महाधिवेशनका लागी सर्वसम्मत रुपमा कार्यतालिका पारित गर्न देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी पुस मसान्तमा महाधिवेशन गर्ने गरी पेस हुने कार्यतालिका सर्वसम्मत पारित गर्न निर्देशन दिएका छन् ।

देउवाले संस्थापन पक्षीय नेताहरूलाई यस्तो निर्देशन दिएका हुन् । २१ फागुनको चुनावअघि महाधिवेशन हुन नसक्ने अडानमा रहेका संस्थापन पक्षीय नेताहरूलाई सोमबार महाराजगञ्जस्थित निवासमा बोलाएर देउवाले यस्तो निर्देशन दिएको एक नेताले जानकारी दिए ।

आजै बस्ने केन्द्रीय कार्यसमिति बैठकमा देउवाको निर्देशनअनुसारको कार्यतालिका पेश हुँदैछ ।

‘सभापतिज्यूले कार्यतालिका सर्वसम्मत पास गर्नुस् । यसले विभाजनको कुरा रोक्छ भन्नुभयो,’ छलफलमा सहभागी एक नेताले भने, ‘हामीले आफ्ना कुरा राख्यौं । सभापतिले भनेपछि हामी सर्वसम्मत पास गरौं भनेर फर्कियौं ।’

यसअघि संस्थापन पक्षीय नेताहरू चुनाव अघि महाधिवेशन गर्न नहुने अडामा थिए । उनीहरूले आइतबार भेला गरेर सोमबारको बैठकमा पेस हुने कार्यतालिका फेल गर्ने तयारीसमेत गरेका थिए ।

यू-१९ प्रिमियर कप : उपाधि जित्न नेपाललाई १४८ रनको लक्ष्य

काठमाडौं। दयानन्द मण्डलले ६ विकेट लिएसँगै नेपालले एसीसी यू-१९ प्रिमियर कपको उपाधि जित्न सामान्य लक्ष्य पाएको छ।

घरेलु टोली यूएईले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै नेपाललाई १४८ रनको लक्ष्य दिएको हो।

नेपालका मण्डलले ६ विकेट लिँदै यूएईको ब्याटिङ अडरलाई धराशायी बनाए। ६.५ ओभर बलिङ गरेका उनले २ मेडनसहित १७ रन खर्चिएर ६ विकेट लिए।

अपराजित पौडेलले २ विकेट लिँदा नीतेशकुमार पटेल र अशोक धामीको नाममा समान १-१ विकेट रह्यो।

यूएईका अहमद खुदादादले सर्वाधिक ७१ रन बनाए। १२६ बल खेलेका उनले ६ चौका प्रहार गरे। नुरउल्लाह अयोबी २६ र अयान मिस्बाह ११ रनमा आउट भए।

शेख हसिनालाई बंगलादेशको अर्को अदालतले पनि सुनायो सजाय

काठमाडौं : बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई शक्तिको दुरुपयोग र राजधानी ढाकामा जग्गा अधिग्रहण गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको छ।

बीबीसी बंगलाका अनुसार अदालतले उनकी बहिनी शेख रिहानालाई सात वर्षको कडा कारबाही र उनकी छोरी ट्युलिप सिद्दीकीलाई दुई वर्ष कडा कारावास र एक लाख टाका जरिवानाको सजाय पनि सुनाएको छ।

सोमबार ढाकाको विशेष न्यायाधीश अदालतले शेख हसिना, शेख रिहाना र उनकी छोरी ट्युलिप रिजवाना सिद्दीकीसहित १७ जनाविरुद्ध फैसला सुनाएको हो।

पूर्वाचल नयाँ शहर परियोजनाका लागि सरकारी जग्गा लिएको आरोपमा भ्रष्टाचार निवारण आयोगले यो मुद्दा दर्ता गरेको हो।

यसबाहेक यस मुद्दामा पूर्व आवास तथा सार्वजनिक निर्माण राज्यमन्त्री शरीफ अहमद, सार्वजनिक निर्माण मन्त्रालय, राजुक र प्रधानमन्त्री कार्यालयका १४ जना अधिकारीलाई पनि अभियुक्त बनाइएको थियो।

नेतान्याहुको माफी अनुरोधले इजरायलमा नयाँ बहस

जेरुसेलम । भ्रष्टाचारको अभियोगको सामना गरिरहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लामो समयदेखि चलिरहेको र देशलाई विभाजित गरिरहेको मुद्दाका कारण आफूले राष्ट्रपति समक्ष माफीको औपचारिक अनुरोध पेस गरेको घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिनामा इजरायली राष्ट्रपति आइज्याक हर्जोगलाई पत्र पठाई नेतान्याहुलाई क्षमा गर्न आग्रह गरिसकेका छन् । नेतान्याहुले आफूले कुनै पनि गैरकानूनी कार्य नगरेको दाबी दोहोर्‍याउँदै छ वर्षदेखि मुद्दा निरन्तर रहँदा देशभित्र गम्भीर विभाजन बढेको बताए ।

प्रधानमन्त्रीका अनुसार उनी निर्दोष प्रमाणित नभएसम्म मुद्दा लडे पनि ठीक हुने थियो, तर राष्ट्रिय सुरक्षात्मक र राजनीतिक परिस्थितिले मुद्दाको निरन्तरताले राष्ट्रलाई भित्रैबाट विभाजित गरिरहेको देखाएपछि माफीको अनुरोध गर्नु अपरिहार्य भएको उनको भनाइ छ । समर्थकहरूले मुद्दालाई राजनीतिक रूपमा प्रेरित आरोप भन्दै अस्वीकार गर्दै आए पनि नेतान्याहुमाथि अर्बपतिहरूबाट राजनीतिक फाइदाका सन्दर्भमा सिगार, गहना र श्याम्पेनसहित करिब दुई लाख ६० हजार डलर मूल्यका सामान लिएको, साथै दुई ठूला मिडियाबाट अनुकूल कभरेजका लागि वार्ता गरेको आरोप छ ।

उनले हप्तामा तीनपटक अदालतमा उपस्थित हुनुपर्ने मागलाई ‘असम्भव माग’ भन्दै मुद्दा जित्ने आफ्नो दृढता कायम रहे पनि यसको तत्काल अन्त्यले देशमा आवश्यक राष्ट्रिय मेलमिलापलाई बढावा दिने विश्वास व्यक्त गरे । यही बयानसँगै राष्ट्रपति हर्जोगलाई पेश गरिएको १११ पृष्ठ लामो पत्रमा समेत दोषी स्वीकार गरिएको छैन । राष्ट्रपति कार्यालयले यो असाधारण र गहन प्रभाव पार्ने अनुरोध भएको बताउँदै सबै पक्षको राय लिँदै निर्णय हुने जानकारी दिएको छ । सेप्टेम्बरमै हर्जोगले मुद्दाले ‘इजरायली समाजमा भारी बोझ’ पारेको सङ्केत गरेका थिए ।

७६ वर्षीय नेतान्याहु इजरायलको सबैभन्दा दीर्घकालीन प्रधानमन्त्री छन् । वर्तमान कार्यकालमा उनले अघि सारेका न्यायिक सुधारका प्रस्तावलाई आलोचकहरूले न्यायालयलाई कमजोर पार्ने योजना भनेका थिए, जसले देशव्यापी विरोध प्रदर्शन जन्माएको थियो । हाल उनले सन् २०२६ को अन्त्यअघि हुने चुनावमा पुनः उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

कानूनी विज्ञहरूले नेतान्याहुको अनुरोधलाई ट्रम्पको पत्रपछि आएको सुनियोजित कदमका रूपमा व्याख्या गरेका छन् । इजरायली कानूनअनुसार माफी केवल दोषी ठहर भइसकेका व्यक्तिलाई मात्र दिन सकिन्छ । यदि माफी अस्वीकार भएमा, अभियोक्तासँग सम्झौता गर्ने विकल्प नै प्रधान हुने अनुमान विज्ञहरूले गरेका छन् । सोही विकल्प जसलाई नेतान्याहुले अहिलेसम्म नकार्दै आएका छन् ।

विपक्षी नेता यायर लापिदले नेतान्याहुले अपराध स्वीकार, पश्चात्ताप र तत्काल राजनीतिक जीवनबाट फिर्ता हुनु माफीको आधार हुनुपर्ने बताएका छन् । अर्का विपक्षी नेता यायर गोलानले ‘दोषीहरूले मात्र माफी माग्छन्’ भन्दै कडा प्रतिक्रिया जनाए ।

यता सरकारका शीर्ष मन्त्रीहरूले भने नेतान्याहुको अनुरोधलाई समर्थन गरेका छन् । रक्षामन्त्री इजरायल काट्जले माफीले दशकदेखि बढ्दै आएको सामाजिक दरार मेट्न सक्ने दाबी गरे । अर्थमन्त्री बेजलेल स्मोट्रिचले प्रधानमन्त्रीले ‘राजनीतिक उद्देश्यले बनाइएका मुद्दाले वर्षौंदेखि यातना भोगिरहेको’ टिप्पणी गरे ।

नेतान्याहु भ्रष्टाचार मुद्दा सामना गर्ने पहिलो कार्यरत इजरायली प्रधानमन्त्री छन् । यसअघि पूर्व प्रधानमन्त्री एहुद ओल्मर्टले सन् २००९ मा राजीनामा दिएर धोखाधडी मुद्दामा जेल सजाय पाइसकेका छन‍‍् । यता तेल अभिवमा हर्जोगको निजी आवासअगाडि प्रदर्शनकारीहरूले माफी नदिन आग्रह गर्दै प्रदर्शन गरेका छन् ।

कार्यकर्ता सिकमा ब्रेसलरले देशको लोकतान्त्रिक भविष्य जोखिममा परेको बताउँदै नेतान्याहुले न्यायिक प्रणाली कमजोर पार्ने प्रयासलाई रोक्नुपर्ने दाबी गरे । प्रदर्शनकारी मोशे राडम्यान र अमी ड्रोरले पनि माफीले कानूनको शासन कमजोर पार्न सक्ने तथा इजरायली लोकतन्त्र नै समाप्त हुन सक्ने चेतावनी दिएका छन् ।

मेयर बालेनका बुवा रामनारायण शाहको निधन

काठ्माण्डौ- काठ्माण्डौ महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ।

उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएको हो।

बिरामी रहेका रामनारायणको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल उपचार भइरहेको थियो।

उनलाई आइतबार अस्पताल लगिएको थियो।

उपचारका क्रममा सोमबार मध्याह्न रामनारायणको निधन भएको सिभिल अस्पताल स्रोतले जानकारी दिएको छ।

‘उहाँलाई हिजो अस्पताल ल्याउँदा नै होस थिएन, अवस्था गम्भीर थियो। उपचार क्रममा आज मध्याह्न निधन भएको हो,’ अस्पताल स्रोतले भन्यो।

यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पहिचानकै संघर्ष

धनगढी — सामाजिक विभेद र परिवारबाट तिरस्कार खेप्दै आएका प्रायः यौनिक तथा लैंगिक अल्पसंख्यकले राज्यबाट समेत आफ्नो वास्तविक पहिचान पाइरहेका छैनन् ।

उनीहरूको शैक्षिक प्रमाणपत्र, नागरिकता र अन्य सरकारी कागजातमा लैंगिक पहिचान वास्तविकताविपरीतको हुँदा उनीहरूको पहुँचलाई प्रभावित बनाएको मात्रै छैन, बारम्बार अपमानित पनि गरेको छ ।

बाजुराका ३६ वर्षीय इसान रेग्मी अन्तरलिंगी ९इन्टरसेक्स० पुरुष हुन् । रेग्मीको बाल्यावस्था छोरीको पहिचानमा बित्यो । किशोरावस्थामा प्रवेश गर्दा उनको स्वर धोद्रो भयो, जुँगाको रेखी बस्यो । उनले आफूलाई पुरुष महसुस गर्न थाले । छिमेकी र साथीभाइको उनीप्रतिको व्यवहार फरक हुन थाल्यो । समाजले केटी मानेका उनको स्तन नबढ्नु झन् ठूलो समस्या बन्न पुग्यो । ‘साथीहरू जिस्काउँथे । शिक्षकले त मेरो छाती नै चिमोट्थे । म मात्रै किन यस्तो भएँ भन्ने प्रश्न मनमा आइरहन्थ्यो,’ इसान भन्छन् ।

बाजुराबाट स्नातक तह पूरा गरेपछि उनी २०६८ मा कैलाली झरे । त्यहाँ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि काम गर्ने संस्था सुदूरपश्चिम समाजसँग गाँसिए । यसैबेला उनी स्नातकोत्तर तह अध्ययनका लागि सुदूरपश्चिमाञ्चल क्याम्पस भर्ना भए । उनी पुरुषको पहिचानमा प्रस्तुत भए पनि शैक्षिक प्रमाणपत्रमा नाम महिलाको थियो ।
२०७० मा प्रथम वर्षको परीक्षा दिन कैलाली बहुमुखी क्याम्पस केन्द्र पुगेका इसानलाई प्रमाणपत्रअनुसार पहिचान नमिलेको भन्दै हलबाट बाहिर निकालियो । यसअघि २०६८ मा नायब सुब्बाको परीक्षा दिन डोटीको दिपायल पुगेका उनलाई ‘फेक स्टुडेन्ट’ भन्दै बाहिर निकालिएको थियो । २०७० मा शिक्षक सेवाको परीक्षा पनि यही समस्याका कारण दिन पाएका थिएनन् ।

‘लगातार मेरो पहिचानमाथि आक्रमण भएपछि म निराश भएँ,’ इसान भन्छन्, ‘त्यसपछि कतै पनि आवेदन गर्न सकिनँ, पढाइ छुट्यो । सबैलाई मेरो पुरुष पहिचानफ्रति समस्या थियो, जुन म छाड्न सक्दिनँ ।’ हाल इसान अन्तरलिंगी व्यक्तिहरूका लागि सत्रिय संस्था ‘क्याम्पेन फर चेन्ज’ का कार्यकारी निर्देशक छन् ।

नाम नै घाँडो भयो
लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई समाजमा स्थापित हुन सहज छैन । त्योभन्दा बढी समस्या उनीहरूलाई नागरिकता र शैक्षिक प्रमाणपत्रमा भएको नामले हुन्छ । नेपालको संविधान २०७२ को धारा १२ अनुसार, प्रत्येक नेपाली नागरिकले आफ्नो पहिचानसहितको नागरिकता पाउने अधिकार राख्दछ । तर, संविधानको यस प्रावधानविपरीत नागरिकता र राहदानी बनाउने बेला लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई आफ्नो पहिचानअनुसारको नागरिकता लिन सहज छैन ।

लैंगिक अल्पसंख्यक समुदायका लागि काम गर्ने संस्था एकता नेपालका अध्यक्ष राज चौधरी पनि यही समस्याबाट पीडित छन् । ३७ वर्षीय चौधरी पारलैंगिक पुरुष ९ट्रान्स म्यान० हुन् । जन्मँदा महिला यौनांग लिएर जन्मिए पनि उनको आत्मपहिचान पुरुषको हो । नागरिकतामा उनको नाम ‘राजकुमारी चौधरी’ छ । उनी नागरिकताबाट महिला अर्थ दिने ‘कुमारी’ शब्द र लिंगमा उल्लेख ‘महिला’ हटाउन चाहन्छन् ।
गत चैतमा नाम र लिंग दुवै सच्याउन उनी जिल्ला प्रशासन कार्यालय कैलाली पुगे । तर नागरिकता फाँटले आनाकानी गर्दै उनलाई इलाका प्रशासन कार्यालय सुखड पठायो । वडाबाट सिफारिस लिएर इलाका प्रशासन पुगेपछि भनियो— ‘महिलालाई पुरुषको नाममा नागरिकता दिन मिल्दैन ।’ ‘वडाबाट सिफारिस लिएर गएँ । तर त्यहाँका कार्यालय प्रमुखले यस्तो सम्भव छैन भनेर फर्काइदिए । मैले संविधान र कानुनमा व्यवस्था छ भन्दा, उल्टै सोधे— तपाईंले यस्तो शिक्षा कहाँबाट लिनुभयो रु’ राजले भने ।

त्यसबेला इलाका प्रशासन कार्यालय सुखडका प्रमुख टेकबहादुर रावत थिए । राजले पहिचानअनुसार नागरिकता पाउनुपर्ने अडान लिएपछि उनलाई इलाका प्रहरी कार्यालयबाट मुचुल्का उठाएर ‘राज’ र ‘राजकुमारी’ एउटै व्यक्ति हुन् भन्ने प्रमाणित गराउन भनियो । ‘पहिले महिलाको नाममा लिइसकेको नागरिकता सच्याउन वडाको सिफारिस, जन्मदर्ता र मेडिकल रिपोर्ट चाहिन्छ । हामी वडाको सिफारिस र जन्मदर्ताका आधारमा मात्र नागरिकता दिन सक्छौं,’ रावतले भने, ‘नागरिकतामा लिंग ‘अन्य’ लेखिएकालाई जिल्ला प्रशासन कार्यालय जानुपर्छ ।’ राजले फेरि जिल्ला प्रशासन कार्यालय पुगेर सहायक सीडीओ किरण जोशीलाई भेटे । जोशीले सच्याइदिने आश्वासन दिए पनि अहिलेसम्म उनको नागरिकता सच्याइएको छैन ।

नेपाल नागरिकता ९दोस्रो संशोधन० नियमावली, २०७८ को १४ मा विवरण सच्याउने कार्यविधि छ । उक्त कार्यविधिअनुसार नेपाली नागरिकताको प्रमाणपत्रको विवरणमा उल्लिखित कुनै कुरा सच्याउन चाहने व्यक्तिले मन्त्रालय वा प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्छ । ऐनमा भनिएको छ, ‘।।।विवरण सच्याउन वा संशोधन गर्न निवेदन दिएमा मन्त्रालय वा प्रमुख जिल्ला अधिकारीले ऐनको दफा १७ को उपदफा ९२० बमोजिम आवश्यक कुरा बुझी पहिले लिएको नागरिकताको प्रमाणपत्र खिची संशोधनसहित अर्को नागरिकताको प्रमाणपत्र दिन सक्नेछ ।’ यही व्यवस्थाअनुसार सच्चिनुपर्ने राजको नागरिकता भने कानुनी अड्चन देखाउँदै रोकिएको छ ।

नागरिकतामा आफ्नो नाम सच्याउन सकेका, तर लिंगमा उल्लेख भएको ‘महिला’ सच्याउन नपाएका इसान पनि यो प्रक्रिया सजिलो नभएको बताउँछन् । उनले २०७६ सालमा नागरिकतामा नाम संशोधन गराए । यद्यपि, लिंगको विवरणमा महिला हटाएर पुरुष राख्ने उनको चाहना भने पूरा भएन । त्यसको ठाउँमा ‘अन्य’ राखेर परिवर्तन गरियो ।

इसानलाई वडा कार्यालयले पुरुषका नामबाट नागरिकताका लागि सिफारिस गर्नसमेत आनाकानी गरेको थियो । पछि सीडीओको सल्लाहमा वडाले लिंगमा ‘अन्य’ राखेर सिफारिस दियो । नागरिकताका सामान्य विवरण सच्याउन सहज भए पनि लिंगसम्बन्धी विवरण सच्याउने प्रक्रिया लामो हुने जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी बताउँछिन् । नागरिकतामा लिंगसम्बन्धी विवरण सच्याउन मन्त्रिपरिषद्बाटै निर्णय गर्नुपर्ने कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको भनाइ छ ।

स्वास्थ्य सेवामा समस्या
‘ट्रान्स पुरुष, ट्रान्स महिला र इन्टरसेक्स’ समूहका व्यक्तिका लागि पहिचानको मात्र होइन, आफ्नै शरीरभित्रको द्वन्द्व पनि चर्कै हुन्छ । समाजका प्रायः व्यक्तिले पुरुष महिनावारी हुने कल्पना पनि गर्न सक्दैनन् । तर ट्रान्स पुरुषहरू महिलासरह महिनावारी हुन्छन् । महिनावारीका बेला उनीहरू न खुलेर बाहिर आउँछन्, न त निर्धक्क स्वास्थ्यको हेरचाह गर्न सक्छन् ।Sexual and gender minorities face a struggle for identityइशान रेग्मी, अर्जुन र राज चौधरी ।

यही अनुभव सुनाउँछन्, कैलालीका अर्का ट्रान्स पुरुष अर्जुन (परिवर्तित नाम) पनि । ‘अरू बेला पुरुष देखिने हुँदा महिनावारीका बेला मलाई चिढ्याउने व्यवहार हुन्छ । कसैले झोलामा प्याड देखिहाल्यो भने अपमानित हुनुपर्छ । पेट दुखेर अस्पताल जाँदा अस्पतालमै अपमानित हुनुपर्छ,’ उनले भने । सार्वजनिक संरचना, शौचालय, अस्पताल, सबै उनीहरूको पहिचानविरुद्ध छन् । लामो दूरीको यात्रा गर्दा शौचालयमा विभेद भोग्नुपर्ने डरले पानीसमेत नखाने अर्जुन बताउँछन् ।

गुमनाम जीवन
अछामकी २७ वर्षीया सरस्वती (परिवर्तित नाम) ले १९ वर्षको उमेरमा आफ्नो लैंगिक पहिचान खुलाइन् । भन्छिन्, ‘सानैदेखि केटीको जस्तो लुगा लगाउन, शृंगार गर्न मन लाग्थ्यो, तर समाजको डरले सक्दिनथें । १९ वर्ष पुगेपछि घरबाट बाहिर रहँदा महिलाका रूपमा प्रस्तुत हुन्छु ।’ अहिले २७ वर्ष पुगिसकेकी उनी अझै पनि घरमा रहेका बेला पुरुष पहिरनमै हुन्छिन् ।

उनको पहिचान र चाहनाबारे परिवार जानकार छ । तर, छरछिमेक र समाजले ‘पहिलेको छोरो, कसरी एक्कासि छोरी भई’ भन्लान् भन्ने डरले उनलाई महिला बन्न दिइँदैन । ‘तँ महिला बन्ने हो भने अंश दिँदैनौं र घरबाट निकाल्छौं भन्नुभएको छ । आफूसँग केही नभएको अवस्थामा चटक्क छोडेर कहाँ जानु,’ उनी भन्छिन्, ‘छोरा भएर घरमा बुहारी ल्याइस् भने मात्र सम्पत्ति पाउँछस् भनेका छन्, बरु चाहिएन सम्पत्ति ।’ सरस्वतीले पनि विभेदकै कारण क्याम्पसको पढाइ छोड्नुपर्‍यो । ‘आफ्नै परिवारभित्रबाट अपाच्य शब्द सुन्नुपर्छ, बाहिरकाको त कुरै भएन,’ उनले भनिन् ।

कञ्चनपुरका ट्रान्स म्यान समीर (परिवर्तित नाम) २० वर्षसम्म महिलाकै रूपमा चिनिन्थे । २१ मा प्रवेश गरेपछि उनी महिलाप्रति आकर्षित हुन थाले । बाहिरबाट जति महिला बन्ने प्रयास गरे पनि उनको मनले त्यो स्विकारेन । अन्ततः उनले आफूलाई भने– ‘म पुरुष हुँ ।’

छोरीको स्वभाव अकस्मात् परिवर्तन हुन थालेपछि आमाले प्रश्न गर्थिन्– ‘तँ किन केटा जस्तो गर्छेस् ? कपाल किन छोटो पारिस् ? लुगा पनि उस्तै छन् ?’ सुरुमा आमाको प्रश्नबाट भागेका उनले अन्तिममा आफू मनैदेखि पुरुष भएको परिवारलाई बताए । त्यसपछि देउता लागेको भनेर समीरलाई झारफुक गराइयो । ‘परिवार मलाई गुमाउन तयार छ, तर मेरो अस्तित्व स्वीकार्न तयार छैन,’ समीरले भने ।

समीरले चार वर्षअघि आफ्नी प्रेमिकासँग गोप्य विवाह गरे पनि समाजको डरले यो कुरा बाहिर ल्याएका थिएनन् । केही समय अगाडि केटीको परिवारमा बिहेको कुरा चल्यो । उनीहरूले आफूहरू सम्बन्धमा रहेको र विवाह गरिसकेको बताए । तर, यो सम्बन्धलाई दुवैको परिवारले स्विकारेन । अन्ततः गएको चैतमा भागेर धनगढी हुँदै भारत प्रवेश गर्ने क्रममा उनीहरूलाई प्रहरीले रोक्यो । सोधपुछपछि दुवैका परिवारलाई बोलाएर जिम्मा लगाइयो ।

यो घटनापछि समीरका परिवारले उनलाई कोठाभित्रै थुनेर राखे । फोन खोसियो । धामी, झाँक्री लगाइयो । यी घटनाबाट हरेस खाएका समीरले विष पिए । तर समयमै उपचार पाएपछि ज्यान बच्यो । समीर भन्छन्, ‘आफ्नै परिवारले गरेको व्यवहार देखेर म मानसिक रूपमा बिरामी भएँ । के आफ्नो पहिचान खुलाएर स्वतन्त्रतापूर्वक बाँच्ने प्रयास गर्नु अपराध हो र ?’ समीरको अब एउटै सपना छ । आफ्नी प्रेमिकालाई घर भित्र्याउने । तर कहिले…? यो प्रश्नको उत्तर उनीसँग छैन ।

मानसिक स्वास्थ्यमा असर
समाज, परिवार र राज्यबाट भोग्नुपरेको विभेद, निरन्तरको संघर्ष र अपमानले मानसिक स्वास्थ्यमा गम्भीर असर पर्ने न्युरो साइक्याट्रिक डा. रामप्रसाद लामिछाने बताउँछन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका प्रायः व्यक्तिले गम्भीर मानसिक समस्या भोगिरहेका हुन्छन् । तर परिवारबाट उनीहरूलाई सहयोग हुँदैन । कतिपय ‘केस’मा केटी भएर केटीलाई मन पराएको भन्दै केटा मन पर्ने औषधि माग्न डाक्टरकहाँ पुग्छन् अभिभावक ।

‘महिला भए पुरुष मन पर्ने, पुरुष भए महिला मन पर्ने औषधि दिन भन्छन् । छोराछोरीको आत्मपहिचान स्विकार्न मान्दैनन्,’ चिकित्सक लामिछानेले भने, ‘हामीले सम्झाउँदा उल्टो रिसाएर जाने प्रवृत्ति छ ।’ अस्पताल आउने प्रायः यौनिक तथा लैंगिक अल्पसंख्यक बिरामी संघसंस्थाको सहयोगमा आउँछन् । आफूले सेवा दिँदा परिवारले ल्याएको ‘केस’ एकदमै कम पाएको चिकित्सक लामिछानेको अनुभव छ ।

एकता नेपालको तथ्यांकअनुसार नेपालमा चिकित्सकबाट यो समुदायका ३८ प्रतिशतले असमान व्यवहार भोगेका छन् । स्वास्थ्य संस्थाका सबै कर्मचारीलाई उनीहरूबारे जानकारी नहुने भएकाले असमान व्यवहार हुने डा. लामिछाने बताउँछन् ।

कागजमै सीमित कानुन
नागरिकता ऐन, २०६३ (संशोधन) ले लैंगिक पहिचानका आधारमा नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ । यसमा ‘ट्रान्स जेन्डर’ व्यक्तिले ‘अन्य’ लिंग उल्लेख गरेर नागरिकता पाउने उल्लेख छ । तर व्यवहारमा झन्झटिलो छ । नेपालमा नागरिकता बनाउँदा जन्मदर्ताअनुसार मात्र बनाउने प्रचलन छ । जसका कारण फरक पहिचान भएका व्यक्तिलाई आफ्नो वास्तविक पहिचानअनुसारको नागरिकता प्राप्त गर्न मुस्किल पर्छ ।

यस्तो किनभने, नागरिकता जन्मदर्ताअनुसार बन्ने हुँदा त्यसबेला अभिभावकले जुन लिंग लेखाएका हुन्छन्, नागरिकतामा पनि त्यही लिंग लेखिन्छ । त्यसबाहेक १६ वर्ष (नागरिकता पाउने उमेर) सम्म सामाजिक र पारिवारिक दबाबका कारण लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्ति आत्मपहिचानका लागि खुलेर प्रतिवाद गर्ने स्थितिमा हुँदैनन् । जब उनीहरू स्वतन्त्रतापूर्वक जीवन बाँच्न सक्ने हुन्छन्, त्यतिबेला नागरिकतामा नाम र लिंग सच्याउनुपर्ने झन्झट आइलाग्छ ।

संविधानको धारा १२ मा नेपाली नागरिकले पहिचानसहितको नागरिकता पाउने व्यवस्था गरे पनि त्यसमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरूका बारेमा स्पष्टता नहुँदा समस्या भएको नेपाल ल क्याम्पसकी प्राध्यापक डा. शशी अधिकारीले जनाइन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिले पहिचान अनुसारको नागरिकता नपाउनुको अर्को कारण पितृसत्तात्मक सोच हो । जसले महिला र पुरुषबाहेक अर्को अस्तित्व स्वीकार्न सकिरहेको छैन । संविधानको यही धारालाई टेकेर केहीले पहिचानसहितको नागरिकता पाएकोबारे प्रश्न गर्दा डा. अधिकारी भन्छिन्, ‘पहुँचवालाले पाइरहेका छन् । जसको पहुँच छैन, उसलाई गाह्रो छ ।’

विवाहसम्बन्धी कानुनमा अझ गम्भीर समस्या रहेको अधिकारी बताउँछिन् । मुलुकी देवानी (संहिता) ऐन, २०७४ मा विवाहसम्बन्धी व्यवस्था छ । जसमा ‘कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एकअर्कालाई पति–पत्नीका रूपमा स्वीकार गरेमा विवाह भएको मानिने’ उल्लेख छ । यो ऐनअनुसार विवाह हुन महिला र पुरुष मात्रै हुनुपर्छ । अन्यबारे उल्लेख छैन । ऐनमा समलिंगीको विवाहको परिभाषा त परै जाओस्, शब्दसमेत लेखिएको छैन ।

सर्वोच्च अदालतले केही मुद्दामा समलिंगी विवाह दर्ता गर्न आदेश दिएपछि त्यसका आधारमा विवाह दर्ता भएको पनि छ । ‘तर अझै पनि मुलुकी देवानी संहिताको संशोधन प्रस्तावमा यौनिक अल्पसंख्यकको कुरा उठेकै छैन,’ डा. अधिकारी भन्छिन् । यो समुदायले संविधानले दिएको अधिकार उपभोग गर्न नपाएको राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका उपसचिव झंकरबहादुर रावलले बताए ।

के गर्दै छन् स्थानीय र प्रदेश सरकार
सुदूरपश्चिम प्रदेश सरकारले ‘लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८१’ जारी गरेको छ । नीतिमा सबै लिंग र समुदायका साथै सीमान्तकृत र पछि पारिएका समुदायलाई समेटिएको छ । यसअन्तर्गत लैंगिक समानता तथा सामाजिक समावेशीकरण निर्देशक समिति, नीति कार्यान्वयन तथा अनुगमन समिति र स्थानीय सामाजिक समावेशीकरण समिति पनि बनेका छन् ।

तर, नीति बने पनि कार्यान्वयन हुन नसकेको सुदूरपश्चिम समाजका अध्यक्ष निरंग चौधरीको भनाइ छ । ‘नीति बनाउनु मात्रै ठूलो कुरा होइन, मुख्य कुरा कार्यान्वयनको पाटो हो, जुन एकदमै कमजोर छ,’ उनले भने ।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा यो समुदाय लक्षित कुनै कार्यक्रम ल्याएको छैन ।

आर्थिक वर्ष २०७९/८० मा ३ लाख रुपैयाँ र २०८०/८१ मा १० लाख रुपैयाँ बजेट छुट्याइएको थियो । तर यो रकमबाट यौनिक तथा लैंगिक अल्फसंख्यक र सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यत्रमबाहेक थप केही हुन नसकेको सामाजिक विकास मन्त्रालयका ‘जेसी फोकल पर्सन’ बिन्दुकुमारी चटौतले जनाइन् ।

कैलाली र कञ्चनपुरका प्रायः पालिकाले पनि लैंगिक समानता तथा समावेशीकरण नीति बनाएका छन् । तर, काम प्रदेश सरकारको जस्तै केही भएकै छैन । धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को बजेटमा यो समुदायका लागि २ लाख रुपैयाँ छुट्याएको छ । पालिकाले यो समुदायको हितका लागि काम गरिरहेका संस्थाहरूसँग समन्वय गरिरहेको धनगढीका उपप्रमुख कन्दकला राना बताउँछिन् ।

गरिबीको स्तरबाट यो समुदायलाई माथि उकास्न शनिबारे मेलामा निःशुल्क स्टलको व्यवस्था गरिएको उनको भनाइ छ । यद्यपि मेलामा स्टल राख्न यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट कोही नआएको उनले सुनाइन् । ‘खुलेर बाहिर आउन समस्या छ, उहाँहरूलाई । तर हामीले आह्वान गरेका छौं,’ उनी भन्छिन् ।

कैलालीको धनगढी र गोदावरी नगरपालिकाले विद्यालयहरूमा स्थानीय पाठ्यक्रम लागु गरेका छन् । १ देखि ८ कक्षासम्म पढाइ हुने यो पाठ्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यकबारे जानकारी समावेश गरिएको उपमहानगरका शिक्षा, युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत घुम्मन सिंह बडायकले जनाए ।

तर धनगढीकै पञ्चोदय माध्यमिक विद्यालयकी स्वास्थ्य शिक्षक गंगा अवस्थी यौनिक तथा लैंगिक अल्पसंख्यक बारे पुस्तकमा परिभाषा मात्रै रहेको बताउँछिन् । ‘यतिले मात्रै पुग्दैन,’ अवस्थी भन्छिन्, ‘उनीहरूका समस्या के हुन् ? उनीहरूले सामना गर्ने चुनौती के हुन् ? यो कुरा पाठ्यक्रममा समावेश छैन । हामीले खोजेर पढाउनुपर्छ ।’ पाठ्यक्रममा यौनिकता शिक्षाबारे एउटा पाठ मात्रै हुन्छ । त्यतिले बृहत् यौनिकतालाई नबुझाउने उनको धारणा छ ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिकाले नीतिमा समावेश गरे पनि यो समुदाय लक्षित ठोस कार्यक्रम केही ल्याएको छैन । बजेटको अभावमा कुनै कार्यक्रम गर्न नसकिएको पालिकाकी महिला विकास अधिकृत कुन्तीकुमारी लेखक बताउँछिन् ।

भीमदत्त नगरपालिकाले दुई वर्ष अगाडि यो समुदायको तथ्यांक संकलन गर्ने प्रयास गरेको थियो । त्यसमा लेखक स्वयं सहभागी थिइन् । नगरपालिकाले सुरु गरेको गणनामा कोही पनि पहिचान खुलाएर आफ्नो विवरण दिन तयार भएनन् । त्यसपछि नगरपालिकाले यस क्षेत्रमा कार्यरत संस्थाहरूबाट तथ्यांक लिए पनि त्यो अपूरो रहेको लेखकले सुनाइन् ।

डोटीको शिखर नगरपालिकाकी महिला विकास निरीक्षक सुमित्रा गुरुङको अनुभव पनि लेखकको जस्तै छ । ‘हामीले तथ्यांक संकलन गर्ने प्रयास गरेका थियौं । तर, कोही पनि खुलेर म यो समुदायको हो भन्न आएनन् । पालिकाको सम्पर्कमा आइदिए काम गर्न सजिलो हुन्थ्यो ।’ केही पालिकाले लैंगिक समानता तथा समावेशीकरण (जेसी) नीतिअनुसार यो समुदायका लागि बजेट छुट्याउने गरे पनि सम्पर्कमा कोही नआउँदा त्यो बजेट अरू ठाउँमा खर्च हुने गरेको छ ।

खुलेर बाहिर आउँदा थप सामाजिक–सांस्कृतिक कठिनाइ भोग्नुपर्ने डरले पनि धेरै जना मौन रहेको राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिमकी सूचना अधिकारी मन्दिरा श्रेष्ठ बताउँछिन् । यही क्षेत्रमा काम गर्ने संस्थाहरूको समन्वय र सहकार्यमा उनीहरूको विश्वास जितेर तथ्यांक संकलन गर्नुपर्ने उनको सुझाव छ ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले आफ्ना संविधानप्रदत्त अधिकार पनि उपयोग गर्न नपाएको श्रेष्ठको भनाइ छ । ‘पहिचान अनुसारको नागरिकता, समलैंगिक विवाह दर्ता जस्ता सामान्य विषयमा पनि तीन तहका सरकारबीच समन्वय छैन,’ उनले भनिन् । तीनै तहका सरकारले अल्पसंख्यकका मुद्दा प्राथमिकतामा राख्नुपर्नेमा त्यसो हुन नसकेको सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले स्विकारे ।

यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि कोटा छुट्याएर झारा टार्ने काम गर्नुअघि स्थानीय सरकारले उनीहरूप्रति समाजको दृष्टिकोण बदल्नका लागि काम गर्नुपर्नेमा अधिकारकर्मी गोमा आचार्यको जोड छ । ‘लैंगिक तथा अल्पसंख्यकलाई परिवारले गर्ने विभेद मात्रै कम गर्न सकियो भने पनि आधा समस्या समाधान हुन्छ,’ उनले भनिन्, ‘परिवारको साथ छ भने समाजसँग जुध्ने आत्मबल आउँछ ।’

– खोज पत्रकारिता केन्द्रका लागि

भारी वर्षाका कारण इन्डोनेसियामा मृत्यु हुनेको संख्या ४४२ पुग्यो

काठमाडौं : चक्रवातका कारण आएको भारी वर्षाका कारण इन्डोनेसियामा मृत्यु हुनेको संख्या ४०० भन्दा बढी पुगेको छ।

इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले बाढी प्रभावित क्षेत्रहरूको भ्रमण गरेका छन्।

पश्चिम सुमात्रामा रहेकी बीबीसी रिपोर्टर निक्की विडाडियोका अनुसार केही क्षेत्र  मुख्य शहरसँगको सम्बन्धबाट छुट्टीएका छन् भने केही क्षेत्रमा पाँच दिनदेखि मोबाइल सिग्नल छैन।

उष्णकटिबंधीय आँधी कोटो भियतनाम नजिकिँदै गर्दा थप तीन जनाको मृत्यु भएको छ। गत महिनाको सुरुमा भियतनाममा भएको दिनभर भारी वर्षाका कारण ९० जनाको मृत्यु भएको थियो।

थाइल्याण्डमा १७० जना र मलेसियामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ।

नोभेम्बरको सुरुमा फिलिपिन्समा आएको आँधीमा परी ३०० जनाको मृत्यु भएको थियो।

बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने व्यक्तिगत अधिविकर्ष कर्जा सीमा दोब्बर बढाएर १ करोड

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने व्यक्तिगत अधिविकर्ष (ओभरड्राफ्ट) कर्जाको विद्यमान सीमा दोब्बरले वृद्धि गर्ने नीति ल्याएको छ ।

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले यस्तो नीति लिएको हो ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष कर्जाको विद्यमान सीमा ५० लाखबाट बढाएर १ करोड कायम गर्ने नीति लिइएको हो ।

बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहनु र कर्जाको माग बढ्न नसकेपछि राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्टको सीमा बढाएको हो ।

लघुवित्त वित्तीय संस्थाहरुले धितोमा १५ लाखसम्म कर्जा दिन पाउने

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले धितोमा प्रवाह गर्ने कर्जाको अधिकतम सीमा बढाइएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै लघुवित्त वित्तीय संस्थाले धितोमा प्रवाह गर्न पाउने कर्जाको अधिकतम सीमा १५ लाख पुर्‍याएको हो । यसअघि लघुवित्तले धितोमा ७ लाख रुपैयाँसम्म मात्रै कर्जा दिन पाउने व्यवस्था थियो ।

त्यस्तै लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीको कर्जा भुक्तानीमा परेको समस्यालाई ध्यानमा राख्दै कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता रहेको तर कर्जा प्रवाह न्यून रहेपछि राष्ट्र बैंकले लघुवित्तहरुलाई पनि कर्जाको सीमा फराकिलो बनाएको हो ।

यू-१९ प्रिमियर फाइनलः नेपाल टस जितेर फिल्डिङमा

काठ्माण्डौ- एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको उपाधि भिडन्त सुरु भएको छ।

आजको निर्णायक खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। नेपाली टोलीका कप्तान अशोक धामीले टस जितेर यूएईलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै अपराजित रहेको नेपाल आजको खेल जितेर उपाधि उचाल्ने दाउमा छ।

नेपालले सेमिफाइनलमा मलेसियालाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो। यस्तै, यूएईले ओमानलाई सेमिफाइनलमा ८ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो।

नेपालको प्लेइङ–११:
अशोक धामी (कप्तान), निश्चल क्षेत्री, आशिष लोहार, दर्श सोनार, दयानन्द मण्डल, नितेश पटेल, चन्दन राम, रोशन विके, अपराजित पौडेल, वंश क्षेत्री र निरज यादव।

टिममा सुशील रावल, सिब्रिन श्रेष्ठ र दिलसाद अलीलाई बेन्चमा (बाहिर) राखिएको छ।

सिडेनको प्रदेश कार्यालय धनगढीमा उदघाटन

कोलोराडोमा नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन हुदै, सहयोग गर्ने सबैको प्रतिबद्धता

कोलोराडो, ३० नोभेम्बर ।
अमेरिकाको कोलोराडो राज्यमा आयोजना गर्न लागिएको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न  नेपाली समुदायका अगुवाहरुले पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)को आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको समन्वयमा मे २२ देखि २४ सम्म डेनभरमा आयोजना गरिने सम्मेलनका बारेमा दिन शनिवार आयोजित छलफल कार्यक्रममा सहभागी नेपाली संघसंस्थाका अगुवाहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

अनेसासको बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्माले सम्मेलनमा संसारभरीबाट १५० भन्दा बढि साहित्यकारहरु सहभागी हुने जानकारी दिए ।
उनले तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा ५३ हजार डलर खर्च हुने अनुमान गरिएको जानकारी दिदै सहयोगका लागि सबैलाई आग्रह गरे ।

उनले आफ्नो प्रस्तुतीमा सम्मेलनको ढाँचा, लागत, बिभिन्न संघसंस्था र व्यक्तिसंग गरिएका अपेक्षा, आवश्यक उपसमितिहरुका बारेमा जानकारी दिएका थिए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) का महासचिव राजु सिटौलाले प्रवासमा नेपाली भाषा र साहित्यको विकासमा यस्ता सम्मेलनले ठूलो टेवा पुग्ने बताए ।

उनले सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न कोलोराडोमा रहेका सम्पूर्ण नेपाली संघसंस्था र नेपाली समुदायका अगुवाहरुसंग आग्रह गरे ।

हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठले कोलोराडोमा आयोजना गर्न लागिएको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्नु कोलोराडोमा रहेका सबै नेपालीहरुको दायित्व भएको बताए ।

उनले सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न आफ्ना तर्फ नैतिक, भौतिक र आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरे ।

अनेसासले नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कोलोराडोमा गर्नु हाम्रा लागि गौरवको कुरा हो, श्रेष्ठले भने, सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्नु हामी सबैको दायित्व हो ।

नेपाली घरका अध्यक्ष बसन्त लम्सालले अनेसासले नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका लागि कोलोराडो रोजेको धन्यवाद दिदै सम्मेलनको सफलताको नेपाली घरका तर्फबाट पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता गरे ।

उनले नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका सम्पूर्ण कार्यक्रमहरु नेपाली घरमा सञ्चालन गर्न आग्रह गर्दै त्यसका लागि आवश्यक पर्ने सबै किसिमको सहयोग गर्न नेपाली घर तत्पर रहेको सुनाए ।

छलफलमा सहभागी अधिकांश वक्ताहरुले नेपाली घर कोलोराडोमा रहेका नेपालीहरुको साझा संस्था भएकोले अनेसासलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन नेपाली घरमा आयोजना गर्न जोड दिए ।

कोलोराडोमा आयोजना गर्न लागिएको सम्मेलन भव्य रुपमा सम्पन्न गर्नु कोलोराडोमा रहेका सबै नेपालीहरुको दायित्व भएको बताउदै छलफलमा सहभागी नेपाली संघसंस्थाका अगुवाहरुले पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अनेसास पुरस्कार समितिका सदस्य डा. विजयराज शर्मा, दिदी बहिनी समूह कोलाराडोकी अध्यक्ष शान्ति भुसाल, गैर आवासीय नेपाली संघ कोलोराडोका अध्यक्ष निमा शेर्पा, जय नेपाल फाउण्डेसन कोलोराडोका अध्यक्ष कुमारजंग कार्की, रक्की माउण्टेन फ्रेण्ड्स अफ नेपालका अध्यक्ष आकृति राई, पूर्व अध्यक्ष अर्जुन बगाले, अनेसासका कोलोराडोका सल्लाहकार रमेश गुरुङ, अनेसास कोलोराडो च्याप्टरका पूर्व अध्यक्ष बिजयदेव अधिकारी, ब्लड डोनर्स एशोसियसन अमेरिकाका कार्यकारी उपाध्यक्ष टीका पौडेल, अनेसासका आजिवान सदस्य विकास त्रिपाठी लगायत कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका अगुवाहरुले सम्मेलन भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता गरे ।

छलफल कार्यक्रमको अध्यक्षता गर्दै अनेसास कोलोराडोका अध्यक्ष किरण अधिकारीले छलफलमा सहभागीहरुबाट प्राप्त सुझावहरुलाई हृदयगंम गर्दै प्राप्त सुझावका आधारमा सम्मेलनलाई सञ्चालन गर्ने प्रतिबद्धता गरे ।

उनले छलफलका सहभागीहरुबाट प्राप्त सकारात्मक प्रतिक्रिया र सहयोग गर्ने प्रतिबद्धताबाट आफूहरु निकै उत्साही भएको बताए ।
कार्यक्रमको सञ्चालन अनेसासकी कोषाध्यक्ष तारा अधिकारीले गरेकी थिईन् ।

 

नियमित महाधिवेशनको कार्यतालिका ल्याउने संस्थापनको तयारी

काठमाडौं १५ मंसिर ।  चुनावअघि वा पछि र विशेष वा नियमित महाधिवेशन भनेर दुई महिनादेखि विवादको भुमरीमा फसेका कांग्रेस नेताहरूबिच पुस अन्तिम साता १५औँ महाधिवेशन गर्ने कार्यतालिकामा प्रारम्भिक सहमति जुटेको छ । शीर्ष सहमतिसँगै २६–२९ पुसमा नियमित महाधिवेशन गर्ने गरी सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा कार्यवाहक सभापति खड्काले कार्यतालिका प्रस्तुत गर्नेछन् ।

सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालालगायतबिचको छलफलपछि महाधिवेशन कार्यतालिका ल्याउने तयारी भएको हो । यद्यपि, डेढ महिनाको अवधिमा महाधिवेशन प्रक्रिया पूरा गर्न भने त्यति सहज हुनेछैन ।

महाधिवेशनको कार्यतालिकाबारे खड्काले सोमबार बिहान थप छलफल गर्नेछन् । बैठक सुरु हुने वेलासम्म कार्यतालिकाले अन्तिम रूप पाउने बताइएको छ । बैठक सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाएको छ । सो बैठकमा कार्यतालिकासम्बन्धी प्रस्ताव खड्काले निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ । यसअघि महामन्त्री थापा र सहमहामन्त्री महेन्द्र यादवले महाधिवेशन कार्यतालिकाबारे अलग–अलग प्रस्ताव राखेका थिए । सोही कारण सहमतिको प्रस्ताव कार्यवाहक सभापति खड्काले पेस गर्न लागेको एक नेताले बताए । बैठकअघि खड्काले नेताहरूसँग थप छलफल गरेर निर्णयार्थ प्रस्ताव गर्नेछन् ।

प्रवक्ता डा. प्रकाशशरण महतले नियमित महाधिवेशन कार्यतालिका ल्याउन कार्यवाहक सभापति खड्कालगायतले गृहकार्य गरिरहेको बताए । ‘पुसभित्रै नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन कार्यवाहक सभापतिलगायतले गृहकार्य गर्नुभएको छ,’ देउवानिकट मानिने नेता डा. महतले भने, ‘सोमबारको बैठकमा महाधिवेशन कार्यतालिका प्रस्तुत गर्ने तयारी छ ।’

तर, इतरपक्षले भने कार्यतालिका मात्रै नभई महाधिवेशन हुने सुनिश्चितता खोजेको छ । नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुने इतरपक्षको चेतावनी छ । महामन्त्रीद्वय थापा र शर्माले त्यसको अगुवाइ गरेका छन् ।सहमहामन्त्री जीवन परियार तालिका मात्रै भन्दा पनि महाधिवेशनको ग्यारेन्टी हुनुपर्ने बताउँछन् । ‘कार्यतालिका मात्रै ल्याएर हुँदैन । महाधिवेशनको ग्यारेन्टी हुनुपर्छ । बैठकमा कसरी प्रस्ताव आउँछ, त्यसको आधारमा थप कुरा हुन्छ,’ इतरपक्षका नेता परियारले भने ।

कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै गत २९ असोजमा हस्ताक्षर बुझाएका थिए । विधानअनुसार त्यसरी हस्ताक्षर बुझाएको तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्छ । तीन महिना २८ पुसमा पुग्ने भएकाले सो अवधिभित्रै नियमित महाधिवेशन सुरु गर्ने गरी कार्यतालिका ल्याउने तयारी संस्थापन पक्षले गरेको हो ।

२८ असोजमा सुरु भएको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनको मितिमा सहमति नभएपछि अनिर्णीत हुँदै आएको छ । बैठक रोकेर पटक–पटक छलफल हुँदासमेत सहमति जुट्न सकेको छैन । कार्यवाहक सभापति खड्का सहमति नभएसम्म बैठक सारिरहने अडानमा छन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलले पछिल्लो समय नियमित बैठक स्थगित भएको सूचना प्रकाशित गर्दै आएका थिए ।

संस्थापन पक्षका नेताहरू निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडानमा रहेपछि सभापति देउवा, कार्यवाहक सभापति खड्का र नेता रमेश लेखकले समन्वयकारी भूमिका खेलेका थिए । तर, पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने निर्वाचनअघि महाधिवेशन हुन नसक्ने बताउँदै आएका छन् । निर्वाचनअघि महाधिवेशनको मिति तोकिए ‘नोट अफ डिसेन्ट’ लेख्ने चेतावनी उनीहरूको छ । उनीहरूसँग खड्काले बैठकअघि छलफल गर्ने भएका छन् ।

सुन्दर सुदूरपश्चिम कल्याण समाज डेनमार्कको अधिबेशन सम्पन्न, अध्यक्षमा कठायत सर्वसम्मत

डेनमार्क, २९ नोभेम्बर ।
सुन्दर सुदूरपश्चिम कल्याण समाज डेनमार्कको पाँचौँ अधिबेशन राजधानी कोपनहेगनमा भव्य रुपमा रुपमा सम्पन्न भएको छ ।

प्रमुख अतिथि डेनमार्क प्राविधिक विश्वविद्यालयका सह–प्राध्यापक रवि कुमार क्षेत्रीले प्रवासमा आफ्नो भाषा, साहित्य, कला, संस्कृति र परम्परा जगेर्नाका लागि सुदूर पश्चिम कल्याण समाजले गरिरहेको प्रयासको मुक्तकण्ठले प्रशंसा गरे ।

विशिष्ट अतिथि एनआरएनए डेनमार्कका अध्यक्ष नील थापा, अतिथि पोर्चुगल समाज डेनमार्कका उपाध्यक्ष कृष्ण गिरी र  एनआरएनए डेनमार्कका उपाध्यक्ष सन्तोष बस्नेतले अधिबेशनको सफलताको शुभकामना व्यक्त गरे ।

अधिबेशनको उद्घाटन सत्रमा समाजका संस्थापक पदाधिकारी तथा पूर्वअध्यक्षहरू तारणी प्रसाद जोशी, खेमराज जोशी, महेश खत्री, दिपेन्द्र बिष्ट, चन्द्र कुँवर र विक्रम बिष्टलाई खादा ओढाएर सम्मान गरिएको थियो।

त्यस्तै सुदूरपश्चिम समाजमार्फत डेनमार्कस्थित नेपाली समुदायमा खेलकुद, सामाजिक सेवा क्षेत्रमा योगदान पुर्‍याए वापफ दीपक कुमार तिवारी, कृष्ण चन्द, जगदीश सिंह कार्की, मनोज खड्का तथा कृष्ण पनेरुलाई समेत सम्मान गरिएको थियो।

अधिवेशनले २०२५–२०२७ का लागि सर्वसम्मत रुपमा निरञ्जन कठायतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षमा रुपा चन्द र चन्द्र कुँवर, महासचिवमा कृष्ण पनेरु र कोषाध्यक्षमा जगदिश सिंह कार्की चयन भएका छन् ।

त्यसैगरी सदस्यमा डम्बर सिंह महरा, पंकज जोशी, दिपेन्द्र लक्ष्मी बहादुर चन्द ठकुरी, मनोज खड्का, शुभम जोशी, दिपेन्द्र भट्ट र सुदिप सिंह चयन भएका छन्।

समाजका अध्यक्ष कृष्ण धानुकको अध्यक्षतामा सम्पन्न अधिबेशनको सञ्चालन महासचिव निरञ्जन कठायत तथा रुपा चन्दले संयुक्त रुपमा गरेकी  थिईन ।

अध्यक्ष धानुकले सुन्दर सुदूर पश्चिम कल्याण समाजको अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

देश बनाउने अभियानमा सँगै छौं : कुलमान

काठमाडौँ — उज्यालो नेपाल पार्टी खोलेर राजनीतिमा होमिएका कुलमान घिसिङले काठमाडौं महानगरका मेयर बालेन शाहसँग भेटवार्ता गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका छन्।

घिसिङले फेसबुकमा लेखेका छन्– ‘देश बनाउने अभियानमा हामी सँगै छौं।’

बालेन सचिवालयका अनुसार यो भेट शनिबार बालेनकै निवासमा भएको हो ।

 

खोज्नुहोस