मतदाता नामावली दर्ताको समय अब ५ मंसिरसम्म
काठमाडौं २९ कार्तिक । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताको समय ५ मंसिरसम्मका लागि थपेको छ । प्रधानमन्त्री सुशीला कार्कीको चासो र गृहमन्त्री ओमप्रकाश अर्यालको पत्राचार तथा जेन–जी युवाको अनुरोधबमोजिम आयोगले पाँच दिन समय थप्ने निर्णय गरेको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताए । अन्तिम समयमा मतदाता दर्ता गर्नेको चाप बढेकोे, सर्भरमा समस्या देखिएको, धेरैले नाम दर्ता गर्न नपाएको गुनासो आएपछि समय थप भएको हो ।
२१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले यसअघि ९ असोजदेखि ३० कात्तिकसम्म मतदाता नामावली संकलन खुला गरेको थियो । तर, एक महिनासम्म ८५ हजारले मात्रै मतदाता नामावलीमा नाम दर्ता गराएकामा पछिल्लो १५ दिनमै थप डेढ लाख मतदाता थपिएका छन् । समय घर्किँदै गर्दा मतदाता नामावलीमा नाम दर्ता गर्नेेको घुइँचो लागेपछि सरकार र आयोग समय बढाउने निष्कर्षमा पुगेका हुन् ।
बिहीबार मात्रै ३७ हजार मतदाता थपिएका थिए । २७ कात्तिकदेखि आयोगले राष्ट्रिय परिचयपत्रको विवरण बायोमेट्रिकका आधारमा मतदाता नामावली दर्ता सुरु गरेको छ ।
यसैबिच निर्वाचन घोषणापछि नयाँ दल दर्ताका लागि शुक्रबारसम्म ३६ निवेदन दर्ता भएका छन् । निर्वाचन आयोग, कानुन तथा राजनीतिक महाशाखाका अनुसार शुक्रबार मात्रै चार दल दर्ताका लागि निवेदन प्राप्त भएको छ । शुक्रबार दल दर्ताका लागि निवेदन दिनेमा नुमा लिम्बूको समावेशी समाजवादी पार्टी, टीकाराम पुरीको राष्ट्रिय गौरव पार्टी, जीवन लिम्बूको एकता नेपाल, किशोरी कार्कीको नवनिर्माण पार्टी रहेका छन् ।
