राजनीतिमा सङ्लो ‘भट्टराई सर’ (भाग ३)
२० को दशकमा जिम्दारी प्रथा थियो । धनगढी मेनरोडमा जति जग्गा ओगटे हुन्थ्यो । तर मेनरोडमा आकर्षण थिएन् । त्यो समय जिम्दारको सिफारिसमा ‘उकास’ को जग्गा मिल्थ्यो । त्यसका लागि पहिले जग्गा दावी गर्नुपथ्र्यो । किसानले पोत तिर्न छाडेको । हकवाला कोही नभएको जग्गालाई उकास भनिन्थ्यो । उनले उर्मीमा पाँच बिगाह जग्गामाथि दावी गर्दै गोश्वारामा मुद्दा दिए । जिम्दारले असहयोग गरे । उनले मुद्दा हारे । र, जग्गा पाएनन् ।
२०२५ सालमा काँग्रेसका नेताहरुसंगै भट्टराई गोरखपुर गए । त्यहाँ बीपी कोईरालासंग भेटघाट कार्यक्रम तय गरिएको थियो । त्यही समय महोत्तरीमा सरोज कोईरालाको हत्या भयो । बीपी महोत्तरी गए । गोरखपुर आउन पाएनन् । बीपीसंग भेट हुन पाएन् ।
२०३० सालमा बलदेव मजगैया र खुमबहादुर खड्का बनारसमा स्नातकमा पढ्थे । तीर्थराज ज्ञवालीसंग बनारस गएका उनले त्यहाँ मजगैया र खड्कालाई भेटे ।
३० को दशकसम्म कर्णाली, भेरी, सेती र महाकाली एउटै भूगोल अन्तर्गत थियो । काठमाण्डौंमा सुदूरपश्चिमाञ्चल विद्यार्थी समितिको भेला भयो । अध्यक्षमा रुपानन्द बजगाई र जनक शाहबीच प्रतिस्पर्धा भयो । बजगाई निर्वाचित भए । त्यो भेलाको आयोजक शेर बहादुर देउवा थिए । देउवाको क्रेज बेग्लै थियो । देउवाले क्रान्तिकारी भाषण गरे । तालीको गडगडाहटले हल गुञ्जिरह्यो ।
लगनटोलमा टेक बहादुर चोखाल र गोविन्दराज जोशीको डेरा थियो । देउवा त्यहाँ खाना खान आउँथे ।
शेर बहादुर देउवा घट्टेकुलो बस्थे । देउवाको नाम त्यो समय ‘६ सय’ थियो । साथीहरु काठमाण्डौंबाट घर फर्किने बेला गाडीभाडा राखेर बाँकी रकम देउवाले झर्ती गर्थे ।
उनी मुनुवा स्कुलमा पढाउथे । एकदिन जनक कर्माचार्यले उनलाई घिया बोलाए । भारतको शाहजहाँपुरमा काँग्रेसका सिनियर नेताहरु आउन लागेको कर्माचार्यले जानकारी दिए । यस्तो महत्वपूर्ण सूचना सिमित व्यक्तिलाई मात्र थाह हुन्थ्यो । कर्माचार्यसंगै उनी र कैलालीका काँग्रेसका नेताहरु २०३४ सालमा शाहजहाँपुर पुगे । त्यहाँ गिरिजा प्रसाद कोईराला, चक्र वास्तोला, नोना कोईराला र सुशिल कोईराला आएका थिए । उनीहरुको उपस्थितिमा नेपाली काँग्रेस कैलालीको तदर्थ समिति गठन भयो । सभापति चुनिए, लोकेन्द्र बहादुर शाह । जनक बहादुर कर्माचार्यले उपसभापतिको जिम्मेवारी पाए । टेक बहादुर चोखाल सचिव भए । प्रेमलाल तुलाधारले कोषाध्यक्षको जिम्मा पाए । चन्द्र सिंह भट्टराई, अर्जुन कडायत र श्याम बाजे (श्यामप्रसाद खतिवडा) सदस्य भए ।
२०३५ सालमा लोकेन्द्र बहादुर शाह नेपाली काँग्रेस कैलालीको सभापति भए । जनक कर्माचार्य उपसभापति । टेक बहादुर चोखाल सचिव । सदस्य भए, प्रेमलाल तुलाधर, अर्जुन कडायत, श्याम प्रसाद खतिवडा, चन्द्र सिंह भट्टराई ।
२०३६ सालमा जनमत संग्रह अघि पलियामा चक्र बास्तोला र बलदेव मजगैया आएका थिए । भाटले बास्तोलाको हातबाट काँग्रेसको सदस्यता लिए ।
२०३६ सालमा बीपी धनगढीमा आए । उनको बीपीसंग भेट भयो । धनगढीबाट उनी बीपीसंगै महेन्द्रनगर गए । त्यो यात्रामा बीपीलाई नजिकबाट बुझ्ने मौका पाए ।
२०३६ सालमा जनमत संग्रहमा बहुदल प्रचार समिति गठन भयो । जसको सभापति लोकेन्द्र बहादुर शाह चुनिए । उनी र जनक कर्माचार्य उपसभापति भए । कोषाध्यक्ष रामचन्द्र अग्रवाल थिए ।
जनमत संग्रहमा कैलालीमा ९६०० मतको अन्तरले बहुदलले जित्यो । १०५०० मत बदर भयो । अधिकांश मतदाताले टेबल र भित्तामा छाप लगाएका थिए । उनले प्रचारका क्रममा थिए, टेबुलमा छाप लगाउनु, टेबुल नभए भित्तामा लगाउनु । मतदाताहरुले मतपत्रसंगै टेबुल र भित्तामा पनि छाप लगाए । मतदाताले गलत बुझेछन् । उनी भन्छन्, त्यसमा हाम्रो कमजोरी भयो । हामीले बुझाउन सकेनछौ ।
काँग्रेसले २०३७ सालमा चुनाव बहिस्कार ग¥यो । निर्वाचन बहिस्कार अभियानमा सक्रिय रहेका उनीसंगै नारायण दत्त मिश्र, बीर बहादुर हमाल, मान बहादुर महतो, सन्तलाल चौधरी, गोविन्दराज जोशी टीकापुरमा पक्राउ परे ।
धनगढीबाट लोकेन्द्र बहादुर शाह, जनक कर्माचार्य, टेक बहादुर चोखाल, रामचन्द्र अग्रवाल पक्राउ गरे । उनीहरु निर्वाचनपछि थुनामुक्त भए ।
बहुदलको पक्षमा प्रचार गर्न उनी, गोविन्दराज जोशी, गगन सिंह थापा, बीर बहादुर हमाल, कर्ण बहादुर थापा, जीत बहादुर विश्वकर्मा सहित ५१÷५२ जनाको समूह कैलालीको पहाडी क्षेत्रमा गयो । चिसापानीबाट पसेको उनीहरुको समूह १८ दिनमा सहजपुरमा पुग्यो ।
२०३७ मा बीपीले संघर्षको नीति बदले । र, नयाँ नारा दिए, न संघर्ष, न समर्पण । यो नारा र नीति धेरैलाई मन परेन् । कतिपयले त्यो समय पार्टी छोडे ।
२०३७ सालमा उनले बीपीलाई काठमाण्डौंमा भेटे । बीपीलाई भेटेपछि उर्जा मिल्थ्यो । बीपीको बिचार, आदर्श र अडानबाट उनी प्रभावित हुन्थे । तत्कालीन व्यवस्थाले बीपीलाई कठोर यातना दियो । तर बीपी अडिग रहे । बीपी राष्ट्रवादी थिए । भारतसंग कहिल्यै सम्झौता गरेनन् । यद्यपि व्यवस्था विरोधी आन्दोलनका लागि भारत नगई सुख थिएन् । कि जेलमा बस्नु पथ्र्यो ।
२०३८ सालमा उनी बीपीलाई भेट्न काठमाण्डौं गए । साथमा शेर बहादुर देउवा थिए । बीपीको मेलमिलाप नीतिप्रति उनको असहमती थियो । उनले बीपीलाई पाँच प्रश्न गरे । पहिलो थियो, तपाईले जोसंग मेलमिलापको कुरा गरिरहनु भएको छ । उसले रेस्पोन्स नै गरिरहेको छैन् । यस्तो अवस्थामा राष्ट्रिय मेलमिलाप नीतिको के औचित्य ? बीपीले उनका हरेक प्रश्नको चित्त बुझ्दो जवाफ दिए । बीपीसंगको एकघण्टा लामो संवादपछि उनी ‘कन्भिन्स’ भए । र, फर्किए ।
उनको बुझाईमा बीपीका लागि राष्ट्र, राष्ट्रियता र जनता सबैभन्दा माथि थिए । बीपीले अंगालेको राष्ट्रिय मेलमिलाप नीति त्यही भावनाको उपज थियो । भन्नेले त भनिदिए, बीपी राजासंग झुके ।
बीपीले सत्ताका लागि कहिल्यै सम्झौता गरेनन् । उनको साथ छोड्नेहरु प्रधानमन्त्री भए । चाहेको भए बीपी पनि हुन्थे ।
काँग्रेसका नेताहरुसंग उनको एउटै गुनासो छ, आफूलाई बीपीको अनुयायी भन्नेहरुले सत्तासंग सहकार्य गरे ।
बीपीको मृत्युपछि उनको कोट शेर बहादुर देउवाले लगाए । कोट लगाएर गुण सर्ने भए बीपीका गुणहरु देउवामा सर्थे । तर त्यसो भएन् ।
काठमाण्डौं जादा उनी देउवासंग घट्टेकुलो बस्थे । देउवा उनलाई पु¥याउन बसपार्क जान्थे । उनको बुझाईमा देउवा बिहापछि बदलिए । गृहमन्त्री हुदासम्म देउवा बिग्रेका थिएनन् । सबैका लागि सहज थिए
२०४५ सालमा सत्याग्रहका क्रममा ब्रेन ह्यामरेज भएका लोकेन्द्र बहादुर शाहको छ महिनापछि निधन भयो । कर्माचार्य कार्यबहाक सभापति भए । टेक बहादुर चोखाल सचिव ।
२०४६ को जनआन्दोलनमा उनी कैलाली क्षेत्र नम्बर १ को संयोजक थिए । जिल्लाको नेतृत्व कर्माचार्यले गरे । २०४८ सालमा जनक बहादुर कमाचार्य राष्ट्रिय सभामा मनोनीत भए । उनी कार्यबहाक सभापति भए । चोखाल प्रतिनिधि सभामा निर्वाचित भएपछि सचिवको जिम्मेवारी गोविन्दराज जोशीले पाए ।
उनले दुई पटक स्थानीय तहको टिकट बाँडे । उनले टिकट दिएकाहरु मेयर भए । गाँउविकास समितिका अध्यक्ष भए । तर उनी आफू भने टिकटबाट सधै बञ्चित भए ।
२०४८ सालमा तारिणी दत्त चटौत सुकुम्वासी समस्या समाधान आयोगको केन्द्रीय अध्यक्ष भए । उनी केन्द्रीय सदस्य । उनले बीरबहादुर हमाललाई जिल्ला अध्यक्ष बनाए । धनगढी र टीकापुरको जग्गा नाप्न लगाए । र लालपूर्जा दिलाए ।
४८ सालमा पार्टीको जिल्ला अधिवेशनमा सभापतिमा दुई जना आकांक्षी थिए । एक उनी । अर्को मोहन बहादुर शाह । त्यतिबेला तीन वटा क्षेत्रमा बिभाजित थियो, कैलाली । शाहले उनलाई छोड्न आग्रह गरे । उनले मानेनन् । अधिकांश प्रतिनिधि उनका पक्षमा थिए । शाह ब्याक भए । उनी निर्विरोध सभापति थिए ।
सन्त नेता कृष्ण प्रसाद भट्टराई(किसुनजी) ले दुर्गा केशर खनाललाई केन्द्रीय प्रतिनिधि खटाएका थिए । किसुनजीको उर्दी थियो, मोहन बहादुर शाहलाई जिताउनु । तर सभापति भए, उनी । किसुनजीलाई यो निर्णय चित्त बुझेन् । किसुनजीकै सल्लाहमा पछि शाह जिल्ला विकास समिति कैलालीको सभापति भए ।
२०५३ सालमा पार्टीले उनलाई स्थानीय निकायको प्रमुखको जिम्मेवारी दियो । त्यतिबेला गाँउ विकास समिति महासंघका अध्यक्ष थिए, सुदर्शन आचार्य । गाँउ विकासको पुर्नसंरचनामा समितिले काम ग¥यो । अहिले कार्यान्वयनमा रहेको गाउँपालिकाको अवधारणा त्यही बेला आएको उनको दावी छ ।
उनले २०४९ र ०५४ सालमा स्थानीय तहको टिकट बाँडे । उनकै नेतृत्वमा कैलालीमा अधिकांश गाउँ विकास समितिमा काँग्रेसका उम्मेदवारले जिते । जिल्ला विकास समिति दुबै कार्यकाल काँग्रेसको पकडमा रह्यो ।
नेपाली काँग्रेस बिभाजनपछि उनी तेस्रो पटक सभापति भए । उनीपछि गोविन्दराज जोशी सभापति भए ।
काँग्रेसले २०४८ सालमा सन्तलाल चौधरीलाई टिकट दियो । सन्तलाल पढेलेखेका थिएनन् । सन्तलालले त्यो टिकट रामजनम चौधरीलाई दिए । रामजनमले चुनाव जिते ।
पार्टीले नेपाली काँग्रेस अछामका सभापति गंगा बहादुर कुवँरलाई कैलाली क्षेत्र नम्बर १ मा टिकट दियो । कुँवरले निर्वाचन जिते । २०५१ को मध्यावधिमा पार्टीले केशर सिंह कडायतले टिकट पाए । एमालेका हिमाञ्चल भट्टराई बिजयी भए । कडायत पराजित । २०५६ मा सुशिला स्वाँरले टिकट पाईन् । र, जितिन । उनी सधै टिकटबाट बञ्चित भए । तर पार्टीलाई जिताउन कुनै कसर बाँकी राखेनन् । न त असुन्तष्टि पोखे । उनी काँग्रेसका प्रतिबद्ध सिपाही थिए ।
२०५२ सालमा गिरिजा प्रसाद कोईराला नेपाली काँग्रेस पार्टीको सभापति निर्वाचित भए । उनी केन्द्रीय सदस्य । काँग्रेसको केन्द्रीय सदस्य हुनु त्यो समय चानचुने कुरा थिएन् । ३१ जनामा उनको नाम १८ औं नम्बरमा थियो ।
कोईरालाले उनलाई क्रियाशिल सदस्यता छानबिन समितिको संयोजक बनाए । समितिका सदस्य थिए, दिलेन्द्र प्रसाद बडु र चक्र प्रसाद बास्तोला ।
उनी दीपावलीमा घर गएनन् । रातदिन खटे । क्रियाशिल सदस्यता टुंग्याए । त्यसपछि संभव भयो, पार्टीको महाधिबेशन ।
०५२ सालमा उनी पुनः सभापति पदमा लडे । रामसमझ चौधरी प्रतिस्पर्धी थिए । उनी मतगणनामा गएनन् । दुई तिहाई मतले बिजयी भए । र, दोस्रो पटक सभापति भए ।
७० को दशकसम्म कैलालीमा एक शक्तिशाली काँग्रेसको समूह थियो, ‘गोबीचना’ । गोविन्दराज जोशी, बीर बहादुर हमाल । चन्द्रसिंह भट्टराई । र, नारायण दत्त मिश्र । यी चार नेताको समूहलाई ‘गोबीचना’ भनिन्थ्यो । चारै जना काँग्रेसभित्र कोईराला पक्षधर थिए । भट्टराई तिनैमध्ये एक थिए । सबैले लाभको पद पाए । जोशी सधै बञ्चित भए । सुदूरपश्चिममा कोईराला पक्षधर कमजोर हुदा यो समूह पनि कमजोर भयो । देउवा समूहमा मिसिएका मिश्र अहिले पनि पदमा छन् ।
प्राय नेताहरुमाथि टिकट बेचेको आरोप लाग्यो । कैलालीमा दुई निर्वाचनमा स्थानीय तहको टिकट बाँडेका उनले कहिल्यै आरोप खेपेनन् । र, अन्तर्घात पनि बेहोरेनन् । उनले टिकट दिएका अधिकांश उम्मेदवारले चुनाव जिते । २०४९ सालमा धनगढी नगरपालिकामा मेयरमा जितेका किशोर कुमार बमलाई उनैले टिकट दिएका थिए ।
उनले गलतलाई सही भनेनन् । सहीलाई गलत । कोईरालाले ढुण्डीराज शास्त्री सहित छ जनालाई बिना सूचना कारबाही गरे । चुनाव हारेका मान्छेलाई जिम्मेवारी नदिने निर्णय थियो । चक्र वास्तोलालाई राजदूत बनाए । उनले कोईरालाको त्यस कदमको विरोध गर्दै कान्तिपुरमा लेख लेखे ।
२०६४ सालको संविधान सभाको निर्वाचन । त्यो पनि फरक निर्वाचन क्षेत्रमा । कैलालीको क्षेत्र नम्बर १ का उनले क्षेत्र नम्बरमा टिकट पाए । पराजित भए । काठमाण्डौं पुगे । विधान समितिका संयोजक कृष्ण प्रसाद सिटौला थिए । उनी सदस्य । चुनाव हारेका बामदेव गृह तथा उपप्रधानमत्री भएका थिए । उनले सिटौलालाई भने, बामदेव मन्त्री हुन सक्छन् भने म किन हुन सक्दैन ?
पद प्रति आशक्ति र मोह नभएका भट्टराई । सिटौला चकित भए । सिटौलाले भट्टराईलाई मन्त्री बनाउन कोईरालासंग आग्रह गरे । कोईरालाको सिफारिसमा उनी माधव नेपाल नेतृत्वको सरकारमा उर्जा राज्यमन्त्री भए । जीवनमै पहिलो पटक लाभको पद पाए । जतिदिन पदमा रहे, त्यति दिन ईमान्दारीपूर्वक काम गरे । एक कार्यक्रममा जर्मनी जादै थिए । मन्त्री पद गयो । जर्मनी जाने पैसा राज्यकोषमा दाखिला गरेर घर फर्के । २०६६ असारदेखि २०६७ माघसम्म (१९ महिना) राज्यमन्त्री हुदा कुनै विवादमा परेन् । मन्त्री पदबाट हटेपछि साईकल चढेर आफ्नो बाटो लागे । सुखसुविधा र अवसरले उनलाई लोभीपापी बनाएन् ।
पुरै जीवन राजनीतिमा बिताए । तर त्यो राजनैतिक जीवन बेदाग रह्यो ।
पार्टी भनेको को हो ? नेतृत्वले ठिक काम गरे प्रशंसा हुन्छ । गलत काम गरे आलोचना । जनताले शेर बहादुर देउवालाई पार्टी मान्थे । पार्टी अमूर्त कुरा हो । त्यसको नेतृत्वको गुण र दोषको भागीदार पार्टी हुन्छ । काँग्रेसले जे भोगीरहेको छ, त्यो नेतृत्वको कर्मको फल हो । समय र जनता कठोर भएपछि नेताले सच्चिने मौका पाउदैनन् । सक्किएका नेताहरुको ईतिहासले त्यही भन्छ ।
भनाई छ, कसैलाई चिन्नु छ भने उसको संगत हेर्नु ।
जस्तो संगत । त्यस्तै नेता । उनको बुझाईमा नेताहरु जितेपछि बिग्रिए । नजित्दासम्म ठिक थिए । सत्ताले संगत बदलियो । संगतले बनायो, भ्रष्ट । जनता र कार्यकर्तासंगको सम्पर्क टुटेका नेताहरु बिचौलियासंग जोडिए ।
क्रियाशिल सदस्यता । पाउनु पर्नेले पाएन् । नपाउनु पर्नेले पायो । अनुहार हेरियो । क्षमता हेरिएन् । आफ्नाले पाए । राम्राले पाएनन् । कसले बुझोस बीपी ? अनि समाजवाद ? हो, त्यही भीडमा पार्टी हरायो ।
साईकल चढेरै कैलालीका ग्रामिणवस्तीहरुमा काँग्रेसको संगठन विस्तार गरे । युवावस्थामा मुनुवाबाट साईकलमा धनगढी पुग्थे । जोशीपुरको लोखरीमा नारायणदत्त मिश्रको घर थियो । मिश्रको घरमा केही बेर आराम गर्थे । त्यहाँबाट उनीसंगै मिश्र पनि धनगढी हानिन्थे । गोविन्दराज जोशी र बीर बहादुर हमाल महेन्द्र राजमार्ग भएर बसमा धनगढी जान्थे ।
पार्टी बनाए । संगठन बनाए । तर उनी महाधिवेशनमा जानै पाएनन् । वडामै हारे । त्यो पार्टी, जो उनका लागि सबैथोक थियो । घर । परिवार । श्रीमती । सन्तान । थियो, यी सबैभन्दा माथि । रात भनेनन् । दिन भनेनन् । पार्टी । कार्यकर्ता । जनता । देश । यी बाहेक उनका निजी सपना थिएनन् । पुरै जीवन पार्टीको सिपाही भएर बिताए । उत्तरार्धमा मैदानमै आफ्नैहरुबाट घेरिए । समाजवाद र बीपी बिर्सिएको पार्टीमा बसिरहन् सकेनन् । उनी चुपचाप बाहिरिए ।
जेनजी विद्रोह झै प्रतिनिधि सभामा काँग्रेसको हारलाई उनी स्वाभाविक ठान्छन् । चुनावको नतिजा आउदा देशभन्दा दूर थिए । नतिजाले उनी बेचैन थिए । हारेको पार्टी फेरि उठ्न सक्छ । नहरावस । बस् । चिन्ता एउटै थियो ।
पुराना दलहरु सच्चिएनन् । सुध्रिएनन् । पुराना दलप्रतिको बितृष्णाले जनताले नयाँलाई परीक्षण गरिरहेका छन् । के कस्तो गर्छन्, त्यो त हेर्न बाँकी छ ।
जुन आदर्शबाट प्रेरित भएर राजनीतिमा लागे । जीवनको उत्तराद्र्धमा उनले त्यो आदर्श च्यूत भएको पाए । र, राजनीतिबाट अलग हुने निर्णय लिए ।
भट्टराई सर, जसको धमनीमा बग्ने रगतमा लोकतन्त्र छ । परित्याग गरेको काँग्रेसको माया अझै गढेको छ, हृदयमा । त्यो काँग्रेस, जसलाई जीवनभर आफूलाई भन्दा बढि माया गरे । त्यो कमजोर हुँदा मनमा पीडा त हुने नै भयो ।
