बैतडीमा ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ स्वीकृत
बैतडी । मनसुनका कारण उत्पन्न हुन सक्ने सम्भावित विपद् तथा त्यसबाट हुने क्षति न्यूनीकरणलाई लक्षित गर्दै बैतडीमा ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ स्वीकृत गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले समितिद्वारा तयार पारिएको उक्त योजना अनुमोदन गरेको हो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईका अनुसार योजनामा विपद् आउनुअघि अपनाउनुपर्ने पूर्वतयारी, विपद्को समयमा सञ्चालन गरिने प्रतिकार्य तथा विपद्पश्चात् गरिने उद्धार, राहत र पुनःस्थापना सम्बन्धी कार्यलाई समेटिएको छ ।
बैठकमा मनसुनका बेला उच्च जोखिममा रहेका क्षेत्रको पहिचान गरी त्यहाँ बसोबास गर्ने नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विषयमा पनि विस्तृत छलफल भएको जनाइएको छ ।
सम्भावित जोखिम न्यूनीकरणका लागि स्थानीय तह र सम्बन्धित निकायबीच समन्वयलाई प्रभावकारी बनाउने निर्णय समेत गरिएको छ ।त्यसैगरी, वर्षायाममा अवरुद्ध हुन सक्ने प्रमुख राजमार्ग तथा सडक सञ्जाललाई यथाशीघ्र सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय र पूर्वाधार विकास कार्यालयलाई आवश्यक तयारी अवस्थामा रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।
विपद्को अवस्थामा सुरक्षा निकाय तथा अन्य सरोकारवाला संस्थालाई आवश्यक स्थानमा तत्काल परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ । बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपको उच्च जोखिम रहेको बैतडीमा सम्भावित प्रभावित समुदायको पहिचान गरी आवश्यक पूर्वतयारी र सुरक्षाका उपाय अवलम्बन गर्न स्थानीय तहलाई विशेष आग्रह गरिएको जनाइएको छ ।
मनसुनजन्य विपद्को प्रभाव न्यूनीकरण गर्दै जनधनको क्षति कम गर्ने उद्देश्यले योजना कार्यान्वयनमा सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
