अस्पतालको शैयाबाट घाईते सिपाहीको प्रश्न– राष्ट्रले किन जीवनको अन्तिम संघर्षमा एक्लै छोड्यो ?
भन्छन्, म मरे पछि सलामी र हार्दिक श्रद्धाञ्जली नदिनु

हरीश जोशी ।
म नेपाल प्रहरीको सिपाहीमा कार्यरत कर्मचारी हुँ । विगत २१ वर्ष देखि यो संस्थामा कार्यरत छु । जागिरको उत्तराद्र्धमा विभागीय सेवा सुविधाहरु कटौती हुदैछन् भन्ने थाहा पाउँदा समेत आर्थिक समस्या र प्रमोशन हुने प्रलोभनसंगै २०८२ साल ०५ महिना २३ र २४ गतेका दिन जेन-जीको आन्दोलनको क्रममा सख्त घाईते हुँदा मेरो शरिरको बाँया तर्फ प्यारालाईसिस भई लड्नु परेको छ ।
हाल प्यारालाईसिसको उपचारको क्रममा भारतको बरेली स्थित रहेको गाँधी अस्पतालमा डाक्टरको रोहबरमा मेरो उपचार भई रहेको छ । मेरो शरीरमा केही सुधारका संकेतहरु देखिएका छन्, जुन कुरा म र मेरो परिवारको खुसीको कुरा हो । सबैभन्दा पहिला संगठन र नेपाल सरकारलाई मेरो एउटा विनम्र कटु अनुरोध छ, म मरे पछि सलामी र हार्दिक श्रद्धाञ्जली नदिनु किन भने राष्ट्रमा भएको १० वर्षे जनयुद्ध होस वा १९ दिने जन आन्दोलन, जस्तो सुकै विषम परिस्थितिमा पनि म छाती थापेर राष्ट्रको लागि अग्र मोर्चामा हिँडेको योद्धा हूँ । जीवन मरणको युद्धमा राज्यले देखाएको मानवताको अनुपस्थितिले मलाई उत्तर दिइ सकेको छ । म मरे भने हार्दिक श्रद्धाञ्जली भनेर कुनै पत्रिकामा विज्ञापन नगरी दिनु होला, किन भने श्रद्धा र अञ्जली फरक–फरक शब्दहरू हुन् । यी शब्दहरुले विश्वास,आस्था,सम्मान र अर्पण गर्नु भन्ने बुझिन्छ । म जस्ता सयौ प्रहरीहरुको विश्वास टुटिसकेको छ । आस्था गुमी सकेको छ । मैले जिउँदो हुँदा सम्मान पाएन । त्यसैले हार्दिक श्रद्धाञ्जली अर्पण तथा शोक सलामी नदिनु होला ।
अँ साँच्ची भूकम्प पुनःनिर्माणमा धरहरा पुनःनिर्माणको लागि केही दिनको रकम काटिएको थियो । अहिले पनि देश त्यस्तै अवस्थामा छ । सयौं संरचनाहरु देशले गुमाउनु पर्यो । देशका मुनाहरु म जस्तै घाईते छन् । संरचनाहरु तत्काल पुनःनिर्माण हुँदैछन । फेरि पनि मेरो एक महिनाको तलब काट्नु होला । सामाजिक संजालहरुमा देख्दैछु, पाँच दिनको तलब भत्ता काट्ने अरे । निम्नस्तका कर्मचारीबाट काटिएको तलबको पारदर्शी सदुपयोग होस । राष्ट्र तथा संस्थाले मलाई केही दिन सकेन भने हामीले दिनु पर्छ भनेर मैले तालिमहरुमा राम्रोसँग सिकेको छु । राष्ट्रका लागि यति गर्न सक्यो भने जीवनको उत्तराद्र्धमा मलाई राष्ट्र प्रति गर्व गर्ने ठाउँ हुनेछ । म संगठनको एउटा साधारण तर गर्विलो सिपाही हूँ ।
राष्ट्रको झण्डा मुठ्ठीमा बोकेर २१ वर्ष युवावस्थाको मेरो रगत, पसिना र जिन्दगी देशको सेवामा समर्पित गरें । हरेक कठिनाईहरुमा राष्ट्रलाई अगाडि राखें । परिवारलाई पछाडी । मेरो आफन्त लगायत ईष्ट, मित्रहरुलाई टाढा बनाए । संगठनका निमित्त उहाँहरुको आवश्यकता पूर्ति गर्न सकेन । स्वतः मबाट मेराहरु टाढा भए । तर पनि मेरो संगठनको विश्वासमा म बाँची रहे । राष्ट्र म, मेरा र आफन्त भन्दा ठूलो हो भन्ने कल्पनामा डुबी रहे । जीवनको उत्तराद्र्धमा जब भाग्यले मलाई ठगेर कठोर परीक्षा लियो । भाद्र महिनाको २३ र २४ गतेको दिन नाम समेत नसुनेको जेन जीको आन्दोलनमा परी घाईते हुँदा निर्दयी रोग प्यारालाईसिससंग मैले लड्नु परेको छ । यो अवस्थामा म जवानले भरोसा गरेको मेरो संस्था र मेरो सरकार सबै चुपचाप र गुमनाम छन् ।
म हतियार लिएर देशको रक्षार्थ दौडिएको त्यो २०६२ साल जेठ १६ गतेको दिन सम्झिदा अचेल समेत गर्व लाग्छ । तर राज्य र संगठनको लागि लड्दै गर्दा हाल घाईते भई उपचारका लागि करोडौं खर्च गर्नु परीरहेको छ , सोच्छु, त्यो गर्व साँच्चै गर्भबाट तुहिएको छ । पीडा महसुस हुन्छ । संगठनले म जवानको लागि “मानवता” नामको आधारभूत जिम्मेवारी समेत पुरा गर्न सकेन । संगठन र राज्यको यो सिपाही आफ्नै आमाबुबा, दाजुभाइ र नेपाली दिदी बहिनीहरूको भरमा चन्दा उठाएर उपचार गरिरहेको छ । यो कुनै व्यक्तिगत पीडा मात्र होइन । यो प्रश्न हो । राष्ट्रको लागि जीवन दिने सिपाहीलाई राष्ट्रले किन जीवनको अन्तिम संघर्षमा एक्लै छोड्यो ? यदि संगठन र राज्यको सिपाहीलाई पनि चन्दा उठाएर उपचार गर्नु पर्ने बाध्यता आउँछ भने जनताको अवस्था कस्तो होला ? आज म सरकार र संस्थासँग विनम्र तर दृढ स्वरमा आव्हान गर्छु । सिपाही मात्र होइन, कुनै पनि नागरिकले राष्ट्रको खातिर रोगसँग युद्धमा एक्लै लड्न नपरोस् ।
जिम्मेवारी लिएको संगठनका कर्मचारीहरुलाई मात्र नभई, जुनसुकै नागरिकको स्वास्थ्य र जीवन सुरक्षामा समान हुनु पर्छ तर मलाई मेरो राज्य र संगठन माथि अझै भरोसा छ । म विश्वास गर्छु । म संगठन र राज्यका लागि लड्दै गर्दा घाईते भई प्यारालाईसिस भएको सिपाही हूँ । म सिपाहीको पीडामा मात्र ५ मिनेट उभिएर मेरो प्रधान मन्त्री, गृह मन्त्री र आईजीपी सापले हेर्नुहुनेछ । यी पीडाहरूले तपाईहरुलाई २ मिनेटमै पोल्नेछ । तपाईहरु छट्पटिनु भयो भने हजारौंलाई न्यायपूर्ण नीति, सहयोग र मानवताको बाटो खुल्नेछ ।
आईजीपीसाब जय नेपाल । अन्त्यमा मेरो एउटा सुझाव छ । हुन त यो सुझाव मैले हजुर भन्दा पूर्व आईजीपी मेरो शिक्षक दीपक थापा समक्ष पठाएको थिए । पुग्यो पुगेन त्यो म यकिन गरेर भन्न सक्दिन । तर हजुरसम्म पुगी सकेको छ । म यहाँ सार्वजनिक गर्न जाँदैछु, जन्म र मृत्यु साश्वत सत्य हुन् । हो मान्छे जन्मन्छ रोग लाग्छ, यो सामान्य कुरा हो । नीति नियममा दिन मिल्ने ठाउँ छैन । त्यो मलाई पनि राम्रोसँग थाहा छ । तर यो नीति नियम कसले बनाएको हो ? यहाँ नीति नियम ठूलो कि, मानवतासंगै हुर्किएको एक सकल दर्जाको कर्मचारी ? संगठनमा कार्यरत ८० हजार हाराहारी सदस्यहरु हुनुहुन्छ । रोग लाग्यो खर्च करोडौंमा गयो । अब मसँग न टेक्ने जमीन छ । न समात्ने ठाउँ । मलाई थाह छ, दैनिक सयौं मानिस मर्दछन् । म मर्दा राष्ट्रलाई खासै असर पर्दैन । तर परिवारमा ठूलो बज्रपात हुन्छ । मेरो परिवार, श्रीमती, बालबच्चाको मेरुदण्ड भनेको म नै हुँ । नेपाल प्रहरीको प्रत्येक सदस्यबाट सामूहिक रूपमा स्वेच्छाले केही रकम संकलन गर्न सकिन्छ । प्रहरीको कुनै सदस्यलाई गम्भीर रोग लाग्यो र उपचार खर्च उसको क्षमता भन्दा माथि भयो भने सहायता कोष खडा गरेर दिन पनि सकिन्छ । बरु मलाई नदिए हुन्छ । तर म भन्दा पछाडि यसरी करोडौंमा खर्च गर्नुपर्ने अवस्था आएमा जो कोहीले पनि केही सहायता मानवताको नाताले संगठनबाट पाओस् भन्ने जाहेर गर्दछु । संगठनमा मानवताको नाताले मलाई सहयोग गरि दिनुस् भनेर बारम्बार जाँदा पनि संगठनले सक्दैन बाहिरै चन्दा उठाएर उपचार गर्नुस भन्ने जवाफ पाए । उल्टै भनियो, हामी सक्दैनौ, नीति नियममा पनि छैन् । नीति नियम परिवर्तन गर्न सकिदैन भन्ने जस्ता जवाफ दिनु मानवताको नाताले कतिको उचित हो ? म ठम्याउन सक्दिन । राष्ट्र र संस्थाप्रति म सदैव गर्व गर्दछु । तर मेरो एउटा पीडाले एउटा प्रश्न भने सधैँ उभ्याउनेछ ? राष्ट्रका लागि छाती थाप्न तयार एक योद्धाले किन अन्तिम अवस्थामा राष्ट्र र संस्थाको साथ र सहयोग पाउन सक्दैन भनेर ।
((समग्र सुरक्षाकर्मीको पीडालाई सम्बोधन गरी लेखिएको यो सामग्री सामाजिक सञ्जालबाट साभार गरेका हौ ।)