विश्वकपमा इंग्ल्यान्ड र नर्वेबीचको क्वाटरफाइनल खेल आउँदो आइतबार हुने

द एभरेष्ट पोष्ट
२२ असार २०८३ ११:३७

फिफा विश्वकप फुटबलमा आज सम्पन्न अन्तिम–१६ का रोमाञ्चक खेलपछि इंग्ल्यान्ड र नर्वेले अन्तिम आठमा स्थान बनाएका छन् । अब यी दुई टोलीबीचको क्वाटरफाइनल खेल जुलाई १२ अर्थात् आउँदो आइतबार बिहान अमेरिकाको मियामीमा हुनेछ ।

आज भएका खेलमा इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गर्यो । अर्को प्रि–क्वाटरफाइनल खेलमा नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै विश्व फुटबलमा ऐतिहासिक सफलता हात पारेको छ ।

इंग्ल्यान्डको जितमा जुड बेलिङहमले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरे भने कप्तान ह्यारी केनले एक गोल थपे । घरेलु समर्थकको साथ पाएको मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमिनेजले एक/एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । यस हारसँगै मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक राष्ट्र बनेको छ ।

यसअघि अर्को आयोजक क्यानडा पनि अन्तिम–१६ बाटै बाहिरिएको थियो । यस्तै ब्राजिलसँगको खेलमा नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालाण्डले दुई गोल गर्दै टोलीलाई पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पु¥याए । ब्राजिलका लागि अतिरिक्त समयमा नेइमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि त्यसले हार टार्न पर्याप्त भएन ।

२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा स्थान बनाउँदै नयाँ इतिहास रचेको छ । अर्कोतर्फ ब्राजिल सन् १९९० यता पहिलो पटक क्वाटरफाइनल पुग्नुअघि नै विश्वकपबाट बाहिरिएको छ, जुन ब्राजिली फुटबलका लागि ठूलो निराशाको क्षण बनेको छ ।

विश्वकपबाट अप्रत्याशित रूपमा बाहिरिएसँगै ब्राजिलका चर्चित फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । लामो समयदेखि विश्वकप उपाधिको सपना पछ्याइरहेका नेइमारको राष्ट्रिय टोलीसँगको यात्रा यस हारसँगै अन्त्य भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस