युक्रेनमा यात्रु बसमा रुसी ड्रोन आक्रमण, ९ जनाको मृत्यु

एजेन्सी । उत्तरपूर्वी युक्रेनमा यात्रु बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको छ।
सुमी क्षेत्रीय सैन्य प्रशासनले शनिबार बिहान बिलोपिलिया शहरमा भएको आक्रमणमा अन्य चार जना घाइते भएको जनाएको बीबीसी समाचारमा उल्लेख छ। २०२२ पछि पहिलो पटक रुस र युक्रेनले शान्तिको लागि प्रत्यक्ष वार्ता गरेको केही घण्टामा उक्त आक्रमण भएको हो।
‘बिलोपिलिया नजिकै शत्रुको ड्रोनले यात्रु बसमा आक्रमण गर्दा नौ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्,’ सुमी क्षेत्रीय सैन्य प्रशासनले टेलिग्राममा पोस्ट गर्दै भनेको छ। रुसी सेनाले भने यस आक्रमणको बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।
शुक्रबार टर्कीको इस्तानबुलमा रुस र युक्रेनबीच युद्ध कसरी अन्त्य गर्ने भन्ने विषयमा छलफल भए पनि निष्कर्षमा पुग्न सकेको छैन। आगामी दिनहरूमा दुवै पक्षले एक-अर्कालाई एक हजार युद्धबन्दी फिर्ता गर्ने सहमति भने वार्तामा भएको थियो।