शिक्षा क्षेत्रमा सुधार भइरहेको छ: शिक्षामन्त्री
काठ्माण्डौ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षाको नतिजा प्रकाशनमा उठेका प्रश्नमा जवाफ दिँदै शिक्षा क्षेत्रमा सुधारका काम गरिएको बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत उनले नतिजा छिटो प्रकाशित गर्नका लागि विगतमा अपनाइँदै आएका कुनै पनि आवश्यक प्रक्रिया नहटाइएको बताएका हुन्।
उनका अनुसार विगतमा उत्तरपुस्तिका परीक्षणपछि समपरीक्षणका लागि सबै सामग्री काठमाडौं ल्याउनुपर्ने व्यवस्था विगतमा भएपनि सम्बन्धित स्थानमै समपरीक्षण गर्न सकिने व्यवस्था मिलाइएकाले काठमाडौं ल्याउनुपर्ने बाध्यता हटेको बताए।
मन्त्री पोखरेलले उत्तरपुस्तिका अनावश्यक रूपमा लामो समयसम्म रोकिराख्ने अवस्थालाई सुधार गरी परीक्षण प्रक्रिया समयमै सुरु गरिएको बताए। उनले यसलाई हतारमा गरिएको परीक्षणका रूपमा बुझ्न नहुने भन्दै आवश्यक जनशक्ति थप परिचालन गरी गुणस्तरीय रूपमा काम सम्पन्न गरिएको बताए।
उनले परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगतभन्दा बढी जनशक्ति परिचालन गरिएको र अनावश्यक प्रशासनिक तथा प्रक्रियागत ढिलासुस्ती हुन नदिइएको पनि जानकारी दिए।
परीक्षा शुल्क वृद्धि सम्बन्धमा पनि उनले उक्त निर्णय वर्तमान सरकारले नगरेको भन्दै शुल्क वृद्धि गत वर्षको पूरक परीक्षादेखि नै लागू भइसकेको र उक्त विषयमा वर्तमान सरकारले कुनै नयाँ निर्णय नगरेको बताए।
मन्त्री पोखरेलले यस वर्षको नतिजा ‘असामान्य रूपमा छिटो’ आएको नभई विगतमा देखिएको अनावश्यक ढिलाइको अवस्था सुधारिएको बताए। ‘हामीले नतिजा प्रकाशित हुनुपर्ने उचित समयमै प्रकाशित गरेका मात्र हौँ,’ उनले लेखेका छन्।
उनले पुनः उत्तरपुस्तिका जाँचमा कुनै हतार नगरिएको स्पष्ट पार्दै समपरीक्षणका लागि काठमाडौं ल्याउनुपर्ने बाध्यता हटाइएको, उत्तरपुस्तिका लामो समय रोक्ने अभ्यास अन्त्य गरिएको र परीक्षण प्रक्रिया समयमै सुरु गरिएको बताए।
मन्त्री पोखरेलले गत वर्षको तुलनामा यस वर्ष उत्तीर्ण प्रतिशत करिब ८ प्रतिशतले वृद्धि भएको तथ्यले पनि सुधारको संकेत गरेको बताए।
