८८ वर्षपछि स्विट्जरल्यान्डको ऐतिहासिक जीत
एजेन्सी । ब्रिल एम्बोलो र ड्यान एनडोयेको गोलको मद्दतले अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। शुक्रबार बिहान भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै स्विट्जरल्यान्डले नकआउट चरणमा लामो समयदेखिको जितको खडेरीलाई तोडेको हो।
जितसँगै स्विट्जरल्यान्डले सन् १९३८ मा फ्रान्समा भएको विश्वकपपछि पहिलो पटक नकआउट चरणको खेल जितेर इतिहास रचेको छ। यद्यपि, सन् १९५४ मा घरेलु मैदानमा भएको विश्वकपमा भने टोलीले प्लेअफ खेल जितेर क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । पछिल्ला तीनवटा विश्वकपमा पनि स्विट्जरल्यान्ड अन्तिम १६ मा पुगेको थियो, तर ३२ टोली सहभागी ती प्रतियोगिताहरूमा टोली त्योभन्दा अगाडि बढ्न सकेको थिएन।
अब स्विट्जरल्यान्डले क्वाटरफाइनल प्रवेशका लागि कोलम्बिया र घानाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यी दुई टोलीबीचको विजेतासँग स्विट्जरल्यान्डको भेट आगामी मंगलबार भ्यान्कुभरमा हुने तय भएको छ।
अर्कोतर्फ, सन् २०१४ पछि पहिलो पटक विश्वकपमा फर्किएको अल्जेरियाको यात्रा भने पराजयसँगै टुङ्गिएको छ। सन् २०१४ को विश्वकपमा अल्जेरिया नकआउट चरणसम्म पुगे पनि त्यतिबेलाको विजेता जर्मनीसँग पराजित हुँदै बाहिरिएको थियो।
