दल–सरकार–सुरक्षा निकाय र आयोगबिच चुनावी तयारीबारे छलफल

द एभरेष्ट पोष्ट
२१ मंसिर २०८२ ९:४७
दल–सरकार–सुरक्षा निकाय र आयोगबिच चुनावी तयारीबारे छलफल

काठमाडौं २० मंसिर । प्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा निकायका प्रमुख तथा निर्वाचन आयोगका पदाधिकारीहरूले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनबारे राजनीतिक दलहरूलाई आश्वस्त पार्ने प्रयास गरेका छन् । तर, दलका केही नेताहरूले सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान अधिकारका विषयमा सरकारी तयारीबारे पूर्ण आश्वस्त हुन नसक्ने बताएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको पहलमा शुक्रबार बसेको उच्चस्तरीय बैठकमा चुनाव–सुरक्षा चुनौती, प्रहरीको मनोबल, फरार कैदी, लुटिएका हतियार तथा संवेदनशील राजनीतिक गतिविधिबारे दलहरूले जिज्ञासा राखेका छन् । सुरक्षा निकायका प्रमुखहरूले भने चुनौतीहरू पहिचान भइसकेको र आवश्यक तयारी तीव्र गतिमा भइरहेको ब्रिफिङ गरेका छन् ।

बैठकमा कांग्रेस नेताले निर्वाचन सुरक्षा, उम्मेदवार एवं बुथ सुरक्षा, सम्भावित ‘थ्रेट’ नस्विकारिने, समस्या आए सरकार जिम्मेवार हुने भनाइ राखेका छन् । एमाले नेताले चुनाव–प्रक्रियाप्रति विश्वास नरहेको र संसद् पुनस्र्थापनालाई प्राथमिकता दिइने धारणा राखेका छन् ।

नेकपाले शान्ति–सुरक्षा अझ सुदृढ गर्न र आयोगले थप तयारी गर्नुपर्ने सुझाव दिएको छ । रास्वपाले भयरहित वातावरणबारे अझै आशंका रहेको जनाउँदै सरकारलाई चनाखो हुन आग्रह गरेको छ ।

कांग्रेस नेतृ पुष्पा भुसालले बैठकमा चुनावी तयारीबारे विश्वास गर्न सकिने ब्रिफिङ आएको बताइन् । ‘सुरक्षा निकायले आन्तरिक चुनौती व्यवस्थापन गर्न तयार रहेको स्पष्ट ब्रिफिङ दिएका छन् । आयोगले पनि तयारी पूर्ण रूपमा अगाडि बढेको बताएको छ,’ उनले भनिन्, ‘प्रधानमन्त्रीले जसरी पनि चुनाव गराउँछु भन्नुभएको छ । अब सबैले तदारुकतापूर्वक अघि बढ्नुपर्छ भन्ने विश्वसनीय वातावरण बैठकले दिएको छ ।’

नेकपा नेता प्रकाश ज्वालाले बैठकलाई चुनावको सुनिश्चितताका लागि फलदायी बताएका छन् । ‘निर्वाचनको माहोल बनाउन, चुनाव हुन्छ भन्ने विश्वसनीयता जनतालाई दिलाउन महत्वपूर्ण बैठक भएको छ,’ उनले भने ।

रास्वपाकी सोविता गौतमले चुनावको वातावरणलाई सुदृढ बनाउने बताइन् । ‘दलहरूले प्रतिबद्धता जनाएका छन् । सुरक्षा निकाय तयार भएको ब्रिफिङ छ । समाज पनि क्रमश: तयार हुँदै छ । समयमै चुनाव सम्भव देखिँदै छ,’ उनले भनिन् ।

प्रधानमन्त्री सुशीला कार्कीले छलफल निर्वाचनको वातावरण बनाउने सन्दर्भमा अहिलेसम्मकै महत्वपूर्ण र उपलब्धिमूलक भएको बताइन् । प्रधानमन्त्री कार्कीले अदालतले कुनै रोकावट नगरेको भन्दै चुनावतर्फ अगाडि बढ्नुपर्ने जवाफ एमालेलाई दिइन् । ‘अदालतले गर्ने कुरा आफ्नो ठाउँमा छ । हाम्राविरुद्धमा अन्तरिम आदेश भएको भए हात बाँध्नुपथ्र्यो । तर, त्यो भएको छैन । हामी अगाडि बढ्नु नै पर्ने हुन्छ,’ उनले भनिन् ।

सरकारका प्रवक्ता तथा सूचना सञ्चारमन्त्री जगदीश खरेलले बैठकले चुनावको प्रक्रिया अझै सुनिश्चित र दृढ बनाएको बताए । ‘सबै पक्षबिच एकै थलोमा प्रश्न र जवाफ आए । चुनावसँग सम्बन्धित पक्षबिच समीक्षा भयो । छलफलपछाडि निर्वाचनमा जाने बाटो अझै बलियो, सुनिश्चित भएको र भयरहित, निष्पक्ष, धाँधलीरहित स्वतन्त्रपूर्वक हुने कुराको सुनिश्चितता बढेको महसुस भएको छ,’ उनले भने ।

दल, सुरक्षा निकायले देखेको चुनौतीमा केन्द्रित भएर छलफल भएको उनले बताए । खरेलका अनुसार भाग नलिने दल, आपराधिक तत्व, प्रचारका क्रममा अस्वस्थ प्रतिस्पर्धाबाट निम्तिने मुडभेट, साइबर अपराध, मिथ्या सूचनाजस्ता चुनौतीको सामना गर्ने साझा धारणा बनेको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित तीनैजना आयुक्त, सचिव र सहसचिवसमेत गरी सातजनाको प्रतिनिधिमण्डलको उपस्थिति थियो । मन्त्रीहरू र चारवटै सुरक्षा निकायका प्रमुखहरू पनि बैठकमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

दीनदुःखीका नारायण (भाग-२)

२० मंसिर २०८२ २१:०९

दीनदुःखीका नारायण

२० मंसिर २०८२ ८:५०

खोज्नुहोस