सहीद दशरथचन्द विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले राजीनामा बुझाएको खुलासा
काठमाडौं । सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) का उपकुलपति डा. सुनिलकुमार जोशी र रजिष्ट्रार डा. भीम चन्दबाट नियुक्तिकै बेला राजीनामा पत्रमा हस्ताक्षर गराइएको खुलेको छ।
उच्च स्रोतका अनुसार उनीहरूलाई पदभार ग्रहण गर्नुअघि नै मिति नखुलाइएको (अनडेटेड) राजीनामा पत्रमा हस्ताक्षर गराइएको थियो। आवश्यक परे सरकारले जुनसुकै बेला उक्त राजीनामा प्रयोग गर्न सक्ने गरी यस्तो व्यवस्था गरिएको स्रोतको दाबी छ।
सरकारले पदाधिकारीमाथि राजनीतिक तथा प्रशासनिक नियन्त्रण कायम राख्न यो अभ्यास अपनाएको स्रोतको भनाइ छ।
यो खुलासा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीसँग सरकारको वार्ता भइरहेका बेला भएको हो। डा। केसीले आफ्नो पहिलो मागमै दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगमा गरिएको स्वार्थको द्वन्द्वयुक्त नियुक्ति तत्काल बदर गर्नुपर्ने माग अघि सारेका छन्।
यदि वार्तामा सरकारले उक्त माग स्वीकार गरी गेटाका पदाधिकारीलाई हटाउने निर्णय गर्यो भने राजीनामा माग्ने वा बर्खास्ती प्रक्रिया अघि बढाउनु नपर्ने देखिएको छ। नियुक्तिकै बेला हस्ताक्षर गरिएको राजीनामा पत्र प्रयोग गरेर उनीहरूलाई पदमुक्त गर्न सकिने अवस्था रहेको स्रोतको दाबी छ।
यो समाचार स्वास्थ्य खबर पत्रिकामा डिबी खड्काले लेखेका छन् ।
