पाकिस्तानमा आतंकवादी हमलामा परि १८ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तको बन्नु जिल्लास्थित क्यान्टोनमेन्ट क्षेत्रमा आतंककारी आक्रमण हुँदा १२ जना सर्वसाधारण र ६ जना आक्रमणकारी मारिएका छन्।
यस आक्रमणमा ३२ जना घाइते भएका छन्। केपी सरकारका प्रवक्ता मोहम्मद अली सैफका अनुसार सुरक्षा बलको त्वरित प्रतिक्रियाले आत्मघाती बम आक्रमणकारीसहित आतंककारीहरूको समूहलाई क्यान्टोनमेन्ट क्षेत्रमा प्रवेश गर्न रोक्न सफल भएको थियो।
शक्तिशाली विस्फोटका कारण नजिकका भवनहरू क्षतिग्रस्त भएका छन् भने एक मस्जिदको छाना भत्किएको छ। घटनापछि प्रहरी, सुरक्षा बल र उद्धार टोली घाइतेहरूलाई उपचारका लागि जिल्ला सदरमुकाम अस्पताल पुर्याउन खटिएको छ। धेरै घाइतेको अवस्था गम्भीर रहेकाले जिल्लाका सबै अस्पतालमा आपतकालीन अवस्था घोषणा गरिएको छ।
तहरीक-ए-तालिबान पाकिस्तानको हाफिज गुलबहादुर समूहले सामाजिक सञ्जालमार्फत आक्रमणको जिम्मेवारी लिएको छ।
पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारीले रमजानको पवित्र महिनामा भएको यस आक्रमणलाई जघन्य अपराधको संज्ञा दिँदै कडा निन्दा गरेका छन्।