बिहार निर्वाचनको सन्देश : भीड होईन, भोट निर्णायक

३० कार्तिक २०८२ १२:१३
बिहार निर्वाचनको सन्देश : भीड होईन, भोट निर्णायक

भारतको बिहार राज्यको बिधान सभाको निर्वाचनको शुक्रवार सार्वजनिक भएको परिणामले फेरि एक पटक भारतीय जनता पार्टी(भाजपा)को नेतृत्वमा रहेको नेशनल डेमोक्रेटिक एलायन्स(एनडीए) लाई उत्साही बनाएको छ । बिहारको जित भाजपाका लागि निकै अर्थपूर्ण छ । दिल्लीपछि उसको यो ठूलो जित हो । काँग्रेस आईका लागि भने यो ठूलो धक्का हो ।

२४३ सीट रहेको बिहारमा एनडीएले २०२ सीट जितेको छ । राष्ट्रिय जनता दल(राजद) सम्मिलित महागठबन्धनले ३५ सीटमा चित्त बुझाउनु प¥यो ।
८९ सीट जितेर भाजपा बिहारको सबैभन्दा ठूलो दल बनेको छ । जनता दल युनाईटेड ८५ सीट सहित दोस्रो ठूलो पार्टी बनेको छ । र, बिहारमा लामो समय सत्ताको बागडोर सम्हालेको लालु यादवको राष्ट्रिय जनता दल(आरजेडी) २५ सीटमा खुम्चिएको छ । १९ सीट जितेर चौथौ ठूलो दलका रुपमा उदाएको छ, चिराग पासवान नेतृत्वमा रहेको लोकजनशक्ति पार्टी(रामविलास) । जवकी काँग्रेस आई छ सीटमा खुम्चिएको छ ।

बिहारमा प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री नितिश कुमारको जादु यसरी चल्यो कि, सत्ताको नेतृत्वको दावी गर्नेहरुलाई प्रतिपक्षको सानो कुनामा सिमित गरिदियो ।

सबैलाई बढारेर सत्ताको बागडोर सम्हाल्ने प्रचार गरेका प्रशान्त किशोर (पिके) को जनसुराज पार्टीका उम्मेदवारहरुले त जमानत समेत जोगाउन सकेनन् ।

सबै दलले रोजगार, शिक्षा र पलायनलाई चुनावी मुद्दा बनाएका थिए । बिहारको निर्वाचनको सन्देश स्पष्ट छ, निर्वाचनमा भीड होईन, भोट निर्णायक हुन्छ ।

चुनावी सभामा भीड सबैले जुटाए । अझ सामाजिक सञ्जाल त जनसुराजमय भएको थियो । प्रशान्त किशोरको चर्चा गरेर भारतीय मिडिया र युट्युवहरु थाक्दैनथे । प्रशान्त किशोर, जो नरेन्द्र मोदीका चुनावी रणनीतिकार थिए । जसले मोदीलाई प्रधानमन्त्री बनाउने अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । र, भारतको थुप्रै राज्यका मुख्यमन्त्री आफूले बनाएको दावी गर्ने प्रशान्त किशोर आफ्नै राज्यमा भने प्रतिस्पर्धामा समेत देखिएनन् ।
त्यस्तै हालत रह्यो, तेजस्वी यादवको । राघोपुर बिधान सभाबाट मुस्किलले तेजस्वीको पार्टीलाई सत्तामा पु¥याउने सपना भने अधुरो रह्यो । उनका पिता आरजेडीका अध्यक्ष लालु यादवको शासनमा भएका नरसंहार, तमाम हत्या, अपहरणका मुद्दामा सामाजिक सञ्जालमा भाईरल बनाईए । बन्द भएका औद्योगिक क्षेत्रका समाचारहरुले यो अवधिमा निकै प्राथमिकता पाए ।

लालु यादवको जंगलीराज वाक्कदिक्क भएका बिहारका जनताले प्रशान्त किशोरको शिक्षा, रोजगारी, सुशासन, सुरक्षा र औद्योगिकरणको मुद्दालाई समेत विश्वास गरेनन् ।

त्यस्तै आरजेडीका दिग्गज नेताहरुले हारको सामना गर्नु प¥यो ।

भोजपुरी फिल्मका स्टार खेसारीलाल यादव(शत्रुघ्न यादव)को स्टारडम समेत काम लागेन् । आरजेडीका तर्फबाट छपरा बिधानसभाबाट उम्मेदवार बनेका खेसारी लाललाई भारतीय जनता पार्टीकी छोटी कुमारीले पराजित गरिन् ।

भजन मार्फत चर्चामा आएकी मैथली ठाकुरले भाजपाका दिग्गज नेताहरुलाई चकित पार्दै अलिनगर बिधान सभाको टिकट मात्र हात पारिनन्, उनी राजदका पुराना र प्रभावशाली नेता बिनोद मिश्रालाई पराजित गरेर बिहार बिधान सभाकी सबैभन्दा कान्छी बिधायक बनिन् ।

खेसारी लालको स्टारडमले हावा खादा त्यही बिहारमा २५ वर्षीया मैथलीको भजनले सबैको आशिर्वाद पायो ।

चुनावको केही समयअघि आरजेडी पार्टी र घर दुबैबाट निकालिएका लालु यादवका छोरा तेजप्रताप यादवको बगावत पनि काम लागेन । जनशक्ति दल गठन गरेर महुआ निर्बाचन क्षेत्रबाट उम्मेदवारी दिएका तेजप्रताप तेस्रो स्थानमा रहे ।

बिहारको चुनावमा सबैभन्दा चर्चामा कोही थिए भने, ती प्रशान्त किशोर थिए । मूलधारका कुनै मिडिया र टेलिभिजन बाँकी थिएनन, जसले प्रशान्त किशोरको अन्तर्वार्ता नलिएको होस् । अन्तर्वार्ताका लागि उनको समय पाउन मूलधारका मिडियालाई गाह्रो हुन्थ्यो । उनी सबैभन्दा व्यस्त नेता थिए । छोटो समयमै बिहारका युवाहरुले सबैभन्दा बढि आशा गरिएका नेताका रुपमा चिनिएका थिए । उनका पक्षमा सामाजिक सञ्जाल र मिडियामा गरिएको प्रचारले बिहारको चुनावमा कुनै असर गरेन । उनका जन सुराजले २४३ सीटमा उम्मेदवारी दिएका थिए । कतिपय उम्मेदवारले चुनावको समयमै उम्मेदवारी फिर्ता लिए । चुनावमा उम्मेदवार दिएकाहरुले पनि जमानत जोगाउन सकेनन् ।

प्रचारले मात्र पुग्दो रहेनछ, त्यो प्रचारप्रति मतदाताको विश्वास जगाउन नसक्दा आउने परिणाम यही हो । संगठन बिनाको प्रचार पनि बिहारको निर्वाचनमा निरर्थक देखियो ।

चुनावको केही समयअघि मात्र भाजपा छोडेर जन सुराज पार्टीमा सामेल भएका मनिश कश्यपको छायाछविले पनि चुनावमा असर गरेन् । कश्यप सबैभन्दा आशा गरिएका जनसुराजका उम्मेदवार थिए ।

तेजस्वी यादव र प्रशान्त किशोर चुनावी अभियानका क्रममा दुश्मन जस्ता थिए । तर दुईटैको बोली एउटै थियो, बिहारको मुख्यमन्त्री नितिश कुमार हुने छैनन् ।

प्रशान्त किशोरले त नितिश कुमारको पार्टीले २५ सिट पनि नकटाउने दावी गरेका थिए । उनले बिहारका जनताले तेजस्वी यादवलाई पनि नकार्ने दावी गरेका थिए । र, उनले भन्ने गरेका थिए, जनसुराज या अर्श पर या फर्श पर(कि सत्तामा कि सडकमा) हुनेछ । उनको दावी त जन सुराजले २०० सीटको आँकडा पार गर्ने दावी गरिरहेका थिए ।

तेजस्वीले त आफू मुख्यमन्त्री हुने घोषणा नै गरेका थिए । न त चुनावमा लालु यादवको सामाजिक न्यायको जादू चल्यो, जसलाई तेजस्वीले प्रचार गरेका थिए, न त तेजस्वीको घरघरमा सरकारी नौकरी दिने आश्वासनमाथि मतदाताले विश्वास गरे । प्रशान्त किशोरको झोला खाली रहदा तेजस्वी यादवको लालटिनको तेल सकियो । र, फेरि एक पटक बिहारमा नितिश कुमारले बाजी मारे ।

बिहारको राजनीति भारतको केन्द्रीय राजनीतिलाई मात्र असर गर्दैन् । त्यहाँको शासनको असर नेपालका सीमावर्ती मध्यतराईका जिल्लाहरुमा समेत पर्ने गरेको छ ।

१३ करोड जनसंख्या रहेको बिहार नेपालसंग जोडिएको छ । बिहार राज्यमा फिरौती, अपहरण, हत्या जस्ता अपराधिक घट्नामा संलग्न व्यक्तिहरुले बेलाबेलामा नेपाली भूमि सुरक्षित आश्रयस्थलका रुपमा प्रयोग गर्दै आएका घट्नाले नेपाली सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौती बढाउदै आएको छ । आशा गरौ, बिहार राज्यमा नितिश कुमारको शासनकालमा हुने विकास र सुरक्षाले नेपालको सीमावर्ती क्षेत्रको सुरक्षा चुनौतीलाई कम गर्नेछ ।

यद्दपि जनता दल युनाईटेडका तर्फबाट मोकामा बिधान सभाका उम्मेदवार अनन्त सिंह, जो चुनावी अभियानका क्रममा दुलार चन्द यादवको हत्या आरोपमा जेलमा बन्द रहेकै अवस्थामा निर्वाचित भए, त्यस्तै आरजेडीका तर्फबाट कुख्यात अपराधी मोहम्मद शाहबुद्धिनका छोरा ओसामा साहेव रघुनाथपुर बिधान सभाबाट निर्वाचित भए, जो आफ्नो बुवाको अपराधकर्मका हिस्सा थिए, अनन्त सिंह र ओसामाहरुको जीतले बिहारमा सुशासन कायम हुनेमा अझै आशंका छ । जेलभित्र र बाहिर रहेका बाहुबलीहरुको जितले बिहार डरको राजनीतिबाट बाहिर निस्किन नसकेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस