एनपीएललाई व्यवस्थित गर्न लागेका छौं, आर्थिक मूल्यांकन पछि गरौंला: पारस खड्का

द एभरेष्ट पोष्ट
३० कार्तिक २०८२ १४:४२
एनपीएललाई व्यवस्थित गर्न लागेका छौं, आर्थिक मूल्यांकन पछि गरौंला: पारस खड्का

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणलाई आर्थिक हिसाबले भन्दापनि प्रतियोगितालाई व्यवस्थित गर्नमा जोड दिएका छन् । शनिबार नेपाल प्रिमियर लिग २०२५ को पत्रकार सम्मेलनमा बोल्दै उनले दोस्रो संस्करणमा प्रवेश गरिरहँदा ठुलो आर्थिक अपेक्षा भन्दा पनि प्रतियोगितालाइ व्यवस्थित गर्नमा जोड दिनुपर्ने धारणा राखेका हुन् ।

खड्काले आठ वटा टिमहरुको लगानी अनुसार आर्थिक संरचना बनिसकेकाले अब खेललाई व्यवस्थित गर्नुपर्नेमा जोड दिएका हुन् । उनले भने, ‘आर्थिक संरचनालाई पूर्णता दिनेक्रममा आठवटा टीमहरुको लगानी छ । गतसाल पनि क्यानले सय करोड, एक अर्वको ट्रान्जेक्सन भएको अनुमान गरेको थियो ।

आठ वटा टिमले गरेको लगानीमा एउटा राम्रो आर्थिक संरचना बनिसकेको छ । थप पूर्णता दिनेक्रममा भर्खरै दोस्रो संस्करणमा प्रवेश गर्दैछौ । अहिले नै क्रिकेटको कायापलट हुने भयो भन्दा पनि प्रतियोगितालाई अझ व्यवस्थित कसरी गर्ने भन्ने कुरा प्रमुख हो ।’ उनले आफ्नो क्षमता अनुसार काम र कर्तव्य पूरा गर्ने कोसिस गरेको भन्दै नेपाल प्रिमियर लिग दोस्रो संस्करण सकिएपछि यसको मूल्याङक गर्ने बताए ।

एनपीएल दोस्रो संस्करणको पुरस्कार राशि भने पहिलो संस्करणकै कायम राखिएको खड्काले जानकारी दिए । पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले १ करोड १० लाख राशिको पुरस्कारसहित उपाधि जितेको थियो ।
उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख पाएको थियो । क्यानले यसपटक ४० करोड बराबर रकम उठाउने लक्ष्य लिएको छ ।

पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदम खड्काले १५ करोड ३० करोड प्रायोजकबाट मात्रै उठ्ने अपेक्षा राखिएको बताए । एनपीएलको उदघाटन खेल मंसिर १ गते साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस