‘कर्मचारी महोदय’ भइरल भएपछि केपीले भने- जिब्रो हो लट्पटिन्छ, ट्रोल बनाउनेलाई धन्यवाद
प्रतिनिधिसभा बैठकमा सभामुखलाई ‘कर्मचारी महोदय’ भनेर सम्बोधन गरेपछि चर्चामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले मानवीय त्रुटिका कारण शब्द चिप्लिएको बताएका छन्।
उनले यसलाई सिकाइको प्रक्रियाका रूपमा लिँदै सामाजिक सञ्जालमा आफूलाई ट्रोल बनाउनेहरूलाई धन्यवाद समेत दिएका छन्।
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खनालले संसद्मा कर्मचारीहरूको समस्याबारे बोल्दाबोल्दै आफ्नो जिब्रो लट्पटिएको बताए। ‘सिकाईको प्रक्रिया हो, जिब्रो हो लट्पटिन्छ,’ उनले भने, ‘ठीक छ, ट्रोल बनाउनेहरूलाई धन्यवाद दिन चाहन्छु, ताकि उहाँहरूको सन्तान र परिवार भोलि कर्मचारी भएर यसरी नै ट्रोलको सिकार बन्न नपरोस्।’
सांसद खनालले संसद्मा कर्मचारीको विषयमा बोल्दाबोल्दै निर्धारित समय सकिएर माइक काटिएको भए पनि सञ्चारमाध्यमहरूले सभामुखले नै माइक काटेको जस्तो गरी समाचार सम्प्रेषण गरेको भन्दै असन्तुष्टि जनाए।
‘कर्मचारीले काम गर्न र तलब पाउन नसकेको पीडादायी अवस्थाबारे बोल्दाबोल्दै अन्तिम समयमा माइक काटिएको हो,’ उनले थपे, ‘तर मिडियाले सभामुखले नै रिसले माइक काटेको जस्तो गरी समाचार सम्प्रेषण गरे।’
आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा आफ्नो निर्वाचन क्षेत्र कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनमा भइरहेको ढिलाइबारे बोल्ने क्रममा उनले सभामुखलाई ‘कर्मचारी महोदय’ भनी सम्बोधन गरेका थिए।
माइक काटिनुअघि सांसद खनालले लम्कीचुहा अस्पताललाई नेपाल सरकार मन्त्रिपरिषद्ले २०८२ जेठ २६ गते स्वीकृति दिइसकेको भए पनि प्रदेश र स्थानीय सरकारको विवादका कारण सञ्चालन हुन नसकेको भन्दै आक्रोश व्यक्त गरेका थिए।
स्थानीय तहको असमझदारीका कारण अस्पतालका कर्मचारीहरूले काम गर्न नपाएको र समयमा तलब समेत नपाएको विषयमा उनले संसद्को ध्यानाकर्षण गराएका थिए।
