वार्तामा नेपाली भूमि लिपुलेकसम्बन्धी सम्झौता भएको थियो ।

प्रेस चौतारी नेपाल कैलाली जिल्ला समितिले आयोजना गरेको ‘जनसंगठनसँग प्रेस चौतारी’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका एमाले नेता भट्टले विभिन्न तथ्य र प्रमाणले लिपुलेक नेपालकै भएको पुष्टि हुने भएकाले व्यापारिक प्रयोजनका लागि प्रयोग गर्ने निर्णयले नेपालको सार्वभौमसत्तामाथि नाङ्गो हस्तक्षेप भएको बताए ।

‘लिपुलेक नेपालकै हो भन्नेमा हामी सबै प्रष्ट हुनुपर्छ । विभिन्न प्रमाण र तथ्यले पनि यही भन्छ । अहिले दुई ठूला देशले गरेको सम्झौता गलत मात्रै होइन, राष्ट्रियतामाथिको गम्भीर प्रहार हो,’ उनले भने, ‘हामीले यसको खुलेर विरोध गर्नुपर्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाइ सहयोग संगठन (एससीओ) को सम्मेलनमा भाग लिन भदौ १४ गते चीन जाँदैछन् भने त्यहाँबाट फर्किएर भारत भ्रमणमा जाने कार्यक्रम छ । एमाले सचिव भट्टले प्रधानमन्त्री ओलीले चीन र भारत दुवै देशको भ्रमणमा लिपुलेक सम्झौताबारे कुरा उठाउने बताए । उनले सरकारले कूटनीतिक नोट पनि पठाइसकेको जानकारी दिए ।

‘सरकारले कूटनीतिक नोट पठाइसकेको छ,’ भट्टले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले पनि भारत र चीन भ्रमणमा यो विषय उठाउने बताउनुभएको छ ।’

प्रधानमन्त्रीले चीन र भारत भ्रमणमा लिपुलेकबारे विषय उठाएर समस्या समाधानको पहल भइरहेको भन्दै उनले सरकारलाई अझै समर्थन र सुझाव आवश्यक रहेको बताएका थिए ।

सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा पनि लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने निर्णय भएको थियो । एमाले सचिव भट्टले सुरुबाटै त्यसबारे विरोध जनाउँदै आएको र अहिलेको सम्झौताप्रति पनि खुलेर विरोध गर्न आवश्यक रहेको बताएका थिए ।

‘नेपालको राष्ट्रियतामाथि भारत र चिनियाँ पक्षले गरेको अत्याचार हो । यो भूमिसँग सुदूरपश्चिम भावना र मनोवैज्ञानिक रूपमा पनि जोडिएको छ,’ उनले भने, ‘हामीले आ–आफ्नो ठाउँबाट यो विषयमा गम्भीर रूपमा उठाउनुपर्छ ।’

पार्टीको नीति र निर्देशन कार्यान्वयन गर्नु आजको आवश्यकता रहेको उनले बताए ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे नेता भट्टले पार्टीले गरेको निर्णय सबैले मान्नुपर्ने उल्लेख गरे ।

प्रेस चौतारी नेपालका पदाधिकारी तथा सदस्यलाई पार्टीका गतिविधिमा अझै सक्रिय हुन सुझाव दिँदै उनले पार्टीका नेतामार्फत पार्टीको विचार र नीति सार्वजनिक गर्न सबैलाई आग्रह गरे ।

त्यस्तै, प्रेस चौतारीमा आवद्ध सबै पत्रकारले आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्नेमा पनि उनले जोड दिएका थिए । कैलाली जिल्ला अध्यक्ष जनक विष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा भट्ट प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विभिन्न जनसङ्गठनका पदाधिकारी तथा सदस्य र पार्टीका प्रदेश तथा जिल्लाका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

एसिया कप क्रिकेटका लागि बंगलादेशको टोली घोषणा

७ भदौ, काठमाडौं । बंगलादेशले आगामी सेप्टेम्बरमा हुने एसिया कप टी–२० का लागि १६ सदस्यीय टोली घोषणा गरेको छ। टोलीको कप्तानी विकेटकीपर ब्याटर लिटन दासले गर्नेछन्।

घोषित टोलीमा करिब तीन वर्षपछि नुरुल हसन सोहनले पुनः स्थान बनाएका छन्। उनले अन्तिमपटक सन् २०२२ मा अस्ट्रेलियामा भएको टी–२० विश्वकपमा खेलेका थिए। अहिले अस्ट्रेलियामा भइरहेको टप एन्ड टी-२० सिरिजमा सोहनले बंगलादेश ए को नेतृत्व गरिरहेका छन् ।

लिटन दासले यसअघि श्रीलंकाविरुद्धको ऐतिहासिक टी–२० सिरिज जिताएका थिए र पाकिस्तानविरुद्ध पनि घरेलु सिरिज जिताएका थिए। उनले फेरि पनि कप्तानी गर्दै आगामी विश्वकपको तयारीलाई बल पुर्‍याउनेछन्।

अनुभवी बलर मुस्ताफिजुर रहमान र तास्किन अहमद पनि टोलीमा परेका छन्। बंगलादेशले हालसम्म एसिया कपको उपाधि जितेको छैन । सन् २०१२, २०१६ र २०१८ मा उपविजेता बनेको थियो ।

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापार भएको छ।

भन्सार विभागका अनुसार गत महिना एक खर्ब ४३ अर्ब चार करोड बराबरको आयात र रु २३ अर्ब ९३ करोड २४ लाख बराबरको निर्यात भएको हो। यो अवधिमा देशलाई रु एक खर्ब १९ अर्ब १० करोड ८२ लाख बराबर व्यापार घाटा भएको छ।

गत आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा आयात ११ दशमलव ४२ र निर्यात ९५ दशमलव ७५ प्रतिशतले बढेको छ। साउनमा छिमेकी मुलुक भारतसँग ८३ अर्ब ५३ करोड ९९ लाख बराबरको आयात र १९ अर्ब ४५ करोड २० लाख बराबरको निर्यात हुँदा मुलुकले ६४ अर्ब आठ करोड ७८ लाख घाटा व्यहारेको छ।

चीनसँग २७ अर्ब ९९ करोड ६० लाख बराबरको आयात र रु पाँच करोड ४८ लाखको निर्यात गर्दा रु २७ अर्ब ९४ करोड १२ लाख बराबर व्यापार घाटा भएको छ। जर्मनी, अफगानस्तान, संयुक्त राज्य अमेरिका, रुस, बेल्जियम, नर्वेलगायत मुलुकसँग समीक्षा अवधिमा व्यापार नाफा भएको छ।

साउनमा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थको भएको छ। विभागका अनुसार पाँच अर्ब ७७ करोड १४ लाख बराबरको पेट्रोल, पाँच अर्ब ८८ करोड ७७ लाखको डिजेल र चार अर्ब ६६ करोड ६४ लाख बराबरको एलपी ग्यास आयात भएको छ। देशमा १० अर्ब ८० करोड ९५ लाख बराबरको कच्चा सोयाबिन तेल, तीन अर्ब ४१ करोड ९२ लाखको स्मार्टफोन, एक अर्ब ७४ करोड ४८ लाखको मोटरसाईकल, तीन अर्ब सात करोडको फलामजन्य वस्तु र एक अर्ब ५२ करोड ६३ लाख बराबरको सुन आयात भएको छ।

मुलुकबाट निर्यात भएका वस्तुमा भटमासको तेल पहिलो स्थानमा छ। साउनमा रु १० अर्ब ६९ करोड ५८ करोड बराबरको भटमासको तेल निर्यात भएको हो। समीक्षा अवधिमा प्लाईउड, फलफुल जुस, धागो, गलैँचा, अलैँचीलगायत उत्पादन निर्यात भएका हुन्।

खोज्नुहोस