श्रम प्रतिबन्धका बाबजुद पनि इराकमा ३० हजार नेपाली
काठमाडौँ — नेपालीका लागि कानुनी रूपमा इराकी श्रम बजार बन्द छ । वैदेशिक रोजगार विभागले इराकमा घरेलुसहित सामान्य श्रमिकलाई ‘निषेधित गन्तव्य’को सूचीमै राखेको छ ।
श्रम प्रतिबन्धका बाबजुद पनि इराक र यसको स्वशासित राज्य कुर्दिस्तानमा अझै पनि करिब ३० हजार नेपालीले काम गरिरहेका छन् । तीमध्ये अधिकांश महिलाहरू दशकौंदेखि इराकमा घरेलु श्रमिक वा सेवा क्षेत्रमा कार्यरत छन् । नेपाल आएपछि पुनः कार्यस्थल (इराक) फर्कन नपाउने डरले उनीहरू एक दशकदेखि घर फर्केका छैनन् ।
१६ भदौ २०६१ मा १२ जना नेपालीलाई इराकी विद्रोही समूहले हत्या गरेपछि नेपाल सरकारले सुरक्षाका कारण देखाउँदै श्रम स्वीकृति दिएको छैन । इराकीहरूले पटक–पटक विभिन्न माध्यममार्फत उक्त प्रतिबन्ध हटाउन खोजिरहेका छन् । नेपालले भने सुरक्षाकै कारण इराकमा नेपाली पठाउन मानेको छैन ।
धरानकी ४४ वर्षीया रीता श्रेष्ठ कुर्दिस्तानको सुलेमानीमा १५ वर्षदेखि कफी रेस्टुरेन्टमा काम गर्दै आइरहेकी छन् । उनी २०१० मा इराक पुगेकी थिइन् । सुरुका दुई वर्ष घरमा काम गरेपछि रेस्टुरेन्टमा ‘क्यासियर’ बनिन् । अहिले उनको तलब १२ सय डलर छ । ‘म पाँच वर्षपछि २०१५ मा एक पटक नेपाल गएकी थिएँ । त्यसपछि फेरि कहिल्यै गइनँ । नेपाल जाने सेटिङ मिलाउनै साढे दुई लाख खर्च लाग्ने रहेछ, त्यति पैसा तिर्न मलाई निकै माया लाग्यो,’ उनले कान्तिपुरसँगको फोन सम्पर्कमा भनिन्, ‘फेरि सेटिङ मिल्छ भन्ने ग्यारेन्टी पनि छैन ।’ उनले इराकमै बसेर छोरीलाई बेलायतमा राखेर पढाइरहेकी छन् । ‘मान्छेले इराक खराब भन्छ, तर हामीलाई इराकमा बसेर पनि नेपालमै बसेजस्तो लाग्छ । यहाँका मान्छे नै नेपाली मनका जस्ता लाग्छन्,’ उनले भनिन् ।
ताप्लेजुङकी ३५ वर्षीया मीना मगर पनि इराकमा १२ वर्षदेखि एउटै घरमा घरेलु श्रमिकको हैसियतमा काम गरिरहेकी छन् । उनी इराकलाई ‘नराम्रो छ’ भन्ने धारणालाई पूर्ण रूपमा अस्वीकार गर्छिन् । ‘यदि इराक खराब हुन्थ्यो भने म आफ्नो दिदीको छोरीलाई यहाँ ल्याउने नै थिइनँ ?’ उनी भन्छिन्, ‘यहाँका परिवार (रोजगारदाता) ले घरकै सदस्यजस्तो व्यवहार गर्छन् ।’ सुरुमा ३ सय डलर थाप्ने मीना अहिले ७ सय डलर कमाउने गरेको बताउँछिन् । मीना पनि नेपाल फर्कन नपाउँदा छटपटिएकी छन् । ‘बाआमा धेरै कमजोर भइसक्नुभएको छ, बिरामी पनि हुनुहुन्छ । उहाँहरूलाई नियमित उपचार गरिरहनुपर्ने भएकाले काठमाडौंमा नै ल्याएर राखेको छु । तैपनि बाआमा छोरीलाई कहिल्यै भेट्न नपाइने हो कि भनेर आत्तिनुहुन्छ,’ मीना थप्छिन्, ‘नेपाल गएपछि फेरि इराक फर्किनँ पाउने हुन्थ्यो भने एक महिनाको बिदा लिएर बाआमा भेट्न जान्थें ।’ उनका श्रीमान्को निधन भइसकेको छ भने एकमात्र छोरा अमेरिकामा पढ्दै छन् ।
रामेछापकी ३९ वर्षीया धनुमाया वाइबा लामा २०१५ देखि सुलेमानीमै छिन् । उनी इराक गएदेखि एक पटक पनि नेपाल फर्केकी छैनन् । उनको भिसा ‘फ्रिलान्सर’ छ । अर्थात् रोजगारदाता (भिसा उपलब्ध गराइदिने) ले उनलाई बाहिर स्वतन्त्र ढंगले काम गर्न छोडिदिएको छ । उनी आफ्नो दिदीको छोरीसँगै कोठा भाडामा लिएर बसेकी छन् । उनलाई आफ्नै दाइले इराक लगेका थिए । अहिले सातामा ७ वटा घरमा काम गरेर मासिक १२ सय डलर कमाउँदै आएकी छन् । ‘यहाँ सबथोक आफ्नै जस्तो लाग्छ । दाइको छोरीसँगै बस्छु । खानपिन पनि घरका मान्छेले पठाइदिन्छन्,’ उनले भनिन्, ‘हामी रमाइरहेका छौं, कमाइरहेका छौं, तर मनभित्र परिवारको याद र फर्कन नपाउने भयले गुम्सिएका भने छौं ।’
धनुमायाका १८ वर्षका छोरा काठमाडौंमा पढ्दै छन् भने श्रीमान् गाउँमै छन् । श्रीमान्को नियमित आम्दानी छैन । ‘सरकारले आउन–जानका लागि बाटो खोलिदिए हुन्थ्यो । हामी पनि १०–१२ वर्षदेखि घर फर्कनै नपाएर यहीं बस्न बाध्य हुनु पर्दैनथ्यो ।’
