अबको १० वर्ष ‘आरोग्य दशक’ : पर्यटनमन्त्री
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न आगामी दश वर्षलाई ‘आरोग्य दशक’का रूपमा मनाउन लागिएको बताएका छन् ।
यसका लागि आवश्यक नीति तथा रणनीति निर्माणको काम अघि बढिरहेको र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मार्फत आरोग्य अध्ययनलाई डिप्लोमा तथा स्नातकोत्तर तहसम्म विस्तार गर्ने तयारी भइरहेको उनले बताए ।
शनिबार विश्व आरोग्य दिवस’ कार्यक्रममा मन्त्री पौडेलले नेपाल आध्यात्मिक भूमि भएकाले यहाँको हिमाल, नदी, वनजंगल र प्राकृतिक वातावरणले मानिसलाई आत्मिक शान्ति र सकारात्मक ऊर्जा प्रदान गर्ने बताए । ‘पर्यटनको सबैभन्दा ठूलो आधार खुसी हो र आजको विश्वले सबैभन्दा बढी खोजिरहेको कुरा पनि त्यही खुसी हो,’ उनले भने, ‘नेपालसँग आध्यात्मिकता, योग, ध्यान, प्राकृतिक उपचार र आरोग्य जीवनशैलीको अनुपम सम्भावना छ, जसलाई व्यवस्थित रूपमा विकास गर्न सरकार प्रतिबद्ध छ ।’
नेपाल पर्यटन बोर्ड, स्पा संघ नेपाल तथा अन्य विभिन्न संस्थाको सहकार्यमा आयोजित कार्यक्रममा आरोग्य पर्यटनको बढ्दो विश्वव्यापी सम्भावना, स्पा तथा प्राकृतिक उपचार पद्दतिको महत्त्व र यस क्षेत्रको व्यावसायिक विकासका विषयमा व्यापक छलफल गरिएको थियो ।
कार्यक्रममा स्पा संघ नेपालका अध्यक्ष सुरेश पुरीले विश्वभर करिब ७० करोड मानिस आरोग्य पर्यटनसँग आबद्ध रहेको उल्लेख गर्दै स्पालाई केवल विश्राम र मनोरञ्जनको माध्यमका रूपमा मात्र नभई रोगको रोकथाम र स्वस्थ जीवनशैलीको महत्त्वपूर्ण अंगका रूपमा बुझ्नुपर्ने बताए । उनले स्पा तथा आरोग्य क्षेत्रको व्यवस्थित विकासका लागि स्पष्ट कार्यविधि, अन्तर्राष्ट्रियस्तरको सेवा प्रणाली तथा तीन महिनाको व्यावसायिक तालिम र प्रमाणीकरण प्रणाली आवश्यक रहेको बताए । ‘विश्व आरोग्य दिवस विगत १५ वर्षदेखि निरन्तर मनाइँदै आएको छ’ उनले भने, ‘नेपालमा पनि आरोग्य पर्यटनलाई राष्ट्रिय प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक छ ।’
नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक लक्ष्मण गौतमले स्पाको इतिहास बेल्जियमको तातोपानी कुण्डसँग जोडिएको स्मरण गर्दै नेपालमा आयुर्वेद जीवनशैलीकै अभिन्न हिस्सा रहेको बताए । उनले स्पा क्षेत्रलाई सम्मानित र व्यावसायिक पेशाका रूपमा विकास गर्नु समयको आवश्यकता भएको उल्लेख गरे ।
स्पा संघ नेपालका सचिव रामदेव महतोले ‘विश्व आरोग्य दिवस’ सम्बन्धी प्रस्तुतीकरण गर्दै आधुनिक समाजमा स्पा केवल मसाजको पर्याय नभई शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य प्रवद्र्धन गर्ने प्रभावकारी माध्यम बनेको बताए । बढ्दो तनाव, व्यस्त जीवनशैली र मानसिक दबाबबाट मुक्ति दिलाउन स्पा सेवाले महत्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ थियो । उनले आरोग्य पर्यटनको विस्तारसँगै स्पा सेवा मानसिक शान्ति, स्वस्थ जीवनशैली र समग्र कल्याणको आधार बन्दै गएको उल्लेख गरे ।
अन्तर्राष्ट्रिय आरोग्य विज्ञ डोनाल्ड चाले नेपाल आफैंमा आरोग्यको प्रतीक रहेको टिप्पणी गर्दै योग, ध्यान, उपचार पद्धति, स्पा तथा आध्यात्मिक अभ्यासलाई आर्थिक मूल्यमा रूपान्तरण गरी पर्यटन उद्योगको महत्वपूर्ण आधार बनाउनुपर्ने बताए । ‘कसैले आरोग्य भनेको के हो भनेर सोध्यो भने मेरो उत्तर हुन्छ– नेपाल नै आरोग्य हो,’ उनले भने । नेपालमा उपलब्ध प्राकृतिक र आध्यात्मिक सम्पदालाई आर्थिक अवसरसँग जोडेर विश्व बजारमा प्रभावकारी रूपमा प्रवद्र्धन गर्न उनले आग्रह गरे ।
