घरमै बसेर मतदाता नामावली दर्ता
काठमाडाैं २८ कार्तिक । अब राष्ट्रिय परिचयपत्रको ‘बायोमेट्रिक्स’ तथ्यांकका आधारमा मतदाता नामावली दर्ता हुन्छ । यसका लागि कार्यालय धाइरहनु पर्दैन । निर्वाचन आयोगलाई पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रका लागि भरेको बायोमेट्रिक विवरण उपलब्ध गराएपछि नागरिकलाई सहज भएको छ ।
अर्थमन्त्री रामेश्वर खनालले बिहीबार राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत दुई घाइते प्रकाश बोहोरा र मुकेश अवस्थीलाई अस्पताल बेडमै पुगेर उनीहरूको मतदाता परिचयपत्रका लागि फाराम भर्दै यो कामको सुरुवात गरे । ‘बायोमेट्रिक’ तथ्यांकका आधारमा अब बेलैमा मतदाता परिचयपत्र इमेलमार्फत पाउने कुरामा उनीहरू खुसी थिए । घाइते बोहोराले अर्थमन्त्री खनालसमक्ष भने, ‘सरकारले चाहृयो जे सुकै काम पनि गर्न सक्ने रहेछ । अब बाहिर भएका युवाहरूले पनि भोट गर्न पाउने व्यवस्था मिलाउनुपर्यो ।’
अर्थमन्त्री खनालले जेन-जी अगुवाहरूको प्रयत्नमा यति छिट्टै काम सम्पन्न भएको भन्दै उनीहरूलाई जस दिए । ‘यो काम जेन-जीका साथीहरूको प्रयत्नमा आज एकैदिनमा सम्पन्न भयो । प्रणालीलाई हाम्रो कर्मचारीतन्त्रले ज्यादै कठिन बनाएको थियो । जेन-जीका साथीहरूले एकैदिनमा, एकै मिनेटमा गर्न सक्ने भए,’ खनालले भने ।
प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बुधबार अपराह्न सिंहदरबारमा बसेका आयोगका पदाधिकारी र पञ्जीकरण विभागका अधिकारीहरूबीच बैठकले यो निर्णय गरेको थियो । प्रधानमन्त्रीको निर्णयलगत्तै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र आयोगका सूचना प्रविधि शाखाका कर्मचारीहरुले रातदिन काम गरेका थिए ।
