नेपालमा कम्युनिस्ट सिध्याउन लागिरहेका छन् : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतमा जस्तै नेपालमा पनि कम्युनिस्टलाई सिध्याउन प्रतिक्रियावादी शक्ति लागिरहेको बताएका छन् ।
उनले छिटोभन्दा छिटो वामपन्थी र देशभक्त एक हुन ढिला गर्न नहुने बताए । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले यस्तो भनाइ राखेका हुन् ।
भारतमा जस्तै नेपालमा पनि कम्युनिस्टलाई सिध्याउने प्रयास भएको बताए । “नेपालमा कम्युनिस्ट आन्दोलनलाई के गरी सिध्याउने भन्ने प्रयास भइरहेको छ । भारतमा कम्युनिस्ट सिध्याइयो भनेर घोषणा गरेको सुनेका छौँ,” प्रचण्डले भने, “नेपालमा पनि के गरी सिध्याउन सकिन्छ भनेर प्रतिक्रियावादी लागिरहेका छन् । यही षडयन्त्रको परिणतिका रूपमा भदौ २४ भयो, चुनाव भयो, अहिले जे भइरहेको छ हामीले देखेका छौँ ।”
प्रचण्डले षड्यन्त्रविरुद्ध छिटो वामपन्थी र देशभक्त एक हुनुपर्ने बताए । तर, कम्युनिस्ट एकता आजभोलि नै सम्भव नरहेको भनाइ उनको थियो । “सहकार्य गर्न सकिन्छ भने आजै गरौँ भनेको हो । भरे सकिन्छ भने भरे गरौँ । सदनमा, सडकमा, चुनावमा गरौँ,” उनले भने, “सहकार्य गर्न जति ढिलो गर्यो त्यति भयानक दुर्घटना हुनेवाला छ ।”
