बर्दिया र कैलालीको नदी तटीय क्षेत्रमा सूचकाङ्कमा आधारित बाढी बीमा योजना प्रभावकारी

द एभरेष्ट पोष्ट
१९ मंसिर २०८२ १६:०५
बर्दिया र कैलालीको नदी तटीय क्षेत्रमा सूचकाङ्कमा आधारित बाढी बीमा योजना प्रभावकारी

काठमाण्डौ : बर्दिया र कैलालीको नदी तटीय क्षेत्रमा सूचकाङ्कमा आधारित बाढी बीमा योजना प्रभावकारी देखिएको छ । सूचकाङ्कमा आधारित बाढी बीमा योजनाले बाढीका कारण हुने नोक्सानीलाई बीमा कम्पनीमा हस्तान्तरण गर्दछ ।

यो कार्यक्रम अहिले बर्दिया र कैलालीका पालिकामा धानबालीमा लागू भएको छ । कर्णाली नदीको चिसापानी जलमापन केन्द्रलाई आधार बनाई तल्लो तटिय क्षेत्रका समुदायमा लागू गरेको बाढी बीमा अनुसार तोकिएको बाढी सूचकाङ्कको आधारमा बाढी बीमामा आवद्ध किसानलाई बीमा रकम भुक्तानी हुन्छ । सूचकाङ्कमा आधारित बीमामा पुनः क्षतिको मूल्याङ्कन आवश्यक पर्दैन ।

नदीमा तोकिएभन्दा जलसतह बढेपछि स्वचालित रुपमा किसानको खातामा पैसा जम्मा हुन्छ । समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम अन्तर्गत पालिका सरकार, प्राक्टिकल एक्सन र शिखर बीमा कम्पनीको साझेदारीमा चार वर्षदेखि लागू भएको सूचकाङ्कमा आधारित बाढी बीमा कार्यक्रममा अहिलेसम्म आठ हजार ५ सय ६२ किसान सहभागी छन् ।

कृषि तथा पशुपंक्षी मन्त्रालयलका सूचना अधिकारी महानन्द जोशीकाअनुसार यस्तो बीमाले किसानको बालीमा भएको क्षतिको ९० प्रतिशत सम्म क्षति बहन गर्छ । नदीमा बाढी बढ्नसाथ सहयोग पाउने कार्यक्रमबाट आफूले गएको वर्ष सहयोग पाएको र कार्यक्रम निकै सजिलो भएको राजापुर ३ का किसान बनिया थारुले बताउनुभयो ।

उहाँका अनुसार कर्णाली नदीमा पानीको सतह बढ्ने बित्तिकै बीमित किसानको मोबाइलमा बाढीले सूचकाङ्क तह पार गरेको सन्देश आउँछ र त्यो सँगै कति प्रतिशत भुक्तानीको लागि योग्य भएको पनि जानकारी हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस