गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा स्थगित

द एभरेष्ट पोष्ट
२१ वैशाख २०८२ १४:५२
गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा स्थगित

काठमाण्डौं,२१ बैशाख । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक स्थगित भएको छ ।

यसअघि समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त भएको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले नियुक्त गरेपछि समितिको पहिलो बैठक आइतबारका लागि बोलाइएको थियो ।

सरकारले गभर्नर सिफारिस समितिलाई पूर्णता दिएपछि पहिलो तय गरेको बैठक र्थमन्त्री विष्णु पौडेलको कार्यव्यस्तताका कारण अन्तिम समयमा स्थगित भएको हो ।

सरकारले चैत १६ गते अर्थमन्त्री पौडेलको संयोजकत्वमा गर्भनर नियुक्त गर्न तीन सदस्यीय समिति गठन भएको थियो । जसमा विश्व पौडेल र विजयनाथ भट्टराई सदस्य थिए । तर वैशाख १० गते सदस्य भट्टराईले असन्तुष्टि जनाउँदै समितिबाट बाहिरिएका थिए । उनको स्थानमा अधिकारीलाई सदस्य बनाइएको छ ।

सिफारिस समितिले नयाँ गर्भनरको नाम चयन गर्न नसक्दा गभर्नर नियुक्ति प्रक्रिया लम्बिएको छ । चैत २५ गतेदेखि राष्ट्र बैंक गभर्नरविहीन छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाबीच डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमती भएको थियो । सोही सहमतीपछि भट्ले राष्ट्र बैंकको प्रमुख कार्यकारी निर्देशकबाट राजीनामा पनि दिएका थिए । तर उनको राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन ।

राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत गर्न ढिलाई गरेपछि अर्थमन्त्री पौडेलले राजीनामा स्वीकृत गर्न निर्देशन दिएका थिए । पछिल्लो समय गभर्नरको दौडमा डा. भट्टसहित ज्ञानेन्द्र ढुंगाना र कायममुकायम गभर्नर डा. नीलम ढुंगाना छिन्।

भट्टलाई रोक्न कामु गभर्नर ढुंगाना लगायत अन्य आकांक्षीहरु लागेपनि प्रधानमन्त्री ओली र देउवाबीच भएको सहमती अनुसार केही दिनमा भट्ट नै गभर्नर नियुक्त हुने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस