‘देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक’

द एभरेष्ट पोष्ट
२६ कार्तिक २०८२ ८:५९
‘देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक’
काठमाडौं – बेलायतमा मुख्यालय रहेको  आईटी कन्सल्टिङ र साइबर सुरक्षासम्बन्धी कम्पनी जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी  फुयाँलले नेपाल अहिले एक निर्णायक मोडमा उभिएको र देशको  रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण अत्यावश्यक भएको बताएका छन् ।

आइतबार ललितपुरमा आयोजित ‘लीडर्स डायलग अन डिजिटल कमोडिटी ग्रोथ’ कार्यक्रमलाई  सम्बोधन गर्दै फुयाँलले भने, “नेपाल उद्योग वाणिज्य महासंघ अब ‘आवाजहरूको महासंघ’ बाट ‘डेटाको महासंघ’ बन्नुपर्छ।”

अमेजन वेब सर्भिसेज (एडब्लुएस) को बेलायत तथा आयरल्याण्डका लागि एम्ब्यासडर  रही सकेका फुयाँलले नेपालका  १२० भन्दा बढी वस्तु तथा उद्योग संघसंस्थालाई एउटै ‘डिजिटल कमोडिटी इकोसिस्टम’ अन्तर्गत जोड्ने राष्ट्रिय दृष्टिकोण प्रस्तुत गरे।

कृषि, उत्पादन, व्यापार, शिक्षा, स्वास्थ्य र सिर्जनात्मक उद्योगजस्ता प्रमुख क्षेत्रहरूलाई डिजिटाइज गरेर नेपालले सन् २०३० सम्ममा दक्षता वृद्धि र निर्यात आम्दानीका माध्यमबाट अरबौं  रुपैयाँको लाभ लिन सक्छ, उनले भने।

फुयाँलले आगामी छ महिनाको पाइलट पहल अन्तर्गत यस परियोजनाको  पहिलो चरण सुरु हुने जानकारी पनि दिए। सो चरणमा पाँच संघसंस्थाहरू — ह्यान्डिक्राफ्ट, कफी, फार्मा, सिमेन्ट र कुरियरलाई जोडिनेछ। यस प्रक्रियामा तिनका डेटा एकीकृत गरी एफएनसीसीआइ कनेक्ट मार्फत सञ्चार स्वचालित गरिनेछ, र एडब्लुएस क्लाउडको सुरक्षित पूर्वाधारमा ‘एनलिटिक्स ड्यासबोर्ड’ निर्माण गरिनेछ।

नेपाललाई नयाँ दृष्टिले हेर्न  नेताहरुलाई आग्रह गर्दै फुयाँलले भने, “नेपाललाई एक गरीब र अविकसित मुलुकको रुपमा हैन, सफा जलविद्युत् ऊर्जाले सञ्चालित देश, प्रविधि मैत्री  युवा जनशक्तिले चलाएको देश,  विश्वव्यापी प्रवासी सञ्जालले सुदृढ बनाएको समाज, र  क्षेत्रीय डिजिटल नवप्रवर्तन केन्द्र बन्न तयार मुलुकको रुपमा हेरिनु पर्छ।  हामीसँग नवीकरणीय ऊर्जा, युवा प्रतिभा, र विश्वव्यापी पहुँचजस्ता श्रोतहरु छन् र यी श्रोतलाई डेटाको माध्यमबाट जोड्न आवश्यक छ।”

” डिजिटल रूपान्तरण केवल प्रविधिको कुरा मात्रै होइन, यो राष्ट्रिय उत्थानशिलता निर्माण गर्ने र आगामी दशकमा नेपालको प्रतिस्पर्धात्मक स्वरूपलाई नयाँ परिभाषा दिने विषय पनि  हो,” उनले भने।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघसँगका उपाध्यक्ष हेम राज ढकालले प्रविधिले नेपालको रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।  सानफ्रान्सिस्को जाँदा अन्तरराष्ट्रिय बजारमा नेपाली कफी देख्दा साह्रै खुसी लागेको बताउंदै उनले  हस्तकला, कफी  लगायत नेपाली उत्पादनहरु अन्तरराष्ट्रिय बजारसंम पुराउन डिजिटल माध्यमको बढी भन्दा बढी उपयोग गर्नु पर्ने बताए।  उनले साना तथा मझौला उद्यम लगायत नेपाली उद्यमीहरुलाई मदत पुग्ने बताए।   “हाम्रा उत्पादनहरुलाई प्रतिस्पर्धी बनाउन पनि डिजिटल प्लेटफर्ममा जान आवश्यक  छ।  हाम्रो अर्थतन्त्र र संघसंस्थाहरुलाई पनि डिजिटलमा रुपान्तरण गर्न अब ढीलो गर्नु हुँदैन,” उनले भने।

उनले आफु पुरानो पुस्ताको भए पनि प्रविधिमा पोख्त नयाँ पुस्तालाई मुलुकको नव निर्माणमा संगै लिएर हिड्नु पर्ने बताए।

सहभागीहरुलाई  स्वागत गर्दै जेनेस सलुशनका नेपाल निर्देशक  शरद बन्जाराले  जेनेस सलुशनले गएको सात वर्ष देखि नेपालको डिजिटल रुपान्तरणको लागि काम गरि रहेको बताए।  उनले नेपालका व्यवसायहरुको  वृद्धिमा सघाउन जेनेसले  विश्वव्यापी ज्ञान र प्रविधि स्थानीय बजारमा ल्याइरहेको बताए।  उनले सहकार्य गर्न सबैलाई  आग्रह पनि गरे।

कार्यक्रमको अध्यक्षता गरिरहेका जेनेस सलुशनका कार्यकारी सल्लाहकार भीम ढकालले सुशासनको लागि, कल्याणकारी राज्य , निजी क्षेत्रको लागि र  दीगो विकास लक्ष हासिल गर्न पनि प्रविधिको प्रयोग अत्यावश्यक रहेको बताए।  लन्डन, न्यूयोर्क जस्ता ठूल्ठूला शहरहरुमा डिजिटल माध्यमबाट सम्पूर्ण सार्वजनिक यातायात प्रणालीको व्यवस्थापन भै रहेको तर नेपालमा अझै ट्राफिक प्रहरी सडकमा उभिनु  पर्ने अवस्था रहेको उनले बताए।  उनले  आइटी भनेको आइटी शाखाको मात्रै काम नभएर सम्पूर्ण व्यवसायसंग अन्तरसम्बन्धित रहेको भन्दै अब डिजिटल मार्केटिंगले थुप्रै सम्भावना हरु उजागर गरेको पनि जनाए । उनले जेनेस सलुशनले  आइटी साक्षरता  र साइबर सेक्युरिटीको क्षेत्रमा पनि काम गरि रहेको बताए।

‘डिजिटल सिनर्जी: ट्रांस्फर्मिंग नेपाल्स कमोडिटी सेक्टर्स फर अ स्मार्टर फ्युचर’  शीर्षकमा आयोजित सो कार्यक्रम जेनेस सलुशनले नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा आयोजना गरेको थियो।

नेपाल, बंगलादेश, नाइजेरिया, फिनल्याण्डसहित १० भन्दा बढी देशहरूमा जेनेस सलुशनका कार्यालयहरु  रहेका छन्। कम्पनीले विभिन्न देशका सरकारी, शैक्षिक तथा निजी क्षेत्रका संस्थाहरूसँग मिलेर क्लाउड कम्प्युटिङ, डेटा एनलिटिक्स, कृत्रिम बुद्धिमत्ता र साइबर सुरक्षाको क्षेत्रमा सेवा पुर्‍याउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस