म विरुद्ध कूप्रचार भयो : झलनाथ खनाल
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी विभाजन गरेर नयाँ पार्टी खोल्न लागेको भन्दै आफूविरुद्ध कूप्रचार भएको बताएका छन्।
सोमबार काठमाडौंमा आफूले लेखेको वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद पुस्तक विमोचन कार्यक्रममा खनालले नेकपा विभाजन गरेर नयाँ पार्टी खोल्ने प्रयत्न गरेको भन्दै केही मान्छेले आफूविरुद्ध कूप्रचार गरेको बताए।
उनले कूप्रचारको खेल कसैले पनि नखेल्न सुझाव दिए। आफू एउटा गुट पनि नबनाएको मान्छे भएको भन्दै खनालले वैज्ञानिक समाजवादको विचार समूह निर्माणलाई पार्टी विभाजनको रूपमा नबुझ्न आग्रह गरे। वैज्ञानिक समाजवादको विचार समूह निर्माण पार्टी विभाजनका लागि नभइ नेपाली कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियान भएको उनको भनाइ छ।
खनालले अहिले कम्युनिष्ट आन्दोलनमा खडेरी लागेकाले विचार, नीति, सिद्धान्तमा बहस गरेर पुन बलियो आन्दोलनको रूपमा ल्याएरै छाड्ने उद्घोष गरे। उनले दुई कार्यकाल उमेर हद बिना कुनै पनि कम्युनिष्ट पार्टी चल्नै नसक्ने तर्क गरे। कम्युनिष्ट पार्टीलाई एकीकृत र विकसित नगरीकन समाजवादी क्रान्तिलाई पूरा गर्न कठिन रहेको उनले बताए।
