लोकतन्त्र र गणतन्त्र जोगाउन कम्युनिस्टहरूबिच एकता आवश्कयक : माधव नेपाल
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद(जवज) पुरानो भयो भन्दैमा अवमूल्यन गर्न नहुने बताएका छन् ।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।
झण्डै दुई तिहाइ शक्ति नजिक पुगेको कम्युनिस्ट पार्टी के कारणले कमजोर भयो भनेर आत्ममूल्यांकन गर्न सक्नुपर्ने बेला आएको भन्दै नेपालले हामीमा के–के विकृति र विसङ्गति आए भनेर आत्मसमिक्षा गर्नुपर्ने बताए।
मदन भण्डारीका खुबी र दुरदृष्टिको अनुसरण गर्न सक्नुपर्ने भन्दै उनले वास्तविकताको धरातलमा उभिएर कुनै पनि चुनौतीको सामना गर्न सक्नुपर्छ भन्ने उनको (मदन) वास्तविक विशेषतालाई आत्मसात् गरेर अघि बढे कम्युनिस्टहरू एक ठाउँमा उभिनसक्ने बताए ।
‘यथार्थको धरातलमा टेकेर, सही ठाउँमा पुगेर, छलफल र बहस चलाएर मिल्न सक्ने कुरामा मिल्नुपर्छ । राष्ट्रियतामा ठुलो चुनौती छ’, उनले भने, ‘देशभक्त शक्तिहरूलाई पनि एकताबद्ध गर्नुपर्छ । विदेशीले हाम्रो देशमा हालीमुहाली गर्नबाट हामी सतर्क हुनुपर्छ ।’
वर्तमान सरकारको गतिविधि सन्देहास्पद भएको भन्दै नेपालले गणतन्त्र र लोकतन्त्र जोगाउन कम्युनिस्टहरूले अग्रसरता लिनुपर्ने बताए ।
‘जनताका समस्या सम्बोधन गर्ने कुरा होस् वा समस्या उजागर गर्ने कुरा होस् त्यो काम हामीले गर्नुपर्छ’, उनले भने । कम्युनिस्ट नेताहरूले आत्म केन्द्रीत चिन्तन परास्त गर्नुपर्नेमा जोड उनले दिए ।
नेता नेपालले त्यसका लागि कम्युनिस्टहरूबिच सहकार्य गर्दै एकता गर्नुपर्नेमा जोड दिए । ‘मिल्ने कुरा मात्र ठुलो होइन, भावनामा मिल्नुपर्छ । विधि पद्धतिमा मिल्नुपर्छ’, उनले भने, ‘कम्युनिस्टहरू आजै मिले, भोलि मिले भन्दा मेरो पनि दिमाग खराब भएको छ।’
